रक्तदानको क्षेत्रमा क्रान्तिकारी योगदान गर्ने डा. ड्रिउ, जो रङ्गभेदका कारण अकाल मृत्युको शिकार बने !
अमेरिकी इतिहासको कालो अध्यायः रगतमा पनि रङ्गभेद !
आधुनिक चिकित्सा विज्ञानमा रक्तदानको महत्व र भूमिका कत्तिको छ भन्ने कुरा बताइबस्नुपर्ने कुरा नै होइन । रक्तदानकै कारण यस संसारमा लाखौं करोडौं विरामी–घाइतेहरुले नवजीवन पाइरहेका हुन्छन् । यस अर्थमा रक्तदानको सन्दर्भमा सबैभन्दा अग्रपंक्तिमा आउने नाम हो– अफ्रिकी मूलका अमेरिकी वैज्ञानिक डा. चार्ल्स ड्रिउ । रक्तसञ्चारको क्षेत्रमा उनले गरेका खोजकै कारण रगतलाई पुनप्रयोगकको लागि लामो समयसम्म सुरक्षित र भरपर्दो रुपमा राख्न सम्भव भएको हो ।
कुरा सन् १९३८ को हो । त्यसबेला रक्तदान त हुन्थ्यो तर रक्तदान गरेर प्रयोगमा आउन नसकेका रगतहरुलाई सुरक्षित राख्ने कुनै भरपर्दो उपाय थिएन । त्यस्ता रगतहरु केही दिनभित्र प्रयोग हुन नसके त्यत्तिकै खेर जाने गर्थ्यो ।
यस्तो बेलामा डा. ड्रिउले रगतबाट प्लाज्मा छुट्याउने र तिनलाई अलग अलग चिसोमा भण्डार गर्दा लामो समयसम्म सुरक्षित राख्न सकिने कुरा पत्ता लगाए । त्यसबेला त्यसबेला न्यूयोर्क–प्रेसबाइटेरियान/कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टरमा रिसर्च फेलो रहेका डा. ड्रिउकै खोजको कारण रगत भण्डारण र प्रशोधनको क्षेत्रमा व्यापक सुधार आयो । संकलित रगतलाई पछि आवश्यक परेको बेलामा सुरक्षित रुपमा प्रयोग गर्न सकिने भयो । त्यसले रक्तदान र रक्तसञ्चारको क्षेत्रमा नयाँ ढोका खोलिदियो ।
रगतलाई लामो समयसम्म सुरक्षित भण्डारण गर्न सकिने कुराको खोज भनेको एउटा क्रान्तिकारी खोज थियो ।
दु:खद घटना, जसले ड्रिउलाई मेडिकल क्षेत्रतिर तान्यो !
सन् १९०४ मा जन्मिएका डा. ड्रिउ एउटा दुःखद घटनाले चिकित्साको क्षेत्रमा आकर्षित भएका थिए । उनी परिवारका पाँचजना बच्चाहरुमध्ये सबैभन्दा जेठो थिए । त्यसबेला अमेरिका रङ्गभेदमा चुर्लुम्म डुबेको थियो । उनी हाइस्कुलमा अध्ययनरत छँदा उनकी बहिनी टिवी रोगको कारण मरिन् । त्यस दुःखद घटनाले उनलाई मेडिकल शिक्षा हासिल गर्न घच्घचायो ।
हाइस्कुलको अध्ययनपश्चात आंशिक छात्रवृत्तिसहित उनले मासाच्युसेटस्थिति एम्हेस्र्ट कलेजमा अध्ययन गर्ने मौका पाए र सन् १९२६ मा त्यहाँबाट ग्राजुएट गरे । त्यसअघि उनले बाल्टिमोरस्थित तत्कालीन मोर्गन कलेजमा जीवविज्ञान र रसायनविज्ञानका प्रशिक्षकको रुपमा काम पनि गरे ।
ड्रिउको चिकित्सा विज्ञान पढ्ने इच्छाले त्यसबेला आकार लियो जब उनले मोन्ट्रियस्थित एमसीगिल युनिभर्सिटीको मेडिसिन विभागमा भर्ना हुने मौका पाए । त्यहाँबाट उनी सन् १९३३ मा दोस्रो श्रेणीमा उत्तीर्ण भए । इन्टर्नसीप पूरा गरेपछि उनी १९३५ मा वासिङ्टनस्थित हावर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनमा प्याथोलोजीका प्रशिक्षक बने । त्यसको दुई वर्षपछि उनलाई सर्जरी विभागमा असिस्टेन्ट प्रोफेसरमा बढुवा गरियो र साथासाथै हावर्ड युनिभर्सिटीको शिक्षण अस्पताल फ्रिडमेन्स हस्पिटलमा चिफ सर्जिकल रेसिडेन्ट पनि बनाइयो ।
डा. ड्रिउको क्रान्तिकारी खोज !
