कार्ल मार्क्सको पर्यावरणीय समाजवाद र कोहोए साइतो
विश्वभर मार्क्सवादका विभिन्न स्कुलहरु प्रचलित छन्। तीमध्ये सोभियत, युरोपियन (जर्मन, फ्रेन्च र इटालियन) र चिनियाँ मार्क्सवादी स्कुलहरु अग्रणी मानिन्छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा खासै चर्चा नभएको तर एकदमै बौद्धिक एवं सशक्त मार्क्सवादी परम्परा भएको देश हो जापान। जापानको मार्क्सवादी परम्पराको सुरुवात युरोपेली र सोभियतसंघको भन्दा पृथक ढंगबाट भएको थियो। यसैले जापानी मार्क्सवादको बौद्धिक विकासमा ठुलो भूमिका खेलेको देख्न सकिन्छ।
जापानी मार्क्सवादका अधेयता ग्याबिन वाल्करका अनुसार युरोपमा मार्क्सवादी परम्पराको सुरुवात राजनीतिक आन्दोलनबाट भयो। तर जापानमा त्यसको ठीक विपरीत विश्वविद्यालयबाट भएको थियो। त्यही कारणले गर्दा जापानमा सैद्धान्तिक मार्क्सवादको विकासको लागि आधारभूमि तयार पार्यो । जापानमा मार्क्सवादलाई युरोप र अरु ठाउँमा जस्तो राजनीतिक आन्दोलनको मेरुदण्डको रुपमा नभई समाज विज्ञानको अनुसन्धान गर्ने औजारको रुपमा लिइयो। फलत: जापानमा मार्क्सवादले विशिष्ट प्रकारको सैद्धान्तिक रुप लिन सक्यो। विश्वमा सबैभन्दा पहिला मार्क्स एंगेल्सको संकलित रचना संग्रह जर्मनी, अंग्रेजी, फ्रेन्च वा रुसी भाषामा नभएर जापानी भाषामा प्रकाशित भएको कुरा यहाँ उल्लेखनीय छ। सन् १९३२ मा साइकिसाका इत्सुरोले मार्क्स एंगेल्स रचना संग्रह ३५ खण्डमा प्रकाशित गरेका थिए। यसले पनि जापानमा मार्क्सवादको विकासको इतिहास प्रष्ट पार्छ।
जापानमा मार्क्सवादलाई युरोप र अरु ठाउँमा जस्तो राजनीतिक आन्दोलनको मेरुदण्डको रुपमा नभई समाज विज्ञानको अनुसन्धान गर्ने औजारको रुपमा लिइयो। फलत: जापानमा मार्क्सवादले विशिष्ट प्रकारको सैद्धान्तिक रुप लिन सक्यो।
जापानका विश्वविद्यालयहरुमा समाज अध्ययनको क्षेत्रमा मार्क्सवादी अनुसन्धान पद्धति मुख्य धार बनेको थियो। जापानको विश्वविद्यालयहरुमा आफूलाई मार्क्सवाद विरोधी र उदारवादी भनेर दावी गर्ने हरुको समेतको अध्ययनको जग भने मार्क्सवाद नै हुन्थ्यो । १९८० र १९९० सम्म पनि जापानी विश्वविद्यालयहरुको मुख्य अनुसन्धान पद्धतिको रुपमा मार्क्सवादकै बाहुल्यता रहयो। यस्तो परिदृश्य विश्वमा अन्यत्र देख्न दुर्लभ नै थियो। तर जापानमा मार्क्सवादको सैद्धान्तिक विकास उच्च स्तरमा भए पनि यो आफ्नो भाषाको सिमाना भित्र खुम्चिएर मात्रै रहेको थियो।
