एउटा समझदार मान्छे

मेरो कुरा तर्कभन्दा पर हुने गर्छ । त्यसलाई विश्वास गर्नैपर्छ । जहाँ म एक पटक भाषण दिन्छु, त्यहाँका मानिसहरु एकदमै स्वीकार्छन् कि हामीलाई कसैले केही सिकाउन सक्दैनन् । मलाई थाहा छ कि धेरै मानिसहरुले मेरो कुरा सुनेर सिक्नै बन्द गरिदिएका छन् ।

धेरै मानिसहरु सोध्ने गर्छन् कि मेरो हेराइ यति प्रष्ट र व्यक्तित्व यति सरल कसरी भयो ?

कुरो यो हो – धेरै साल पहिला मैले आफूसँगै केही ठाडा सवालहरु गरेको थिएँ । त्यसबेला मेरो अन्तरआत्मा धेरै निर्मल थियो, दाह्री काट्नुपूर्वको ऐनाजस्तो । केही मानिसहरुको अन्तरआत्मा बुढ्यौलीसम्म पनि त्यस्तै रहन्छ, जन्म हुँदाको बेला जस्तो । उनीहरु बाल्यकालमा बाउको सम्पत्ति निस्संकोच खाने गर्छन् भने सम्पूर्ण जीवनभरि नै दुनियाँलाई नै आफ्नो बाउको सम्झेर त्यसको माल निस्संकोच सित्तैमा खाने गर्छन् । मेरो निर्मल आत्माबाट सोझा सवालहरुको सोझै जवाफ आएको थियो, जसरी स्वीच थिच्दा पंखा चल्न लागेको होस् । जुन सवालहरुको जवाफले दुख दिने गर्छ, त्यसलाई टालटुल पार्दा नै मानिस सुखी हुने गर्छ । मैले सधैं सुखी रहने कोशिश गरेको छु । मैले यी सवालहरुबाहेक कुनै सवाल नै गरिनँ न त आफ्नो जवाफ नै बदलें । मेरो समझदारीले भरिएको दृष्टि, मेरो आत्मविश्वास र मेरो सुखको रहस्य यही हो । अरुलाई सुखको बाटो बताउनका लागि म ती प्रश्नहरु र तिनको उत्तर तल दिन्छुः

तिमी कुन देशको निवासी हौ ?

भारतको ।

संसारमा सबैभन्दा प्राचीन संस्कृति कुन देशको छ ?

भारतको ।

तिमी कुन जातिको हौ ?

आर्य ।

विश्वमा सबैभन्दा प्राचीन जाति कुन हो ?

आर्य ।

र, सबैभन्दा श्रेष्ठ ?

आर्य ।

के तिमीले रगत परीक्षण गराएका छौ ?

छु, त्यसमा शतप्रतिशत आर्यकोष छन् ।

देउता भगवानसँग के प्रार्थना गर्छ ?

हामीलाई पूण्यभूमि भारतमा जन्माइदेऊ ।

बाँकी भूमि कस्तो छ ?

पापभूमि ।

देउता अन्त कतै त जन्म लिँदैनन् ?

अहँ, कुनै हालतमा लिँदैनन् । उनीहरु मलाई बताएर जन्म लिन्छन् ।

के देउताहरुसँग राजनीतिक नक्शा छ ?

अँ, देउताहरुसँग ‘अक्सफोर्ड वल्र्ड एटलस’ छ ।

के उनीहरुलाई पाकिस्तान बनेको जानकारी छ ?

उनीहरुलाई सबै कुरा थाहा छ । उनीहरु ‘बाउण्डरी कमीशन’को रेखालाई मान्छन् ।

ज्ञान–विज्ञान कोसँग छ ?

आर्यहरुसँग मात्र छ ।

अर्थात्, तिमीसँग छ ?

हैन, हाम्रा पूर्वज आर्यहरुसँग ।

त्यसभन्दा बाहिर ज्ञान–विज्ञान त छैन ?

कतै छैन ।

यी हजारौं सालहरुमा मनुष्य–जातिले कुनै उपलब्धि हासिल गरे ?

अहँ कुनै गरेनन् । सबै उपलब्धिहरु हामीकहाँ यहाँ हासिल भइसकेको थिो ।

के अब हामीले केही सिक्न जरुरी छ ?

छँदै छैन । हाम्रा पूर्वजहरु त विश्वकै गुरु थिए ।

संसारमा महान को हो ?

हामी, हामी, हामी, हामी, हामी...

मेरो हृदय गद्गद भयो । आँसुको धारा बहन थाल्यो । मैले आँखा बन्द गरें । मुखबाट स्वर निस्कन लाग्यो, ‘आहा ! वाहा ! कस्तो सुख हो ?”

