मैले चिनेकी र नचिनेकी पारिजात

जसबारे बोल्नुपर्ने हो, उसबारे थोरैमात्र थाहा भए वक्तालाई अप्ठ्यारो हुन्छ । दिइएको समय भर्न सकिन्न । जसबारे बोल्ने हो, उसबारे धेरै कुरा थाहा भए बोल्न अप्ठ्यारो हुन्छ । कहाँबाट थाल्ने, के के भन्ने, कहाँबाट टुङ्ग्याउने ? प्राथमिकता के हो, बीचको कुरा के हो, फुटनोट के हो ? मेरो लागि पारिजात पछिल्लोमा पर्नु हुन्छ । मैले बोल्ने कुरा सिलसिलामा बाँधिएका छैनन् । यी मजस्तै छन्, छरपस्ट र करिब–करिब अलपत्र । यी समयको क्रममा पनि छैनन् । चौबीस सालमा काठमाडौँमा पढ्न आएपछि मैले नेपाली साहित्य क्षेत्रका पुरानो पुस्ताका ख्यातनामा वालकृष्ण समदेखि सिद्धिचरण, विजय मल्ल, भूपि आदिलाई चिन्ने मौका पाएँ । अघिल्लो पुस्ताका यी धेरैसँग मेरो सहकार्य भएन । सिद्धिचरणसँग भने मेरो निकटता र आदानप्रदान भयो । तीसँग अनेक गोष्ठीमा सँगै भइयो, यदाकदा काठमाडौँ बाहिर पनि सँगै गइयो । ती बडो प्रेमिल थिए, म तिनको घरमा पनि गइरहन्थेँ । ती गुडगुड हुक्का तान्थे, धेरै कम बोल्थे । बोलाइमा प्रभावशाली थिएनन् । तर बिरानो काठमाडौँमा तिनको समीपमा हुनु नै मेरा लागि प्रेरणा र गौरवको कुरा थियो ।

सिद्धिचरण बडो प्रेमिल थिए, म तिनको घरमा पनि गइरहन्थेँ । ती गुडगुड हुक्का तान्थे, धेरै कम बोल्थे । बोलाइमा प्रभावशाली थिएनन् । तर बिरानो काठमाडौँमा तिनको समीपमा हुनु नै मेरालागि प्रेरणा र गौरवको कुरा थियो ।

तालतालका वाम झुकावका श्यामप्रसाद, रमेश विकल, भवानी घिमिरे, शक्ति लम्साल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, शान्तदास, पारिजात आदिसँग मेरो अलि बाक्लो उठबस, आदान–प्रदान र सहकार्य भयो । मेरो यीमध्ये सबैभन्दा निकटको सङ्गत र लामो समयको सहकार्य पारिजात दिदीसँग भयो । विभिन्न मोर्चामा, विभिन्न सन्दर्भमा,  प्रकाशन, गोष्ठी, सडक अभियान, विमर्श आदिमा  ।

शिरीषको फूलः टाउकोको हैन, टोपीको बढी चर्चा !

पहिलो पटक मैले पारिजातको नाम सुनेको २०२२–२३ सालतिर हो । म तेह्रथुमको आठराईमा आइए पढ्दा एकजना गज्जबका गुरु हुनुहुन्थ्यो । बडो विद्वान तर एकदम सन्काहा । गुरुको नाम थियो बामदेव पहाडी, डबल एमए बीएल । चारवटा कुरासँग जोडिएर पारिजात दिदीको नाम आठराईमा आएको थियो । ती चरावटा कुरा थिए, पारिजात, शिरीषको फूल, शंकर लामिछाने र मदन पुरस्कार । पारिजातको नाम पहिलो पटक सुनेको वामदेव पहाडी डबल एमए बीएलबाटै हो । शिरीषको फूल उता पुगेको थिएन । म वामदेव पहाडीको प्रिय विद्यार्थी थिएँ । ‘बेबकुफ’ भनी हप्काउँदै कुरा थाल्ने पहाडी सरको काइदा थियो । त्यो हप्काइमा खासमा प्रेमको अनुभूति हुन्थ्यो ।

एक दिन वामदेव पहाडीले मलाई सोध्नुभो– भन्नू बेबकुफ, मान्छे टाउको हो कि टोपी हो ? जुन हो टोपीलाई टाउको भनेर बेबकुफहरु हल्ला गरिरहेछन् । शिरीषको फूल पढेकै छैन, म के जबाफ दिऊँ ?

मदन पुरस्कार पाएको पारिजातको शिरीषको फूल शंकर लामिछानेको भूमिकासँगै उत्पात चर्चामा आयो । एक दिन वामदेव पहाडीले मलाई सोध्नुभो– भन्नू बेबकुफ, मान्छे टाउको हो कि टोपी हो ? जुन हो टोपीलाई टाउको भनेर बेबकुफहरु हल्ला गरिरहेछन् । शिरीषको फूल पढेकै छैन, म के जबाफ दिऊँ ? पहाडी सरका कुराको चुरो रहेछ— शिरीषको फूल टाउको हो, शंकर लामिछानेको भूमिका त्यो टाउकोमा लगाइएको टोपी हो । टोपीको खुब चर्चा भयो, र टाउको त्यो चर्चाको छायामा पर्‍यो । जुन हो बेबकुफ......

