समस्या समाधान गर्न के गर्नु पर्छ ?

 

वैज्ञानिक तवरले जीवनका हरेक समस्या समाधान गर्न द्वन्दवाद अप्नाउने कि अधिभूतवाद अप्नाउने ? के यो दार्शनिकहरूको मात्र चासोको विषय हो ? आम मानिसहरूको सरोकारको विषय होइन ?

सरकारले आफ्नो तीन वर्षीय कार्य-योजनामा र बजेटमा गरीबी हटाउने कुरा ल्याएको छ । गरीबी हटाउने मनसुवा राख्नु निकै राम्रो कुरा हो तर मनसुवा र कुराले मात्रै त गरीबी हट्दैन, हट्नेवाला छैन । गरीबी हटाउन गरीबी के कारणले पैदा भयो, त्यो ठम्याउनु पर्छ । गरीबीको जरो कारण ठम्याइयो र त्यसलाई हटाउन संघर्ष गरियो भने मात्र गरीबी घट्ने र हट्ने दिशातिर काम हुन सक्छ । तर सरकारले यस दिशातिर चाहिं के काम गर्ने भएको छ त ? उसले यसका निम्ति रोजगारी बढाउने मात्र कुरा गरेको छ । के यसबाट यो समस्याको समाधान हुन सक्छ ?

रोजगारी नहुनु गरीबीको कारण त हो, तर मूल कारण होइन किनभने तिनीहरू पनि गरीब छन्, जोसित रोजगारी छ ।

हुन सक्छ यदि रोजगारी प्राप्त नहुनुको कारणले नै गरीबी पैदा भएको हो भने । तर वास्तविकता के हो ? रोजगारी नभएकाहरू मात्र हैन, रोजगारी भएका मानिसहरू पनि किन ठूला ठूला धनीहरूको तुलनामा निकै गरीब छन्, यद्यपि, उनीहरूसित रोजगारी छ ? किन जोताहा किसानहरू जमीन्दार वा तल्सिङ्गको तुलनामा निकै गरीब छन्, यद्यपि उनीहरूसित सानो सानो जोत छ, रोजगारी छ ?
त्यसैले सत्य के हो भने, रोजगारी नहुनु गरीबीको कारण त हो, तर मूल कारण होइन किनभने तिनीहरू पनि गरीब छन्, जोसित रोजगारी छ । तसर्थ रोजगारीले गरीबी विभिन्न मात्रामा घटाउन सक्ला तर हटाउन होइन ।

गरीब र गरीबी एउटा तुलनात्मक अर्थात सापेक्षिक शब्द हो । तुलना गर्नको लागि कोही अरू हुनु पयो, अनि मात्र को भन्दा गरीब भन्ने छर्लंग हुन्छ । दाँज्ने कोही अरू छैन भने अलग्गै कोही गरीब हो कि धनी छुट्टिन सक्दैन । कोही धनी छन्, त्यसैले न कोही गरीब हुन्छन् । धनाढ्य उद्योगपतिहरू छन्, त्यसैले त मजदूरहरू गरीब छन् भन्ने देखिन्छ । जमीन्दारहरू सम्पतिबाल छन्, त्यसैले त जोताहा मोही गरीब छ भन्ने छर्लगिन्छ । त्यसैले कोही गरीब हो कि धनी, अरूसितको तुलनामा, सम्बन्धमा, सापेक्षतामा मात्र छुट्टिन्छ । संसारमा कोही धनी छैनन् भने गरीब पनि कोही हुँदैनन् ।

यसरी मुलुकमा गरीबी हुनुको कारण त समाजमा धनीहरू हुनु हो । धनीहरू यस कारणले धनी भएका हुन्छन् कि अरूको तुलनामा उनीहरूसित बेसी सम्पत्ति छ, जग्गा छ, कारखाना छ, उत्पादनका साधनहरू छन्, सुविधाहरू छन्। तर
हामी जीवनमा के देख्छौं भने प्राय: धनीहरू गरीबको तुलनामा कम काम वा कामै गर्दैनन् । उता गरीबहरू चाहिं धनीहरूको तुलनामा वेसी परिश्रम गर्छन् तर उनीहरूसित कम सम्पत्ति हुन्छ, कम जग्गा जमीन, कारखाना, र सुविधा हुन्छन् वा हुँदै हुँदैनन् ।