‘‘परम सन्तोष भएको छ । अब सबै कुरा सहज भएको छ । इतिहास सामुन्ने आयो । जीवनका रहस्य खुल्यो । न मनमा कुनै सवाल उठ्थ्यो, न कुनै शंका नै पैदा हुन्थ्यो । जति जान्न लायक थियो, जानिसकें । सबै हाम्रा जातिले जानिसकें । अब न कुनै जान्न लायक बच्यो, न गर्न लायक नै ।”

त्यही बेला मेरा एकजना परिचित त्यहाँ आइपुगे । उनले भने, ‘आनो आयो कि क्या हो ? कुनै दवाई हालेका छौ ?”

मैले भनें, “गाजल लागेको छ । तर बाहिरको आँखामा हैन, भित्रको आँखामा । नयाँ दृष्टि मिलेको छ । परम सन्तोष भएको छ । अब सबै कुरा सहज भएको छ । इतिहास सामुन्ने आयो । जीवनका रहस्य खुल्यो । न मनमा कुनै सवाल उठ्थ्यो, न कुनै शंका नै पैदा हुन्थ्यो । जति जान्न लायक थियो, जानिसकें । सबै हाम्रा जातिले जानिसकें । अब न कुनै जान्न लायक बच्यो, न गर्न लायक नै ।”

मैले उसलाई ती सवाल र जवाफ बताएँ । उसले भन्यो, “ठीक छ । मैले बुझें । आत्मविश्वास धनको हुन्छ, विद्याको पनि र बलको पनि । तर सबैभन्दा ठूलो आत्मविश्वास नजान्नुको हुन्छ ।”

यसलाई मैले आफ्नो प्रशंसा सम्झें र आफ्नो विश्वासमा म झनै दृढ भएँ । मैले आफ्ना विचारहरु खुलेर प्रकट गर्न थालें र ती कुरा मानिसहरुलाई चाखलाग्दो लाग्न थाल्यो । मानिसहरु मलाई सुन्नका लागि छट्पटाउन थाले र इन्जिनियरहरुदेखि लिएर दार्शनिकहरुका माझ पनि मलाई बोलाइन थालियो ।

एक दिन डाक्टरहरुको सभामा मैले भनें, “आफूहरुले पेन्सिलिनको खोज गरेर मानिसको आयु बढाइदिएँ भनेर पश्चिम गर्व गर्छ । उनीहरुलाई थाहा छैन कि पेन्सिलिन दोस्रो विश्वयुद्धको समयमा होइन, महाभारतको समयमा हामीकहाँ खोजी गरिएको थियो । साथीहरु, कल्पना गर्नुहोस्, भीष्म पितामह, कठोर ब्रम्हाचार्यको पालना गर्ने, अखण्ड ब्रम्हाचारी भीष्म तीरको ओछ्यानमा ढलेका छन् । उनका सम्पूर्ण शरीर घाउहरुले क्षत–विक्षत भएका छन् । उनी सूर्यको गतिलाई हेरिरहेका छन्, सूर्य उत्तरायण होस् र प्राण त्यागुँ । उनी पूरै एकाउन्न दिन जीवित रहे र फेरि पनि घाउहरुले मरेनन्, इच्छाले प्राणत्याग गरे । म पश्चिमा वैज्ञानिकहरुलाई सोध्छु कि उनको घाउ ‘सेप्टिक’ किन भएन ? पेन्सिलिनको कारण । उनलाई पेन्सिलिन दिइएको थियो । दश हजार साल पहिले भारतले जुन पेन्सिलिन विश्वलाई दिएका थिए , त्यही अब पश्चिम हामीलाई यसरी फिर्ता दिइरहेका छन् मानौं त्यो उनीहरुकै खोज हो । साथीहरु, यो नभुल्नोस् कि भारत विश्वको गुरु हो । हामीलाई कसैले केही सिकाउन सक्दैनन् ।”

साथीहरु, कल्पना गर्नुहोस्, भीष्म पितामह, कठोर ब्रम्हाचार्यको पालना गर्ने, अखण्ड ब्रम्हाचारी भीष्म तीरको ओछ्यानमा ढलेका छन् । उनका सम्पूर्ण शरीर घाउहरुले क्षत–विक्षत भएका छन् । उनी सूर्यको गतिलाई हेरिरहेका छन्, सूर्य उत्तरायण होस् र प्राण त्यागुँ । उनी पूरै एकाउन्न दिन जीवित रहे र फेरि पनि घाउहरुले मरेनन्, इच्छाले प्राणत्याग गरे । म पश्चिमा वैज्ञानिकहरुलाई सोध्छु कि उनको घाउ ‘सेप्टिक’ किन भएन ?