जापानी मार्क्सवादको यो सम्बृद्ध परम्पराका एउटा नयाँ कडी हुन् कोहोए साइतो। ३६ वर्षीय कोहोए साइतो जापानको टोक्यो विश्वविद्यालयमा प्राध्यापन गर्छन्। उनको मुख्य अध्ययन र अनुसन्धानको क्षेत्र पर्यावरण र राजनीतिक अर्थशास्त्र हो। उनले जर्मनीको हम्बोल्ट युनिभर्सिटीबाट विद्यावारिधिको उपाधि प्राप्त गरेका थिए। कोहोए साइतोले आफ्नो अध्ययनको क्रममा कार्ल मार्क्स र फेडरिक एंगेल्सको सम्पूर्ण संकलित रचना संग्रहको १८ औ खण्डको सम्पादनको काममा समेत सहभागी भएका थिए। यो अनुसन्धान उनको विद्यावारिधिको शोधग्रन्थको मुख्य आधार बन्यो। पछि उनले यही शोधग्रन्थमा आधारित भएर २०१७ मा 'कार्ल मार्क्सको पर्यावरणीय समाजवाद : पूँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचना' ( Karl Marx’s Ecosocialism: Capital, nature, and the unfinished critique of political economy ) भन्ने पुस्तक लेखे। यो पुस्तकलाई २०१८ को मार्क्सवादी अध्ययन अनुसन्धान क्षेत्रको प्रतिष्ठित पुरस्कार डोइचर स्मृति पुरस्कार ( Deutscher Memorial Prize ) ले सम्मानित गरिएको थियो।
कोहोए साइतोले आफ्नो अनुसन्धानको क्रममा मार्क्सका पुराना बिर्सिएका नोटबुक र खेस्राहरुको अध्ययन गरे। साइतोले भनेका छन्- हामीले मार्क्सका नोटबुकहरुलाई हेर्ने हो भने कसैले पनि महसुस गर्न सक्छ कि उनले दुईवटा विचित्रका क्षेत्रहरुका बारेमा अध्ययन गर्दै थिए भनेर– एउटा प्राकृतिक विज्ञान र अर्को पूँजीवादी समाज। जब मार्क्सले आफ्नो पुस्तक प्रख्यात पुस्तक पूँजीको दोश्रो र तेश्रो खण्ड लेखिसक्नु पर्ने थियो, उनी वास्तवमा त्यसबेला प्राकृतिक बिज्ञान, रसायनशास्त्र र भूगर्भशास्त्रको अध्ययन गरिरहेका थिए। यसले मार्क्सको चिन्तनमा आएको महत्त्वपूर्ण परिवर्तनलाई प्रस्ट पार्दछ। पर्यावरणप्रतिको बढ्दो चासोको कारणले मार्क्सले देख्न थालेका थिए कि प्रकृतिको चरम दोहन नै पूँजीवादको मुख्य अन्तरविरोध हो।
साइतोले भनेका छन्- हामीले मार्क्सका नोटबुकहरुलाई हेर्ने हो भने कसैले पनि महसुस गर्न सक्छ कि उनले दुईवटा विचित्रका क्षेत्रहरुका बारेमा अध्ययन गर्दै थिए भनेर– एउटा प्राकृतिक विज्ञान र अर्को पूँजीवादी समाज।
कोहोए साइतोले जुन सुरु गरेका अध्ययन पूर्णतया नौलौ भने होइन। मार्क्सवादी पर्यावरणशास्त्रभित्र मेटाबोलिक रिफ्ट (metabolic rift) विचारको स्कुल छ। 'मेटाबोलिक रिफ्ट' वातावरण क्षयीकरणबारे मार्क्सले विकास गरेको सिद्धान्त हो। मानव समाज पर्यावरणको एक अंग हो। मानव समाजको अस्तित्व प्राकृतिक श्रोत साधनको दिगो प्रयोगमा निर्भर हुन्छ। तर निरन्तर विकास र नाफाको मुख्य उद्देश्य राख्ने पूँजीवादले प्रकृतिको सन्तुलनलाई बिगारिदिन्छ। मार्क्सका अनुसार पूँजीवादले मानिस र प्रकृतिबीचको पोषण र उर्जाको प्राकृतिक चक्रलाई खल्बलाइदिन्छ। त्यही कारणले गर्दा माटोको उर्बराशक्ति क्षय हुने, वन विनासजस्ता वातावरणीय समस्या आउने गर्दछन्। मार्क्सका अनुसार पूँजीवादले कसरी 'मेटाबोलिक रिफ्ट' ल्याउछ भने- प्राक पूँजीवादी समाजमा मानिसहरु आफ्नो जमिनको नजिकै