के हो डेङ्गी: किन घातक छ यो, लाग्छ किन, बच्ने कसरी ?

नेपालमा हरेक वर्ष डेङ्गीको महामारी फैलिने गर्छ । गम्भीर कुरा के छ भने डेङ्गीको असर र घातकता अघिल्ला वर्षहरुभन्दा केही फरक तथा दीर्घ असर पार्ने खालका हुने गरेका छन् । सामान्यत: गर्मी मौसम लागेसँगै लामखुट्टे देखापर्ने र लामखुट्टेको माध्यमबाट डेङ्गी फैलिने गर्छ । यस वर्ष पनि डेङ्गीको प्रकोप शुरु हुन थालिसकेको छ ।

आउनुहोस्, यस रोगबारे सामान्य जानकारी हासिल गरौं ।

के हो डेङ्गी ?

डेङ्गी (Dengue) लाई डेंगु भन्ने गरिएको पनि पाइन्छ । यसको शुद्ध उच्चारण चाहिँ Den–Ghee हो । डेङ्गी मुख्य गरेर निक्कै चाँडो फैलिने भाइरस arthropod–borne viruses (arboviruses) का कारणले हुनेगर्छ ।

यो Flaviviridae भाइरस परिवारअन्तर्गतको Genus Flavivirus समूहको सदस्य हो ।  डेङ्गी रोग लगाउने भाइरस पनि चारथरि (Serotypes)का हुन्छन् ।  ती चार भाइरसहरुलाई DV–1, DV–2, DV–3 र DV–4 वा DEN-1, DEN-2, DEN-3र  DEN-4 भनी वर्गीकरण गरिएको छ । डेङ्गीको भाइरस मात्रै त्यस्तो एर्बोभाइरस हो, जुन भाइरसले आफ्नो पूरै जीवनचक्र मानिसमा नै पूरा गर्नसक्छ । अरु भाइरसहरुलाई जस्तो यसलाई आफ्नो पुनर्निर्माण गर्नका लागि enzootic cycle को जरुरत पर्दैन । खतरनाक कुरा त के छ भने, यी भाइरसहरु एकअर्काका प्रतिरोधी (cross protection) हुँदैनन् । त्यहीकारण एक वर्ष एउटा डेङ्गी भाइरसको कारण महामारी फैलिन सक्छ भने अर्को वर्ष त्यही ठाउँमा अर्को डेङ्गी भाइरसका कारण फेरि महामारी फैलिन पनि सक्छ ।

https://api.time.com/

यो रोग लामखुट्टे बाँच्न सक्ने संसारका सबैजसो गर्मी क्षेत्रहरुमा बढी हुने गर्छ । यो रोग एउटा मानिसबाट अर्को मानिसमा उठबस गर्दा वा छोइछिटो गर्दा सर्दैन । डेङ्गीको रोगीलाई टोकेको लामखुट्टेले अर्को निरोगी मानिसलाई टोकेपछि मात्र यो रोग एउटा मानिसबाट अर्को मानिसमा सर्ने गर्छ । एक ठाउँमा देखा परेपछि यो रोगले धेरैजसो चाँडै नै महामारीको रुप पनि लिनसक्छ । त्यसैले अहिले विश्वव्यापी रुपमा नै स्वास्थ्यसम्बन्धी सबैभन्दा मुख्य चिन्ता र चासोको विषय बन्दै आइरहेका रोगहरुमध्ये सबैभन्दा प्रमुख रोग डेङ्गीलाई पनि मानिन्छ ।

डेङ्गीका लक्षणहरू

डेङ्गी रोगले बच्चा, युवा र वयस्क सबैलाई आक्रमण गर्नेगर्छ । डेङ्गीका प्रारम्भिक लक्षणहरुमा थकान लाग्ने र ज्वरो आउने हुन्छ । डेङ्गी ज्वरोका लक्षणहरु प्रायः फ्लुको कारण आउने ज्वरोसँग मिल्दाजुल्दा हुन्छन् । डेङ्गीको लक्षणसहितको ज्वरो देखापरेमा त्यो डेङ्गी नै हो कि होइन भन्ने कुरा रगत जाँचबाट थाहा पाउन सकिन्छ ।

