मेरो सानू साथी
बालमनोविज्ञानमा आधारित भिक्षुका चर्चित कथा
रेलको यात्रा गर्नु थियो– पैसा भने कम्ती र जानुपर्ने चाहिँ टाढा । नगई पनि सुख नपाइने । काम नै त्यस्तै आइपरेको थियो । एउटाबाट ओर्ली अर्को रेलमा चढ्दै जानुपर्ने भएकोले यात्रा रमाइलै हुने भए तापनि चालीस घण्टा गतिको त्यो रेल–यात्रा पट्टाइलाग्ने नै थियो । जे भए पनि आखिरमा तेस्रो दर्जाको टिकट किनेर रेल चढें ।
साँझ पर्ने बेलामा जुन रेल बदलें, भाग्यले त्यसको एउटा कोठामा सिँगै बेन्च रित्तै भेट्टाएँ । हतपत त्यसमा ओछ्यान लगाई बाकस र साथमा अरु माल–ताल बेन्चमुनि घुसारेर म पल्टि पनि हालें । त्यो रेल त्यसै स्टेसनबाट शुरु हुने र रेल हिंड्न अहिले निकै टाइम भएको हुनाले नै मैले त्यो रित्तो बेन्च भेट्टाएको थिएँ ।
बिस्तार–बिस्तारै त्यस रेल कोठामा अरु यात्री पनि थपिन थाले । म सुतेका पल्ला–पट्टिको बेन्चमा एउटी आइमाईले आफ्नू ओछ्यान लाएकी थिइन् । तिनका साथमा सानू, राम्रो, गोरो, भरिलो आङ–जीउको लोभलाग्दो एउटा बच्चो पनि थियो । बच्चाका बाबु पनि सँगै थिए । उनले आफ्जी पत्नीका सामुन्नेतिरको बेन्चमा ओछ्यान लगाएका थिए । रेलमा उतिसारो घुइँचो नभएको हुनाले रातभरि नै सुत्न पाइन्छ भन्ने आशा गरेर निश्चित भई म सुत्ने तरखरमा लागें । मेरो बेन्चको पल्लापट्टिको बेन्चकी आइमाई र तिनका पति पनि आ–आफ्ना ओछ्यानमा पल्टिरहेका थिए– निदाउनचाहिँ कोही निदाएको थिएन ।
म सुतेका पल्ला–पट्टिको बेन्चमा एउटी आइमाईले आफ्नू ओछ्यान लाएकी थिइन् । तिनका साथमा सानू, राम्रो, गोरो, भरिलो आङ–जीउको लोभलाग्दो एउटा बच्चो पनि थियो ।
रेल हिंडयो । त्यसमा बसे–पल्टेका यात्रीहरुमध्ये कोही उँघ्नथाले, कोही आँखा चिम्लेर निदाउनतिर लागे । एक छिनपछि त सिँगै कोठामा बोल्ने, कुरा गर्ने कोही पनि भएन । क्रमशः सबैजना निदाउनेतिर लागेका थिए । त्यसले गर्दा रेल चलेको आवाज झन् टड्कारो सुनिन लाग्यो । त्यो एकनासे छक्–छक् आवाज पनि अब त्यहाँको नीरवताकै एउटा अंगजस्तो बन्न गएको थियो ।
सुत्नुअघि केही पढ्ने मेरो अघिदेखिकै बानी थियो । पल्टेर मैले एउटा पुस्तक पढ्न थालें– रेलमा बिजुलीको उज्यालो छँदै थियो । बीच–बीचमा पल्लापट्टिको बेन्चमा रहेको बच्चोचाहिँ हाम्रा बीचमा पर्ने बेन्चको पिठ्यूँ अड्याउने काठे भित्ताको भर लिएर रही–रही उभिन्थ्यो र आफ्नू अनुहार मतिर फर्काएर आफ्ना साना–साना नरम हातले मेरो मुख र विशेष गरी नाक समात्ने कोशिस गर्थ्यो । उता पल्टेकी उसकी आमा चाहिँ ऊ उभिएको चाल पाएर उसलाई तानी आफ्ना छेउमा पल्टाउने गर्थिन् । तर