बस्थे। उनीहरुको क्रियाकलापहरु प्राकृतिक वातारणसंग अभिन्न रुपमा जोडिएको थियो। तर पूँजीवादले ग्रामीण र सहरी क्षेत्र बिचमा विभाजन बढाएको छ। पूँजीवादमा शहर उत्पादन र खपतको मुख्य केन्द्र बनेको छ भने ग्रामीण क्षेत्र कच्चा पदार्थको श्रोत बनेको छ। यो बिभाजनले पोषणको काम गर्न सक्ने, खेर जाने उत्पादनलाई फेरि त्यही जमिनमा फर्काउन मुस्किल जस्तै बनेको छ। फलत: त्यो खेर जाने उत्पादन फोहोरमैलाको रुपमा शहरमा नै थुपारिन्छ। त्यसले त्यो ठाउँको जमिन र पानीलाई प्रदुषित गरिदिन्छ। एकातर्फ ग्रामीण क्षेत्रको जमिन आफूले उत्पादन गरेको वस्तुको अवशिस्ट पदार्थबाट बन्चित बनेर बन्जर बन्दै जान्छ भने अर्कोतर्फ शहरी क्षेत्रमा त्यो पदार्थ अनुपयोगी चिजको रुपमा थुप्रिएर प्रदुषणको श्रोत बनिरहेको हुन्छ। केही दशक यता 'मेटाबोलिक रिफ्ट' स्कुलअन्तर्गत अमेरिकी समाजशास्त्री एवं प्रख्यात मार्क्सवादी पत्रिका 'मन्थ्ली रिभ्यू'का सम्पादक जोन बेलामी फोस्टर र अमेरिकी अर्थशास्त्री पल ब्रुकेटले अध्ययन गरिरहेका छन्।
मार्क्सका अनुसार पूँजीवादले कसरी 'मेटाबोलिक रिफ्ट' ल्याउछ भने- प्राक पूँजीवादी समाजमा मानिसहरु आफ्नो जमिनको नजिकै बस्थे। उनीहरुको क्रियाकलापहरु प्राकृतिक वातारणसंग अभिन्न रुपमा जोडिएको थियो। तर पूँजीवादले ग्रामीण र सहरी क्षेत्र बिचमा विभाजन बढाएको छ।
दशकौंदेखि पर्यावरणवादीहरुले कार्ल मार्क्सलाई प्रोमिथियन भनेर आलोचना गर्ने गरेका थिए। प्रोमेथियस ग्रीक मिथकका पात्र हुन्। जसले स्वर्ग बाट आगो चोरेर धर्तिमा ल्याएका थिए। यहा मार्क्सलाई पर्यावरणवादीहरुले साम्यवादी राज्य स्थापन गर्न प्रकृतिमाथि मानिसको असीमित नियन्त्रण र आधिपत्यको चाहना राखेको भनेर प्रोमिथियन चिन्तक भनेर आरोप लगाएका थिए। कोहोए साइतोले आफ्नो पुस्तक कार्ल मार्क्सको पर्यावरणीय समाजवाद : पूँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचनाको भूमिकामा लेखेका छन्- मार्क्सको राजनीतिक अर्थशास्त्रको आलोचनालाई बुझन सम्भव नै हुँदैन यदि कसैले त्यसको पर्यावरणीय आयामलाई बेवास्ता गर्छ भने।
कोहोए साइतोको पुस्तक कार्ल मार्क्सको पर्यावरणीय समाजवाद : पूँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचना दुई भागमा विभाजन गरिएको छ। पहिलो खण्डमा पर्यावरण र अर्थव्यवस्था रहेको छ भने दोश्रोमा मार्क्सको पर्यावरण र मार्क्स-एंगेल्सको सम्पूर्ण रचना संग्रह रहेको छ।
पहिलो खण्डमा मार्क्सको चिन्तनमा पर्यावरणको व्यवस्थितस्वरुप निहित छ र यो उनको राजनीतिक अर्थशास्त्रको आलोचनासँग निरन्तरतामा रहेको छ भनेर देखाउन खोजिएको छ। त्यस्तै दोश्रो खण्डमा मार्क्सको पर्यावरणको गहिरोसंग अध्ययन गरिएको छ। उनको अप्रकाशित नोटबुकहरुको पहिलो पटक अध्ययन गरेर त्यसमा रहेका प्राकृतिक विज्ञानसम्बन्धी टिप्पणीहरुलाई हेरेर मार्क्सले गरेको पूँजीवादको पर्यावरणीय आलोचनाको उद्भव र विकासको खोजी गरिएको छ।