त्यहाँ उनले रगतबाट प्लाज्मा छुट्याउने र त्यसलाई दुई हप्तासम्म सुरक्षित भण्डारण गर्न सकिने उपाय पत्ता लगाए । त्यसअघि रगतलाई केही दिनका लागि मात्र राख्न सकिन्थ्यो । त्यसका साथसाथै, उनले पूरै रगत हैन, प्लाज्मा मात्रै पनि मानिसमा चढाउन सकिन्छ भन्ने कुरा पनि पत्ता लगाए । त्यसले रक्तसञ्चारको सम्भावना र क्षेत्रलाई व्यापक तुल्यायो । उनको खोजले रगतका आवश्यकता परेका धेरैभन्दा धेरै मानिसहरुलाई रगत चढाएर उनीहरुको जीवन बचाउन सकिने भयो । उनको यही खोजका कारण दोस्रो विश्वयुद्धमा घाइते बनेको लाखौं सिपाहीहरुको जीवन बचाउन सम्भव भएको थियो ।
उनले रगतबाट प्लाज्मा छुट्याउने र त्यसलाई दुई हप्तासम्म सुरक्षित भण्डारण गर्न सकिने उपाय पत्ता लगाए । त्यसअघि रगतलाई केही दिनका लागि मात्र राख्न सकिन्थ्यो । त्यसका साथसाथै, उनले पूरै रगत हैन, प्लाज्मा मात्रै पनि मानिसमा चढाउन सकिन्छ भन्ने कुरा पनि पत्ता लगाए ।
सन् १९३८ मा डा. ड्रिउले रकफेलर फेलोसिप जिते । उनले उक्त फेलोसिप न्यूयोर्क शहरको तत्कालीन प्रेसबाइटेरियन अस्पताल –हालको न्युयोर्क–प्रेसबाइटेरियन/कोलिम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टर)मा रगतको संग्रह र वितरणबारे एड्भान्स सर्जिकल ट्रेनिङका लागि पाएका थिए । त्यसबाहेक उनले शल्यक्रियाको रेसिडेन्समा पनि नाम निकालेका थिए र कोलिम्बिया विश्वविद्यालयमा ‘डक्टर अफ मेडिकल साइन्स’ कार्यक्रममा भर्ना भएका थिए । त्यो अफ्रिकन–अमेरिकन मूलका विद्यार्थीले पाएको पहिलो अवसर थियो ।
डा. जोन स्कुडरका साथ शल्यक्रिया विभागमा काम गर्दा डा. ड्रिउले रगतको संग्रह र संरक्षणको क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्ने मौका पाए । डा. स्कुडर आफैं मुलुकका पहिलो ‘व्लड ट्रान्सफ्युजन विशेषज्ञ थिए । सन् १९४० मा आफ्नो डक्टरेट डिग्री हासिल गर्दासम्म डा. ड्रिउले प्लाज्मालाई लामो समयसम्म सुरक्षित संग्रह गर्ने विधि पत्ता लगाइ सकेका थिए । उनको त्यही विशिष्ट योगदानका कारण उनलाई ‘फादर अफ ब्लड बैंक’ भन्ने उपनामले पुकारिन थालिसकिएको थियो ।
बढ्दो प्रसिद्धि
उनको यो खोजले त्यसबेला प्रसिद्धि पायो, जब बेलायतले दोस्रो विश्वयुद्धमा घाइते भएकाहरुलाई उपयोग गर्नका लागि भनेर ५००० पोका प्लाज्माको माग गर्यो । बेलायतको त्यो मागलाई सम्बोधन गर्न डा. ड्रिउले न्यूयोर्क शहरका अस्पतालहरुमा व्यापक मात्रामा रक्तदान कार्यक्रमहरुको आयोजना गराए ।
