संस्कृति, परम्परा र दुर्व्यसन
व्यसन जो स्वभावका रुपमा विकसित हुन्छ । कदाचित् स्वभावभन्दा पनि बलियो हुन्छ । दृढसङ्कल्प लिएर सार्थक प्रयत्न नगर्दासम्म छोड्न सकिँदैन ।
मैले १५ वर्षको उमेरमा धैबुङ् गरुगृहमा बस्दा एउटा घटनाकथा सुनेको थिएँ । कथा यस्तो थियो—“त्रिशूली महानदी पारी फाँटमा नदी तीरैनिर एक किसान खेत जोतिरहेका थिए । वारी फाँटमा पनि त्रिशूली किनारैनिर यताका एक किसान खेत जोतिरहेका थिए । दिउँसो छक्कालको समय थियो । वारीका किसानलाई सुर्तीको तलतल लाग्यो । पोल्टामा छामे बास्सा थिएन । हतारमा घरमै छुटेछ । लिन जाउँ भने घर नजिक थिएन । लत न हो । खाउँखाउँले सतायो । धेरै नै सतायो । यस्तैमा पारिका किसानले जोतान रोकेर पोल्टाबाट बास्सा निकालेको सुर्ती निकालेको र हातमा राखेर माड्न थालेको दृश्य वारीको तलतलपीडित किसानले देखे । मलाई पनि दिनोस् न भन्ने इसारा गरे हातले । पारिको किसान ठट्यौला थिए । आँलाहरुले सुर्ती च्यापेर देखाउँदै ल लिन आऊ भन्ने इसारा गरे । वारीको किसानले आफ्नो अवस्था, महानदी त्रिशूलीको अवस्था सवै बिर्सेर सूर्ति थाप्न झ्वाम्मै त्यस असमेल नदी हेलिए । बिचरा किसान सूर्तीसम्म त पुगेनन् पुगेनन् आफ्नो खेतमा जोत्न पनि फर्केनन् । यस्तो हुन्छ तलतलको करामत । यसले ज्यान लिन पनि सक्छ ।”
तलतल प्रकारान्तरले कुलत हो । दुर्व्यसन हो । त्यसताका दुर्व्यसन शब्द चलन चल्तीमा थिएन । सवैले तलतल नै भन्थे । लौन तलतल लाग्यो, तमाखु छैन ? सूर्ती छैन ?
तलतल प्रकारान्तरले कुलत हो । दुर्व्यसन हो । त्यसताका दुर्व्यसन शब्द चलन चल्तीमा थिएन । सवैले तलतल नै भन्थे । लौन तलतल लाग्यो, तमाखु छैन ? सूर्ती छैन ? सोध्न कसैले कसैसित लजाउनु पर्दैनथ्यो । पुराना कवि र कवितामा तमाखुबारे एउटा कविता पढ्न पाइन्छ । कविता व्यङ्ग्य जस्तो पनि छ । कविताको एउटा श्लोक जस्तै—
भलादमीमा गनियूँ भनेर
इच्छा भए क्यै तिमीलाई हेर ।
आज्कालको मुख्य सुसभ्य चाल
तमाखु टुक्र्याउन थालिहाल ।
