बाढी पहिरोको प्रकोपः रोइलो मात्रै गर्ने कि कारण पत्ता लगाएर समाधान पनि खोज्ने ?

यतिखेर मनसुनका कारण दर्के झरी शुरु भएसँगै मुलुकका विभिन्न भागहरुमा प्राकृतिक प्रकोपले मच्चाएका वितण्डाका खबरहरु आइरहका छन् । मुलुकका अधिकांश भूभागहरुमा बाढी पहिरोको प्रकोप बढेको छ, धनजनको निक्कै क्षति भएको छ ।

हेक्का राख्नुपर्ने कुरा के छ भने, यो त शुरुवात मात्रै हो । अझै ठूला झरी आउन बाँकी नै छ । त्यसमाथि थप, पछिल्ला केही दशकहरुमा जलवायु परिवर्तनका कारण वर्षाको तौरतरिकामा ठूलै परिवर्तन आएको छ । वर्षातको मौसममा पहिले पहिलेको एउटा निश्चित समय र परिणाममा लगातार पानी परिरहने अवस्थामा हेरफेर आएर पछिल्ला वर्षहरुमा एउटा सानो क्षेत्रमा सीमित समयमा तर अत्यन्तै धेरै परिणाममा पानी पर्ने गरेका छन् । सामान्यतः क्लाउड ब्रस्ट भनिने वा आरीघोप्टे वर्षा नाम दिइएका त्यस्ता पानी पराइको असर झनै खतरनाक हुने गर्छ ।

मनसुनमा दर्के झरी पर्नु, खोलानालामा बाढी आउनु, कमजोर भूभागमा पहिरो जानु प्राकृतिक प्रक्रिया हो । यो हिजो लामो कालखण्डदेखि चल्दै आएको र आगामी लाखौं करोडौं वर्षसम्म निरन्तर चलिनै रहने प्रक्रिया हो । यो  कुनै नौलो र अनौठो कुरा होइन ।

नौलो र अनौठो लाग्ने कुरा चाहिँ के हो भने त्यस्ता बाढी पहिरोले गरेको धनजनको क्षतिबारे हरेक वर्ष ठूलै रोइलो गर्ने तर त्यसो हुनुको कारण पत्ता लगाउने र समाधान खोज्नेबारे चाहिँ उदासीन रहने प्रवृत्ति नै हो । पछिल्ला चरणमा शहरहरुमा बाढी किन पसे ? शहरुका खोलानालाहरुमा अनियन्त्रित ढंगले बाढी आउने अवस्था किन सिर्जना भयो ? गाउँघरमा पहिरो जाने प्रक्रियामा भयानक बृद्धि किन र कसरी भयो ? यसबारे कमै चासो चिन्ता हुने गरेको छ ।

शहरबजारमा बाढी पस्यो भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । शहरबजार बस्नु वा बन्नुभन्दा पहिल्यैदेखि नै स्वच्छन्द विचरण गर्ने नदीका किनारहरुमा अन्धधुन्ध शहरबस्तीको विकास र निर्माण भएपछि खोला–नदीनालाका नियमित प्रवाह रोकिनुको परिणाम शहरबजारमा बाढीले वितण्डा मच्चाएको हो । वास्तवमा, शहरबजार–बस्तीमा बाढी पसेको हैन, खोला बग्ने, बाढी आउने ठाउँमा चाहिँ शहर–बजार–बस्ती पसेको हो । यो अवस्थामा बाढीले वितण्डा मच्चायो भनेर रोइलो मात्रै गरिरहनुको कुनै अर्थ छैन ।

