सत्ता दुर्व्यसनले निम्त्याएको भवितव्य

‘सत्ता दुर्व्यसन’ यो विशेषण बाहेक अन्य कुनै शब्दले समकालीन नेपाली राजनीतिमा सक्रिय हालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ठिकसँग चित्रित गर्न सक्दैन । यस्तो दाबीको पछिल्लो प्रमाण हो, सत्ता सहयात्री सर्वाधिक ठुलो दल नेकपा एमालेले समर्थन फिर्ता लिएको घोषणा गर्दै सो पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा समेत ‘संविधानले दिएको सुविधा’ भन्दै संसदमा विश्वासको मतको परीक्षण गर्ने दाहालको अनौठो ‘हठ’ । र, एक साता नै सही प्रधानमन्त्रीको कुर्सीमा बसिरहने रहर वा लालसा ।

उनको त्यस्तो दुर्व्यसन कै कारण हाल उनको सत्ता यात्रामा दुर्घटना आएको हो भन्ने प्रमाणित गर्नु आवश्यक नै छैन । तथापि सयौँ प्रमाणहरू मध्ये पछिल्लो एकाध प्रमाणलाई मात्र स्मरण गर्ने हो भने प्रचण्डले संसदमा आफ्नो दलको ‘जादुई सङ्ख्या रहेको र उस्तै परे पाँच वर्ष नै आफू प्रधानमन्त्री पदमा रहिरहने’ भन्दै गरेको भाषण तथा भारतमा मोदीको सपथग्रहण समारोहमा सरिकभएर फर्केलगत्तै उनले उठाएका ‘राष्ट्रिय सहमतिको सरकार’को बेमौसमी राग उनको साथ छोडेर काङ्ग्रेससँग गला जोड्न नेकपा एमालेलाई उत्प्रेरित गर्ने महत्त्वपूर्ण घटना थियो । उनको त्यो भनाइमा प्रष्ट र गहिरो गरी जसरी पनि सरकारको साँचो आफ्नै कब्जामा राखिराख्ने सत्ता दुर्व्यसनको गन्ध रहेको कुरा समेत दोहोर्याइरहन आवश्यक छैन ।

प्रचण्ड यसरी सत्ता दुर्व्यसनमा फस्नु र त्यसबाट बाहिर निस्कन नसक्नुको एउटा लामो शृङ्खला नै छ । त्यसको पुनरावलोकन नगरी एक ‘क्रान्तिकारी योद्धा’ को राजनीतिक अवसान कसरी एक ‘सत्ता दुर्व्यसनी’को रुपमा हुने अवस्था बन्यो भन्ने कुरालाई बुझ्न मुस्किल पर्छ । त्यसैले के कस्ता घटनाक्रम, प्रचण्डको प्रवृत्ति, उनको साथ/सर्कल र उनलाई देवत्वकरण गर्ने समुहले अन्ततः प्रचण्डको राजनीतिक जीवनकै चिहान खन्ने काम गरे भन्नेबारे केही ऐतिहासिक विवेचना,  बस्तुगत घटना र केही व्यक्तिगत अनुभवलाई समेटेर यो टिप्पणी गरिएको छ ।

दुर्व्यसन तर्फको यात्रा

बि. स. २०६६–६७ सालतिरको कुरा हो । संसारलाई तरङ्गित तुल्याउने सशस्त्र जनयुद्धलाई ‘२०६३ मङ्सिर ५ को ‘वृहत् शान्ति सम्झौतामार्फत माओवादीले शान्तिपूर्ण राजनीतिमा अवतरण गराइसकेको थियो । माओवादी पार्टीले २०६४ चैत्र २८ गतेको संविधानसभाको पहिलो चुनावमा अनपेक्षित परिणाम अर्थात् ५७५ सिटमध्ये २२० सिट हासिल गरेर मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियत समेत प्राप्त गरिसकेको थियो । त्यस बेला दोस्रो शक्तिका रुपमा नेपाली काँग्रेसले ११० र तेस्रोमा नेकपा एमालेले १०३ सिट हासिल गरेको थियो ।

एकातिर चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको ‘दम्भ’ अर्कोतिर ‘जनयुद्ध लडेर आएको’ घङ्धङी माओवादीका छोटे/बढे नेता/कार्यकर्ताहरू सबैमा बाँकी नै थियो ।