एकैछिनपछि ऊ फेरि त्यसैगरी उभिन्थ्यो । कुरा त के थियो भने– किताबको जिल्लामा रंगीचंगी तस्बीर थियो । जिल्लाको कागत टल्कने पालिसदार भएको हुनाले कदाचित् त्यो साह्रै मन परेर होला– ऊ आफ्ना साना साना हात मेरा अनुहारतिर ल्याउँथ्यो । त्यसो हुँदा, शायद किताब च्यातिने डरले नै किताब समातेको मेरो हात आफै एकातिर सर्थ्यो र बच्चाको हात किताबको सट्टा मेरो नाक समात्न पुग्थ्यो । मलाई पनि यो खेल रमाइलै लागिरहेको थियो । तसर्थ अब किताब पढ्न मन लागेन । अरुले देखेर खिसी गर्ने अथवा अप्ठेरो लाग्ने नभएमा बच्चाहरुसित खेल्नमा मलाई पनि निकै रमाइलो लाग्छ । त्यसै बखत पनि म त्यस बालकसित जिस्किने थिएँ, तर त्यस बखत त त्यहाँ उसका आमा–बाबु नै थिए र रेल–कोठामा अरु यात्रीहरु पनि थिए । अपरिचित मानिसको बच्चासित चल्न जिस्किन केही अप्ठेरै लागिरहेको भए तापनि अन्त्यमा मैले धेरै बेरसम्म मन थाम्न सकिनँ र किताब थन्क्याएर बच्चा उभिएको बखत कहिलेकाहीं बिस्तारै उसको हात समातेर म आफ्नू जिब्रो देखाएर त्यसलाई गिज्याउने खेल खेल्नलागें । उसका गोरा–राता, पाकल–पुकल परेका हात समात्दा मलाई भन्न नसकिने किसिमको साह्रै आनन्द लाग्थ्यो । मैले बिस्तारै समात्ता पनि आफ्नू हात फुस्काउन त्यसलाई आफ्नू भएभरको बल लगाउनुपर्थ्यो । कुनै किसिमले हात फुस्काउनासाथ ऊ तुरुन्तै मेरा नाकतिर झम्टिहाल्थ्यो । तिनताक मलाई चश्मा लगाएर पढ्नु पर्दैनथ्यो । तसर्थ, अचेलजस्तो चश्मा फुट्ने, भाँचिने डरै थिएन र म खुशीसाथ उसलाई आफ्नू नाक समात्न दिन्थें । बिजुलीको अर्को प्रकाशमा मेरो नाकको टुप्पो टल्केको हुनाले हो वा किन हो कुन्नि ? उसलाई मेरो नाकै साह्रै मन परेछ ।
खेलका क्रममा बालक दंग परी उफ्रँदा आफ्नू जीउ कुल्चिएको हुनाले तन्द्रैमा भए पनि उसकी आमा उसलाई बीच बीचमा तानेर सुताउँथिन् । मचाहिँ बच्चाले फेरि उभिएर जिस्कन आउने अवसर पर्खिरहन्थें । केही छिनपछि नै ऊ फेरि उभिन्थ्यो र म पनि उसका खेलमा सामिल हुन्थें । यसरी एकघण्टा जति हाम्रो खेल चल्यो । त्यसपछि ऊ पनि सुत्यो र म पनि एक छिनसम्म किताब पढेर निदाएँ ।
शायद किताब च्यातिने डरले नै किताब समातेको मेरो हात आफै एकातिर सर्थ्यो र बच्चाको हात किताबको सट्टा मेरो नाक समात्न पुग्थ्यो । मलाई पनि यो खेल रमाइलै लागिरहेको थियो । तसर्थ अब किताब पढ्न मन लागेन ।
पातलो ओढ्ने ओढी म कोल्टे फर्केर मस्तसित बिहानको निद्रामा थिएँ । त्यत्तिकैमा कुनै नरम चीज मेरा कानमाथि दुई चारचोटि सुस्तसित चल्यो । मैले टाउको फर्काइ त्यतातिर हेरें । मेरो त्यही साथी उभिएर मलाई बिउँझाइरहेको रहेछ । मेरो कानमाथि त्यसरी सक्सकाउने कुरो उसैका नरम हात रहेछन् । ऊ मलाई खेलमा निम्त्याइरहेको थियो ।