डेङ्गी रोगलाई पनि दुई चरणमा बाँड्न सकिन्छ । पहिलो चरणमा यो रोगमा सामान्यतः तीब्र रुपमा ज्वरो आउने गर्छ । यस अवस्थामा फ्लुको ज्वरोमा जस्तै अचानक १०० डिग्रीभन्दा माथि ज्वरो आउने हुन्छ । रोगीको उमेरअनुसार डेङ्गीको लक्षण पनि भिन्न देखिनसक्छ । बच्चा र केटाकेटीहरुमा डाबर आउने र  रातो, तातो हुने गरी ज्वरो मात्र आउन पनि सक्छ । हुर्केका केटाकेटी र वयस्कहरुलाई भने डेङ्गीले च्याप्दै गएपछि जोर्नीहरु र मांसपेशीमा दुख्ने हुन्छ । यही कारण डेङ्गीलाई break–bone fever वा  bonecrusher disease पनि भन्ने गरिन्छ । यस रोगले च्याप्दै गएको अवस्थामा चर्को रुपमा टाउको दुख्न थाल्छ । यस्तो दुखाइ आँखाका पछिल्लो भागमा झनै बेसी हुने गर्छ । कसैकसैलाई वाकवाक लाग्ने र वान्ता हुने पनि हुनसक्छ  । साथै, छालामा राताराता डाबरहरु पनि देखापर्न सक्छन् । यस चरणमा ज्वरो अचानक आउने र ५–७ दिनमा त्यो आफैं निको हुँदै जान्छ । यस खालको अवस्थामा मानिस मर्ने खतरा हुँदैन ।

तर यो रोगले छोएपछि ५–७ दिनमा निको भएन, बरु उल्टै बढी नै च्याप्दै गयो भने चाहिँ खतरनाक हुन्छ । डेङ्गीको यस चरणलाई  डेङ्गी हेमोह्राजिक फिभर (Dengue Haemorrhagic Fever) भनिन्छ ।

डेङ्गी हेमोह्राजिक फिभरको अवस्था आइलाग्यो भने चाहिँ स्थिति अलि जटील हुन पुग्छ । यस चरणमा पनि रोगले बेसी नै च्याप्न पुग्यो भने र राम्रो उपचार पाएन भने मानिसको ज्यानै जान सक्ने खतरा निक्कै बेसी रहन्छ ।

डेङ्गी हेमोह्राजिक फिभरमा बिरामीको तापक्रम वा ज्वरो अचानक बढ्न जान्छ, अनुहार रातो हुन्छ र डेङ्गी रोगका अरु लक्षणहरु पनि सँगसँगै देखिन्छ । यस अवस्थामा  १०३–१०५ डिग्री फरेनाहाइटसम्म चर्को ज्वरो आउने हुन्छ । यस्तो ज्वरो ५–६ दिनसम्म लगातार जारी रहनसक्छ । चौंथो वा पाँचौं दिनमा ज्वरो केही घट्न सक्छ तर फेरि अचानक त्यो बढेर जाने गर्छ । बिरामीलाई ज्वरोको कारण अति सकस हुने गर्छ र अति कमजोर पनि बनाइदिन्छ । हल्का रुपमा मात्रै डेङ्गी हेमोह्राजिक फिभर भएको अवस्था हो र बिरामीले बेलैमा उचित उपचार र रेखदेख पायो भने ज्वरो उत्रेपछि यी सबै लक्षणहरु हराउँदै जान्छन् र बिरामी निश्चितै रुपमा बाँच्छ ।

डेङ्गी हेमोह्राजिक फिभरले निक्कै च्याप्दै गयो र उचित उपचार पाइहालेन भने केही दिनको ज्वरोपछि रोगीको अवस्था अचानक बिग्रन थाल्छ, नाक, मुख र गिजाबाट रगत बग्न थाल्छ । लगातार रगतसहित वा रगतबेगर पनि वान्ता हुन थाल्छ । अलकत्रा जस्तो कालो दिसा पनि हुनसक्छ । मुख निक्कै सुक्छ र चर्को तीर्खा लाग्छ । शरीरको रक्तसंचार प्रणालीले राम्रोसँग काम गर्न नसक्दा छाला पहेंलो देखिन थाल्छ र शरीर निक्कै चिसो हुन थाल्छ । त्यसका साथै बिरामीको शरीरको तापक्रम पनि तल झर्न थाल्छ । बिरामीलाई निक्कै चर्को छट्पटी र सकस हुन्छ र बिरामी राम्ररी सुत्न पनि सक्दैन । बिरामीमा ह्यामोरेजका लक्षणहरु देखापर्न थाल्छन् । यस अवस्थामा विशेष गरेर कलेजोको आकार बढ्ने, आन्तरिक रुपमा रगतका नसाहरु फुटेर रगत बग्ने र रक्तसंचार प्रणाली नै फेल खाने अवस्था आइलाग्छ ।  बिरामी तीब्र रुपमा र लगातार सक (continious shock) को अवस्थामा पुग्न जान्छ । यी सबै कुराहरु अति चा–चाँडो हुने गर्छन् र यस्तो भएको १२ देखि २४ घण्टाभित्रमा बिरामीको मृत्यु पनि हुन्छ । बिरामीले तुरुन्तै उचित र सघन ढंगले आधुनिक उपचार पाएमा बाँच्ने सम्भावना पनि बढी रहन्छ ।