काठमाडौं आएपछि मेरो सबैभन्दा ठूलो रहर शिरीषको फूल पढ्नु थियो । शिरीषको फूल पढें । साहित्य, त्यसमा पनि शैलीवादी साहित्य बुझ्न पठनको केही न केही अभ्यास नितान्त आवश्यक हुन्छ । मैले बोधविक्रम अधिकारीदेखि रमेश विकल, प्रेमचन्दसम्म पढिसकेको थिएँ । तर शैलीका कारण शिरीषको फूल मैले राम्रोसँग बुझिनँ । मलाई शिरीषको फूलको भाषा अद्भूत लाग्यो । म त्यसबाट प्रभावित भएँ । त्यो प्रभावले मलाई झन्डैजसो जिन्दगीभरि नै पछ्याइरह्यो । शैलीका दृष्टिले शंकर लामिछानेको भूमिका जादुमय छ । वैचारिक दृष्टिबाट त्यो भूकिकाको के अर्थ होला, त्यो अलग्गै कुरा हो ।

मलाई शिरीषको फूलको भाषा अद्भूत लाग्यो । म त्यसबाट प्रभावित भएँ । त्यो प्रभावले मलाई झन्डैजसो जिन्दगीभरि नै पछ्याइरह्यो । शैलीका दृष्टिले शंकर लामिछानेको भूमिका जादुमय छ ।

भूमिकाका दुईटा कुराले मलाई प्रभावित गर्यो । पारिजातको चिठ्ठीमा लेखिएको थियो—  शंकर दाइ, सानो उपन्यास लेखेकी छु । ‘किनकिन यसको भूमिका तपाईंबाट लेखिइनुपर्छ भन्ने मलाई लाग्यो ।’ भूमिका लेखियो । भूमिकामा ‘पारिजात आइ पनि मेरो जीवनमा बडो बडो अनौठोसँग’ भनियो । यी दुई भनाइलाई एक ठाउँमा राखेर हेर्दा मलाई लाग्यो, शंकर लामिछाने र पारिजात दिदीको विशेष सम्बन्ध छ । सुकन दिदीले त्यस्तो सम्बन्ध थिएन भन्नुभाछ । तर भाषामा मानिसका आन्तरिक भावना व्यक्त गर्ने सामर्थ्य हुन्छ भने सुकन दिदीको भनाइ संशोधन गर्नुपर्छ ।

लाल कुमाइहरु र हिन्दूत्वको शुद्धता मिसिएको वामपन्थ

समयक्रममा विभिन्न व्यक्तिबाट, विभिन्न कोणबाट शिरीषको फूलबारे सुनियो । तैपनि यति धेरै चर्चामा आएकी पारिजातलाई भेट्न मलाई उत्रो रहर थिएन । काठमाडौं आउनेबित्तिकै म लाल भएँ । काठमाडौँ पढ्न आएका पूर्वेली कुमाइहरु एकसेएक लाल थिए । खाएकाहरु, पिएकाहरु, मुखियाका छोराहरु काठमाडौं आएपछि सबै लाल भएछन् । म पनि सानो भए पनि मुखियाकै छोरो थिएँ । ठूला लाल मुखियाहरुका पछि लागेर म सानो मुखिया पनि लाल भएँ ।

मेरो वामपन्थले पारिजातबारे मलाई जे भनेको थियो, त्यसले मलाई पारिजातकहाँ जान छुट दिँदैनथ्यो । एक दिन तिनै विमल लिथो गरेको एउटा ढ्याके चीज लिएर आए । त्यो रहेछ, राल्फाको घोषणापत्र । घोषणापत्रको शीर्षक थियो– ‘सेतो बन, नीलो जून, आकाशका नुनिलो निश्वासहरु ।’ सुन्दैमा चकित भइने शीर्षक !

त्यो बेला राल्फा खुब चर्चामा थियो । हाम्रो वामवृत्तमा राल्फाको प्रभाव त्यत्ति राम्रो थिएन । म डिल्लीबजारमा बस्थें । एकजना विशालकाय लम्बोदर पारिजात दिदीको सन्देश लिएर घरीघरी मकहाँ आउँथे । ती लम्बोदरको नाम विमल रहेछ । थर चापागाईँ हो क्यार । पारिजात दिदी तिम्रो रचना पढ्छिन्, रुचाउँछिन्, तारिफ गर्छिन्— ती भन्थे । पारिजातले तिमीलाई भेट्न चाहेकी छिन् । तर मैले भेटिनँ । मेरो वामपन्थले पारिजातबारे मलाई जे भनेको थियो, त्यसले मलाई पारिजातकहाँ जान छुट दिँदैनथ्यो । एक दिन तिनै विमल लिथो गरेको एउटा ढ्याके चीज लिएर आए । त्यो रहेछ, राल्फाको घोषणापत्र । घोषणापत्रको शीर्षक थियो– ‘सेतो बन, नीलो जून, आकाशका नुनिलो निश्वासहरु ।’ सुन्दैमा चकित भइने शीर्षक ! त्यो राल्फाको भाषा हो । त्यसमा एउटा वाक्य थियो पारिजात दिदीको– ‘म सडक भएर पल्टिदिन्छु, राल्फा सन्ततिहरु ममाथि स्वच्छन्द खेल्छन् !’ वामपन्थमा त्यसको पनि राम्रो अर्थ लगाइएन । हाम्रो वामपन्थ व्यक्तिका रुचि र सम्बन्धका बारेमा अलि बढी नै नाटीकुटी गर्थ्यो । वामपन्थको त्यो नाटीकुटी हिन्दूत्वको शुद्धताबाट संक्रमित भएको हो भन्ने मलाई लाग्छ ।


https://ne.wikipedia.org

केही समयपछि म पारिजात दिदीकहाँ गएँ । यो २०२७ सालको कुरा हो । भोटेबहालमा कतै पारिजात दिदीको कोठा थियो । कसैले मलाई त्यहाँ पुर्‍यायो । पारिजात दिदी अत्यन्तै उदास र उद्विग्न मनस्थितिमा हुनुहुन्थ्यो । म फलानो हुँ भनी मैले आफूलाई चिनाएँ । उराठलाग्दो स्वरमा दिदीले भन्नुभयो– ‘म बिरामी छु, मलाई भेट्न पछि आउनू ।’ पछि थाहा भयो– दुई कारणले पारिजात दिदी उदास र उद्विग्न हुनुहुँदो रहेछ । उहाँका डाक्टर बा निक्कै बिरामी रहेछन् । र, कोही प्रेमीले उहाँलाई विश्वासघात गरेको रहेछ । पछि कुरो बुझियो— त्यो विश्वासघाती मलाई भेट्न आउने उही लम्बोदर विमल चापागाईँ रहेछ ।