संसारका सबै सम्पत्तिहरू परिश्रमबाटै पैदा हुन्छन् । परिश्रम विना एउटा ढुंगा समेत काम लाग्दो र बिकाउ बन्दैन । तर प्रश्न के उठ्छ भने, किन समाजमा सम्पत्ति पैदा गर्न सबभन्दा बढी परिश्रम गर्नेहरू चाहिँ सबभन्दा गरीब हुन्छन् ? किन परिश्रम नै नगर्ने वा कम गर्नेहरू चाहिं सबैभन्दा धनी हुन्छन् ? गरीबीको मूल कारण यही प्रश्नको उत्तरमा लुकेको छ ।

किन समाजमा सम्पत्ति पैदा गर्न सबभन्दा बढी परिश्रम गर्नेहरू चाहिँ सबभन्दा गरीब हुन्छन् ? किन परिश्रम नै नगर्ने वा कम गर्नेहरू चाहिं सबैभन्दा धनी हुन्छन् ?

समाजमा परिश्रमको फल कसैले लुट्ने काम गरिरहेको छ, चलाखी साथ । त्यसैले उनीहरूसित कम परिश्रम वा शून्य परिश्रम गर्दा गर्दै पनि वेसी सम्पत्ति, उत्पादनका साधन र सुविधा छ, उनीहरू धनी छन् । कोही बेसी परिश्रम त गरिरहेछन् तर त्यसको उचित फल पाइरहेका छैनन्, गुमाईरहेका छन् । त्यसैले उनीहरू गरीब छन् । त्यसैले, गरीबीको जरो कारण त समाजको अन्यायपूर्ण उत्पादन र वितरण प्रणालीमा लुकेको छ । बढी परिश्रम र उत्पादन, तर कम फल वा शून्य फलको वितरण भएपछि मानिस गरीब हुन्छ । शून्य वा कम परिश्रम र उत्पादन, तर बढी फलको वितरण भएपछि मानिस धनी हुन्छ । गरीबीको जरो कारण यही हो ।

सरकार गरीबीको यो जरो कारणलाई चाहिँ छुन नै चाहँदैनन् । त्यसलाई उनीहरू ज्यूँका त्यूँ बाँकी राख्न चाहन्छन् । उनीहरू समाजको अन्यायपूर्ण उत्पादन र वितरण प्रणालीलाई अन्त नै गर्न चाहँदैनन् । त्यसलाई उनीहरू आँखाको नानी भै बचाई राख्न चाहन्छन् । तर फेरि उनीहरू गरीबीको उन्मूलनको कुरा गर्छन् । गरीबी पैदा गर्ने मुहान चाहिं बचाई राख्ने, अनि गरीबी उन्मूलन गर्ने कुरा गर्ने ? यो फगत स्वाङ मात्रै हो । यो सरासर छलकपटपूर्ण नाटक मात्रै हो ।

संसारमा समस्याहरू छन् । ती हरेक समस्याका कारणहरू हुन्छन् । बिना कारण कुनै समस्या पैदा हुँदैन । समस्या हल गर्ने हो भने त्यो समस्या पैदा गर्ने मूल मुहान कुन हो त्यो पत्ता लगाउनु पर्छ । त्यो मूल मुहान पत्ता लागेपछि र त्यसैलाई थुन्ने उपाय गरेपछि समस्या हल हुन्छ । मूल मुहान ज्यूँका त्यूँ राखेर टालटुले उपाय मात्रै गरियो भने कुनै पनि समस्या हल हुँदैन । त्यो झन् जटील बन्छ । गरीबी पनि एउटा समस्या हो । अलिकता रोजगारी बढाएर त्यो हल गर्न खोज्नु, समस्या समाधान गर्ने टालटुले उपाय हो । गरीबीको जरो अन्यायपूर्ण उत्पादन र वितरण प्रणालीलाई नै फेर्न खोज्नु चाहिं समस्या समाधान गर्ने सही र वैज्ञानिक उपाय हो ।