कसरी सर्छ डेङ्गी ?

माथि उल्लेख गरिसकिएको छ, खतरनाक रोग डेङ्गी चारथरिका भाइरसहरुका कारण लाग्नेगर्छ । यी भाइरसहरुलाई मानिसमा सार्ने काम चाहिँ लामखुट्टेको एउटा प्रजाति Aedes aegypti n ले गर्नेगर्छ । पेटमा कालो–सेतो धर्का हुने यो लामखुट्टेले यदि डेङ्गीको भाइरस बोकेको छ भने त्यसले टोक्दा त्यो भाइरस मानिसमा सर्नेगर्छ । रोचक कुरा के छ भने, यो लामखुट्टेले बेलुकी वा रातिभन्दा पनि बढी दिउँसोको समयमा टोक्ने गर्छ । डेङ्गी फैलाउने अर्को लामखुट्टको प्रजाति Aedes albopictus हो । अघिल्लो प्रजातिको लामखट्टेसँग मिल्दोजुल्दो यो प्रजातिको लामखुट्टे डेङ्गी भाइरस फैलाउने दोस्रो प्रमुख माध्यम मानिन्छ ।

Aedes albopictus. https://healthjade.com

यस जातिको लामखुट्टेले डेङ्गी रोग लागेको मानिसको रगत चुस्ने क्रममा आफूसँग डेङ्गीको भाइरस बोक्न पुगेको हुन्छ । यसरी डेङ्गीको रोगीलाई टोकेको ८–१० दिनमा लामखुट्टेको शरीरभित्र त्यो भाइरस पर्याप्त मात्रामा हुर्कन्छ र फैलिन्छ । फलतः त्यसले टोकेको अर्को स्वस्थ मान्छेमा पनि त्यो रोग सर्न पुग्छ । अझ खतरनाक कुरा त के छ भने, डेङ्गीको भाइरस बोकेको पोथी लामखुट्टले (स्मरण रहोस्, पोथी लामखुट्टेले मात्रै मानिसलाई टोक्ने गर्छ) अण्डामार्फत् आफ्ना सन्ततिमा पनि डेङ्गीको भाइरस सार्ने गरेको तथ्य वैज्ञानिकहरुले अघि सारेका छन् ।

डेङ्गी रोगको भाइरसलाई हुर्काउने र बढाउने सबैभन्दा मुख्य स्रोत मानिस नै हो । तर केही अध्ययनहरुले के देखाएको छ भने विश्वका केही क्षेत्रमा बाँदरलाई पनि यो रोग लाग्ने गरेको र तिनीहरुलाई टोक्ने क्रममा लामखुट्टेमा र लामखुट्टेबाट मानिसमा पनि यो रोग सर्ने गरेको पाइएको छ । सामान्यतः डेङ्गीका रोगीहरुको रगतमा त्यसको भाइरस दुई दिनदेखि सात दिनसम्म घुमिरहेको हुन्छ । यो भनेको डेङ्गीका रोगीहरुलाई चर्को ज्वरो आउने समयकाल पनि हो ।