मार्क्सका अनुसार आधुनिक अलगवादी जीवनको उदयको मुख्य कारण प्रकृति र मानवबीचको सम्बन्धको विघटन नै हो। मार्क्सले अलगावको परिस्थितिलाई चिर्न निजी सम्पतिलाई उन्मुलन गरिनुपर्छ, जसले गर्दा मानिसले प्रकृतिसंग स्वतन्त्र रुपमा, सहयोगी तवरमा सम्बन्ध राख्न सक्छ भन्ने कुरामा जोड दिएका छन्।
पहिलो अध्यायमा साइतोले आधुनिकको उदयको रूपमा प्रकृतिको अलगावमा मार्क्सको पर्यावरणीय आलोचनाको व्यवस्थित रुपमा खोज गरेका छन्। यसमा उनले मार्क्सको १८४४ को पेरिस नोटबुकदेखि पूँजीसम्मको व्यवस्थित अध्ययन गरेका छन्। यो अध्यायमा अलगावसम्बन्धी मार्क्सको प्रख्यात सिद्दान्तबारे चर्चा गरिएको छ। मार्क्सका अनुसार आधुनिक अलगवादी जीवनको उदयको मुख्य कारण प्रकृति र मानवबीचको सम्बन्धको विघटन नै हो। मार्क्सले अलगावको परिस्थितिलाई चिर्न निजी सम्पतिलाई उन्मुलन गरिनुपर्छ, जसले गर्दा मानिसले प्रकृतिसंग स्वतन्त्र रुपमा, सहयोगी तवरमा सम्बन्ध राख्न सक्छ भन्ने कुरामा जोड दिएका छन्। मार्क्सको अर्को महत्त्वपूर्ण पुस्तक जर्मन विचारधारामा उनी मानव र प्रकृतिबिचको सम्बन्धको परीक्षण गर्न थालेका थिए । त्यसैमा उनले मेटाबोलिजमको अवधारणा पनि प्रस्तुत गरेका थिए। साइतोले आफ्नो पुस्तकको दोश्रो अध्याय 'राजनीतिक अर्थशास्त्रको मेटाबोलिजम'मा मार्क्सको सिद्दान्तमा मेटाबोलिजमको अवधारणाको विकास कसरी भयो भनेर खोजी गरेका छन् । मार्क्सले पहिलो पटक यो अवधारणाको प्रयोग उनले पहिलो पटक लन्डन नोटबुकमा गरेका थिए र पछि यसलाई 'ग्रुंडरिस' अनि 'पूँजी'मा व्याख्या गरेका छन्। पूँजीले आफ्नो निरन्तर विस्तारको लागि प्रकृतिको दोहन गर्दा पूँजीवादकै अन्तर्विरोधहरु (वनविनाश, कार्वन उत्सर्जन, जैविक बिबिधताको नास आदि) गहिरिदै जान्छ। मार्क्सका अनुसार पूँजीवादको मेटाबोलिक सम्बन्ध दिगो मानव विकाससँग कुनै तालमेल खादैन। यो पुरै असंगत हुन्छ।
यो पुस्तकको तेश्रो अध्याय 'पूँजी मेटाबोलिजमको सिद्दान्त'को रुपमा रहेको छ। यो अध्यायमा साइतोले मार्क्सको सिद्दान्त रिफिकेसनको आलोकमा उनको पर्यावरणशास्त्रको खोजी गर्ने कोशिस गरेका छन्। मार्क्सले रिफिकेसनको सिद्दान्त आफ्नो प्रख्यात पुस्तक पूँजीमा विकास गरेका थिए। मार्क्सले आफ्नो पर्यावरणीय आलोचनाको क्रममा यसलाई क्रमश: विकास गरेका थिए। साइतोका अनुसार मार्क्सले सामान्य रुपमा मानवताले वातावरण विनास गर्छन भनेर दावी गरेका छैनन्। बरु उनको भौतिकवादी पद्धतिले कसरी पूँजीको ठोस गतिशीलताले मानव र प्रकृतिबिच इतिहासको समयभन्दा पर हुने मेटाबोलिजमलाई पुनसंगठन गर्छ भनेर अनुसन्धान गर्छ। साथै यसले दिगो मानव विकासको आधारभूत सर्तलाई कसरी नकार्छ भनेर पनि अनुसन्धान गर्छ। त्यसैगरी मार्क्सको समाजवादी परियोजनाले मानव-प्रकृतिको सम्बन्धलाई रिफिकेसनको पराई शक्तिमाथि बन्देज तथा अतिक्रमण गरेर पुनर्स्थापना गर्ने माग गर्दछ।