यस्तैमा एक दिन माओवादीको बुद्धिजीवी संगठनका ठुलै नेतासँग दन्त बझान भयो । कुरैकुरामा उनले ठोकुवा गरे– ‘प्रचण्डको तस्बिर छापेन भने नेपालका कुनै पनि अखबार, पत्रिका चल्दैन ।‘ (त्यस बेला अहिलेको जस्तो अनलाइनको बिगबिगी भइसकेको थिएन) । बि. स. २०४३ सालदेखि कुनै न कुनै रुपमा पत्रकारितामा जोडिँदै आएको व्यक्तिलाई त्यो भाष्य पच्ने कुरै थिएन । त्यसैले प्रतिवादमा भनेँ– ‘धेरै घमण्ड नगर्नुस् कमरेड ! कुनै दिन यस्तो पनि आउनेछ, जब प्रचण्डको तस्बिर छापियो भने पत्रिका–अखबारहरू नबिक्ने दिन पनि आउन सक्छ ! प्रचण्डको अनि माओवादीको अहिलेको लोकप्रियता सधैँ यही रुपमा कायम रहिरहला भन्ने नसोच्नुहोला ।‘

पछि केही साथीहरूको सौम्य हस्तक्षेपले ती नेता र मबीचको बहसले पूर्णविराम पाएको थियो ।

यो एउटा घटना मात्रै थिएन, त्यो माओवादी वृत्तमा पलाएको अहंकार, दम्भ र मैमत्तापनले ग्रसित प्रवृत्तिको प्रतीक थियो, जुन कुनै न कुनै रुपमा अहिलेसम्म कायमै छ । यही प्रवृत्ति समेत माओवादीको ओरालोलगाइका एउटा प्रमुख कारक पक्ष हो भन्नमा कुनै आइतबार कुर्नुपर्दैन ।

कालान्तरमा नेकपा माओवादीको भीमकाय जनसमर्थन खुम्चँदै गयो । बि. स. २०७० साल मङ्सिर ४ गते भएको संविधानसभाको दोस्रो चुनावमा माओवादीको सिट सङ्ख्या ह्वात्तै घटेर ८० सिटमा झर्‍यो । त्यस बेला नेपाली काँग्रेसले १९६ र नेकपा एमालेले १७५ सिट प्राप्त गरे ।

लोकप्रियताको शिखरबाट जनताले भुईँमा झारिदिएको यो घटना पचाउन नेकपा माओवादीका नेता–कार्यकर्ताहरूलाई निक्कै गाह्रो भएको थियो । प्रचण्डले त चुनाव परिणामलाई ‘धोका’ भन्दै आफूहरू संविधानसभाबाट बाहिरिने धम्की समेत दिएका थिए । तर, पछि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबहरूका कारण उसले मत परिणामलाई स्विकारेर सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई सरकार बनाउन निशर्त समर्थन गरेको थियो ।

बि. स. २०७४ मङ्सिर १० र मङ्सिर २१ मा सम्पन्न भएको आम चुनावमा माओवादीको सिट झनै घटेर  ५३ मा झर्‍यो । त्यस बेला नेकपा एमालेले १२१ सिट र नेपाली काँग्रेसले ६३ सिट प्राप्त गरेको थियो ।

२०७९ मङ्सिर ४ गते सम्पन्न  २७५ सिटका लागि भएको चुनावमा माओवादीको सीटसंख्या झनै खस्किएर ३२ मा झरेको छ । सो चुनावमा नेपाली काँग्रेसले ८९ र नेकपा एमालेले ७८ सिट जितेको अवस्था छ ।

यहाँनेर रोचक कुरा के छ भने, शान्तिपूर्ण राजनीतिमा अवतरण गरेयता नेकपा माओवादीले लगातार जनसमर्थन गुमाउँदै गए पनि सत्तामा भने उसको चलखेल र पकड निक्कै बलियो देखियो । सिद्धान्त, नीति, नैतिकता र गौरवमय इतिहासलाई घुर्‍यानमा मिल्काएरै भए पनि सत्ताको मियोमा आफू टाँसिइरहने प्रचण्डको चाहना र त्यसका लागि उनले गरेको चलखेलले उनलाई ‘सत्ता दुर्व्यसनी’ बनायो ।

