‘हमाम मे सब नंगे होते है’
सत्तामा पकड र सामाजिक प्रभुत्व राख्नेहरुबाट आपराधिक दुश्कर्महरुबारेको छानविनबाट आफूहरुले उन्मुक्ति पाउनुपर्छ भन्ने खतरनाक बलमिच्याइ घनीभूत भएर जान थालेको छ ।
यो कुनै अनौठो र नौलो कुरा चाहिँ होइन । खासगरी, हिजोको व्यवस्थामा शासनतन्त्रमा हालिमुहाली चलाउनेहरुले त्यसलाई विशेषाधिकार ठाने, त्यहीअनुसार फितलो ऐन–कानूनहरु बनाए–बनाउन लगाए, अनि आफूहरु पानीमाथिको ओभानो बने ।
हुकुमी–निरंकुश शासनतन्त्रमा यो कुनै अनौठो कुरा थिएन, होइन ।
वास्तवमा, त्यस्तै कुराहरुले नै त्यसबेलाको शासनतन्त्रको चिहान खनेको थियो ।
अनौठो कुरा चाहिँ के हो भने, अहिलेको उन्नत र समाजवादोन्मुख भनिएको शासनतन्त्रमा पनि हुकुमी शासनतन्त्रको झल्को दिने गरी राजकीय सत्ताको आडमा, सामाजिक प्रभुत्वको बलमा आफूहरुलाई कानूनभन्दा माथि, प्रश्नभन्दा पर राख्ने कोशिस र तद्अनुरुपको भाष्य स्थापित गर्ने भगीरथ कोशिशहरु हुने गरेका छन्, भइरहेका छन् ।
त्यसैको पछिल्ला दृष्टान्तहरु हुन्– रवि लामिछानेविरुद्धको सहकारी ठगीबारे छानविन तथा कान्तिपुर प्रकाशनका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको नागरिकता कीर्तेबारेको प्रकरण अनि तिनलाई दबाउने, छानविनभन्दा परको विषयवस्तु बनाउने कोशिश र प्रयत्नहरु ।
रवि लामिछाने नेपालको राजनीतिमा पछिल्ला केही वर्षमा ‘चामत्कारिक गति’मा उदाएका पात्र हुन् । कुनैबेला कमेडी शोहरु सञ्चालन गर्ने लामिछाने पछिल्ला वर्षहरुमा पत्रकारिताका माध्यमबाट जनताका समस्याहरुलाई खरो ढङ्गले उठाउँदै राजनीतिमा छलाङमार गतिमा स्थापित पात्र हुन् । नेपालको राजनीति एवं सत्ता समीकरणमा उनको पार्टी यतिखेर निर्णायक हैसियत राख्ने गर्छन् र त्यहीकारण उनी १६ महिनाको समयावधिभित्र चौथो पटक विश्वासको मत प्राप्त गरेका पुष्पकमल दाहालको गठबन्धन सरकारमा उपप्रधान तथा गृहमन्त्रीको शक्तिशाली पदमा आसिन छन् । गम्भीर कुरा चाहिँ के छ भने राजनीतिमा उनको उदय जति आश्चर्यजनक छ, त्यति नै आश्चर्यजनक चाहिँ उनीसँग जोडिएका विवादहरु छन् । दोहोरो नागरिकता र दोहोरो राहदानी, आत्महत्या दुरुत्साहन जस्ता पुराना मुद्दाहरु मात्रै हैनन्, पछिल्ला चरणमा उनी सहकारी ठगीको आरोपमा समेत मुछिएका छन् । यतिखेरको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उनीविरुद्ध सत्ताको आडबलमा छानविन र मुद्दालाई प्रभावित पार्ने जनाउँदै सहकारी ठगीको बारेमा संसदीय छानविनको माग राखेर संसद अवरुद्ध गरिरहेका छन् तर उनी त्यसबारे स्वतन्त्र र तटस्थ छानविन गराउन तयार छैनन् । कुनै बेला प्रतिपक्षमा छँदा संसदीय छानविनको पैरवी गर्ने लामिछाने र उनका पार्टी यतिखेर संसदीय छानविनका लागि तयारसम्म त भएका छन् तर त्यसको शर्तनामाहरु आफू अनुकुल हुने शर्तमा मात्र । साँच्चै नै उनी आफू चोखो छन् र आफूलाई निर्दोष ठान्छन् भने अरुको मागको आधारमा हैन, आफू स्वयंको पहलमा संसदीय छानविनको लागि पहल गर्नुपर्ने हो । सत्ता स्वार्थको कारण अनुसन्धान प्रभावित हुने कारण यतिखेर कानूनी अनुसन्धान गर्ने मुख्य तालुकदार मन्त्रालय गृहमन्त्रालयको पद जसरी पनि खार्नैपर्ने अपहत्ते नगर्नुपर्ने हो । तर त्यसो भइरहेको छैन । बरु उल्टै उनलाई सत्ता साझेदारका प्रमुख घटकहरु नेकपा एमाले तथा सत्ताको बागडोर सम्हालेका नेकपा माओवादीका शीर्षस्थ नेताहरु नै पनि बिना छानविन र अनुसन्धान ‘निर्दोष’ घोषित गरिरहेका छन् ।