डेङ्गीको उपचार

अझैसम्म डेङ्गी रोगको प्रभावकारी उपचार, खोप वा औषधि पत्ता लागिसकेको छैन । भाइरसका कारण हुने रोग भएकोले यसमा एन्टिबायोटिकको प्रयोग पनि बेकार नै छ । त्यसैले डेङ्गी रोगको प्रारम्भिक र प्रभावकारी उपचार भनेकै रोगीको शरीरको प्रतिरक्षा प्रणाली आफैंले प्रतिरोध गर्नु नै हो । यसका लागि एउटै उपाय भनेको रोगीले पूरै आराम गर्ने र सक्दो बेसी झोल पदार्थहरु र तागत दिने सुप र सजिलै पच्ने तागतिला खानेकुराहरु खानु नै हो । तर डेङ्गीले बढी नै च्याप्दै गयो र स्थिति जटील बन्दै गयो भने तुरुन्त चिकित्सकको मद्दत लिनुपर्छ र बिरामीलाई अस्पतालतिर दौडाउनुपर्छ ।  सहयोगात्मक र प्रतिकारात्मक उपचारको मद्दतले डेङ्गीका रोगीहरु, अझ डेङ्गी हेमोह्राजिक फिभरकै अवस्थामा पुगिसकेका रोगीहरुलाई समेत बचाउन सकिन्छ ।

डेङ्गीको ज्वरो घटाउनका लागि चिकित्सकको सल्लाहमा प्यारासिटामोलहरुको प्रयोग गर्न सकिन्छ, तर यस अवस्थामा एस्पिरिन र ब्रुफिन चाहिँ प्रयोग गर्नुहुँदैन । किनभने यी दुबै औषधिहरुको प्रयोगले (क) शरीरभित्र रगत बग्ने समस्या बढाउन सक्छ, र (ख) पेट दुखाइ (Stomach Pain) बढाउन सक्छ ।

किन बन्न सकेको छैन डेङ्गी प्रतिरोधी खोप ?

स्वास्थ्य क्षेत्रमा एउटा बहुचर्चित भनाइ छ, रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै जाति । यही मान्यताअन्तर्गत कतिपय रोगहरुका सन्दर्भमा ती रोगलाई प्रतिरोध गर्ने र लाग्न नदिने प्रभावकारी खोपहरुको विकास भएका छन् । तर दुर्भाग्यवश, डेङ्गी रोगको सन्दर्भमा भने त्यसो हुन सकेको छैन । विज्ञहरुका अनुसार, डेङ्गी रोगप्रतिरोधी खोपको विकास गर्नु त्यति सजिलो छैन । उनीहरुका अनुसार, डेङ्गी रोग यसका कारक चार वटा भाइरसहरुमध्ये कुनै एक मात्र भाइरसकै कारण पनि लाग्न सक्छ । यस्तो अवस्थामा चारवटै भाइरसप्रतिरोधी खोप बनाउनु चानचुने कुरा हैन । कुनै एक वा दुईथरि भाइरसका विरुद्ध त प्रतिरोधी खोप बनाउन सकिएला, तर त्यस्तो अवस्थामा रोग प्रतिरोधी खोपलाई डेङ्गीको भाइरसले प्रतिरोध गर्ने क्रममा झन नयाँ खालको भयानक विरामीको उत्पत्ति हुन सक्ने चिन्ता वैज्ञानिकहरुले गरेका छन् । त्यही कारण वैज्ञानिकहरु डेङ्गीका चारवटै भाइरसलाई प्रतिरोध गर्न सक्ने खालका खोपको विकासमा अहोरात्र जुटेका छन् । यसअन्तर्गत विभिन्न थरिका खोपहरुको प्रयोग कुकुर र बाँदरहरुमा पनि गरिसकिएको छ । तर त्यस्तो प्रभावकारी खोपको विकास अझै हुन सकेको छैन । त्यसैले अहिले बनेका खोपहरु सार्वजनिक रुपमा प्रयोगमा ल्याइएका छैनन् । अहिलेसम्मको विकासक्रम हेर्दा त्यस्तो प्रभावकारी खोप सार्वजनिक रुपमा उपलब्ध हुन अझ थुप्रै वर्ष कुर्नुपर्ने हुन्छ ।

बच्ने एउटै उपाय !