सत्ताको दुर्व्यसनमा फस्दै जाँदा प्रचण्डले पटक पटक गठबन्धनहरू फेरे । आफूले बोलेका–कबुलेका कुराहरूमा इमानदार देखिएनन् । एकका विरुद्ध अर्कोलाई आलोपालो उपयोग गर्दै, अझ एमाले काङ्ग्रेसका केही नेताहरुको शब्द सापटी लिएर भन्दा ‘धोका दिँदै’ उनले पटक पटक प्रधानमन्त्रीको पदमा विराजमान भइरहने अवसर प्राप्त गरे । उपयोगितावादको यो चर्तिकलालाई सही सिद्ध गर्न पछिल्लो पटक उनले आफ्नो पार्टीले हासिल गरेको सिटको ‘जादुइ प्रभाव’ भन्ने भाष्य सिर्जना गर्न खोजे । तर, उनको त्यो भाष्यले नै अन्ततः भवितव्य निम्त्यायो । एकका विरुद्ध अर्कोलाई उपयोग गर्ने उनको बठ्याइँले हावा खान थाल्यो । फलतः यतिखेर उनलाई दूधमा खसेको झिँगा जस्तै सत्ताको सिंहासनबाट निकालेर सत्ता राजनीतिको रङ्गमञ्चबाट नै गलहत्त्याइने अवस्था बनेको छ ।

उपयोगितावादको अभिशाप

प्रचण्डसँग सङ्गत गरेका माओवादी नेताहरू उनलाई ‘सदाबहार उपयोगितावादी’को संज्ञा दिन रुचाउँछन् । हुन पनि उनका पार्टी तथा राजनीति सत्ताको केन्द्रमा निरन्तर कायम शीर्ष हैसियतलाई उधिन्दा त्यो सत्य नै प्रतीत हुन्छ ।

प्रचण्डको राजनीतिको एउटा मुख्य घुम्ती सेक्टर काण्ड थियो । २०४५ को १९ चैतमा राजधानीकाे त्रिपुरेश्वरस्थित त्रिभुवनकाे सालिकमा कालाे माेसाे पाेतिएको तथा केही प्रहरी बीटहरु ताेडफाेड गरिएपछि मशालका नेता कार्यकर्ताहरुमाथि चर्काे दमन भएको थियो । साे   सेक्टर काण्डमा कमजाेरी भएको स्वीकार्दै तत्कालीन महामन्त्री मोहन वैद्यले पार्टीको मुख्य भूमिकाबाट आफूलाई हटाएर प्रचण्डलाई पार्टी राजनीतिको केन्द्रमा अघि सारेका थिए । सेक्टर काण्डपछि तत्कालीन नेकपा मशालको महामन्त्री बनाइएका प्रचण्ड त्यसपछि रूपान्तरण भएका नेकपा एकता केन्द्र, नेकपा माओवादीमा सदाबहार महामन्त्री तथा अध्यक्ष बनिरहे ।

उनले त्यही उपयोगितावादी नीति सत्ता यात्रामा समेत लागु गरे । कहिले नेकपा एमाले त कहिले नेपाली काँग्रेस, उनको उपयोगमा पारिरहे । एकातिर कुम जोडेर अर्कोलाई उनकै शब्दमा ‘लात हान्ने’ काम उनले गरिरहे । उनले ठूला दल एमाले र काँग्रेसलाई कसरी उपयोग गरेर आफ्नो सत्ता यात्रालाई सधैँ अघि बढाइरहे भन्नेबारे धेरै व्याख्या आवश्यक छैन, त्यो जग जाहेर छ । त्यसैले पार्टी राजनीतिमा पनि उनले विगतमा के कसरी पार्टी भित्रको ‘सत्ता कब्जा’ गरिरहे र उनको सनातनी उपयोगवादी नीति सफलतापूर्वक लागु गर्दै आएका छन् भन्नेबारे छोटो चर्चा यहाँ उपयुक्त हुन्छ । 

बि. स. २०४५ को सेरोफेरामा पार्टीको शिखर पदमा पुगेका प्रचण्डले कहिल्यै पनि आफूलाई त्यसबाट अलग हुने र अलग बस्नुपर्ने कल्पना नै गरेनन् । त्यसयता उनले पार्टीभित्र निर्बाध आफ्नो शासन सत्ता चलाउँदै आए । जनयुद्ध कालमा उनका दाँजोमा आउने तथा उनको लोकप्रियतालाई उछिन्न खोज्ने नेताहरूलाई ‘परिबन्द’मा पारेर ‘राजनीतिक स्याबोटेज’ गरियो । लोकप्रियतामा प्रचण्डभन्दा पनि माथि पुगेका बाबुरामलाई झन्डै भौतिक सफाया गरियो, छापामारहरूमाझ प्रचण्डको लोकप्रियतालाई चुनौती दिने अवस्थामा पुगेका बादलको ‘यौनकाण्ड’मा लपेटेर उठ्नै नसक्ने गरी तेजोवध गरिए ।

सिगरेटको सट्टा भेप !

