क्यामेलियोनः शत्रुबाट बच्न शरीरको रङ्ग बदल्ने प्राणी !

छिन छिनमै बोली फेर्ने ! अवसरअनुसार लाजै पचाएर आफूलाई प्रस्तुत गर्ने ! यस्ता आनीबानी भएका मानिसलाई ‘कस्तो छेपारे प्रवृत्तिको मानिस भनेर उपमा दिने चलन छ । यो कुराको अन्तर्य वातावरणमा आएको परिवर्तनअनुकूल आफ्नो रङ बदल्ने छेपारोको एउटा प्रजातिसँग जोडिएको छ । छेपारोको त्यो प्रजातिको नाम हो क्यामेलियोन ।

क्यामेलियोन यो नाम जीवविज्ञानमा रुचि राख्नेहरुका लागि नयाँ नाम होइन । क्यामेलियोन हाम्रै वरपर पाइने जीव छेपारोको एक प्रजाति हो । वास्तवमा यो जीव निकै नै अनौठो हुन्छ । सबैभन्दा रमाइलो कुरा के छ भने यसले आफू छेउको वातावरणअनुसार आफ्नो शरीरको रङ्ग परिवर्तन गर्न सक्छ । यसरी रंग बदल्ने खुबीको कारणले यसलाई आफ्नै आँखा अगाडि भएपनि शत्रुजीवले सजिलै देख्न वा ठम्याउन सकिदैन । यसले रंग बदल्न सक्ने यो विशेषताको प्रयोग आफ्नो शत्रुहरुबाट बच्नका लागि प्रयोग गर्छ ।

क्यामेलियोन अन्य छेपारोहरुको तुलनामा निकै नै अल्छे हुन्छ । यसले धेरै समय सुतेर नै बिताउने गर्छ । यो विशेष गरेर रुखको हाँगाहरुमा सुत्ने गर्छ । सुतेको बेला हाँगाबाट नझरोस् भनेर यसले रुखको हाँगालाई हात र पुच्छरको मद्दतले दह्रोसँग समात्ने गर्छ । आफू अल्छे भएपनि यसको आहाराहरु भने निकै फूर्तिला हुन्छन् । जसमा विशेष गरेर झिँगा र अन्य ससाना किराहरु पर्छन् । यस्ता जीवहरुलाई पक्रन यसले आफ्नो निकै नै लामो जिब्रोको प्रयोग गर्छ ।

क्यामेलियोनको अर्को एउटा विशेषता पनि हुन्छ । यसले आफ्नो दुईवटा आँखालाई दुईवटा भिन्नभिन्न दिशामा फर्काउन सक्छ । जसले गर्दा यसले एकै पटकमा दुईवटा दिशाहरुमा हेर्न सक्छ । यदि यसलाई कुनै आहारा पक्रन प¥यो भने सबैभन्दा पहिले यसले आफ्नो दुईवटै आँखालाई बेग्लाबेग्लै दिशाहरुमा घुमाएर आहारा खोज्ने गर्छ । आफ्नो आहरा भेटेपछि यसले आफ्नो एउटा आँखालाई आहारा भएको ठाउँमा केन्द्रित गर्छ । त्यसपछि विस्तारै अर्को आँखालाई पनि त्यही ठाउँमा केन्द्रित गर्छ । यसरी यसले आहारालाई आफ्नो निसानामा राख्ने गर्छ ।

शिकार देखेपछि क्यामेलियोनको मस्तिष्कबाट विशेष प्रकारको तरङ्ग पैदा हुन्छ । जसले गर्दा यसको जिब्रोको तल्लो भागमा रगतको बहाव बढ्न पुग्छ । यसो हुने बित्तिकै सामान्य अवस्थामा रहेको यसको जीब्रो तन्केर लामो हुन्छ । यसको जीब्रोको टुप्पो पनि दुई भागमा बाँडिन्छ । यसको जीब्रोमा रहेको थुक निकै नै गाढा र टाँसिने खालको हुन्छ । त्यहाँ किराहरु सजिलै टाँसिने गर्छन् । एकदमै सटिक निसानाको साथ यसले आफ्नो जीब्रो आहारा भएको ठाउँसम्म पु¥याउँछ र एक सेकेन्डभित्रैमा त्यो फेरि यसको मुखमा फर्काउँछ । यसरी जीब्रोमा भएको थुकमा टाँसिएर आहारा पनि यसको मुखमा पस्ने गर्छ ।

शिकार पक्रेर मुखभित्र फर्केपछि तन्किएको जिब्रो सामान्य अवस्थामा आउन थाल्छ । जिब्रोको लम्बाई सामान्य भएपछि त्यसले आफ्नो आहारालाई खाने गर्छ । यसरी कुनै हलचलबिना नै यसले आफ्नो आहारा पक्रने गर्छ । यसरी खाना पक्रन यसको लामो जिब्रोले निकै ठूलो भूमिका खेलेको हुन्छ ।