नामको जन्जाल
अमेरिकामा यो चरालाई टर्की भन्छन्। टर्कीमा भने यसलाई इन्डियाबाट आएको भनेर यसलाई हिन्दी भन्छन्। इन्डियामा यसलाई पेरु भन्छन्। अरबहरुले यसलाई रोमन भन्छन्। ग्रिकहरुले यसलाई फ्रेन्च भन्छन्। फ्रेन्च र रसियनहरुले यसलाई इन्डियन भन्छन्। जापानिजहरुले चाइनिज भन्छन्। डचहरुले कालिकट कुखुरा भन्छन्। सिरिया र लेबनानतिर यसलाई इथोपिया भन्छन्। तर खासमा यो टर्की भन्ने चरा टर्की, फ्रान्स, इन्डिया कहीँको पनि होइन । यो त अमेरिकाको रैथाने चरा हो । प्राणीशास्त्रमा यसलाई Meleagris भन्ने गरिन्छ। कोलम्बसमा भन्दा अगाडि मेक्सिकोमा प्रचलित नाहुवाती भाषामा यो चरालाई गुहाहोलोते (guajolote ) भनिन्थियो। यो शब्द अझै पनि प्रचलित छ।
गम्भीर यौन रोग सिफलिसका राष्ट्रसंग सम्बन्धित अनेकौं नामहरु रहेका छन्। १६ औं शताब्दीमा इटालियनहरुले यसलाई फ्रेन्च रोग भन्ने गर्थे। फ्रेन्चहरुले यो रोगलाई इटालियन शैतान भन्ने गर्थे। जर्मनहरुले यसलाई फ्रेन्च खराबी भन्थे। रसियनहरुले यो रोगलाई पोलिस रोग भन्ने गर्थे। त्यस्तै टर्किसहरुले युरोपतर्फ आँखा तर्दै यसलाई क्रिश्चियन रोग भन्थे। भारतीयहरुले यो रोग १६ औ शताब्दीमा पुर्तागालीहरुले आफ्नो देशमा भित्र्याएको ठान्दै यसलाई फिरंगी रोग भन्थे।
प्रख्यात बेलायती कवि र लेखक विलियम सेक्सपियरले भनेका थिए- ‘नाममा के छ ? गुलाफलाई अर्को कुनै नाम दिए पनि बास्ना त उस्तै मिठो आउछ।’
तर नामको पछाडी पनि निक्कै रहस्य लुकेको हुनेगर्छ। यस पछाडी इतिहास, राजनीति, जातीय घृणा आदि अनेकौं कथाहरु हुने गर्छन्। चीनिया दार्शनिक कन्फुसियसले भनेका थिए- ‘ज्ञानको सुरुवात वस्तुलाई उसको सही नामबाट सम्बोधन गर्नु हो।’
त्यसैले विज्ञानले कुनै पनि जीवहरुको नामकरण गर्दा कुन देश, भाषा वा संस्कृतिले के भन्छ भनेर त्यसको आधारमा राख्दैन। विज्ञान जगतमा जीवहरुको नामांकनको अलगै विधि छ, जसलाई binomial nomenclature भनिन्छ। यसले वंश र प्रजातिको आधारमा नाम राख्ने गर्छ। यसरी राखिएको नाम विज्ञान जगतमा विश्वभरि प्रचलित हुन्छ। हरेक देशका विज्ञानका पाठ्यक्रमदेखि रिसर्च जर्नलसम्ममा पनि समान नाम प्रयोग हुन्छ।
प्रस्तुति: केदार सिटौला
प्रतिक्रिया