महंगी पनि एउटा सामाजिक समस्या हो । यसका कारणहरू छन् । महंगीको समस्या हल गर्ने हो भने यो समस्याको पनि मूल मुहान कुन हो, त्यो ठेगान गर्नु पर्छ । हालको रूसमा महंगी अचाक्ली बढ्यो । पूँजीवादी राष्ट्रपतिले त्यसलाई यहाँको सरकारले जस्तै प्रशासनिक उपायहरू अप्नाएर हल गर्न खोजे । तर त्यो हल भएन । त्यो झन् बढ्यो किनभने रुसका राष्ट्रपतिले खुला बजार अर्थतन्त्र महंगीको मूल मुहान- लाई चाहिं ज्यूँका त्यूँ छोडे । त्यसलाई भने उनले बचाउन चाहे, अनि यसरी समस्याको मूल मुहानलाई चाहिं प्रधावत बांकी राखेर फगत प्रशासनिक उपायद्वारा समस्या हल हुन्थ्यो नै कसरी ? महंगी हटाउन फगत प्रशासनिक उपाय अप्नाउनु भनेको फेरि पनि समस्याको समाधान गर्ने टालटुले उपाय मात्र हो । समस्यालाई त्यसको जरोमै हल गर्न खोज्ने वैज्ञानिक उपाय होइन ।

समस्याको कारणको जरो पत्तो लगाउन सक्यौं भने हामी निश्चय पनि समस्यालाई निमिट्यान नै पार्न समर्थ हुन सक्छौं । तर त्यसो गरिएन, समस्याको सतह सतहमा मात्र हेरेर त्यसलाई समाधान गर्न प्रयत्न गरियो भने त्यो काम चलाउ उपाय मात्र हुन्छ ।

कुनै एउटा सहकर्मीले संगठनको अनुशासन तोड्यो । त्यसलाई खाली अनुशासनको कार्वाहीद्वारा मात्र समस्या समाधान गर्न खोज्नु पनि समस्या समाधान गर्ने अवैज्ञानिक विधि हो । हामी वैज्ञानिक विधिमा विश्वास राख्छौं भने हाम्रो पहिलो काम हो- हरेक समस्याको कारण पत्ता लगाउनु । समस्याभित्रको सत्य पत्ता लगाउनु । अनुशासन तोड्ने समस्या पैदा भयो नै किन ? त्यो टुंगो लाउनु । समस्याको कारणको जरो पत्तो लगाउन सक्यौं भने हामी निश्चय पनि समस्यालाई निमिट्यान नै पार्न समर्थ हुन सक्छौं । तर त्यसो गरिएन, समस्याको सतह सतहमा मात्र हेरेर त्यसलाई समाधान गर्न प्रयत्न गरियो भने त्यो काम चलाउ उपाय मात्र हुन्छ । त्यसलाई समस्या समाधान गर्ने तदर्थवादी विधि भनिन्छ ।

हरेक पातको आधार, डाँठ, डाँठ जोडिएको ठाउँ हांगा र हांगा जोडिएको ठाउँको मूल स्थान फेद र जरा भए जस्तै हरेक समस्याको पनि डांठ, हाँगा, फेद र जरा हुन्छ, डाँठ, हाँगा फेद र जरा पत्ता नलागीकन रूखको सम्पूर्णता पत्ता लाग्दैन । त्यस्तै समस्याको पनि डाँठ, हाँगा, फेद र जरा पत्ता नलागीकन यसको उत्पत्तिको सम्पूर्णता पत्ता लाग्दैन । समस्याको उत्पत्तिको सम्पूर्णता नै पत्ता लागेन भने समस्याको वास्तविकताको जानकारी नै हुँदैन । समस्याको पूरापूर जानकारी विना अन्धाधुन्ध गरिने सबै उपायहरू अन्धतापूर्ण हुन्छन् नै । अनि अन्धतापूर्ण उपायले वाञ्छित फल प्राप्त हुन्छ नै कसरी ? त्यसैले, वाञ्छित लक्ष्य प्राप्त गर्न चाहने जो कोहीको लागि पनि वैज्ञानिक विधि हो हरेक समस्याको डाँठ हाँगा, फेद र जरा पत्ता लगाउनु ।

हामी फीँज, छाल र घुमाउने नहोस् भन्ने चाहन्छौं भने नदी भित्रको प्रवाहको अन्त गर्न सक्नु पर्छ । प्रवाह यथावत बाँकी राखेर फीज छाल र घुमाउनेको अन्त गर्न हामी खोज्छौं भने हामी असफल नभए को हुन्छ ?