यसरी डेङ्गीको भाइरसविरुद्ध खोपको र औषधीको विकास गर्न नसकिइरहेको स्थितिमा यसबाट बच्ने एउटै मात्र उपाय बाँकी रहन्छ । त्यो उपाय भनेको, डेङ्गीलाई फैलाउने लामखुट्टेको विनाश । विश्व स्वास्थ्य संगठनलगायत सबै स्वास्थ्य संघसंस्थाहरुले अहिलेसम्म विशेष जोड दिइरहेको उपाय पनि यही नै हो ।

माथि प्रसंगवश लेखिइसकेको छ, डेङ्गीको भाइरस सार्ने लामखुट्टेको प्रजाति Aedes aegypti हो । एशिया र अमेरिकी महादेशहरुमा यो लामखुट्टे विशेष गरेर मानिसले नै सिर्जना गरेको पानी जम्ने वा जमाइने भाँडाहरु, जस्तै: माटाका भाँडाहरु, धातुका ड्रमहरु र सिमेन्टका ट्यांकी तथा पोखरीहरु हुन् । त्यसैगरी, पानी जम्ने सम्भाव्यता भएका फ्याँकिएका प्लाष्टिकका खानेकुराका डब्बाहरु, प्रयोग गरी मिल्काइएका गाडीका टायरहरु र पानीजम्ने खाल्डाखुल्डीहरु पनि यस प्रजातिका लामखुट्टेको प्रमुख उत्पादनथलो हो । अझ अफ्रिकामा त रुखका पानी जम्ने टोड्काहरु र पातका खोचोहरुलाई पनि यो प्रजातिको लामखुट्टेले आफ्नो बासस्थान बनाउने गरेको पाइन्छ ।

डेङ्गी फैलाउने दोस्रो प्रजातिको लामखुट्टे Aedes albopictus हो । अमेरिका, धेरै ल्याटिन अमेरिकी देशहरु, क्यारेबियन देशहरु, युरोपका केही क्षेत्रहरु र अफ्रिकी देशहरुमा पाइने यो प्रजातिको लामखुट्टे अहिले आएर एशियामा डेङ्गीको महामारी फैलाउने दोस्रो मुख्य कारक बन्न पुगेको छ । यसरी मूलतः अरु क्षेत्रमा पाइने लामखुट्टे एशियामा पनि फैलिन थाल्नुको एउटा प्रमुख कारण चाहिँ प्रयोग भइसकेका गाडीका टायरहरुको विश्वव्यापी व्यापार पनि बन्न पुगेको छ ।

निचोडमा भन्नुपर्दा, डेङ्गी रोगका वाहक लामखुट्टे विभिन्न कारणले विश्वव्यापी रुपमा फैंलिँदै गइरहेको छ र त्यससँगसँगै डेङ्गी रोगले पनि जटील विश्वस्वास्थ्य समस्याको रुप लिँदै गइरहेको छ । एकातिर डेङ्गी विश्वव्यापी बन्दै जानु र अर्कोतिर यसको प्रभावकारी खोप वा औषधी बन्न नसकिइरहेको अवस्थामा यसबाट बच्ने एउटै मात्र उपाय भनेको फेरि पनि लामखुट्टेको टोकाइबाट बच्नु र त्यसको समूल विनाशका उपायहरु अपनाउनु नै हो ।

यस सन्दर्भमा डेङ्गीको महामारीलाई आफूछेउ आउन नदिने हो भने, तुरुन्तै लामखुट्टेबाट बचावटका उपायहरु अवलम्बन गर्नु जरुरी छ । त्यसका लागि प्राथमिक उपाय भनेको शरीरलाई पूरै ढाक्ने उज्यालो रंगका लुगाहरु लगाउनु र लामखुट्टे भगाउने झूल, धूपहरुको प्रयोग गर्नु नै हो । अझ व्यापक रुपमा चाहिँ लामखुट्टेले जीवनचक्र चलाउन सक्ने प्रमुख माध्यम भनेको जमेको पानी नै हो भन्ने कुरालाई हेक्का राख्दै घरवरिपरिका पानी जम्न सक्ने खाल्डाखुल्डी पुर्ने, भाँडाहरुमा लामो समयसम्म पानी जम्मा गरेर नराख्ने, घरका फूलदानीलगायत लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित सबै ठाउँहरुमा बेलाबेलामा औषधी छर्कने र नियमित रुपमा पानी फेर्नेजस्ता उपायहरु अवलम्बन गर्नुपर्छ । त्यसैगरी, घरवरिपरि पानी जम्ने थोत्रा भाँडाकुँडा, बट्टाहरु रहन नदिने, रुखका टोड्का, बाँसका काटेका प्वालहरु छोपिदिने, झाडी, नालीहरु सफा राख्ने र औषधी छर्नेजस्ता कार्यहरु पनि नियमित रुपमा गर्नुपर्छ र अरुलाई पनि गर्न लगाउनुपर्छ ।