उनको यो खोजले त्यसबेला प्रसिद्धि पायो, जब बेलायतले दोस्रो विश्वयुद्धमा घाइते भएकाहरुलाई उपयोग गर्नका लागि भनेर ५००० पोका प्लाज्माको माग गर्यो ।
त्यस रक्तदान कार्यक्रमको नाम नै ‘बेलायतको लागि रगत’ (Blood for Britain) राखिएको थियो । करिब ५ महिना चलेको सो रक्तदान कार्यक्रममा १५ हजार अमेरिकीहरुले रक्तदान गरेका थिए । त्यसरी जम्मा भएको रगतबाट प्लाज्मा छुट्याएर बेलायत पठाइएको थियो । त्यस दौरानमा विरामीका लागि उपयोगी हुन सक्ने उच्च गुणस्तरको प्लाज्मा होस् भनेर डा. ड्रिउ आफैंले विशेष निगरानी र ख्याल रखेका थिए ।
पहिलो डाइरेक्टर, रङ्गभेदको विरोधमा पदत्याग !
डा. ड्रिउको यो विशिष्ट योगदानलाई कदर गर्दै अमेरिकाको रेडक्रसले उनलाई अमेरिकी ब्लड बैंकको पहिलो डाइरेक्टर बन्न अनुरोध गर्यो । त्यसबेला अमेरिका पनि विश्वयुद्धमा हाम्फाल्ने तरखरमा थियो । डा. ड्रिउले त्यो प्रस्तावलाई स्वीकार गरे । फेब्रुअरी १९४१ तिर घाइते मानिसहरुको लागि भनेर अमेरिकाभरि ३५ वटा रक्त संकलन केन्द्र सञ्चालनमा आइसकेको थियो । तर उनी लामो समयसम्म त्यस पदमा रहिरहेनन् । त्यसबेला अमेरिकामा हावी रङ्गभेदी नीतिअनुसार गोरा र काला मानिसहरुको रगत अलग अलग राख्ने अर्थात काला र गोलाहरुको रगत नमिसाउने, छुट्याउने गरियो । डा. ड्रिउले त्यो कुराको घोर विरोध गरे । यो कुरा नैतिक रुपमा र वैज्ञानिक रुपमा पनि घोर आपत्तिजनक रहेको जनाए । उनी वैज्ञानिक थिए र उनले राम्रोसँग बुझेका थिए कि छालाको रङको आधारमा रागतमा भेदभाव गर्नु अमानवीयता हो, मुर्खता हो । कालो रगत र सेतो रगत जस्ता रंगभेदी कुराको कुनै वैज्ञानिक आधार छैन । त्यसैले डा. ड्रिउले आफ्नो पदबाट राजीनामा दिए । उनले जम्माजम्मी ८ महिना मात्रै अमेरिकी ब्लड बैंकको प्रमुखको रुपमा काम गरे ।
त्यसबेला अमेरिकामा हावी रङ्गभेदी नीतिअनुसार गोरा र काला मानिसहरुको रगत अलग अलग राख्ने अर्थात काला र गोलाहरुको रगत नमिसाउने, छुट्याउने गरियो । डा. ड्रिउले त्यो कुराको घोर विरोध गरे । यो कुरा नैतिक रुपमा र वैज्ञानिक रुपमा पनि घोर आपत्तिजनक रहेको जनाए ।