उज्यालो भइसकेको थियो । झ्यालमा लागेका काँचबाहिर उषाको प्रकाश मुस्कुराइरहेको थियो । रेलका लीकको छेउमा फलामे खम्बाहरुमा तन्किएका तारहरुमा चराहरु बसेर उषाको स्वागत गरिरहेका थिए । मसित खेल्ने मेरो सानू साथीको अनुहार रातभरि आनन्दसाथ सुतेकोले गुलाबझैं फक्रिएको थियो । बिहानको स्वच्छ हावाले कमलपत्रजस्तै ताजा हुन गएका उसका गुलाबी गाला देख्ता मेरो मन प्रसन्नताले भरियो । अनि मासुका नरम लोलाले बाङ्गाटिङ्गा देखिने उसका पुक्क परेका कोमल हात आफ्ना हातमा लिएर बिस्तारै हल्लाउँदै मैले भनें– “गुड मर्निङ, माइ डियर लिटिल फ्रेण्ड !” (नमस्कार, मेरो साना साथी) ।
मसित खेल्ने मेरो सानू साथीको अनुहार रातभरि आनन्दसाथ सुतेकोले गुलाबझैं फक्रिएको थियो । बिहानको स्वच्छ हावाले कमलपत्रजस्तै ताजा हुन गएका उसका गुलाबी गाला देख्ता मेरो मन प्रसन्नताले भरियो ।
त्यत्तिकैमा बिउँझिसकेकी उसकी आमाले उसलाई अघिजस्तै तानेर आफ्नो काखमा पल्टाइन् । म पनि उठें र बिहानको नित्य–कर्ममा लागें ।
यतिन्जेल घाम राम्ररी लागिसकेको थियो । केही बेरमा एउटा ठूलै स्टेशनमा रेल थामियो । मैले रेलबाट ओर्लेर आफ्ना लागि जलपानका केही चीजका साथै अलिकति मोहनभोग किनेर ल्याएँ । त्यतिन्जेल बच्चाका आमा–बाबु पनि जलपान गरिसकी गफगाफ गर्न थालेका रहेछन् ।
रेल फेरि हिंड्यो । आफ्नी आमालाई बाबुचाहिंसित कुरा गरिरहनुमा केही असावधान देखेर होला, मेरो सानू साथीले एकैछिनमा बेन्चको पिठिउँ समाती उभिएर फेरि मेरो ध्यान आफूतिर आकृष्ट गर्ने कोशिस गर्यो । उसको निर्दोष, निश्छल, सोझो र सुन्दर एवं बिनाकसूरको पवित्र हाँसोको उपहार पाएर म प्रसन्न भएँ । मैले आफूले ल्याएका मोहनभोगको कोसेलीबाट अलिकति आफ्ना चोरऔंलामा लिएर त्यस बोल्नै नसक्ने सानू मित्रका गुलाबको भर्खरै फक्रन लागेका कोपिलाजस्तो मुखमा हालिदिएँ । उसले एक पटक मुख चेब्रायो । अनि गुलियो स्वादको आनन्द लिदै उसले तुरुन्तै मुखभित्रै जिब्रो चलाएर आफ्नू मुख मिठ्यायो । त्यसपछि त श्रीमानको मुहार आफैं मतिर बढेर आयो । मैले उस्तै उहाँलाई अलिकति मोहनभोग चटाइदिएँ । यस पटकको मोहनभोगले उहाँका पेटमा दाखिल हुन बेरे लाएन । अनि उहाँ आँ–आँ गर्दै हाम्राबीचको भित्तै उक्लेर मतिर आइपुग्न हतपताउन लाग्नुभयो । यसपालि मैले अलि बढी मोहनभोग उहाँका मुखमा हालिदिएँ । उहाँचाहिँ मोहनभोग ओसार्न मेरो औंलो आफ्ना दाँत नभएका गिजाले चेपी त्यसलाई त्यहीं रोकिराख्ने कोशिसमा पो लाग्नुभयो ।