मेरो यो भनाइमा मज्जाले ताली बज्यो र सबैले स्वीकारे कि हामीलाई कसैले केही सिकाउन सक्दैनन् ।

हालसालै भारत–पाक युद्धको दौरानमा ट्यांकभेदी तोपहरुको धेरै चर्चा भएको थियो । म सुन्थें र हाँस्थें । आखिर एक दिन एक सभामा मैले भनिदिएँ, “जुन मानिसहरु ट्यांकभेदी तोपको तारिफ गर्ने गर्छन्, उनीहरु यो भुल्छन् कि ट्यांक त आज बनेको हो तर ट्यांकभेदी तोपहरु त हामीकहाँ त्रेतायुगमै बन्थ्यो । भाइहरु, त्यो दृश्य कल्पना गर्नुहोस् त–राम सुग्रीवलाई भनिरहेका छन् कि म बालीलाई मार्छु । सुग्रीव सन्देह प्रकट गर्छन् । भन्छन्– बाली महाबलशाली छन् । मलाई विश्वास लाग्दैन कि तपाईंले उसलाई मार्न सक्नुहुनेछ ।

तब के हुन्छ भने मर्यादा–पुरुषोत्तम धनुष उठाउँछन्, वाणलाई सन्धान गर्छन् र एकै लहरमा खडा ताडका रुखहरुमा प्रहार गर्छन् । वाण एकपछि अर्को गरेर सातवटा रुखहरुलाई छेडेर निस्कन्छ । सुग्रीव चकित छन्, वनका पशुपंक्षी पातलहराहरु चकित छन् । सज्जनहरु, जसले एउटै वाणले सातवटा ताडको रुख छेडिदिन्थे, उनीसँग मोटोभन्दा मोटो ट्यांकहरु छेड्ने तोप थिएन होला ? यो नभुल्नुहोला, हामी विश्वका गुरु भइसकेका छौं र हामाीलाई कसैले केही सिकाउन सक्दैनन् ।

त्यहाँ धेरै ताली बज्यो र सबैले माने कि हामीलाई कसैले केही सिकाउन सक्दैनन् ।

आहा, त्यो दृश्य कल्पना गर्नुहोस् त । सुनसान वन प्रदेश छ । स्वच्छ ढुङ्गामा ऋण र उनकी पत्नी बसेका छन् । चन्द्रमाको प्रकाश फैलिएको छ । मन्द–मन्द सुगन्धमय हावा बहिरहेको छ । यस्तो स्थपितमा ऋषि र उनकी पत्नीको मनमा के भावनाहरु उठिरहेका होलान् ? हो, यही त साइकोलोजी हो ।

एक दिन मनोविज्ञान विषयमा एउटा परिचर्चाको आयोजना गरिएको थियो । प्रोफेसरहरु लम्बेतान भाषण दिइरहेका थिए । जन सहन सकिनँ, म बोल्न गएँ । मैले भनें, “साइकोलोजी– अँ ! मनोविज्ञान अँ ! मानिसहरु भन्ने गर्छन् कि साइकोलाजी आधुनिक विज्ञान हो । म सोध्छु, के प्राचीन भारतमा साइकोलाजेजी थिएन ? अवश्यक  थियो । आहा, त्यो दृश्य कल्पना गर्नुहोस् त । सुनसान वन प्रदेश छ । स्वच्छ ढुङ्गामा ऋषि र उनकी पत्नी बसेका छन् । चन्द्रमाको प्रकाश फैलिएको छ । मन्द–मन्द सुगन्धमय हावा बहिरहेको छ । यस्तो स्थितिमा ऋषि र उनकी पत्नीको मनमा के भावनाहरु उठिरहेका होलान् ? हो, यही त साइकोलोजी हो । हाम्रो देशमा यो हजारौं साल पहिलेदेखि थियो र अहिले मानिसहरु भन्छन् कि यो आधुनिक विज्ञान हो । उनीहरु बिर्सन्छन्, कसैले पनि हामीलाई केही सिकाउन सक्दैनन् ।”