संघर्ष र प्रतिरोधको केन्द्र

वामपन्थमा, राजनीतिमा र साहित्यमा पनि त्यतिखेर दुइटा धार थिए । एउटा मालेको धार, अर्को चौथो महाधिवेशनको धार । पारिजात दिदी, निनु चापागाई, रायन आदिको लचक  चौमतिर थियो । सम्पर्क, सङ्गत, प्रभाव, झुकाव आदिले गर्दा म पनि चौमपट्टि थिएँ । माले धारका साहित्यिक नेता मोदनाथ प्रश्रित थिए र चौम धारकी नेतृ थिइन् पारिजात दिदी । तिनका विचार प्रकट गर्ने माध्यम पनि फरकफरक थिए । मालेको माध्यम संकल्प थियो, चौमको वेदना थियो । पारिजात दिदी चौमको वामपन्थी साहित्य चिन्तन र साहित्य सिर्जनाको संघर्ष, अभियान र प्रतिरोधको केन्द्र हुनुहुन्थ्यो ।

ढ्याके कुरा नगर्ने पारिजात

व्यक्तिगत वार्तामा पारिजात दिदीमा खासै आकर्षण मैले कहिल्यै देखिनँ । टेबुल वार्ता र मञ्चीय भाषणको हकमा पनि मेरो अनुभव यही नै रह्यो । पारिजात दिदीले दर्शनको कुरा कहिल्यै पनि गर्नुभएन । द्वन्द्वात्मक भौतिकवाद, निषेधको निषेध, सर्वहारा वर्गको अधिनायकत्व टाइपका ढ्याके पदावलीको उच्चारण पारिजात दिदीका मुखबाट भएको मैले कहिल्यै सुनिनँ । त्यो बेला जो यस्ता ढ्याके कुरा गर्‍यो, उही नै जान्ने हो भन्ने लाग्थ्यो । तर खासमा पारिजात दिदीको प्रभाव वचनको सादापन, प्रस्तुतिको सादापन र अभिव्यक्तिको सादापनमा थियो । र, दिदीको प्रभाव त्यो सादापनमा लुकिबसेको निष्कपटपन, पाखण्डरहितपन र भुइँजनले बुझ्ने भाषामा थियो ।

पारिजात दिदीको प्रभाव वचनको सादापन, प्रस्तुतिको सादापन र अभिव्यक्तिको सादापनमा थियो । र, दिदीको प्रभाव त्यो सादापनमा लुकिबसेको निष्कपटपन, पाखण्डरहितपन र भुइँजनले बुझ्ने भाषामा थियो ।

पारिजातको सबैभन्दा  उत्कृष्ट कृति

म्हेपीको पारिजात दिदीको कोठाको सम्झना हामीमध्ये धेरैका मनमा ताजै होला ।  मलाई लाग्छ, पारिजात आफूसहितको त्यो कोठा दिदीको सबैभन्दा उत्कृष्ट कृति हो ।

ढोकाबाट पस्दा दाहिने कुनामा परिजात दिदीको ओछ्यान थियो । सामान्य खाटमाथि सुकुल, त्यसमाथि पातलो डसना, त्यसमाथि साधारण तन्ना, हो त्यसमाथि पारिजात दिदी प्रायः भित्ताको आड लागेर बस्नुहुन्थ्यो । ठीक अगाडिको भित्तामा चेग्वेभाराको विशाल तस्विर थियो । दाहिनेपट्टि झ्यालको छेउमा साधारण टेबुलमाथि रातो टेलिफोन सेट थियो । टेलिफोनको छेवैमा एउटा नोटिस हुन्थ्यो– ‘फोन गर्नेले एक मिनेट बोल्नू, एक रुपियाँ राख्नू ।’

पारिजात दिदी चुरोट भाँचेर खानु हुन्थ्यो, त्यो भँचाइ स्वास्थ्य रक्षाको निम्ति थियो वा किफायतको निम्ति, म जान्दिनँ । पारिजात दिदीको स्तम्भ लिन आउने मानिस २५ रुपियाँ टेबुलमा राख्थ्यो र स्तम्भ लिएर जान्थ्यो । पारिजात दिदीको जम्मा आर्जन त्यही थियो, त्यही २५ रुपियाँ । पुस्तकको रोयल्टीबाट यदाकदा केही आउँदो हो, त्यो मलाई थाहा छैन । कोठाका भित्तामा इँटाको गाह्रो थियो, प्लाष्टर लगाइएको थिएन । शुरुमा त भुइँमा पनि प्लाष्टर थिएन, पछि लगाइयो ।

त्यो सादगीपन, त्यो किफियतीपन, सदैव अभावग्रस्त तर कहिल्यै गुनासो नगर्ने, कहिल्यै कोहीसँग केही नमाग्ने त्यो जीवन— बस्, पारिजातसहितको पारिजातको उत्कृष्ट कृति त्यही हो, म्हेपीको त्यही सादा कोठा !