उसको निर्दोष, निश्छल, सोझो र सुन्दर एवं बिनाकसूरको पवित्र हाँसोको उपहार पाएर म प्रसन्न भएँ ।
ऊ त्यसरी हतपताएर उफ्रेकाले उसकी आमालाई पनि उसको चालामालाको केही बोध हुन गएछ र उनले उसलाई तानेर आफ्ना काखमा बसालिन् । मैले अनुभव गरें– आमाका त्यस अँठ्याइबाट उम्केर फेरि उभिने बल पनि उसले गर्यो, तर आमाचाहिँको सावधानीले गर्दा अन्त्यमा उसको केही लागेन । माया र मोहको सुखका साथै व्यवस्था पनि भएको आमाको त्यस काखले उसलाई रुन कराउन पनि दिएन । कदाचित् त्यसै सुखका लोभले मोहनभोगको गुलियो र मसित खेल्ने रमाइलोलाई समेत उसले केही छिनलाई बिर्सनु प¥यो । म पनि केहीबेरलाई ऊतिरबाट ध्यान हटाएर दगुरिरहेको रेलबाहिरका खेत, रुख र कहिलेकाहीं गाउँका बगैंचा र घरहरुका दृश्यमा आफूलाई भुलाउने प्रयत्नमा लागें । बिहानको सूर्यको सुनौला घाममा टाढा–टाढासम्म पसारिएका खेत, रुख र घरहरुमा विलक्षण किमिसको रोगनझैं चढेको थियो र ती विलक्षण किसिमले टल्किरहेका थिए । ठाउँ–ठाउँमा जात–जातका चराहरु, रुख र खेतहरुमा बसिरहेका थिए । केही फुत्रुक्क फुत्रुक्क उडिरहेका थिए र केही भुइँ र केही हावैबाट समेत कीट–पतङ्गका आफ्ना आहारा टिपिरहेका थिए । ती सारा दृश्य मलाई साह्रै राम्रा लागिरहेका थिए ।
केही बेरपछि मैले आफ्ना अबोला साना साथीलाई हेर्न यसो आँखा घुमाएँ । त्यस बखत ऊ आफ्ना खाने टेबुल अर्थात् आफ्नी आमाको नरम र मायालु काखमा बसी मजासित दूध खाइरहेको रहेछ । मनमनै ऊसित प्रश्न गरें– “आमाको दूध मीठो छ कि मोहनभोग ?” हामी दुवैका आँखा जुधाइमा उसको उत्तर स्पष्टै थियो – आमाको दूधको स्वादले जन्मेदेखि उसका जिब्रा र घाँटीमा घर बनाइसकेको हुनाले नै त यस बखत ऊ मोहनभोगलाई बिर्सी दूधै खानमा मग्न थियो । फेरि त्यो दूधमात्रै त थिएन नि, आमाको काख र चाहनेबित्तिकै आफैंले चुस्न पाउने आमाको दूधको जरियाले भन्न नसकिने तर प्राकृतिक रुपले नै पाइने उसको सानू अधिकारको गौरवको अनुभव पनि उसका अबोला मनले यस बखत गरिरहेको थियो । जो मजस्ता परचक्र्रीले खुवाउने मोहनभोगमा कहाँ पाइन्छ । कहिलेकाहीं ऊ दूध चुस्न छोडेर तल पल्टेको पल्ट्यै आफ्ना बाटुला बाटुला हलुका नीला आँखाले मतिर हेर्ने कोशिस गर्थ्यो । त्यस बखत उसका अनुहारबाट म प्रष्टै बुझ्थें कि ऊ आफ्ना त्यस मूक भाषाले मलाई अहंकारपूर्वक बताइरहेको छ – “हेर, म जे खाइरहेको छु, त्यो मेरै हो । तिम्रो मोहनभोगभन्दा यो कुनै हालतमा कम्ती छैन ।”
मनमनै ऊसित प्रश्न गरें– “आमाको दूध मीठो छ कि मोहनभोग ?”