दुर्भाग्यवश, जनचेतनाको अभाव, सरकारी गैरजिम्मेवारपना, आर्थिक अभावलगायतका कारणले गर्दा नेपाल र विश्वका धेरैजसो गरीब मुलुकहरुमा लामखुट्टेका समस्यालाई नियन्त्रण गर्ने खालका प्रभावकारी उपायहरु अझैसम्म पनि अपनाइएको पाइँदैन । त्यसैले डेङ्गीको आतंक हरेक वर्ष देखापरिरहने गरेको सन्दर्भमा टोलछिमेक र नगरमा लामखुट्टेविरोधी हस्तक्षेपकारी अभियान तुरुन्तै थाल्नु र त्यसका लागि जनता एवं सरकारलाई समेत जगाउनु जरुरी भइसकेको छ ।

डेङ्गी रोग फैलाउने एउटा कारण विश्वव्यापी रुपमा भइरहेको टायरको व्यापार हो भनी विश्व स्वास्थ्य संगठनले समेत जनाइसकेको सन्दर्भमा बाहिरबाट त्यस्ता सामानहरु ल्याउँदा विशेष सावधानी अपनाउने व्यवस्था मिलाउनै पर्छ । त्यस्ता लामखुट्टे ओसारपसार गर्न सक्ने सम्भावित सामानहरु ल्याउँदा त्यसलाई र त्यस्ता क्षेत्रबाट आउने सवारीका साधनहरु (जेट वा प्लेनहरुसमेत) लाई औषधीहरुको प्रयोगबाट लामखुट्टेलगायत महामारी फैलाउने कीराहरुको अवशेष समेत बाँकी नरहने गरी निर्मलीकरण–उपचार गरिनु जरुरी छ ।

डेङ्गी रोग फैलाउनसक्ने अर्को सम्भावित कारण भनेको विदेश यात्रा पनि हो । यस सन्दर्भमा डेंगीको महामारी फैलिएका क्षेत्र वा देशमा यात्रा गरी आउने मानिसहरुको अनिवार्य रुपमा डेङ्गी जाँच गर्ने व्यवस्था तुरुन्त गरिनु पनि आवश्यक छ । नेपाल र भारतबीचको लामो खुला सीमाको सन्दर्भमा यो कुरा अलि अव्यवहारिक र कठिनाइयुक्त लाग्नसक्छ, तर डेङ्गीको महामारीलाई नेपालमा घुस्न नदिने हो भने यो प्रतिकूलतासँग जुध्ने बन्दोबस्त अनिवार्य रुपमा गरिनुपर्छ ।

अव्यवस्थित शहरीकरण, फोहोर मैलाको उचित व्यवस्थापन हुन नसक्नु, महामारी रोगहरुको पहिचान र रोकथाम गर्ने प्रभावकारी संयन्त्रको अभाव अरु थप कारणहरु हुन्, जसले डेङ्गीलाई महामारीको रुपमा दिनसक्छ । काठमाडौंको अस्तव्यस्त बस्ती एवं बसोबास अनि नालायकीपनको हदसम्मको गैरजिम्मेवार फोहोर व्यवस्थापनजस्ता कारणहरुले काठमाडौं खाल्डो यतिखेर डेङ्गी रोगका लागि निक्कै उर्बर भूमिको रुपमा विकास हुँदै गइरहेको छ । अर्को भाषामा भन्ने हो भने, अहिले काठमाडौं खाल्डोले डेङ्गी लगायतका महामारीलाई खुला निम्तो दिएर बसेको छ । केही गरी काठमाडौंमा डेङ्गी घुस्यो भने त्यसले निक्कै ठूलो महामारीको रुप लिन सक्छ । यसबारे पनि बेलैमा ध्यान दिनु जरुरी छ ।

डेंङ्गी रोग: इतिहास र वर्तमान

अहिलेसम्म थाहा पाइएअनुसार, सन् १७७९–१७८० तिर एशिया, अफ्रिका र उत्तरी अमेरिकामा डेंगीको महामारी फैलिएको थियो । त्यसबेला १० देखि ४० वर्षको अन्तरालमा मात्र यो रोग महामारीको रुपमा देखापर्ने गर्थ्यो र त्यसबेला यस रोगलाई हल्का खालका, मानिसको ज्यानै लिइ नहाल्ने र गरम क्षेत्रमा घुम्ने वा बस्नेहरुलाई मात्र लाग्ने रोगको रुपमा लिइन्थ्यो ।