साहित्यमा रुचि राख्ने, वामपन्थी झुकावका तरुणहरुका निम्ति पारिजातको त्यो कोठा जीवन, साहित्य र समाजको सिर्जनात्मक प्रशिक्षणशाला थियो ।

त्यो कोठामा धेरै मानिस आउँथे । अशक्त पारिजात यताउता हिँडडुल गर्न सक्नुहुन्न थियो । तर संसार आफैँ धाएर उहाँको छेउमा आउँथ्यो । बुद्धिजीवी, तरुण, नेता, जिज्ञासु, जासुस– सबै उहाँकहाँ आउँथे । खासगरी, साहित्यमा रुचि राख्ने, वामपन्थी झुकावका तरुणहरुका निम्ति पारिजातको त्यो कोठा जीवन, साहित्य र समाजको सिर्जनात्मक प्रशिक्षणशाला थियो । त्यो प्रशिक्षणशाला सबैका लागि सधैँ खुला हुन्थ्यो ।

पारिजातसँगका तीनवटा विमतिहरु

पारिजात दिदीसँग साहित्य सन्ध्या र प्रतिभा प्रवाहमा हाम्रो सहकार्य भयो । चैत ३ को सडक आन्दोलनमा हामी सँगै थियौँ । साझा सहमतिमा सञ्चालित उत्साह पत्रिकामा हामी सँगै सहसम्पादक भयौँ । प्रगतिशील लेखक संघमा पनि हामीले सँगै काम गर्‍यौं ।

लामो समय सँगै काम गर्दा आवरणको मानिससँगै अन्तर्यको मानिस पनि चिनिन्छ । टाढा पहरामा देखिने सुनाखरी फूल अत्यन्त सुन्दर लाग्छ, एकदम दागरहित र मनमोहक । त्यही सुनाखरी फूल बगैंचामा रोप्दा त्यसमा केही दाग, केही खोटहरु देखिन्छन् । टाढा आकाशको जुन जस्तो त्यो एकदम सुन्दर देखिँदैन । दूरीको अन्तरले वस्तुको रुपमा अन्तर ल्याउँछ । वस्तुको रुपको अन्तरले व्यक्तिमा पर्ने प्रभावमा अन्तर ल्याउँछ ।

टाढा पहरामा देखिने सुनाखरी फूल अत्यन्त सुन्दर लाग्छ, एकदम दागरहित र मनमोहक । त्यही सुनाखरी फूल बगैंचामा रोप्दा त्यसमा केही दाग, केही खोटहरु देखिन्छन् ।

निकट सहकार्यको क्रममा पारिजात दिदीसँग तीनवटा सन्दर्भमा मेरो विमति, द्वन्द्व र केही समय त बोलचालै बन्द भयो । ती थिए मेरो जीवनमा सबैभन्दा नजिक र प्रिय व्यक्तिसँगका अप्रिय क्षणहरु ।

मोदनाथ प्रश्रित र ‘साइलक’ प्रसङ्ग

प्रगतिशील लेखक संघको केन्द्रीय नेतृत्व चयन गर्नु थियो । चौम पक्षको दावी पारिजात अध्यक्ष हुनुपर्छ भन्ने थियो र मालेपक्षको दावी प्रश्रित अध्यक्ष हुनुपर्छ भन्ने थियो । यी दुई दावी जुध्दा संघको अध्यक्ष चयन गर्न कठिन भयो । र, साझा रमेश विकललाई अध्यक्षको विकल्प रोजियो । लेखक संघ बन्यो ।

पारिजात दिदीलाई यति झोँक चल्यो कि उहाँले मोदनाथ प्रश्रितलाई ‘साइलक’ भन्दिनु भो । त्यस्तो साइलक, जो विलियम शेक्सपियरको नाटक मर्चेन्ट अफ भेनिसको अति अत्यन्त क्रूर र प्रतिशोधी पात्र हो । यो शाइकलले बबाल गर्‍यो !

 तर एकरात बित्न नपाई माले पक्षले मोदनाथ प्रश्रितको अध्यक्षतामा राष्ट्रिय जनसाँस्कृतिक मञ्च निर्माण गर्यो । प्रश्रितले आफैं मण्डप बनाउनुभयो र ममण्डपमाथि आफैँलाई विराजमान गराउनुभयो । चौम पक्षलाई लाग्यो– कुटिलमति मालेले प्रलेसको समानान्तर संगठन खोल्यो । यो घाँडो समानन्तर लेखक संघको विकासमा बाधक बन्ने भो । पारिजात दिदीलाई यति झोँक चल्यो कि उहाँले मोदनाथ प्रश्रितलाई ‘साइलक’ भन्दिनु भो । त्यस्तो साइलक, जो विलियम शेक्सपियरको नाटक मर्चेन्ट अफ भेनिसको अति अत्यन्त क्रूर र प्रतिशोधी पात्र हो । यो शाइकलले बबाल गर्‍यो !

म प्रगतिशील लेखक संघको सचिव थिएँ । मेरो भूमिका द्वन्द्वका दुई पक्षलाई जोड्ने सुपर ग्लुको जस्तो थियो । बाहिरबाट देखिँदा चौमजस्तो, संकटको घडीमा विचौलिया टाइपको । मैले टिप्पणी गरें– मोदनाथबाट जे गरियो, त्यो गलत भयो । पारिजातबाट जे भनियो, त्यो पनि गलतै भयो । आफ्नै गुटको मानिसले आफूलाई गलत भनेको दिदीलाई मन परेन । मोदनाथको भूमिका र शाइलक प्रकरण जुधेर प्रलेस त भाँडमा गयो नै, दिदी र मेरो निकै दिन बोलचाल बन्द भो । प्रलेसको त्यो कार्यकाल दुई गुटको नित्य कलहको कार्यकाल भएर सकियो ।

मेरो कृतिमाथि यस्तो फैसला गर्ने पुलिस को हो ?