पेटको थैलो मजासित भरिसकेपछि ऊ फेरि मसित जिस्किने तरखरमा लाग्यो । म पनि मौकै पर्खिरहेको थिएँ । आमाको दूध चुस्ताखेरि उसले आफ्ना हेराइले नै मेरो मोहनभोगको जुन बेवास्ता देखाएको थियो, म उसको त्यस निश्छल दुष्ट्याइँको कुनै त्यस्तै रमाइलो सजायँ दिने दाउ हेरिहेको थिएँ । एकैछिनपछि आमाको काखबाट आफूलाई उम्काएर ऊ अघिजस्तै बेन्चको पिठिउँ समातेर उभियो । यसपालि जानी जानिकनै मैले ऊतिर हेरिनँ, बाहिरतिरै हेरिरहें । तर आफ्नू जीऊ भने मैले उसका साना–साना हात पुग्ने ठाउँमै राखेको थिएँ । यसरी ऊतिर नहेरेकैले होला मेरो ध्यान आफूतिर आकृष्ट गर्ने कोशिसमा ऊ एकपटक आफ्नो अनौठो भाषामा करायो । मलाई हाँसो उठ्यो; तर म त्यसका एकै बोलाइमा लुरुक्कै पर्ने पो कहाँ थिएँ र ? मैले ऊतिर हेर्दैहेरिनँ । तर ऊ मान्ने भएन । अलिबेरमै मैले आफ्नू नाङ्गो टाउकोमा उसले नरम र हलुङ्गो किसिमले छामेको अनुभव गरें । मैले त्यसको त्यो निमन्त्रणा पनि स्वीकार गरिनँ । अनि त उसलाई पनि रीसै उठेछ कि क्या हो, उसले मेरो कपालमा लामा–लामा रौं पक्रेर तान्यो । अनि बल्ल मैले उतातिर हेरें । आँखा जुध्नासाथ ऊ खिसिक्क हाँस्यो । उसको सानो टाउको प्रसन्नतासाथ हल्लियो र हामी दुवैको फेरि मेल भयो । अनि अलिकति मोहनभोग फेरि चटाइँदा त साथीज्यू राम्ररी नै रमाए । मोहनभोगको गुलियो र आमाको दूधका स्वादमा केही फरक अवश्यै हुँदो रहेछ भन्ने कुरा सम्झेर होला मुखको मोहनभोग चटपट निली मुख बाएरै उसले आफ्नू अनुहार मतिर ल्याइपुर्यायो । यसपालि मैले उसका मुखमा निकै मोहनभोग हुलिदिएँ । गाला फुक्क पारेर चपाई चपाई ऊ त्यसलाई मुखभित्रै पाकमपुकम गर्दै पगालेर निल्ने काममा फुर्सत लिन बस्यो । उसकी आमा त्यस बखत उसका बाबुसित कुनै कुरामा अल्मलिरहेकी थिइन् र उनी बच्चातिरबाट असावधान नै थिइन् । बच्चालाई पेटभरि दूध ख्वाइसकेकी हुनाले पनि उनी शायद ऊतिरबाट निश्चिन्त नै थिइन् र उनले उसलाई अब खेल्नै भनी छोडिदिएकी थिइन् । बच्चातिर उनको विशेष ध्यान थिएन ।
यसपालि मैले उसका मुखमा निकै मोहनभोग हुलिदिएँ । गाला फुक्क पारेर चपाई चपाई ऊ त्यसलाई मुखभित्रै पाकमपुकम गर्दै पगालेर निल्ने काममा फुर्सत लिन बस्यो ।
