गतिलो शिष्य (चिनियाँ नीतिकथा)

छयु नाम गरेका व्यक्ति चेसका अति नै खप्पीस गुरु थिए ।

एक पटकको कुरा हो । दुईजना चेलाहरु छयुकहाँ चेस सिक्न आए । तीमध्ये एकजना धेरै नै प्रतिभावान् थियो । अर्को सामान्य थियो । सामान्य शिष्य निक्कै गंभीर थियो । गुरुको एक एक कुरा ध्यान दिएर सुन्थ्यो । मन लगाएर सिक्थ्यो । प्रतिभावान् शिष्य गुरुको कुरा त सुन्थ्यो तर सँगसँगै जंगली हाँसका बारेमा पनि सोचिरहन्थ्यो । उसको मन बन्दुक लिएर ती हाँसहरुलाई ताक्ने, हान्ने र खसाल्ने धुनमै लागिरहेको हुन्थ्यो ।

निश्चित समयपछि परीक्षा भयो । सामान्य शिष्य साँच्चिकै प्रतिभाशाली शिष्यका रुपमा अगाडि आयो । जो प्रतिभाशाली शिष्य थियो, उसले आधाआधि सफलता पनि प्राप्त गर्न सकेन । “यस्तो किन भयो ?” गुरुले त्यसै प्रतिभाशाली शिष्यसित सोधे ।

“मैले ध्यान दिएर सिकिनँ, गुरु” प्रतिभाशाली शिष्यले जवाफ दियो– हिंडिरहे कमिलाले पहाड नाघ्छ, बसिरहे गरुड पनि एकै ठाउँमा हुन्छ भनेको यही होला गुरुजी, गल्ती मेरै हो । ध्यान नदिएपछि सिक्न नसकिने रहेछ !”

प्रस्तुति: शारदारमण नेपाल