पछिल्लो चरणमा आएर यस रोगको महामारीबारे मानिसले सन् १९५० तिर थाहा पाए । त्यसबेला फिलिपिन्स र थाइल्याण्डमा यो रोगले महामारीको रुप लिएको थियो । अहिले यो रोग एशियाका प्रायः सबै देशहरु र विश्वव्यापी रुपमा नै पनि देखापर्न थालेको छ । अहिले एशियाली मुलुकहरुमा मानिसलाई सबैभन्दा बढी आक्रमण गर्ने रोगको सूचीमा यो रोग सबैभन्दा माथि रहेको छ । सन् १९८७ मा थाइल्याण्डमा पनि डेङ्गीको महामारी फैलिएको थियो । त्यसबेला त्यहाँ १ लाख ७५ हजार मानिसहरु डेङ्गी रोगका शिकार भएका थिए भने १ हजार मानिसहरुको मृत्यु भएको थियो ।

शुरुमा मानिसको ज्यान नलिने भनी मानिएको डेङ्गी अहिले आएर वर्षेनी हज्जारौंको ज्यान लिने खतरनाक बिमारीको रुपमा विकास हुँदै गइहेको छ । यसो हुनुको प्रमुख कारण चाहिँ डेङ्गी भाइरसका नयाँ नयाँ रुपहरुको उत्पत्ति र विकास हुनु पनि हो ।

नयाँ नयाँ रुपका डेङ्गी भाइरसहरुको उत्पत्ति र विकास हुँदै गएपछि पछिल्ला दशकहरुमा यस रोगले धेरै नै आक्रमण गर्न थालेको छ र यो विश्वको प्रमुख स्वास्थ्य समस्या बनेर देखापर्न थालेको छ । कतिसम्म भने यो रोग अहिले अफ्रिका, उत्तर तथा दक्षिण अमेरिका, पूर्वी भूमध्यसागरीय क्षेत्र, दक्षिणपूर्वी एशिया र पश्चिम प्यासिफिकका १०० वटा जति देशहरुमा सामान्य रुपमा नै फेला पर्ने रोगको रुपमा स्थापित भइसकेको छ । त्यसमा पनि दक्षिणपूर्वी एशिया र पश्चिमी प्रशान्तीय क्षेत्रका देशहरुमा यसले बढी नै आक्रमण गर्नेगर्छ । अझ यस पटक त यसले दक्षिण एशियामा, अझ भनौं दक्षिण एशियाकै सबैभन्दा ठूलो देश भारतमा पनि आफ्नो आतंक फैलाएको छ ।

सन् १९७० भन्दा पहिले नौ वटा देशहरु मात्र यो रोगको महामारीको चपेटामा परेका थिए । तर सन् १९९५ सम्ममा आइपुग्दा त्यो संख्यामा चारगुना बृद्धि भइसकेको छ । सन् १९९६ मा मात्रै पनि ब्राजिलमा डेङ्गीको महामारी फैलिएर १ लाख ८० हजार जना यसको शिकार बनेका थिए । त्यसैगरी, सन् १९९८ मा पनि ल्याटिन अमेरिका, दक्षिण–पूर्वी एशिया र पश्चिमी प्रशान्त क्षेत्रमा डेङ्गी महामारीका कारण १३ लाख मानिसहरु बिरामी भएका थिए, जसमध्ये ३५०० जनाको मृत्यु भएको थियो । सन् २००१ मा मात्रै उत्तर तथा दक्षिण अमेरिकामा ६ लाख ९ हजार डेङ्गीका रोगीहरु देखापरेका थिए । तीमध्ये १५ हजार रोगीहरु डेङ्गी हेमोह्राजिक फिभरले ग्रसित थिए । यो भनेको त्यही क्षेत्रमा सन् १९९५ मा देखापरेको डेङ्गीको समस्याको दोब्बरभन्दा अलि बढी हो ।