गाउँघरका हुनेखाने साहु ताल्लुकदार पुरेत पण्डित सवैजसो ठुलाठालूहरु पाल्पाली हुक्का सजाएर पातोवाल बुट्टे चिलिममा तमाखु टुक्र्याउँथे । ती भन्दा साधारणहरु सोतेमा चिलिम जोडेर तमाखु तान्थे । सर्वसाधारणहरु सानो चिलिममा भुस्याहा तमाखु भरेर तान्थे । कति पुरेत पण्डितहरु पवित्रता जोगाउन तमाखु नखाएर सूर्ती चुस्थे । कति सूर्ती सुकाएर हातमै माडीमाडी धुलो पार्थे र नाकले सुइँयँ तान्थे । त्यसरी तान्नुलाई नस हाल्ने भनिन्थ्यो । एकाध मानिस त गाउँतिर भिक्षाटन गर्न आएका जोगीसँग बसेर एक दुई सर्को गाँजा पनि तान्थे । पछि चुरोट बीँडीले तमाखुको ठाउँ लियो । त्यसताका मानिसहरुमा यो दुर्व्यसन हो र स्वास्थ्यका लागि हानिकारक छ भन्ने चेतना थिएन । यो हाम्रो हजुबा, बा पुस्ताको कुरा हो ।
मादक पदार्थ प्रयोग गर्नु मात्र व्यसन होइन । कुनै पनि वस्तु सेवन लगायत निश्चित सोच विचार र व्यवहारको बानी पर्नु पनि व्यसन हो ।
तामाङ् गाउँ लगायत केही पिउने परम्पराका गाउँहरुमा जाँड रक्सीको चलन थियो । चाडपर्बमा हल्का चहलपहल देखिन्थ्यो । अघिपछि ती पिउनेहरुसँग पनि जाँड रक्सी पउल हुन्थेन । मात्तिएर हिँड्नेहरु भेटिँदैनथिए ।
व्यसन दुर्व्यसनको कुरा सुनिएको त धेरै पछि हो ।
मादक पदार्थ प्रयोग गर्नु मात्र व्यसन होइन । कुनै पनि वस्तु सेवन लगायत निश्चित सोच विचार र व्यवहारको बानी पर्नु पनि व्यसन हो । व्यसन असल खराब दुवै हुन सक्छन् । कुन असल कुन खराब यसको निर्णय तत्कालीन समाजको सोच समझ परिणाम र प्रतिक्रियामा निर्भर रहिआएको पाइन्छ ।
हामी पढाकु विद्वान् व्यक्तित्वलाई विद्याव्यसनी भन्छौँ । पढ्नु लेख्नु, निरन्तर विद्या आर्जन गर्नु नै जसको व्यसन छ त्यसलाई विद्याव्यसनी भनिन्छ । लेखनव्यसनी, उद्योगव्यसनी, व्यापारव्यसनी, राजनीतिव्यसनी जस्ता विशेषणहरु चलनचल्तीमा रहनु पर्ने भएर पनि अद्यावधि हाम्रा चलनचल्तीमा छैनन् । अन्याय, अत्याचार, भ्रष्टाचार, तस्करी, चोरी, डकैती, ठगी, माफियागिरी सबै व्यसन हुन् । घुस, कोसेली पनि व्यसन हो । जन्मजात नभएर पनि लागेपछि छुटाउन गाह्रो पर्ने बानी सवै व्यसन हो । चोरीको बानी परेको व्यक्ति अवसर पाएर कुनै मुलुकको मन्त्री वा प्रधानमन्त्री वा राजा नै भयो भने पनि चोर्ने मौका पर्दा मन थाम्न सक्दैन । इतिहासमा यस्ता उदाहरणहरु प्रसस्त भेटिएका छन् । हाम्रा पूर्वजहरुले भन्थे, “श्वा यदि क्रियते राजा स किं नाश्नात्युपानहम् ? अर्थात् यदि कुकुरलाई राजा बनाइयो भने त्यसले जुत्ता भेट्टाउँदा खाँदैन भन्ने ठेगान के छ ?”