म स्रष्टा प्रकाशनको अध्यक्ष थिएँ । त्यसले कृष्णमणि साहित्य पुरस्कार प्रदान र यदाकदा प्रकाशनको काम गर्थ्यो । पारिजात दिदी उपन्यास लेखिरहनु भएको थियो । मुरारी अर्याल म लगायतलाई लाग्यो– पारिजात दिदीमाथि त हाम्रो अधिकार लाग्छ । त्यसैले त्यो उपन्यास हामीले छाप्न पाउनुपर्छ । हामीले दावी गर्‍यौं, दिदीले स्वीकार गर्नुभयो ।

दिदी कड्किनु भो— कसको फैसला हो यो साहित्यिक ‘पुलिसिङ’ ? मेरो कृतिमाथि यस्तो फैसला गर्ने पुलिस को हो ?

‘परिभाषित आँखाहरु’को पाण्डुलिपि हाम्रो हातमा पर्यो । प्रगतिशील सौन्दर्यशास्त्र र प्रगतिशील साहित्यसम्बन्धी त्यसबेलाको हाम्रो दृष्टिकोण र मानकमा दिदीको उपन्यास खरो उत्रिएन । हामीलाई दिदी आफ्नै चिन्तन र सिर्जन परम्पराबाट विचलित हुनुभएको महसुस भयो । हामीले उपन्यासमा परपीडत प्रवृत्ति देख्यौँ । कतै त्यो प्रवृत्तिलाई गौरवान्वित गरिएको होइन भन्ने आशंका हाम्रा मनमा उठ्यो । त्यत्रो दाबी र कर गरेर पाण्डुलिपि  हातलाग्या छ, अब के गर्ने के ? अध्यक्षको हैसियतले मैले पारिजात दिदीको अगाडि उभिएर भन्नुपर्ने भयो– दिदी, यो हामीलाई चित्त बुझेन । तपाईं आफ्नै गौरवमय परम्पराबाट विचलित हुनुभयो । हामी यो छाप्दैनौं ।

विस्मित मुद्रामा पारिजात दिदी रिसाउनु भयो । रिस पनि लर्तरो होइन, बुमबुम ! दिदी कड्किनु भो— कसको फैसला हो यो साहित्यिक ‘पुलिसिङ’ ? मेरो कृतिमाथि यस्तो फैसला गर्ने पुलिस को हो ?

फेरि केही दिन पारिजात दिदीसँग मेरो बोलचाल बन्द भयो ।

मेरो बेढङ्गले निम्त्याएको तिक्तता

शरद बनेपालीले वेदनाको पारिजातसम्बन्धी विशेषाङ्क निकाले । त्यसमा मेरो एउटा लेख थियो– पारिजातः एक श्वेतश्याम चित्र । पारिजातलाई मैले सपाट भाषामा एक रेखीय, एक आयामिक, श्वेतश्याम चित्र त भनेको थिइनँ । मेरो लेखनमा ढङ्ग नपुरेर अर्थ त्यस्तै लगाइयो क्यार ! पारिजात जीवनलाई समग्रतामा, त्यसको जटीलता, बहुआयामिकतामा र बहुरङ्गमा बुझ्ने लेखक होइनन् । जीवनलाई सेतो–कालोको रुपमा बुझ्ने लेखक हुन् । बेढङ्गको मेरो लेखनले शायद यस्तो अर्थ पनि सम्प्रेषण गर्‍यो होला ।

जीवनपथमा हर क्षणमा हरेकको कोही न कोही न कोही वा केही न केही प्रकाशस्तम्भ हुन्छ । दिदीको पनि थियो । मेरो यो टिप्पणी दिदीलाई सह्य भएन । र, दिदी अर्को राउण्ड बुमबुम हुनुभयो ।

त्यही लेखमा पारिजातमा वीर पूजाको प्रवृत्ति छ भन्ने मेरो टिप्पणी परेको थियो, वीर पूजा कहिले व्यक्तिको, कहिले संस्थाको । कुनैबेला दिदीको वीर पूजाका स्थानमा मञ्जुल थिए, कुनै बेला च्वेग्वेभारा, कुनै बेला मोहन विक्रम, कुनै बेला मानव अधिकार संगठन आदि । वास्तवमा यो जोकोहीमा धोरैथोरै मात्रामा हुने आम प्रवृत्ति हो । जीवनपथमा हर क्षणमा हरेकको कोही न कोही न कोही वा केही न केही प्रकाशस्तम्भ हुन्छ । दिदीको पनि थियो । मेरो यो टिप्पणी दिदीलाई सह्य भएन । र, दिदी अर्को राउण्ड बुमबुम हुनुभयो ।

अहिले पछि फर्केर गम खाँदा मेरो दृष्टिकोण र टिप्पणी गलत थियो भन्ने मलाई लाग्दैन । तर यो अति संवेदनशील विषयलाई प्रस्तुत गर्ने मेरो शैली कोरा र बेढङ्गे भएछ । वास्तवमा यस्तो विषयको प्रस्तुतिमा कूटनीतिक कौशलको खाँचो पर्दोरहेछ । र, विषयलाई ठाडो भाषामा प्रस्तुत नगरी हरफको बीचमा अर्थ रहने गरी सुटुक्क प्रस्तुत गर्नुपर्ने रहेछ । आफूमा त्यस्तो कूटनीतिक चातुर्य र अभिव्यक्ति कौशल नहुँदा मेरो लेखकीय जीवनमा निकै पटक यस्तो भूल भएको छ । मेरो कोरा अभिव्यक्तिले केही समय हाम्रो बोलचाल र आइजाइ नै बन्द गरिदियो । त्यो लेख मैले संकलनमा राखिनँ । मलाई लाग्यो– मेरो लेखकीय जीवनको शब्दातीत भूल हो त्यो ।