मार्क्सले रिकार्डोको आयरल्याण्डको प्रश्नमा गरेको आलोचनाले उनले प्राकृतिक विज्ञानको प्रयोग जमिनको लगानको सिद्दान्तमा मात्र सीमित राखेका छैनन् कि बरु पर्यावरणीय साम्राज्यवादको विश्लेषणको आधार तयार गर्न प्रयोग गरेका छन्।
पुस्तकको दोश्रो खण्डमा साइतोले मार्क्सका प्राकृतिक विज्ञानसम्बन्धी अप्रकाशित नोटबुकहरुको अध्ययन गरेका छन्। उनले यो खण्डमा मार्क्सले कसरी अनेकौं विद्वानहरुका पुस्तकहरु वर्षौसम्म अध्ययन गरेर पूँजी विरुद्धको आफ्नो पर्यावरणीय आलोचनामा परिस्कार गरेका थिए भन्नेबारे प्रकाश पारेका छन्। आफ्नो पुस्तकको पाचौं अध्याय 'लाइबिग र पूँजी'मा कोहेये साइतोले आफ्नो पुस्तक पूँजीमा जमिनको लगानको सिद्दान्त तयार पार्नको लागि मार्क्सले कसरी प्रकृति विज्ञानका पुस्तकहरु रुचिपूर्वक पढेका थिए भनेर लेखेका छन्। यी पुस्तकहरु मध्ये जस्टस भोन लाइबिग (Justus von Liebig) को कृषि रसायनशास्त्र (Agricultural Chemistry) भन्ने पुस्तक पनि एक थियो। मार्क्सलाई लाइबिगको पुस्तकले रिकार्डोको घट्दो प्रतिफलको नियमको आलोचना गर्न प्रमुख आधार प्रदान गरेका थिए। यस पुस्तकको पाँचौं अध्याय 'कृषिको डकैती विरुद्ध मलखाद ?' रहेको छ। यो अध्यायमा साइतोले मार्क्सले लाइबिगको कृषिसम्बन्धी विज्ञानको प्रभावले गर्दा उनमा रहेको प्रोमिथियन वा उत्पादकत्ववादी मोडेललाई परित्याग गरेका थिए भनेर स्पष्ट पारेका छन्। मार्क्स सुरुमा वैज्ञानिक र प्राविधिक विकासले प्रकृतिको सिमालाई उल्लङ्घन गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरामा विश्वास गर्थे। तर पछि गएर जस्टस भोन लाइबिग, एफडब्लु जोंस्टन आदि वैज्ञानिक र अर्थशास्त्रीहरुको विचारले उनमा आधुनिक कृषि प्रतिको दृष्टिकोणमा बदलाव ल्याइदियो। जसका कारणले मार्क्सले पूँजीवादी उत्पादनका अन्तरविरोधहरुलाई प्राकृतिक र सामाजिक मेटाबोलीजममा आएको गडबडीको रुपमा विश्लेषण गर्न थाले। मार्क्सले रिकार्डोको आयरल्याण्डको प्रश्नमा गरेको आलोचनाले उनले प्राकृतिक विज्ञानको प्रयोग जमिनको लगानको सिद्दान्तमा मात्र सीमित राखेका छैनन् कि बरु पर्यावरणीय साम्राज्यवादको विश्लेषणको आधार तयार गर्न प्रयोग गरेका छन्।