दोस्रो, शहर बजारहरुको विस्तारसँगै आकाशबाट परेको पानीहरु जमीनमा अवशोषित हुने प्राकृतिक प्रक्रियालाई मानिसले खल्बलाइदिएको छ ।हिजो आकाशबाट परेका पानीहरु स्वतः जमीनमुनि जाने, भूमिगत पानीको स्तरलाई नियमित गर्ने प्राकृतिक प्रक्रियालाई मानिसले निर्माण गरिदिएको गगनचुम्बी घरहरु, कङ्क्रिटको प्रयोग गरेर निर्माण गरिदिने पोर्च–आँगनहरु, अलकत्रा–सिमेन्टले लपक्कै टालिदिने बाटाहरुले अवरुद्ध गरिदिएका छन् । आकाशबाट खसेर घर टहराहरु हुँदै जमीनमा खस्ने पानी जमीनभित्र सोसिने बाटाहरु छेकिएका छन्, ती पानीहरु सोझै ढलमा मिसाइएका छन्, अलकत्रा–सिमेन्टले छोपिएका बाटाहरुबाट बग्ने पानी जमीनभित्र पसाउने उपाय खोजिएको छैन, किनाराका नालाहरुबाट ढल हुँदै सोझै खोला–नदी–नालाहरुमा हुलिएका छन् । फलतः वर्षातको माध्यमबाट जमीनसम्म आइपुग्ने पानी ह्वालका ह्वाल खोला–नदी–नालाहरुमा मिसिएका छन् । जमीनहरुमा सोसिँदै थोरै परिणाममा मात्रै खोला–नदी–नालाहरुमा पुग्नुपर्ने पानीहरु जति सबै एकैचोटी त्यहाँ मिसिन पुगेका छ । एकातिर खोला–नदी–नालाहरुमा स्वच्छन्द ढङ्गले पानी बग्ने किनाराहरु अतिक्रमित भएर निक्कै साँघुरिएर जानु, अर्कोतिर त्यहाँ वर्षाका पानी चाहिँ ओइरिएर मिसिनु अनि त्यसमाथि थप, साँघुरिएकै खोला–नदी–नालाहरु मानवसिर्जित फोहारजन्य वस्तुहरुले पुरिएर झनै साँघुरिनु– त्यसको स्वभाविक परिणाम विध्वंशक बाढी नभएर अरु के हुन सक्छ ?

विकासका नाममा गाउँघरतिर विनाशको प्रतिस्पर्धा दह्रोसँग चल्ने गरेको छ । जनतामाथि कर थोपरेर उठाइएका रकमहरु दुरुपयोग गर्दै गाउँघरतिर अन्धधुन्ध सडक खन्ने, जमीनले धान्नै नसक्ने गगनचुम्बी भौतिक संरचनाहरु खडा गर्ने लहर नै चलेको छ । विनाअध्ययन ठूला–मझौला तथा भुरेटाकुरे नेताहरु समेतको लहड र सनकको भरमा, आफ्ना मतदातालाई खुसी पार्नका खतिर मात्रै पनि डाँडापाखा जताततै सडक खन्ने खतरनाक संस्कृति निक्कै झाँगिएर गएको छ । जथाभावी सडक खन्ने र त्यस सडकमा गुड्ने सवारी साधनको भार थाम्ने भौगर्भिक क्षमताको आँकलन पनि नगर्ने – त्यसले सिर्जित गर्ने परिणाम भनेको पहिरोबाहेक अरु के हुन सक्छ ?

मुख्य कुरा त के हो भने त्यसरी सडक खन्दा प्राकृतिक रुपमा ‘वर्षाका पानीहरु बग्ने बाटाहरु’ जोगाउने वा यथावत रहने गरी बाटाघाटा खन्नेतिर कमै मात्र ध्यान दिइने गरिन्छ । बाटो खनिने स्थानको माटोको प्रकृति र क्षमता त्यसलाई धान्ने खालको छ कि छैन, अध्ययन नै हुँदैन भने पनि हुन्छ । जनप्रतिनिधि तथा तिनको आसेपासे डोजरधनीहरुको स्वार्थ, लहड, सनक र उन्मादमा सडक खनिँदा ती कुराहरुको पटक्कै ख्याल गरिन्न ।

कमजोर भौगर्भिक संरचनाहरुमा समेत जथाभावी सडक खन्दा वा बस्तीहरु बसाइँदा एकातिर वर्षाको पानी बग्ने प्राकृतिक संरचना विथोलिन्छ भने त्यस्ता पानीहरुलाई सोसेर राख्ने बोटविरुवाहरुको पनि सत्यनाश हुन पुग्छ । फलतः वर्षाको पानीले बग्ने बाटो पाउँदैन । त्यसले निकास खोज्ने एउटै उपाय भनेको जमीन, सडकलाई खोतल्ने, कटान गर्ने नै हो । अन्ततः त्यसले निम्त्याउने परिणाम भनेको विनाशकारी पहिरो नै हो ।

