धेरै थकाइ लागिबस्छ ? यस्तो हुन सक्छ कारण !
धेरैजसो मानिसहरुले आफूलाई थकाइ लागिरहेको, शरीरमा तागत नै नभएको गुनासोहरु गर्ने गर्छन् । त्यसको समाधानको रुपमा धेरैजनाले मौसमलाई दोष दिने पनि गर्छन् । खासगरी, अहिले गर्मी मौसममा शरीरबाट पानीको निस्कासन धेरै हुने हुनाले पनि मानिसलाई चाँडै थकान लाग्ने समस्या देखापर्न सक्छ । तर लागतार हामीलाई थकान लागिरह्यो भने चाहिँ त्यो मौसमको कारण मात्र नभई शरीरलाई अत्यावश्यक भिटामीन तथा खनिज (मिनरल) हरुको कमीको कारण पनि हुन सक्छ । यहाँ कुन भिटामीन तथा खनिजहरुको कमी हुँदा के कस्ता समस्याहरु देखापर्न सक्छ भन्नेबारे सामान्य जानकारी प्रस्तुत गरिएको छ ।
भिटामीन बीहरुः भिटामीन बीहरु विभिन्न थरिका हुन्छन् । ती सबै भिटामीनहरुको जम्मा जोडलाई भिटामीन बी कम्प्लेक्स पनि भन्ने गरिन्छ । यो समूहको भिटामीनको कामी हुँदा मांंसपेशीहरु थाक्ने, कमजोर महसूस हुने, हाम्रो मुड पनि खराब भइबस्ने, शरीरमा सियोले घोचेको जस्तो अनुभूति हुने, टाउको दुख्ने जस्ता समस्याहरु देखापर्न सक्छ ।
भिटामीन डीः शरीरमा भिटामीन डीको कमी हुँदा शरीरको रोग प्रतिरोधी क्षमताले राम्रो काम गर्न सक्दैन । त्यस्तो अवस्थामा ससाना प्रतिकूल अवस्थामा पनि हामीलाई रोगले समातिहाल्ने हुन सक्छ । त्यसैगरी भिटामीन डीको कमी हुँदा कपाल खस्ने, छिनछिनमा मुड परिवर्तन भइरहने तथा हड्डीमा समस्याहरु देखापर्न सक्छ ।
म्याग्नेसियमः म्याग्नेसियमको अभावमा देखापर्ने मुख्य समस्या भनेको अनिद्रा हो । त्यसैगरी, मांसपेशीहरु बाउँडिने, मुडमा परिवर्तन भइरहने जस्ता समस्या म्याग्नेसियमको कमी हुँदा देखापर्न सक्छ ।
आयोडिनः आयोडिनको कमी हुँदा कपाल खस्ने, नङहरु कमजोर हुने र सजिलै टुक्रिने, हातखुट्टाहरु चिसो भइरहने तथा थाइरोइडसम्बन्धी समस्याहरु देखापर्न सक्छ ।
फलाम (आइरन): शरीरमा फलामको कमी हुँदा श्वास फेर्न गाह्रो हुने, कपाल खस्ने, रिङ्गटा लाग्ने, मुटुको घड्कनमा अस्वभाविक गति आउने जस्ता समस्या देखापर्न सक्छ । त्यसै गरी, रगतमा हेमोग्लोबिनको कमी हुने समस्या पनि देखापर्ने हुन्छ ।
जिङ्कः शरीरमा जिङ्कको कमी भयो भने घाउँ निको हुन समय लाग्ने गर्छ । त्यसै गरी, नङमा सेतो दागहरु देखापर्ने हुन्छ, जसलाई हामी नङ फुलेको पनि भन्छौं । जिङ्कको कमीले हामीलाई बेलाबेलामा अस्वस्थ बनाइरहन्छ ।
माथि उल्लेख गरिएका भिटामीन तथा खनिजहरुको पर्याप्त आपूर्तिका लागि हामीले थरिथरिका तथा सन्तुलित खानकुराहरु खानुपर्छ । खासगरी, भिटामीन बी पाउनका लागि कलेजो, समुद्री खानेकुराहरु, दुग्धजन्य पदार्थहरु, अण्डा, गेडागुडी, तील लगायतका तेलहनहरु, हरियो पत्ता भएका सागसब्जी, कुखुराको मासु खानु पर्छ । हामीले गहुँ, काजु, बदाम, पालुङ्गो, आल्मोण्ड, डार्क चकलेटहरुमा म्याग्नेसियम पाउन सक्छौं । त्यसैगरी, कागती, सुन्तला, किवी लगायतका अमिलो फलहरु, सखरखण्ड, खुर्सानी, स्ट्रबेरी, ब्रोकाउली, बन्दा, कोपी लगायतका खानेकुराहरुमा भिटामीन सी सजिलै पाउन सक्छौं । समुद्री खानेकुरा, दुग्धजन्य पदार्थ, समुद्री झारपात, आयोडिन हालिएको नुन, दहीहरुमा आयोडिन पाउन सकिन्छ भने सीमी, गोलभेटा, दाल, कलेजो, रातो मासु, बदामहरु, फर्सीको बियामा फलाम पाइन्छ । त्यसैगरी, माछाको तेल, केही च्याउहरु, अण्डाको पहेलो, रातो मासु, कलेजो तथा घामको किरणमा भिटामीन डी प्राप्त गर्न सकिन्छ । ओयस्टर, गंगटा, राँगागोरु सुँगुरको मासु, चना, काजु, आल्मोण्ड लगायतका ड्राइफ्रुटहरुमा पनि जिङ्क पाइन्छ ।
ख्याल राख्नुपर्ने मुख्य कुरा के हो भने, शरीरलाई स्वस्थ, निरोगी राख्नका लागि थरिथरिका भिटामीनहरु, खनिजहरुको आवश्यकता पर्दछ । त्यसैले हामीलाई लगातार कमजोरी महसूस भइरह्यो, थकान लागिरहने भयो भने खानेकुराहरुमा ती भिटामीन तथा खनिजहरु पाइने चीजहरु समावेश गर्नुपर्छ । यो स्थिति लामो समयसम्म रहिरह्यो भने चाहिँ चिकित्सकको परामर्श लिनु उचित हुन्छ । कहिलेकाहीँ अन्य स्वास्थ्य समस्याहरुले पनि थकान लगाउने, शरीर कमजोर बनाउने गरेको हुन सक्छ ।
प्रतिक्रिया