जन्मजात नभएर पनि लागेपछि छुटाउन गाह्रो पर्ने बानी सवै व्यसन हो । चोरीको बानी परेको व्यक्ति अवसर पाएर कुनै मुलुकको मन्त्री वा प्रधानमन्त्री वा राजा नै भयो भने पनि चोर्ने मौका पर्दा मन थाम्न सक्दैन ।
भन्ने नै हो भने बौद्धिक चोरी पनि व्यसन हो । यो व्यसन लागेपछि मानिस मौलिक रचना सिर्जनमा डुब्न सक्दैन । बसेर फुर्सतमा अर्काको कुरा काट्नु पनि व्यसन हो । कुरा काट्नुलाई संस्कृतभाषामा ‘असूया’ भनिन्छ । असूयाव्यसनीले जतिसुकै असलमान्छेको पनि खराव सम्भावना खोजी खोजी कुरा काट्छ । यसै भएर असूयालाई वैदिक सनातनीहरुले अपराध सरह मानेका छन् । अनसूया अर्थात् कसैको कुरा नकाट्ने व्यक्तित्वलाई तपस्वीमा गनेका छन् । पुण्पयकर्मी मानेका छन् । पुराणमा र रामायणमा पनि दृष्टान्तका लागि अत्रि ऋषिकी सहधर्मिणी अनसूयाको चर्चा गरिएको पाइन्छ । अनसूया अर्थात् कसैको कुरा नकाट्ने महिला । गीतामा वासुदेव कृष्णले पनि अर्जुनसँगको सम्बादको अन्तमा भनेका छन् जथाभावी कुराकटुवालाई हाम्रो यो सम्वाद नसुनाउनू । “नचाशुश्रूषवे वाच्यं न च मां योभ्यशूयति । अर्थात् जो यस सद् ज्ञानलाई महत्व दिएर जीवनमा उतार्दैन र जो मलाई अशूया गर्छ, अर्थात् गलत किसिमले आरोपित गर्छ त्यसलाई हाम्रो यो सम्वाद नसुनाउनू ।” (महान यशस्वी शब्दशास्त्री अमरसिंहले आफ्नो प्रामाणिक शब्दकोश अमरकोशमा ‘अशूया’ शब्दको अर्थ ‘दोषारोपो गुणेष्वपि’ अर्थात् असल गुणमा पनि खराब हो भन्दै दोषारोपण गर्नु हो भनेका छन्)। सामान्य नीतिले भन्छ, “शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि अर्थात् शत्रुकै पनि सद्गुण छ भने त्यसको बखान गर्नू, खराब बानी बेहोर छ भने गुरुलाई पनि नछोड्नू ।” यसको तात्पर्य दोषको पर्दाफास गर्न नछोड्नू गुणमाथि जथाभावी दोषारोपण चाहिँ नगर्नू भन्ने नै होइन र ?
यसै त हाम्रो समाजमा कति धनीमानीहरु गरीब निर्धा निमुखालाई शोषण गर्नु, सताउनुमा रस लिन्छन्, लिँदै आएका छन् । कति सासूहरु घरपरिवारमा बुहारीलाई बढीभन्दा बढी काममा दलाउनु र माइतीबाट उपहार कोसेली तिलक आदि इत्यादिका रुपमा शोषण गर्नुलाई चलन चल्तीको सामान्य व्यवहार ठान्छन् । यद्यपि सवै किसिमका शोषणहरु दुर्व्यसन नै हुन् । कुलत नै हुन् । लत लागिसकेपछि हम्मेसि छुट्दैन । सवैभन्दा दुर्व्यसनी त हाम्रो समाजमा परम्परागत सोच समझका पतिहरु पनि हुन् । पत्नीलाई सताउनु हाम्रो समाजमा रुढिगत पृष्ठभूमि सहितको परम्परागत दुर्व्यसन हो । जातीय विभेद र हेलाहोचोको व्यवहार पनि सामाजिक दुर्व्यसन नै हुन् । कति दुर्व्यसनका धार्मिक, सांस्कृतिक पृष्ठभूमि छन्, कतिका छैनन् ।
व्यसन आदत हो, लत हो । दुर्व्यसनलाई कुलत पनि भनिन्छ । व्यसनले चलनको रुप लिएपछि त्यसले धमिराको काम गर्छ । गरिआएको छ । हाम्रो मुलुक प्रगतिमा पछि पर्नुमा आलोचित अनालोचित विभिन्न धमिराहरुको उल्लेखनीय भूमिका रहिआएको छ ।
मानव जीवनमा व्यसनको दायरा विस्तृत छ । व्यसनले वैयक्तिक मात्र नरहेर सामाजिक, सांस्कृतिक र धार्मिम रुप लिएका इतिहासहरु छन् । आदियोगी शिवलाई समेत व्ययसनीका रुपमा उभ्याएर जोगीहरुले गाँजालाई साँस्कृतिक र समाजस्वीकृत व्यसनका रुपमा निर्वाधता दिएको सन्दर्भमा हुनुपर्ने व्यापक अनुसन्धान हुन अझ बाँकी नै छ ।
प्रतिक्रिया