केही रोचक प्रसङ्गहरु

लाल वामपन्थीहरुमाझ पहिले पनि र अहिले पनि कतिपय कुराको चर्चा अघोषित रुपमा निषिद्ध छ । ती प्रेम गर्छन् तर प्रेमको चर्चा गर्दैनन् । ती यौनकर्म  गर्छन् तर यौनको चर्चा गर्दैनन् । पारिजातको मत फरक थियो । दर्शन, साहित्य, प्रेम र यौन सबै विषयको चर्चामा पारिजात खुला र मुखर हुनुहुन्थ्यो ।

देखाएर मैले त्यो सुनिनँ होला, लुकेर त म पनि मधुशाला सुन्थें । वैष्णवी शुद्धताले गाँजेको हाम्रो लाल सौन्दर्यशास्त्रले यस्ता कुरा सुन्न छूट दिँनैनथ्यो ।

त्यो साहित्य सन्ध्या कार्यक्रमको दिन थियो । ल क्याम्पसको भवनअगाडि पारिजात, ललिजन रावल, राजेन्द्र अधिकारी, नकुल सिलवाल र अन्य तरुणहरु चौरमा घाम ताप्दै हरिवंश राय बच्चनको मधुशाला सुनिरहेका रहेछन् । झ्याट्ट म त्यहाँ पुगें । मलाई परै देख्दासाथ पारिजात दिदीले भन्नु भो— ‘ए सङ्ग्रौला आउनुभो, यो बन्द गर ! सङ्ग्रौलालाई यो मन पर्दैन !’  देखाएर मैले त्यो सुनिनँ होला, लुकेर त म पनि मधुशाला सुन्थें । वैष्णवी शुद्धताले गाँजेको हाम्रो लाल सौन्दर्यशास्त्रले यस्ता कुरा सुन्न छूट दिँनैनथ्यो । सुनिहाले सुन्नेको प्रगतिशीलता शङ्काको घेरामा पर्थ्यो ।

३१ सालमा हाम्रो विवाह भयो । म नयाँ दुलाहा नयाँ दुलहीलाई चिनाउन पारिजात दिदीकहाँ गएँ । यसो हेरेर मुस्कानमय स्वरमा दिदीले भन्नुभयो– ‘लौ हेर, कस्तो मिलेको जोडा !’ वास्तवमा हाम्रो जोडा मिलेको थिएन । प्रचलित साँस्कृतिक दृष्टिकोणले निर्माण गरेका जोडासम्बन्धी मानकमा हाम्रो जोडा एकदमै नमिलेको थियो । दुलाहा चुच्चे थियो, दुलही थेप्चे । प्रचलित सांस्कृतिक मानकमा दुलाहा अलि जेठो दुलही अलि कान्छी, दुलाहा अलि अग्लो, दुलही अलि होची हुनुपर्थ्यो । हाम्रो उमेर त मिलेको थियो, अग्लाइ र होचाइचाहिँ उल्टो थियो । म पेप्टिक अल्सरको बिरामी दुलाहा दुब्लो र अस्वस्थ थिएँ । झलक्क हेर्दा  गालाका हाड फुत्त बाहिर निस्केको कृशकाय ब्राम्हण थिएँ म, दुब्लो र कुरुप । दुहली थिइन् बलिष्ट, स्वस्थ र सुन्दरी । तैपनि दिदीले भन्नुभयो– ‘क्या मिलेको जोडा !’ बाहिर निस्कनेबित्तिकै मेरी दुलहीले खुसुक्क भनिन्– ‘पारिजात दिदीले गिज्याएको थाहा पायौ ?’ हाम्रा मनको कुरो मिल्यो । र, अङ्कमाल गर्दै हामी स्वर दबाएर हाँस्यौँ ।

पछि पारिजात दिदीलाई भेट्दा मैले सोधेँ, ‘दिदी, तपाईं कुटनीतिक हुनुहुन्छ भन्ने त मलाई कहिल्यै लाग्या थेन । एउटा कुरामा तपाईंले हामी दुलाहा–दुलहीलाई चकित तुल्याउनु भो । ‘त्यो के हो ?’ स्वभावतः बडो खुल्दुलीसाथ दिदीले सोध्नुभो ।  मैले भनेँ— ‘हाम्रो नमिलेको जोडलाई तपाईँले कति राम्रो मिलेको भन्नुभो । यो के भनेको ?’ दिदीको  मुस्कानमय उत्तर थियो– ‘मन मिलेको भनेको क्या !’

दिदीले भन्नुभयो– ‘क्या मिलेको जोडा !’ बाहिर निस्कनेबित्तिकै मेरी दुलहीले खुसुक्क भनिन्– ‘पारिजात दिदीले गिज्याएको थाहा पायौ ?’ हाम्रा मनको कुरो मिल्यो । र, अङ्कमाल गर्दै हामी स्वर दबाएर हाँस्यौँ ।

तिनताक म गोरागोरीहरुलाई नेपाली भाषा सिकाउँथे । गोरोगोरीकहाँ तिनले भनेको बेला भनेको ठाउँम पुग्नुपर्थ्यो ।  चारो खोज्ने ठाउँमा समयमा पुग्न मैले फेन्सी खालको जापानी होण्डा मोटरसाइकल किनेको थिएँ ।  पारिजातलाई कार्यक्रमस्थल र उनको निवासमा ल्याइ–लैजाइ गर्न कसै न कसैको मोटरसाइकल चाहिन्थ्यो । हाम्रो मण्डलीमा मोटरसाइकलवाल जम्मा दुईजना थिए– मुरारी अर्याल र स्नेह सायमि । पारिजात दिदीको अपेक्षा रहेछ— सङ्ग्रौलाको मोटरसाइकल गज्जबको छ । कहिलेकाहीँ उनले पनि मलाई कार्यक्रम थलो र निवास ल्याउने–पुर्‍याउने गरिदिए हुने !