सन् २००४ मा इण्डोनेशियामा यसै रोगको कारण ६५० जनाको मृत्यु भएको थियो  ।

पछिल्लो ताजा तथ्याङ्कअनुसार सन् २०२३ मा संसारभरिमा ६५ लाख जना डेङ्गी रोगको संक्रमणमा परेका थिए । तीमध्ये ७३०० जनाको ज्यान गएको थियो ।

यी माथिका तथ्यांकहरुले देखाउँछन्– डेङ्गी रोग विश्वव्यापी रुपमा नै तीब्र गतिमा बढ्दै गइरहेको छ । खतरनाक कुरा के छ भने, डेंगी फैलाउने चारैथरिका भाइरसहरु अहिले विश्वव्यापी रुपमा नै पुनः देखापर्दैछन् । यसले गर्दा शहरी र विश्वका उष्णप्रदेशीय (बढी गर्मी हुने) क्षेत्रहरुमा यो रोग बेलाबेलामा महामारीको रुपमा देखापर्ने गरेको छ ।

अझ पश्चिमी गोलाद्र्धमा पनि यो रोग नाटकीय रुपमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखापर्न थालेको छ । अहिलेसम्म उष्णप्रदशीय क्षेत्रहरुमा यात्रा गरेर आउने पर्यटकहरुको माध्यमबाट वर्षेनी १०० को हाराहारीमा मात्र डेङ्गीको समस्या देखापर्ने महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकासामु पनि मध्य अमेरिकामा महामारीको रुपमा डेङ्गी देखापरेपछि त्यसको चपेटामा पर्नसक्ने गम्भीर खतरा र चुनौति आइलागेको छ ।

यसरी डेङ्गी विश्वव्यापी समस्याको रुपमा विकास हुनुको अर्को प्रमुख कारण चाहिँ यसलाई फैलाउने लामखुट्टे पनि विश्वभरि फैलिनु नै हो । शुरुमा उष्णप्रदेशीय क्षेत्रहरुमा मात्र पाइने लामखुट्टे अहिलेको भूमण्डीकरण भइरहेको विश्वमा यातायातका बढ्दो सुविधाहरुसँगै एकदेशबाट अर्कोदेशमा फैलिरहेको छ । मानिसहरुको बढ्दो आवातजावतसँगै डेङ्गी रोग र  डेङ्गी फैलाउने लामखुट्टेसमेत नाटकीय रुपमा नयाँ नयाँ क्षेत्रहरुमा फैलिँदैछ । यो फैलिने क्रम ठूला शहरबजारहरुबाट शुरु भएर अहिले गाउँगाउँसम्म पुगिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार, २ अरब ५० करोड मानिसहरु, जसमध्ये १ अरब बच्चाहरु पर्छन्, डेङ्गीको खतराबीच बाँचिरहेका छन् । सो संगठनको अनुमानमा प्रत्येक वर्ष यो रोगले विश्वका ५ करोड मानिसहरु आक्रान्त बन्ने गर्छन् । अर्को एक तथ्यांकअनुसार चाहिँ वर्षेनी ५ करोडदेखि १० करोड मानिसहरुलाई डेङ्गी लाग्ने, तीमध्ये ५ लाख केसहरु चाहिँ डेङ्गी हेमोह्राजिक फिभरका हुन्छन् र वर्षेनी २४ हजार मानिसको मृत्यु यही रोगको कारण हुने गर्छ ।

अहिलेसम्म के देखिएको छ भने, डेङ्गीको महामारी फैंलँदा यसले संक्रमण गर्ने सम्भावना ४० देखि ५० प्रतिशत रहने गरेको छ तर कहिलेकाहीँ यो प्रतिशत बढेर ८०–९० पनि हुने गर्छ । त्यसै गरी डेङ्गीको गम्भीर अवस्था डेङ्गी हेमोह्राजिक फिभरका कारण वर्षेनी ५ लाख मानिसहरु हस्पिटलमा भर्ना हुने गर्छन्, जसमध्ये केटाकेटीहरुको संख्या बढी हुने गर्छ । यस अवस्थामा पुगेका २.५ प्रतिशत रोगीहरु निश्चित रुपमा मर्ने गर्छन् । डेङ्गीको प्रभावकारी उपचार फेला परिनसकेको सन्दर्भमा सहयोगात्मक र प्रतिकारात्मक उपचारहरु गरेर यसको असरलाई न्यून गर्न सकिन्छ ।

Main image: https://la1ere.francetvinfo.fr