यसैगरी अलिअलि गरी उसलाई मोहनभोग खुवाउँदै र ऊसित खेल्दै जाँदा मलाई त्यो रेलयात्रा अलिकति पनि पट्टाइलाग्ने भएन । कहिलेकाहीं म उसको चिउँडो समातेर हल्लाउँथे, कहिलेकाहीं उसको हात समातेर अंग्रेजहरुले जस्तै हात मिलाउँथे । त्यो गर्दा मलाई साह्रै आनन्द लाग्थ्यो । शुद्ध हृदय भएको मानिसको आत्मादेखिको मित्रता पाएर त्यस समय मेरो आत्मा बहुतै खुसी भइरहेको थियो ।
मैतिर मुख फर्काइ बसेका उसका बाबुले केहीपछि हामी दुईको हाँसखेलको चाल पनि पाएँ । तर उनलाई पनि चाल रमाइलै लागेकोले होला, उनले हामी दुईजनाका त्यस खेलमा कुनै किसिमको रोकटोक गर्ने विचार गरेनन्; हामी दुवै साथीका खेलबहाडमा कुनै किसिमका बाधा परेन ।
उसको नरम हातको स्पर्श मलाई निकै रमाइलो लाग्ने हुनाले मैले आफ्नू टाउको उसका हातको झन् नजीकै पुर्याइदिएँ । मनमनै भने पनि– “लौ तान्, हेरुँ त कत्तिको बलियो रहिछस् !”
रेल दगुरिरहेको थियो र बिस्तार–बिस्तारै बाटोको टाढापन घट्दै गइरहेको थियो; केवल दिन अथवा सूर्य भने चढ्दै गइरहेको थियो । मध्यान्ह पनि भयो र सारा यात्री र मेरा साथीका बाबुआमाले पनि बिहानको भोजन सिध्याए । मैले पनि एउटा ठूलो स्टेशनबाट केही किनेर खाएँ । यसपालि मोहनभोगको सट्टा मैले आफ्नो साथीका लागि दुईवटा अलिक नरम किसिमका टफी किनेर ल्याएँ । उसले पनि आमाका काखको आफ्नू उही खाने टेबुलमा बसी दुग्धपान गर्यो । एकछिन ऊ सुत्यो पनि । लगभग एक बजेतिर बिउँझी चल्मलाएर आमाचाहिँको काखबाट आफूलाई उम्काई ऊ फेरि मतिर आएर अघिजस्तै उभियो । मैले उसका मुखमा टफीको एउटा बहुतै सानो टुक्रा हालिदिएँ । मुख चेब्रायाउँदै भए पनि उसले त्यसलाई मुखभित्रै पगालेर निल्यो र अलिक हाँस्यो पनि । त्यस हँसाइले कदाचित् उसले यो प्रकट गर्यो– “यसपालि के खुवाएको हँ ? तर जे भए पनि मिठो त मिठै छ !” अनि हात लम्काएर ऊ मेरो कपाल तान्ने चेष्टा गर्न लाग्यो । उसको नरम हातको स्पर्श मलाई निकै रमाइलो लाग्ने हुनाले मैले आफ्नू टाउको उसका हातको झन् नजीकै पुर्याइदिएँ । मनमनै भने पनि– “लौ तान्, हेरुँ त कत्तिको बलियो रहिछस् !” तर उसले मेरो कपाल त्यसरी तानेको देखेर उसका बाबुले हतपताउँदै उसकी आमालाई सावधान हुने इसारा गरे र उनले बच्चालाई तानी काखमा बसालिन्, किन्तु दशपन्ध्रै मिनेटपछि आमाबाबुलाई कुरा गर्नमा अलिक असावधान देखेर टाउको हल्लाई हल्लाई उसले केही बोल्ने कोशिस गर्दै मलाई फेरि खेल्न निम्त्याइहाल्यो । मैले उसका गाला मुसारिदिएँ र पहिलेकै झंै टफी पनि खुवाइदिएँ । यसरी हामीले सजिलैसित फेरि आफ्नू खेल शुरु गर्यौं । बीचबीचमा ऊ आमाका तनाइमा पर्थ्यो र उसलाई उनका काखमा एक छिन अडिन करै लाग्थ्यो ।