हाम्रो मण्डलीमा मोटरसाइकलवाल जम्मा दुईजना थिए– मुरारी अर्याल र स्नेह सायमि । पारिजात दिदीको अपेक्षा रहेछ— सङ्ग्रौलाको मोटरसाइकल गज्जबको छ । कहिलेकाहीँ उनले पनि मलाई कार्यक्रम थलो र निवास ल्याउने–पुर्‍याउने गरिदिए हुने !

पारिजात दिदकिो ज्यान मेरो निम्ति यति मूल्यवान् थियो, त्यो ज्यानलाई आफ्नो पछाडि मोटरसाइकलमा राख्ने आँट मलाई कहिल्यै आएन । अलि पाको उमेरमा मोटरसाइकल चलाउन सिकेको भए पनि म उति खराब चालकचाहिँ थिइनँ । तैपनि मलाई आँट आएन ।

एक दिन ल क्याम्पसको बाहिर चौरबाट दिदीलाई बोकेर सदाझैँ तलामाथि कार्यक्रम कक्षमा लानुपर्ने भयो । त्यसअघि दिदीलाई मैले कहिल्यै बोकेको थिइनँ । त्यस दिन बोकेँ । दिदीलाई माथि कुर्सीमा बिसाएर मैले भनें– ‘दिदी यो क्षतिपूर्ति हो है !’

‘के को क्षतिपूर्ति ?’

 ‘मेरा दृष्टिमा तपाईंका ज्यानको मूल्य यति ठूलो छ, कतै दुर्घटना भइहाले त्यो अपजस म कसरी ब्यहोरुँ भनेर मैले तपाईँलाई मोटरसाइकलमा कहिल्यै नबोक्या ।  आज मैले तपाईँलाई बुइ चढाएर माथि ल्याएँ । सुनेर दिदी प्रसन्न हुनुभयो ।

प्रस्टवक्ता पारिजात

मलाई पारिजातसँग धेरै लामो र धेरै नजिकको सङ्गत गर्ने सुयोग प्राप्त भयो । उहाँ र मेरो बीचमा लुकाउने कुरा केही रहेनन् । हाम्रो बीचमा सैद्धान्तिक, संगठनात्मक, वैयक्तिक आदि विषयमा राख्ने फार्ने कुरा केही भएनन् । हामी अत्यन्त अन्तरङ्ग थियौं, एकअर्कालाई मनका सबै कुरा भन्थ्यौँ । पारिजात घरीघरी भन्नुहुन्थ्यो– ‘सङ्ग्रौला ! म यो जिन्दगीमा विहा नगरिकन मर्दिनँ ।’

बिहा गर्ने कति उत्कट इच्छा थियो दिदीको ! दुर्भाग्यवश, त्यो इच्छा दिदीसँगै मरेर गयो !

हामी अत्यन्त अन्तरङ्ग थियौं, एकअर्कालाई मनका सबै कुरा भन्थ्यौँ । पारिजात घरीघरी भन्नुहुन्थ्यो– ‘सङ्ग्रौला ! म यो जिन्दगीमा विहा नगरिकन मर्दिनँ ।’

कसैले सोधेछ– ‘पारिजात दिदी ! तपाईंलाई यौनको प्यास अनुभव हुन्छ ?’ दिदीले रमरम रिसाउँदै जबाफ दिनुभएछ, ‘जिउँदो मानिसलाई तिर्खा लाग्दैन ? यस्तो प्रश्न पनि सोध्ने ?’

मैले नचिनेकी पारिजात

पारिजात दिदीको व्यक्तित्व अदुभृत थियो, सामाजिक सम्पर्क फराकिलो थियो । दिदीलाई धेरै कुरामा चिनेर पनि केही कुरामा मैले चिनिनँ । रुद्र खरेल, निनु चापागाई र मैले पारिजात स्मृति ग्रन्थको सम्पादन गर्‍यौं । सम्पादनको क्रममा कतिपय ननिका कुरा झेल्नुपर्‍यो । ती ननिका कुराको बोझ र चाप निनुजीमाथि परेको थियो । र, कहिल्यै रिसाउँदैनन् जस्ता लाग्ने यी मानिस उद्युमै रिसाए । कुनैकुनै कुनाबाट यो छाप, त्यो छाप जस्ता अनुचित दवाब परेनन् ! निनुजीको अथाह रिसको कारण त्यही थियो ।

स्मृति ग्रन्थको सम्पादकीय लेख्ने जिम्मा स्वभावतः सौन्दर्यविद् र समीक्षक निनु चापागाईको थियो । म एक सामान्य आख्यान लेखक, सम्पादकीय लेख्ने मेरो के ल्याकत ? निनुजीले नलेखे सम्पादकीय लेख्ने जिम्मा स्वभावतः रुद्रजीको काँधमा पर्थ्यो  । उहाँहरु पन्छिनु भो र त्यो लेख्ने जिम्मा म अज्ञानीका काँधमा आइलाग्यो ।  सम्पादकीय लेख्ने क्रममा एउटा कठिन प्रश्नले मेरो टाउको दुखायो । पारिजातका शिरीषको फूल, महत्ताहीन, तिउरीको फूल र पाइरियाका गन्ध तथा लाहुरेलाई रोगी प्रेमिकाको पत्रजस्ता कृति पढ्दा लाग्थ्यो— पारिजातसामु उज्यालो, आशा, जीवनको मोह र जिउने प्रयोजन केही छैन । छ त केवल शून्य छ । छ त केवल चरम् निराशा छ, हताशा छ । छ त केवल आत्महत्याको प्रबल सम्भावना छ । त्यस्तो मनोदशा र मनोविज्ञानमा पुगेकी पारिजात केको चमत्कारिक प्रेरणा र जादुमय प्रभावले ठिक उल्टो दिशातिर अर्थात् जीवनतिर, जीवनको मोहतिर, जीवनको उज्यालोतिर, जीवनको आशातिर र न्यायको संग्रामतिर मोडिनु भो होला ? यो प्रश्नको जवाफ मसँग अहिले पनि छैन ।

दिदी जब औपचारिक रुपमा लाल पार्टीमा आबद्ध हुनुभयो, पार्टी उहाँको लागि जीवनभन्दा प्यारो बन्यो । त्यो उहाँको जीवनको पनि जीवन बन्यो । पछि पार्टी र पार्टीका नेताप्रति उहाँमा यति भयावह वितृष्णा उत्पन्न भयो त्यो शब्दातीत छ । आखिर त्यो चरम् विमोह र वितृष्णाको कारक के थियो, कारण के थियो ?

