बर्खामा जताततै उम्रने र अति छिटो बढ्ने विरुवा च्याउ

कस्तो बर्खामासमा उम्रेको च्याउ जस्तो कलेजहरु खुलेको हँ ?

हैन, अस्पतालहरु पनि के बिघ्न खुलेको हो ? बर्खामा च्याउ उम्रेजस्तै !

अर्थात्, बर्खामा च्याउ उम्रेजस्तो भन्ने उखान जतासुकै र अति छोटो अवधिमा कुनै कुरा खुल्यो वा पैदा भयो भने हामी प्रयोग गरिहाल्छौं ।

हुन पनि हो, च्याउ मात्र त्यस्तो एउटा विरुवा हो, जो अति छिटो र क्षणभरमै हलक्क बढ्छ । यो बढेको हामीले हाम्रो नांगै आँखाले पनि सहजै देख्न सक्छौं । फेरि, यो विरुवा वर्षामा जताततै उम्रन्छ पनि ।

च्याउ फंजाइ (Fungi) वर्गको विरुवा हो । यसको अर्थ हो–यस विरुवामा क्लोरोफिल (Clorophyll)  नै हुँदैन । क्लोरोफिल नहुने विरुवाले अफ्नो खाने कुरा आफैंले पैदा गर्न सक्दैन ।

च्याउको जरा हुँदैन, डाँठ हुँदैन र पात पनि हुँदैन । जमीनमाथि देखिएको च्याउको भाग वास्तवमा च्याउ जस्ता फंजाइको फलेको भाग (Fruiting part)हो । विरुवाको बाँकी भाग जमीनभित्र गुजुल्टो परेका रेशाहरुको समुहको रुपमा रहेको हुन्छ । यी रेशाहरुलाई माइसेलियुम वा स्पावान (Mycelium वा Spawan)  भनिन्छ । यी रेशाहरु अति सानो धूलो जस्तो बीउबाट उम्रेका हुन्छन् । ती रेशाहरु भित्रबाटै एउटा सानो सेता सेता कोषहरुको गाठो निस्कन्छ र माथिल्तिर धेकेलिँदै, फैलँदै अगाडि बढ्छ । अन्तमा गएर त्यो गाँठो छाता आकारमा फक्रन्छ । कुनै कुनै चाहिँ आफ्नो जात अनुसार अलि फरक आकारमा फक्रन्छ ।

        धेरै च्याउहरुको छातामुनि एउटा सानो गजुमुच्च परेको कोषहरु हुन्छन् । ती कोषहरुमा च्याउको बीउहरु पैदा हुन्छन् । ती बीउहरु तल भुँइमा  खस्छन् र हावाले उडाएर अन्यत्र लैजान्छ । ती बीउहरुले च्याउ हुर्कन लायकको जमीन भेट्टाए भने नयाँ विरुवाको रुपमा च्याउ उम्रन्छ ।

धेरै च्याउहरु ओस भएका काठपातहरुमा वा पर्याप्त मात्रामा छायाँ, न्यानो र ओसिलो भएको गुफाको तल तिर उम्रन्छन् । तर सामान्य जमीनमा उम्रने र देवलहरुमा उम्रने अन्य केही च्याउहरु भने अलि फरक हुन्छन् । ती च्याउहरु खुला, पर्याप्त मात्रमा घाम लाग्ने चौरमा उम्रन्छन् । धमिरको देवलमा पनि एकथरि च्याउ उम्रन्छ ।

सामान्यतः च्याउमा धरै भाग पानी हुन्छ । त्यसकारण धेरै थरि च्याउहरु तातो हावा चल्ने ठाउँमा र गर्मी मौसममा बाँच्नै सक्दैनन् ।

च्याउ अति स्वादिलो र धेरै तागतिलो पनि हुन्छ । यसमा धेरै प्रोटिन र औषधीको गुण हुन्छ । तर सबै च्याउ खानलायक हुँदैनन् । धेरै कम च्याउ मात्रमा खन लायक हुन्छन् । बाँकी च्याउहरु अत्यन्तै विषलु पनि हुन्छन् । कुनै कुनै च्याउ त यति विषालु हुन्छन्, त्यसको अलिकति मात्रले पनि मान्छेलाई ठहरै पारिदिन्छ ।

त्यसैले हामी वर्षामासमा खबरहरु सुन्ने गर्छौं– विषालु च्याउको सेवनले मानिसको ज्यान गयो !

यसको सोझो अर्थ के हो भने सबै च्याउहरु खान लायक हुँदैनन् । त्यसैले जताततै उम्रेका च्याउहरु खाइहाल्नु हुँदैन । खान हुने र खान नहुने च्याउको पहिचान गरेर मात्रै च्याउ खानुपर्छ । आजभोलि त फार्ममा उत्पादन गरेको च्याउहरु पाइन्छन् । ती च्याउहरु भने निर्धक्क खान सकिन्छ ।