तर कुनै पनि समस्याको मूल जरो पत्ता लगाउनु वा मूल कारण पत्ता लगाउनु सजिलो भने अवश्य हुँदैन, किनभने समस्याको जरो बाहिर हुँदैन । त्यो भित्र कता कता गडेर बसेको हुन्छ र बाहिर एउटा अभिव्यक्ति देखिन्छ, भित्र अर्को वास्तविकता लुकेर बसेको हुन्छ । नदीको बाहिर फीज, छाल, घुमाउने हुन्छ । तर त्यो फीज, छाल र घुमाउनेको भित्री कारणको रूपमा नदीभित्र प्रवाह निरन्तर गतिवान हुन्छ । फीज, छाल र घुमाउने त त्यो प्रवाहको गतिशीलताको बाहिरी परिणाम मात्र । हामी फीज, छाल र घुमाउने नहोस् भन्ने चाहन्छौं भने नदी भित्रको प्रवाहको अन्त गर्न सक्नु पर्छ । प्रवाह यथावत बाँकी राखेर फीज छाल र घुमाउनेको अन्त गर्न हामी खोज्छौं भने हामी असफल नभए को हुन्छ ? संसारमा बाहिर सतहमा देखिने कुरा नै भित्री वास्तविकता हुने भइदिएको भए विज्ञानको जरूरत नै हुने थिएन । विज्ञान भन्नु नै प्रत्येक बाहिर देखिने समस्याको भित्री जराको खोजी हो, प्रत्येक समस्याको सकेसम्म समग्र र भित्री वास्तविकताको खोजी हो, जुन सतहभन्दा धेरै भित्र लुकेर बसेको हुन्छ ।

समस्यालाई जरोमा खोज्नु भनेको यसलाई ऐतिहासिक रूपमा हेर्न खोज्नु हो । कुनै पनि समस्या उत्तिकै पैदा हुँदैन र त्यो अलग-धलग पनि हुँदैन । त्यो अरू थुप्रै पहिलेका समस्यासित र अन्य कुराहरूसित गाँसिएको हुन्छ । समस्याको डाँठ, हाँगा, फेद, जरा हेर्ने यो वैज्ञानिक विधिले हामीलाई त्यो समस्या अरू के के कुरासित गाँसिएको छ, त्यो पूरापूर हेर्न सिकाउँछ । समस्याको डाँठ, हाँगा, फेद, खोज्दै जरासम्म जान सिकाउँछ । प्रत्येक समस्याको सतह सतह होइन, त्यसको पिता-पुख्यौली, नाता- गोता हेर्न सिकाउँछ । यो विधिबाट प्रत्येक समस्याको वास्तविक इतिहास पत्ता लाग्छ समस्याको उत्पति स्रोत पत्ता लाग्छ । जब समस्याको उत्पति स्रोत नै पत्ता लाग्छ, अब त्यसलाई पूरापूर समाधान गर्ने संभावना पैदा हुन्छ । अनेकौं पटकको हार पनि त्यसको जरो कारण पत्तो लाग्यो भने जितमा परिणत हुन सक्छ । मूल कारण ठम्याइयो भने अनेकौ पटकको असफलता पनि सफलतामा परिणत हुन सक्छ ।

जब समस्याको उत्पति स्रोत नै पत्ता लाग्छ, अब त्यसलाई पूरापूर समाधान गर्ने संभावना पैदा हुन्छ । अनेकौं पटकको हार पनि त्यसको जरो कारण पत्तो लाग्यो भने जितमा परिणत हुन सक्छ ।