पारिजात दिदी आफैंले भन्नुभएको छ– मेरा पीडाहरु असीमित थिए । आर्थिक अभावका मेरा पीडाहरु थिए । भाले लेखक मित्रहरुका लुब्ध नजरले दिएका हैरानीपूर्ण पीडा थिए । त्यसमाथि रोगको अथाह पीडा थियो । यी सारा शारीरिक र मानसिक पीडाहरु असीमित र असह्य थिए । जब सामान्य भुइँमान्छेहरुको नजिक गएँ, तिनका सुखदुःखमा मेरा सुखदुःख मिसिए । मेरा सुखदुःखमा तिनका सुखदुःख मिसिए । मलाई क्रमशः धेरै हलुङ्गो हुँदै गयो । र, म जीवनको निस्सारताबाटा जीवनको सारतिर, जीवनको विमोहबाट जीवनको मोहतिर, जीवनको अँध्यारोबाट जीवनको उज्यालोतिर, र जीवनको आत्मसमर्पणबाट न्यायको संग्रामतिर मोडिएँ । यो त भयो दिदीको जीवनमा आएको परिणामको कुरा । यस्तो परिणाम आउनुमा कारण के थियो ? मलाई अझै थाहा छैन ।

नचिनेकी पारिजात दिदीका जीवनको अर्को एक प्रकरण । दिदी जब औपचारिक रुपमा लाल पार्टीमा आबद्ध हुनुभयो, पार्टी उहाँको लागि जीवनभन्दा प्यारो बन्यो । त्यो उहाँको जीवनको पनि जीवन बन्यो । पछि पार्टी र पार्टीका नेताप्रति उहाँमा यति भयावह वितृष्णा उत्पन्न भयो त्यो शब्दातीत छ । आखिर त्यो चरम् विमोह र वितृष्णाको कारक के थियो, कारण के थियो ? थाहा पाउन सकिएन । कारक र कारण मलाई अझै पनि थाहा छैन । मेले नचिनेकी पारिजातको अर्को पाटो हो यो ।

पारिजातबारे अरु खै के भनूँ म ? प्रतिपक्षीय विमति, विरोध र प्रतिरोधको अर्को नाउँ हो पारिजात । साहित्यमा आफ्नो समयको प्रगतिशील चिन्तन र सिर्जनाको प्रतिनिधि बिम्बको नाउँ हो पारिजात । सादा जीवन र उच्च विचारको विरल नमूनाको नाउँ हो पारिजात । अथक न्याय–संघर्ष र अटल सत्यनिष्ठाको नाउँ हो पारिजात ।

म किन पार्टीमा आबद्ध भइनँ ?

चौथो महाधिवेशनमा नगएको भए सम्भवतः म पनि पार्टीमा आबद्ध हुन्थें । म गएँ र कुरा अर्कै भयो । मोहनविक्रमले निम्ता गरेर, निर्मल लामाले फुर्क्याएर म गएको थिएँ, २०३१ सालमा, काशीमा  । मेरो हैसियत पर्यवेक्षकको थियो । पहिलो दिन सर्वोच्च मोहनविक्रमको प्रतिवेदनमा झापालीहरुलाई उग्रवादी, व्यक्तिहत्यावादी, ब्लाङ्कीवादी भनियो । त्यसको विपक्षमा मैले मत व्यक्त गरें । मैले भनेँ, झापालीले रोजेको बाटोमा मेरो पनि विमति छ । तर तिनको अभिप्रायमा मलाई कुनै सन्देह छैन । सबै झ्यालढोका थुनेर विरालोलाई कुट्न थाले त्यो घाँटी चिथोर्न आइलाग्छ । झापाली युवाहरुले गरेको त्यही हो । ती द्रोही, दुरात्मा, अमानव होइनन् ।

भोलिपल्ट पहिलो सत्रको पहिलो मुहूर्तमा हुकुम जारी गरियो, ‘पर्यवेक्षकको काम सुन्ने हो, बोल्ने होइन’ । यसरी मेरो मुख बन्द गरियो । यता राजाले मेरो मुख बन्द गरेको थियो । कमसेकम कम्निस्ट पार्टीमा त बोल्न  पाइएला भनेर गएको, पार्टीले पनि मेरो मुख बन्द गर्‍यो । मुखै बन्द गरेपछि मलाई लाग्यो, कम्युनिष्ट पार्टी मेरो ठाउँ होइन । तथापि, कम्युनिष्ट पार्टीका निष्ठावान जनहरुलाई जीवनभर मैले सघाइरहें । 

 

पारिजात स्मृति केन्द्रको आयोजना र फिनिक्स बुक्सको संयोजनमा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा वैशाख ११–१५ मा भएको महिला पुस्तक प्रदर्शनीको क्रममा आयोजित ‘मैले चिनेको पारिजात’ संवाद श्रृङ्खलामा वैशाख १४ गते दिनु भएको मन्तव्यको सम्पादित पाठ । प्रस्तुति: चन्द्र खाकी