त्यसैले मुख्य कुरा, अहिले सहरबजार–बस्तीमा बाढी पस्यो, मुलुकका विभिन्न भागहरुमा पहिरो गएर धनजनको ठूलो क्षति गर्यो भनेर रोइलो गर्नुको कुनै अर्थ छैन । गर्नुपर्ने मुख्य काम भनेकै तत्कालका लागि उद्दारको अधिकतम तयारी तथा धनजनको क्षति कम गराउने उपायतिर ध्यान दिने नै हो । त्यसका साथसाथै, दीर्घकालमा बाढी–पहिरोको असरहरुलाई न्यून गर्न खोला–नदी–नालाहरुमा अतिक्रमण भएका भूभागहरुलाई निर्मम ढंगले खाली गराएर खोला–नदी–नालालाई नै फर्काइदिनु जरुरी छ । अनि वर्षामा आउने पानीलाई सोझै ह्वारह्वारर्ती खोलानदीनालाहरुमा मिसाउने अहिलेको ढलनालको चलनलाई बदल्नु जरुरी छ । त्यसको प्राथमिक उपाय भनेको वर्षाको पानीलाई संकलन गर्न खाली ठाउँहरुमा पोखरीहरु खन्ने, घरहरुबाट बगेर आउने पानीलाई ढलमा मिसाउनुको साटो जमीनभित्र पठाउने अनिवार्य व्यवस्था गराउने, सडकबाट बगेर जाने पानीलाई सोझै ढलमा मिसिन नदिन ठाउँठाउँमा सोकपीटहरुको व्यवस्था गरेर जमीनभित्र पठाउने उपायहरु अपनाउन सकिन्छ ।

बाढी पहिरोको प्रकोपलाई नियन्त्रण गर्न अपनाउनै पर्ने अर्को उपाय भनेको जलविद्युत विकासको नाममा खोलानाला–नदीहरुको अनियन्त्रित दोहोन गर्ने प्रक्रियामाथिको नियन्त्रण पनि हो । जलविद्युत विकासको नाममा तयार पारिने संरचनाहरु तथा खोलानाला नदीहरुको प्राकृतिक बहावमा आउने परिवर्तनले सिर्जना गर्ने पारिस्थितिकीय असरहरुबारे पनि अध्ययन हुनु–गरिनु जरुरी छ ।

त्यसबाहेक, गाउँघरतिर अन्धधुन्ध सडक खन्ने प्रक्रियामा कडाइका साथ रोक लगाएर भौगर्भिक तथा अन्य आवश्यक प्राविधिक अध्ययन गरेर वर्षाका पानीले जमीन बिथोल्न नपाउने उपायहरु अपनाएर मात्रै सडकहरु बनाउने विधि अपनाउनु जरुरी छ । सडकहरु खन्दा पानीका प्राकृतिक निकास नथुनिने उपायहरु अपनाउने, पानीको बहाव तथा माटोलाई पक्रेर पहिरोलाई रोक्ने भेटिभर जस्ता घाँसहरु भरपूर रोप्ने, ठाउँठाउँमा पानी संकलन गर्ने पोखरीहरु खन्ने, बोटविरुवाहरु रोप्ने उपायहरु पनि अपनाउन सकिन्छ ।

मुख्य कुरा, यस विषयमा गहिरो अध्ययन गरेका ज्ञाताहरु नेपालमा प्रशस्त छन् । उनीहरुको विज्ञताको मद्दत लिएर बाढी पहिरो नियन्त्रणका लागि एकीकृत नीति बनाउने तथा भोटको राजनीतिबाट बाहिरिएर त्यसलाई इमान्दारितापूर्वक लागू गर्ने हो भने बाढी पहिरोको अहिले देखिएको अनियन्त्रित प्रकोपलाई धेरैहदसम्म कम गर्न सकिने पक्का छ ।