 तथापि हामी धेरैजसो मानिसहरू समस्या हल गर्ने तदर्थवादी विधि नै अनुशरण गर्छौं, किनकि हामी सजिलोका पक्षपाती छौं । हामीमा समस्याको डाँठ, हाँगा, फेद हुँदै जरोको तहसम्म जाने धैर्य नै छैन । कुनै पनि समस्याको जरोसम्म जाँदा जुन सत्य प्रकट हुन्छ, त्यो निकै तीतो र प्रखर हुन्छ । हाम्रा स्वार्थहरूले त्यो तीतो र प्रखर- सत्यको सामना र अंगीकार गर्ने साहस नै पैदा गर्दैन । त्यसैले स्वार्थवश हामी स्थितिसित सम्झौता गर्छौं तदर्थवादी विधि अप्नाउँछौं । यसरी समास्यालाई हल गर्न होइन, हामी स्थगित गर्न प्रेरित हुन्छौं तर प्रत्येक स्थगनले समस्या समाधानको संभावनाबाट समस्या झन् टाढा बन्छ, अरू असाध्य बन्दछ ।

त्यसैले समस्यालाई वास्तवमा नै हल गर्ने, जरोमै हल गर्ने र पूरापूर हल गर्ने हो भने हामीसित समस्याको जरोसम्म जाँदा पैदा हुने कष्ट र झट व्यहोर्ने तम्तयारीपन हुनुपर्छ । सत्यको प्रप्तिको लागि पर्खने धैर्य हुनुपर्छ । सत्यको सामना र अंगीकार गर्ने साहस हुनुपर्छ । आफ्नो स्वार्थसंग लाप्पा खेल्दै सत्य प्राप्त गर्ने हुटहुटी हामीमा छैन भने हामी कुनै पनि समस्याको जरोसम्म खोज्ने विधि नै अप्नाउन सक्दैनौं ।
सतह दर्शनको भाषामा कुनै पनि समस्यालाई सतहमा मात्र हेर्न खोज्नु, कुनै पनि समस्यालाई फगत पात हेरे जस्तै गरी अलग-धलग रूपमा हेर्न खोज्नु अधिभूतवाद हो । हरेक समस्याको मूल जरो हेर्न खोज्नु इतिहास हेर्न खोज्नु, फगत पात नहेरेर त्यो जोडिएको डाँठ, हाँगा, फेद, जरासम्म हेर्न खोज्नु र समस्यालाई त्यसको जरोमै हल गर्न खोज्नु द्वन्दवाद हो ।

वैज्ञानिक तवरले जीवनका हरेक समस्या समाधान गर्न, द्वन्दवाद अप्नाउने कि अधिभूतवाद अप्नाउने ? वस्तुवाद अप्नाउने कि आदर्शवाद ? यो फगत दार्शनिकहरूको मात्र चासोको विषय होइन। यो आम मानिसहरूको सरोकारको विषय हो ।

कुनै पनि समस्याको समग्र वास्तविकता थाहा पाउन खोज्नु, त्यसको डाँठ, जरा, फेद जराको सत्य जानकारीको आधारमा समस्या हल गर्न खोज्नु वस्तुवाद (भौतिकवाद) (Materialism) हो । फगत सतह सतहका कुराका आधारमा भित्रको वास्तविकता नै थाहा नपाइकन, फगत अनुमान र कल्पनाका आधारमा समस्या समाधान गर्ने धारणा बनाइनु आदर्शवाद (Idealisim) हो ।
त्यसैले वैज्ञानिक तवरले जीवनका हरेक समस्या समाधान गर्न, द्वन्दवाद अप्नाउने कि अधिभूतवाद अप्नाउने ? वस्तुवाद अप्नाउने कि आदर्शवाद ? यो फगत दार्शनिकहरूको मात्र चासोको विषय होइन। यो आम मानिसहरूको सरोकारको विषय हो । किनभने, कुनै पनि समस्याको जरो कारण थाहा पाउन खोज्नु खाली दार्शनिकहरूलाई मात्र जरूरी छैन, आफ्नो मस्याको वास्तविक हल चाहने जो कोहीलाई यस्तो गर्नु जरूरी छ ।

मूल्याङ्कन मासिक २०४९ माघमा प्रकाशित

प्रज्ञानरत्न

दर्शनका सवालमा कलम चलाउँदै आउनुभएका प्रज्ञानरत्नका 'मूल्याङ्कन मासिक एवं नवयुवा मासिक'मा प्रकाशित लेखरचनाहरु हामीले दर्शन स्तम्भअन्तर्गत नियमित रुपमा पुन:प्रकाशन गर्दै जानेछौं । यसका लागि हामीले लेखकबाट सम्मति लिएको समेत जानकारी गराउँदछौं ।