दिउँसो दुई बजेतिर मैले उसका आमाबाबुले आफ्ना मालताल सँगाल्न लागेको थाहा पाएँ । सम्झें, अब उनीहरुको रेल छोड्ने समय हुन लाग्यो होला । तर यता भने आमाबाबुलाई मालताल मिलाउन उतैतिर लाग्नु परेकोले मेरो त्यस सानू साथीलाई निकै फुर्सत भयो र उसले मौका पाई मेरो कपाल बेसरी तान्यो । मैले आफ्नू मुख झन् ऊतिरै फर्कादिएँ । उसले मेरो नाक पनि समात्न पायो र मेरो टफीको सट्टा उसले मलाई आफ्नू सानू र मोजलाग्दो नरम हत्केलाको चड्कनको एउटा उपहार पनि दिइहाल्यो जसको स्वाद वर्णन गर्नै नसकिने थियो । म भित्रभित्रै तर्सिरहेको थिएँ– अब यो जानेछ र बाँकीको यात्रा मैले एक्लै नै पूरा गर्नुपर्छ । मेरा यात्राभरिको साथ यसले दिने होइन, कदाचित् कसैले पनि कसैको पूरै यात्राभरि साथ दिँदैन । भित्रभित्रै मेरो मन गहुँगो हुन थाल्यो र कुन्नि कस्तो–कस्तो पीरको चिसोपनले रही रही मेरा आँखासम्म पुग्ने र बाहिर पनि निस्कने जोड गर्न लाग्यो । म आफ्नू मन कतै अन्तैतिर लगाउन बाहिरतिर हेर्न लागें ।
उसले मेरो नाक पनि समात्न पायो र मेरो टफीको सट्टा उसले मलाई आफ्नू सानू र मोजलाग्दो नरम हत्केलाको चड्कनको एउटा उपहार पनि दिइहाल्यो जसको स्वाद वर्णन गर्नै नसकिने थियो ।
एउटा स्टेशनमा रेल अडिएपछि आमाचाहिँले उसलाई काखमा बोकिन् र बाबुचाहिंले केही मालताल आफैं ओह्रालेर बाँकीका लागि कुल्ली डाके । तिनीहरुलाई जान लागेको देखेर मैले आफ्नू त्यस बाल–साथीतिर हेरें । ऊ पनि आफ्नो आमाको कुममाथिबाट मैतिर हेरिरहेकाले हाम्रा आँखा जुधे । मेरा आँखामा टम्म भरिएका आँसुलाई देखेरै होला ऊ भएभरको जोडले घोक्रो सुकाई–सुकाई रुन थाल्यो । के भयो भनी हेर्न आमाचाहिंले उसलाई आफ्नो अगाडि ल्याइन् । ऊ झन् जोडले कराउन लाग्यो । रेलबाट ओर्लेको र त्यही प्लेटफार्ममै रहेका यात्रीहरुमध्ये पनि कसै–कसैको ध्यान उसको त्यस्तो रुवाइतिर गयो । तर आमाचाहिँ त्यसलाई अझै जोडले अँठ्याएर बिस्तारै बिस्तारै अगाडितिरै बढिन् । रुवाइ झन् चर्क्यो । त्यसको घोक्रै चिरिन्छ कि भन्ने डरले मैले आफूलाई थाम्न सकिनँ । रेलबाट ओर्लेर उसकी आमाको नजीक पुगी मैले लाज–सरम छोडेर बिन्ती गरें– “बच्चो रोइरहेछ, यतिन्जेल यो मसित खेलिरहेको थियो । मलाई बोक्न दिनुहोस्, बाहिर निस्कने ढोकासम्म मै यसलाई पुर्याइदिन्छु ।”