आफ्नो पुस्तकको छैठौं अध्याय '१८६८ पछि पर्यावरणसम्बन्धी मार्क्सेली अध्ययन'मा साइतोले कसरी मार्क्सले आफ्नो पुस्तक पूँजीको प्रकाशनपछि पनि अझ गहनताका साथ प्राकृतिक विज्ञानका पुस्तकहरु अध्ययन गरेका थिए भनेर व्याख्या गरेका छन्। मार्क्सले जस्टस भोन लाइबिग मात्र होइन, त्यसबेला अर्का जर्मन कृषि अर्थशास्त्री कार्ल फ्रासलाई समेत अध्ययन गर्न थालेका थिए। कार्ल फ्रास लाइबिगका आलोचक थिए। फ्रासले कृषि भौतिकशास्त्रको पैरवी गर्थे। त्यो कुरा लाइबिगको कृषि रसायनशास्त्रको एकदमै विपरीत थियो । फ्रासले लाइबिगको कामलाई पुरै खारेज नगरे पनि उनी माटोको उत्पादकत्वमा रासायनिक तत्त्वभन्दा जलवायुका तत्त्वहरु बढी महत्वपूर्ण हुन्छ भन्ने ठान्थे। मार्क्सले फ्रासको खोजसम्बन्धी आफ्नो नयाँ मूल्याङ्कनलाई आफ्नो पुस्तक पूँजीमा पूर्णत: समाहित गर्न त सकेनन् तर फ्रासका दस्तावेजहरुबाट लिइएका अवधारणाहरुले प्रकृति विज्ञानसम्बन्धी मार्क्सको आर्थिक अवधारणामा अर्थ राख्दछ ।
कोहोए साइतोले आफ्नो पुस्तकको निष्कर्षमा लेखेका छन्- मार्क्सले सबै प्रश्नहरुका उत्तरहरु दिएका छैनन् र आजको विश्वको बारेमा भविष्यवाणी पनि गरेका छैनन्। तर यसले उनको काम आज कुनै काम नलाग्ने र अनुपयोगी भयो भनेर भनेर निस्कर्ष निकाल्न मिल्दैन। यो कुरा निर्विवाद छ कि उनको पूँजीवादको आलोचनाले आजको पर्यावरणीय संकटको अनुसन्धान गर्ने एकदमै उपयोगी सैद्धान्तिक आधार प्रदान गरेको छ। मार्क्सका नोटबुकहरु यस सन्दर्भमा एकदमै महत्त्वपूर्ण छन् भन्ने कुरालाई राम्ररी स्थापित गरिदिएका छन् ।
कोहोए साइतोले आफ्नो पहिलो पुस्तक 'कार्ल मार्क्सको पर्यावरणीय समाजवाद : पूँजी, प्रकृति र राजनीतिक अर्थशास्त्रको अधुरो आलोचना' कै धारलाई पहिलाउदै अरु पुस्तकहरु लेखेका छन्। उनको दोश्रो पुस्तक क्यापिटल इन एन्थ्रोपोसिन (Capital in the Anthropocene ) एकदमै लोकप्रिय बन्यो। जापानमा यो पुस्तक ५ लाखभन्दा बढी प्रति बिक्री भयो। पर्यावरणीय समाजवादलाई मार्क्सको आवश्यकता छ भनेर दावी गर्ने कोहोए साइतो अहिले जापानमा सेलिब्रिटी बनेका छन्।
Reference
Walker, G. (2021). The theory and practice of Marxism in Japan. Retrieved from https://jacobin.com/2021/07/the- theory-and-practice-of-marxism-in-japan
Walker, G. (n.d.). Marxist theory in Japan: a critical overview. Retrieved from https://www.historicalmaterialism. org/reading-guides/marxist-theory-japan-critical-overview
Burkett, P. (2014). Marx and nature: A red and green perspective. Haymarket Books.
Foster, J. B. (2000). Marx's ecology: Materialism and nature. Monthly Review Press.
Saito, K. (2017). Karl Marx’s ecosocialism: Capital, nature, and the unfinished critique of political economy. Monthly Review Press.
वामपन्थ त्रैैमासिक प्राज्ञिक पत्रिकामा प्रकाशित । image: https://www.theguardian.com/
प्रतिक्रिया