पेट्रोडलरको अवसान: के सकिएकै हो त अमेरिका-साउदी सम्झौताको म्याद ?
एउटा भनाइ छ- काल्पनिक कथाहरूले प्रायः सत्यलाई अझ प्रष्ट्सँग व्यक्त गर्न सक्छन् । हालै इन्टरनेटमा सनसनीपूर्ण भएको ‘अमेरिका र साउदी अरेबिया बीचको ५० वर्षको पेट्रोडलर सन्धिको म्याद सकियो’ भन्ने खबरले यस्तै एक सत्यलाई सार्वजनिक गरेको छ । त्यो हो, पेट्रोडलरको वास्तविक अवसान ।
तर, यी दुई मुलुकबीच भएको सम्झौताको म्याद सकिएको भन्ने हल्ला चाहिँ सत्य होइन । किनकि यी दुई मुलुकबिच त्यस्तो कुनै औपचारिक सम्झौता भएकै छैन । त्यसैले म्याद सकिने कुरै आउँदैन ।
हालै भारतीय सञ्चारमाध्यमहरूले सन् १९७४ को जुनमा अमेरिका र साउदी अरेबियाबिच आधिकारिक सम्झौता भएको थियो र त्यसको म्याद सकियो भन्ने समाचारहरू प्रकाशित गरे । जसमा लेखिएको थियो, ‘सम्झौता अनुसार साउदीले आफ्नो तेलबिक्रिबाट हुने आम्दानीलाई अमेरिकी डलरमा रिसाइकल गरेको बदलामा अमेरिकाले सैन्य सहायता दिने वाचा गरिएको थियो। र, त्यो सम्झौताको समयावधि समाप्त भयो ।’
खासमा रियादले आफ्नो तेलको भुक्तानी अमेरिकी डलरमा बेच्ने सम्झौता/समझदारी अनौपचारिक थियो । त्यसैले त्यहाँ म्याद सकिने कुनै मिति नै थिएन। यथार्थमा पेट्रोडलर प्रणाली धेरै हदसम्म स्वतःस्फूर्त रूपमा चलिरहेको छ। यो कुनै लिखित सम्झौतामा आधारित छैन ।
पेट्रोडलर प्रणालीको प्रारम्भ
जब अमेरिकाले सन् १९७१ मा आफ्नो मुद्रा डलर र सुनको स्थायी विनिमय (पेगिंङ) अन्त्य भएको घोषणा गर्यो तब ब्रिटनउड सम्झौताको समेत समाप्त भई अन्तर्राष्ट्रिय वित्तीय प्रणाली नै अन्यौलताको सिकार बन्यो । यसपछि अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य स्वतन्त्र बजारले गर्न थाल्यो र सन् १९७३ सम्म पुग्दा अमेरिकी डलरको मूल्य मुख्य मुद्राहरूको तुलनामा ५ गुणासम्म तल झर्यो ।
यसरी साढे दुई दशकसम्म रहेको विश्वमा डलरको एकल साम्राज्यको त अन्त्य भयो तर विश्व व्यापारमा डलरको प्रयोग हुने कुराको बिस्तार भने रोकिएन । त्यसो हुनुको प्रमुख कारण थियो अमेरिकाको कुशल कूटनीतिक व्यवस्थापन । जसको कारण उसले सन् १९७४ मा साउदी अरबलाई तेलको भुटानी डलरमा लिने कुरामा सहमत गराउन सक्यो । जुन चाँडै तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकका सबै सदस्य मुलुकहरूसम्म सजिलै विस्तार भयो ।
यस्तो फैलावटसँगै अनौपचारिक रुपमा नै सही एउटा यस्तो अवस्था बन्यो कि तेल र डलरबिच ‘डी-फ्याक्टो ब्याकिंङ’ निकै बलियो बन्यो । यसरी समस्यामा परेको अमेरिकी डलरलाई तेलको आधिकारिक भुक्तानीको मुद्रा बनाई पुनर्जीवन दिएको बदलामा अमेरिकाले साउदी अरबको रक्षाको जिम्मा लियो । विश्व चर्चित प्रभावशाली कूटनीतिज्ञ हेनरी किसिन्जर अमेरिकाको विदेश मन्त्री रहेका बेलाको यो घटनालाई धेरैले साउदी अरबले त्यो बेला अस्वीकार गर्न नसक्ने भएकोले मात्रै अमेरिकी प्रस्ताव स्वीकार गर्न बाध्य भएको पनि भन्ने गरेका छन् । जे होस्, यसरी पेट्रोडलर प्रणालीले आकार लिएको हो ।
साउदी अरेबिया र संयुक्त राज्य अमेरिका बिचको पेट्रो-डलर व्यवस्थाको प्रत्येक विवरणलाई स्पष्ट रूपमा रूपरेखा दिने कुनै पनि औपचारिक लिखित सम्झौता छैन। बरु, पेट्रो-डलर प्रणाली आपसी समझदारी, कूटनीतिक आदानप्रदान र सन् १९७० को दशकमा भएको आर्थिक प्रोत्साहनहरूको शृङ्खला मार्फत विकसित भएको हो।