उनले छक्क पर्दै बच्चो मलाई दिइन् । मेरा काखमा आउँदा नआउँदै उसको रुवाइ बन्द हुन लाग्यो । आँसुले भिजेको उसको सानू मुहारलाई मैले आफ्ना रुमालले पुछिदिएँ । ऊ चूप लाग्यो, बीच–बीचमा एक दुईपटक उसले निःशब्द हिक्क हिक्कमात्र गर्यो ।
मैले लाज–सरम छोडेर बिन्ती गरें– “बच्चो रोइरहेछ, यतिन्जेल यो मसित खेलिरहेको थियो । मलाई बोक्न दिनुहोस्, बाहिर निस्कने ढोकासम्म मै यसलाई पुर्याइदिन्छु ।”
उसलाई बोकेर म रेलको टिकट कलेक्टर उभिएका ढोकासम्म पुगें र बिदाइको एउटा प्यारो म्वाइँ खाएर मैले उसलाई उसकी आमाका जिम्मा लगाइदिएँ । अनि यतिन्जेलको आफ्नू त्यस प्यारो साथीतिर अन्तिम पटक हेर्न पनि नसकी म फरक्क फर्केर आफ्नो रेलको कोठातिरै लम्कें । तुरुन्तै मेरा कानले सुने पनि, मेरो त्यो बन्धु केही घण्टाको साथी मुटु नै फुट्ने गरी कराइरहेको छ । रेलकोठाअगाडि ढोका खोलेर पनि म भित्र गइनँ । थामिएको रेलको ढोका समाती बाहिरै उभिरहें । कान मेरा, उसको क्रमशः टाढा र पातलो हुँदै गरेको चिच्याहटतिरै लागेका थिए । तर भित्रको मुटुले भने भनिरहेको थियो– मेरो त्यस निष्कपट बन्धुको कराइ, उसको मायाको मूक अन्तर्वेदना कसैले पनि बुझेन । ऊ बोल्न सक्तैन, केवल पीरमात्र भोग्न थालेको छ र सह्य नभएर चिच्याउँदै गइरहेको छ । जगत्मा बेदना भन्नको लागि कुनै भाषा हुँदैन, त्यो कसैको लागि गम्य छैन, छ भने केवल आफ्नै प्राणको लागि मात्रै छ । अथवा त्यस प्राणको परिपूर्णाश कुनै अन्तर्यामी भए त्यसैको लागि मात्रै सम्भव छ ।
रेल फेरि हिंड्यो । म भित्र पसें । आफ्नो सिटमा बसेर अनुभव गरे, रेलको दगुर्याइका कर्कश स्वर मेरो त्यस अब कहिल्यै पनि भेट्न नपाउने साथीको चिच्याहटमा परिणत भएको छ । कान भने त्यसैको चिच्याहट सुनिरहेका थिए र मन भने सम्झिरहेको थियो– अब यात्राको अन्तसम्म यो कोठा रित्तै रहनेछ । म एक्लै रहनेछु । यात्रा एक्लै गर्नुपर्नेछ । कसैको यात्रामा कोही पनि साथ दिन सक्तैन, चाहेर पनि दिने होइन । यात्रा भने सारालाई एक्लै सिध्याउनुपर्छ – एक्लै.... एक्लै..... एक्लै ।
प्रतिक्रिया