शान्तिपूर्ण राजनीतिमा आउनुअघि सञ्चार मध्यमहरूमा ‘आफूहरू शासन सत्तामा नजाने, दोस्रो तहका नेताहरूलाई त्यसका लागि विकास गर्ने’, आफूहरू गान्धीको तहमा उक्लिने आदर्श छाँटेका थिए, प्रचण्डले । तर, त्यसयताको करिब १७ वर्षको अवधिमा बागमतीमा धेरै पानी बगिसकेको छ । प्रचण्डले आफूले सार्वजनिक रुपमा गरेको त्यो घोषणा बिर्सिसकेका छन् । अकण्टक रुपमा आफू जसरी भए पनि सत्तामा रहिरहनुपर्ने अनौठो व्यसनले ग्रसित देखिएका छन्, अहिले उनी ।

शान्तिपूर्ण राजनीतिमा आएयता उनी समेतले सिर्जना गरेको माओवादी पार्टीमा पटक पटक विग्रह भएको छ । हिजो उनीसँगै कुममा कुम मिलाएर, जनयुद्धको नेतृत्व गर्दै लडेका थुप्रै शीर्ष ‘कमरेड’हरुले पार्टी परित्याग गरिसकेका छन् । नेकपा माओवादीमा मात्रै उनको अकण्टक शासन सत्ता चलेको २९ वर्ष भन्दा बढी भएको छ । तर, अझै उनी पार्टीको नेतृत्व हस्तान्तरण गर्ने कुरा कल्पना पनि गर्न सक्दैनन् । उनी पार्टीभित्र आफ्नो विकल्प देख्नै सक्दैनन्, देख्नै चाहँदैनन् । आवश्यक परे उनी पार्टीभित्रका अरू सत्ताकांक्षी नेताहरूलाई साम, दाम, दण्ड, भेदका नीतिहरू अपनाएर फकाउने र लडाउने गरेर भए पनि पार्टी भित्रको आफ्नो सत्तालाई जोगाइराख्न चाहन्छन् ।

राष्ट्रिय राजनीतिको सत्ता केन्द्रमा अब उनी फेरी उक्लने सम्भावना निकै न्यून छ । तथापि असम्भव भने चाहिँ छैन । किनकि सबै प्रकारका दुर्व्यसनीहरूमा पाइने एउटा साझा कुरा भनेको नै आफ्नो तृष्णा तृप्त गर्न जुनसुकै हद सम्म पुगेर जे गर्न पनि तयार हुने प्रवृत्ति । त्यो प्रचण्डको हकमा पनि लागु हुन्छ ।

यदि उनले केन्द्रीय सत्तामा फेरि आरोहण गर्न सकेनन् भनेपनि ‘पार्टी सत्ता’ भने त्यो मितिसम्म छोड्ने छैनन् जबसम्म उनको पार्टी नेकपा माओवादी केन्द्र पूर्ण रुपमा विघटन हुँदैन । उनले चाहेर पनि त्यो छोड्न सक्दैनन् किनकि उनी ‘सत्ता दुर्व्यसनी’ हुन् । केन्द्रीय सत्ताबाट लिने आनन्द उनले पार्टी सत्ताबाट नै भए पनि प्राप्ति गर्ने प्रयास जारी राख्नेछन् । हामी सबैले देखेका छौँ, धूम्रपानको दुर्व्यसनमा परेकाहरूले त्यो छोड्नु पर्ने बाध्यता आइपर्दा विद्युतीय चुरोट (भेप)को भए पनि धुवाँ निल्ने गर्छन् । शायद सत्ताको दुर्व्यसन धूम्रपानको दुर्व्यसनभन्दा निक्कै कडा र चर्को नै हुने गर्छ ।