यसपछि साउदी अरेबिया र अन्य ओपेक राष्ट्रहरूले अमेरिकी डलरमा मात्र आफ्नो तेलको मूल्य निर्धारण गर्न थाले, जसले अन्तर्राष्ट्रिय बजारमा डलरको निरन्तर माग सिर्जना गर्यो। त्यसैगरी साउदी अरेबिया लगायत तेल निर्यात गर्ने देशहरूले आफ्नो अतिरिक्त डलर अमेरिकी ट्रेजरी सेक्युरिटीहरू र अन्य डलर-निर्धारण सम्पत्तिहरूमा लगानी गरे।
यसले संयुक्त राज्य अमेरिकालाई आफ्नो घाटा काम गर्न आवश्यक वित्त पोषणको स्थिर स्रोत प्रदान गर्यो र डलरको मूल्य कायम राख्न मद्दत गर्यो। अनि संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले यस अवधिमा घनिष्ठ कूटनीतिक र सैन्य सम्बन्ध विकास गरे। जसमा सुरक्षा र रक्षा सहयोग सम्बन्धी सम्झौताहरू समावेश थिए। यी सम्बन्धले दुवै देशलाई पारस्परिक लाभ र स्थिरता प्रदान गर्न मद्दत गर्यो ।
यस प्रकार, सन् १९७३/७४ को आर्थिक मन्दी पछिका लगभग तीन दशकसम्म प्रति ब्यारेल कच्चा तेलको मूल्य १५ देखी ३० डलरको बिचमा कायम रह्यो । यसबिच सन् १९७८-७९ मा इरानमा भएको क्रान्तिको बेला मात्र तेलको मूल्यमा उच्चतम वृद्धि आएको थियो । जुनबेला अमेरिकामा समेत मूल्यवृद्धि दर अत्यधिक बढेको थियो । वास्तवमा भन्ने हो भने पेट्रोडलर प्रणालीको अलिखित सम्झौताको सर्वाधिक उल्लेखनीय पक्ष नै यस प्रकारको मूल्य स्थिरता हो ।
नयाँ शताब्दीमा फेरबदल
तीस वर्षसम्म स्थिर झैँ रहेको तेलको मूल्य सन् २००३ पछि भने तीव्र गतिमा बढ्यो । चीनले बढाएको खरिदको मात्र र विश्वव्यापी रुपमा तेल उत्खनन त्यति सहज कार्य होइन भन्ने मान्यता स्थापित भएपछि तेलको मूल्य आकासिएको थियो । परिणामतः यसबिच सन् २००३ देखी २००८ को बिचमा डलरको मूल्य समेत निकै घट्न पुग्यो । सन् २००८ को जुलाईमा त तेलको मूल्यले ऐतिहासिक १४५ डलर प्रति ब्यारेकको मूल्य कायम गर्यो । जुन फेरी तल बिरलै मात्र झर्यो । जसले डलरको मूल्यमा निकै नै गिरावट ल्यायो ।
लामो समयसम्म रहेको पेट्रोडलरको तागत त्यसपछि भने उल्लेख्य मात्रामा घट्यो । यसलाई पुरानै अवस्थामा राख्न अमेरिकाले आफ्नो मुलुकमा ब्याजदरमा निकै फेरबदल गर्दा पनि त्यसमा तात्त्विक सुधार आउन सकेन । सन् २००८/०९ को आर्थिक मन्दीसँग लड्न अमेरिकाले गरेको वित्तीय लगानीले डलरको महत्वलाई झन् घटायो । त्यसैबेला कतिपय मुलुकले अनौपचारिक रुपमा डलरको बदलामा सुनमा तेलको भुक्तानी समेत लिए ।
तर, सन् २०१० देखि २०२० सम्म भने फेरी परिस्थिति फेरियो । अमेरिकामा सेल खनिज तेलको उत्खननले अमेरिकालाई समेत तेल उत्पादनले हिसाबले महत्त्वपूर्ण मुलुक बनायो । फलस्वरूप डलरले तेलसँगको आफ्नो सम्बन्ध बलियो बनाउँदा डलरको भाउ बढ्यो । तर, त्यो लामो समयसम्म टिकेन । समग्रमा भन्दा सन् २०५५ पछि कमजोर बनेको पेट्रोडलर प्रणाली अहिले मरणासन्न अवस्थामा छ ।
साउदीको नयाँ घोषणा
सन् २०२३ को जनवरीमा साउदी अरबले प्रष्ट्र शब्दमा आफुले डलर बाहेक अन्य मुद्रामा समेत तेलको कारोबार गर्न चाहेको खुलासा गर्यो । यसअघी नै पेट्रोडलरलाई धावा बोल्दै चीनले आफ्नो मुद्रा युआनलाई तेलको कारोबारको लागि प्रयोगमा ल्याउन निकै प्रयास गरिरहेको थियो । यसैक्रममा चीन र साउदीले स्थानीय मुद्रामा तेलको कारोबार गर्ने भविष्यको योजनालाई स्वीकारे ।
तर, यहाँ स्मरणीय कुरा यो छ कि साउदी आफ्नै सक्रियतामा पेट्रोडलर प्रणाली तोड्ने निष्कर्षमा भने पुगेको होइन । किनकि साउदीलाई यो प्रणालीले कुनै नोक्सान गरेको छैन । तथापि, विश्व परिदृश्य कसरी परिवर्तन भइरहेको छ भन्ने कुरालाई साउदीले निकै चासोका साथ नियालिरहेकोले उ अब पेट्रोडलरको रक्षार्थ मरिहत्ते गर्ने पक्षमा नरहेको हो ।
(अन्तर्राष्ट्रिय समाचार स्रोतहरूको सहयोगमा)
प्रतिक्रिया