नागरिकतामा कीर्ते गरेको आरोपमा यतिखेर कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहिया आफू निर्दोष छन् र निर्दोष ठान्छन् भने प्रहरी अनुसन्धानबाट आत्तिनुपर्ने कुनै कारण नै छैन । तर उनीविरुद्धको मुद्दालाई विषयान्तर गर्न तत्सम्बन्धी प्रहरी अनुसन्धान–कारवाहीलाई प्रेस स्वतन्त्रतामाथिको हमला साबित गर्ने प्रयत्नहरु भइरहेका छन् । उनीमाथि यतिखेरको कारवाही उनले प्रकाशन गर्ने प्रकाशनका कुनै सामग्री वा विषयवस्तुलाई लिएर भएको भए निश्चय पनि त्यो प्रेस स्वतन्त्रतामाथिको हमला हुन सक्थ्यो तर उनलाई पत्रकार वा प्रकाशकको हैसियतमा हैन नागरिकता कीर्तेको गम्भीर फौजदारी अभियोगका आरोपीको रुपमा अदालती प्रक्रिया पूरा गरेर प्रहरीले पक्राउ गरेको छ । निश्चय पनि उनलाई पक्राउ गर्ने निकाय प्रहरीको तालुकदार अड्डा रवि लामिछानेले सम्हालेको गृहमन्त्रालय नै हो तर त्यही आधारमा उनीविरुद्धको कानूनी कारवाहीलाई प्रेस स्वतन्त्रतामाथिका हमला घोषित गर्नु मिल्ने कुरा होइन । सिरोहियाका प्रकाशनहरुले रवि लामिछानेका कामकारवाहीहरुका बारेमा सत्यतथ्य बाहिर ल्याएर पत्रकारिताको धर्म निर्वाह गरिरहेको सन्दर्भमा रवि लामिछाने उनको पक्षमा छैनन् भन्ने कुरा घामको उज्यालो जस्तै छर्लङ्ग छ । यो सन्दर्भमा कदाचित कान्तिपुरले लामिछानेका बारेमा समाचार लगातार प्रकाशित नगरेको हुन्थ्यो भने सिरोहियामाथि यो खालको आक्रामक ढंगले कानूनी कारवाही अघि बढ्थ्यो कि बढ्दैनथ्यो भन्ने कुरा आफैं पनि प्रश्नयोग्य छ । तर अहिले सिरोहियाको गिरफ्तारी प्रकरणको मुल मुद्दा नागरिकता कीर्तेको सत्य तथ्य के हो भन्ने बारेमा भन्दा पनि बढी एकहोरो प्रेसमाथिको हमलाको रुपमा चित्रित गर्न खोज्नुको एउटै अन्तर्य सिरोहिया समाजमा बलियो प्रभुत्व राख्ने वर्गको रहेको र उनीहरु पत्रकारिता पेशासँग जोडिएकै कारण कानूनी छानविनभन्दा माथिको हो भन्ने भाष्यलाई नै स्थापित गर्न खोजेको त होइन भन्ने प्रश्न स्वतः उब्जिन्छ ।
यी त पछिल्ला ताजा घटनाक्रमहरु भए । यी र यस्ता थुप्रै घटनाक्रमहरु छन् जसबारे व्यापक रुपमा प्रश्नहरु उठेका छन् तर सत्ता र शक्तिमा भएकाहरु समेतको नाम ती प्रकरणहरुमा जोडिएपछि तिनलाई थाँती राखिएका छन्, छानविनको दायरामा आउन वा ल्याउन सकिएका छैनन् । उदाहरणका लागि गिरिबन्धु टी स्टेटको जग्गा प्ररकणबारे पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध समेत प्रश्न उठेका छन् । तर उनी यो प्रकरणबारे आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिन वा सत्यतथ्य सार्वजनिक होस् भनेर छानविन समिति बनोस् भन्ने कुरामा तयार छैनन् । बहालवाला प्रधानमन्त्री प्रचण्डमाथि नै पनि उहिले लडाकुहरु क्यान्टोन्मेन्टमा राखिँदा घोटाला भएको भनेर प्रश्न उठ्ने गरेका छन् । तर त्यसबारे पनि कुनै छानविन गर्न–गराउन तयार देखिन्नन् । खोज्दै जाँदा यस्तै थुप्रै प्रकरणहरु सतहमा आउन सक्लान् ।
भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायत केही प्रकरणहरुबारे भएका छानविनहरु त्यसै सेलायो । त्यसो हुनुको अन्तर्य पनि तिनमा ठूला भनिएका तथा सत्तामा पकड राख्नेहरुको नाम जोडिनु नै थियो ।
वास्तवमा,यतिखेर सत्ता, राजनीति र सामाजिक प्रभुत्वको आडमा मुलुकमा दण्डहिनताको स्थिति खतरनाक ढंगले मौलाएर गएका कुराहरुका दृष्टान्त हुन् माथि उल्लेख गरिएका घटनाक्रमहरु । साँच्चै नै त्यसमा नाम मुछिएकाहरु आफूलाई चोखो र निर्दोष ठान्छन् भने त्यसबारे समुचित छानविन गराउन तयार हुनुपर्ने हो । तर दुःखका कुरा, लोकतन्त्र गणतन्त्र स्थापित भएयता नै पनि मुलुकमा बेथितिका थुप्रै यस्ता घटनाहरु उद्घाटित भएका छन्, जसमा आफूलाई लोकतन्त्रका मसिहा ठान्ने करिब करिब सबै नेताहरु तथा समाजका प्रभुत्व वर्गहरुको नाम मुसिएका छन् । यतिखेर मुलुकलाई जर्जर बनाउने त्यस्ता काण्ड–घटनाहरुका यथार्थलाई उद्घाटित गरेर दोषीलाई दण्डित गर्ने होइन, सत्ताको फोहोरी खेलमा एकअर्कालाई खुइल्याउने, धम्काउने तथा ‘साइजमा ल्याइदिने’ उपकरणको रुपमा प्रयोग–दुरुपयोग भइरहेको छ । वास्तवमा यतिखेर मुलुकमा ‘हमाम मे सब नंगे होते है’ भन्ने प्रसिद्ध भनाइ मज्जाले चरितार्थ भइरहेको प्रतीत हुन्छ ।
प्रतिक्रिया