मज्जाले ताली बज्यो र सबैले स्वीकारे कि कसैले पनि हामीलाई केही सिकाउन सक्दैनन् ।

एक पटक विदेशबाट कोही बोटानिस्ट (वनस्पति वैज्ञानिक) आए । उनले एउटा ठाउँमा भाषण दिनेवाला थिए । मलाई भनियो कि उनी फसिल्स विशेषज्ञ हुन् अर्थात् चट्टानहरुका बीच दबिएका रुखपात वा जन्तु पाषण भएका विषयका विज्ञ । मैले उनको भाषण सुनें र मभित्र हलचल हुन थाल्यो । उनी पश्चिमा वैज्ञानिकहरु मात्रैको नाम लिइरहे र विदेशका फसिल्स देखाइरहे । उनीपछि म बोल्न खडा भएँ । मैले भनें, “आज हामीले एक महान ‘बाँटानी’को भाषण सुन्यौं । (पछि मलाई बताइयो कि उनलाई बोटानिस्ट भनिन्छ ।) उसले हामीलाई फसिल्स कस्तो हुन्छ भनेर बताए । म तपाईंहरुलाई सोध्न चाहन्छु कि के प्राचीन भारतमा ‘बाँटानी’ थिएन । अवश्य थियो । हामीले त्यो बिर्सिन थालेका छौं । भगवान रामचन्द्रले अहिल्याको फसिल पत्ता लगाए । उनी आजको यी बोटानीहरुभन्दा बढी योग्य थिए । यिनीहरु त फसिल्स पत्ता मात्र लगाउछन् र त्यसको जाँच गर्छन् । महान ‘बाँटनी’ रामले त फसिल बनेका अहिल्यालाई फेरि स्त्री बनाइदिए । यस्ता यस्ता चमत्कारी ‘बाँटनी’ हामीकहाँ पैदा भइसकेका छन् । हामी विश्वको गुरु रहेका छौं । हामीलाई कसैले केही सिकाउन सक्दैनन् ।”

यस कुरामा पनि धेरै ताली बज्यो र विदेशी विशेषज्ञहरुले समेत यो माने कि किन कसैले कही सिकाउन सक्दैनन् ।

म तपाईंहरुलाई सोध्छु– तपाईंहरुले भगवान राम र कृष्णका यति धेरै तस्विरहरु देख्नुभएको छ । के यस्तो कुनै पनि तस्वीर छ जसमा उनीहरुले कम्मरभन्दा माथि कपडा लगाएका छन् । यो भाग उनीहरु खुल्ला राख्थे । किन ?

एक दिन म यस्तो ठाउँमा पुगें, जहाँ दुई जना पहलमान जस्ता देखिन मानिसहरु भाषण दिनेवाला थिए । यो जानकारी दिइयो कि उनीहरु विदेशबाट शरीर–सौष्टवको शिक्षा लिएर आएका छन् र उनीहरुले शरीरलाई कसरी पुष्ट बताउन सकिन्छ भनेर बताउनेवाला छन् । मैले उनीहरुको कुरा सुनिरहें । अन्त्यमा भनें, “शरीर त हाम्रा पूर्वजहरु बनाउँथे । हामीसँग त न शरीर छ, न त त्यसलाई हामी बनाउन सक्छौं । म तपाईंहरुलाई सोध्छु– भगवान राम र कृष्णका यति धेरै तस्विरहरु देख्नुभएको छ । के यस्तो कुनै पनि तस्विर छ जसमा उनीहरुले कम्मरभन्दा माथि कपडा लगाएका छन् । यो भाग उनीहरु खुल्ला राख्थे । किन ? यो यसकारण कि उनीहरुले शरीर बनाएका थिए र त्यसलाई देखाउन चाहन्थे । तर तपाईंहरु त कोटा र प्यान्ट लगाउनुभएको छ । तपाईंहरुसँग देखाउने के  छ ? यी पश्चिमबाट सिकेर आएका मानिसहरुले तपाईंहरुलाई के सिकाउन सक्छन्, जुन राम र कृष्ण एउटा तस्विरले सिकाए ।”

मानिसहरुले ताली ठोके र सबैले माने कि कसैले पनि हामीलाई अब केही सिकाउन सक्दैनन् ।

मेरो दृष्टि यस्तो प्रष्ट र समझदारीपूर्ण भएको छ कि मेरो कुरा तर्कभन्दा पर हुने गर्छ । त्यसलाई विश्वास गर्नैपर्छ । जहाँ म एक पटक भाषण दिन्छु, त्यहाँका मानिसहरु एकदमै स्वीकार्छन् कि हामीलाई कसैले केही सिकाउन सक्दैनन् । मलाई थाहा छ कि धेरै मानिसहरुले मेरो कुरा सुनेर सिक्नै बन्द गरिदिएका छन् ।

Title image: https://avatars.mds.yandex.net/

‘निठल्ले कि डायरी’बाट अनुदित । अनुवाद: रामप्रसाद अधिकारी