त्यसपछि डा. ड्रिउ शल्यक्रिया विभागको प्रमुखको रुपमा हावर्ड विश्वविद्यालय नै फर्के । त्यहाँ उनको लक्ष्य नयाँ पुस्ताका अफ्रिकन–अमेरिकन छात्रहरुलाई प्रशिक्षित गर्नु थियो । उनी प्रतिभाशाली वैज्ञानिक थिए । त्यसैले सन् १९४२ मा उनी अमेरिकन बोर्ड अफ सर्जरीमा पहिलो पटक काला सर्जनका रुपमा परीक्षक बने । त्यसको दुई वर्षपछि उनले नेशनल एशोसिएसन फर द एडभान्समेन्ट अफ कलर्ड पिपल’को तर्फबाट सिपिन्गार्न मेडल प्राप्त गरे । उनलाई यो पदक मानव कल्याणका लागि उनले गरेका योगदानका लागि प्रदान गरिएको थियो । सन् १९४६ मा उनी इन्टरनेशनल कलेल अफ सर्जनमा निर्वाचित भए र त्यसको एक वर्षपछि उनले अमेरिकन मेडिकल एशोसिएसनमा काला जातिका लागि पनि सदस्य बन्न पाउनुपर्छ भनेर एउटा अभियानकै थालनी गरे ।
दुःखद निधन
यस्ता महान प्रतिभाशाली र मानव कल्याणका लागि अतुलनीय योगदान गरेका डा. ड्रिउको जीवन भने लामो समय चल्न सकेन । सन् १९५० को अप्रिल १ तारिखका दिन थियो । रातभरिको लामो अप्रेशनमा सहभागी भएर थाकेका डा. ड्रिउ आफ्ना तीन जना विद्यार्थीहरुक साथ कारमा सवार थिए । उनी टस्किगी, अल्वामामा आयोजना हुन गइरहेको मेडिकल कन्फरेन्समा सहभागी हुन जाँदै थिए अचानक उक्त एउटा सडक दुर्घटनामा पर्यो । उनका विद्यार्थीहरु सामान्य घाइते भए तर चार्ल्स ड्रिउ भने गम्भीर रुपमा घाइते भए ।
उनलाई अत्यधिक रक्तस्राव भइरहेको थियो । उनका विद्यार्थीहरु तथा अरु मिलेर चार्ल्स ड्रिउलाई नजिकैको अस्पताल लगियो । भनिन्छ, गोराहरुको उपचारकाका लागि खोलिएको सो अस्पतालले घाइते चार्ल्सको शरीरमा गोराहरुबाट संकलित तथा गोराहरुको उपचारका लागि छुट्याएको रगत चढाउन मानेन ।
उनलाई अत्यधिक रक्तस्राव भइरहेको थियो । उनका विद्यार्थीहरु तथा अरु मिलेर चार्ल्स ड्रिउलाई नजिकैको अस्पताल लगियो । भनिन्छ, गोराहरुको उपचारकाका लागि खोलिएको सो अस्पतालले घाइते चार्ल्सको शरीरमा गोराहरुबाट संकलित तथा गोराहरुको उपचारका लागि छुट्याएको रगत चढाउन मानेन । किनभने, चार्ल्स आफू अफ्रिकन–अमेरिकन मूलका अर्थात् काला जातिका थिए । फलतः रक्तदान र रक्त संकलनमा महानतम् योगदान गर्ने ती महान चिकित्सक चार्ल्स ड्रिउको अत्यधिक रक्तस्रावका कारण निधन भयो । यसरी रङभेदको बलीवेदीमा चढेर एउटा महान चिकित्सकले शहादत प्राप्त गर्न बाध्य भए ।
मृत्युपछिको सम्मान
मानव कल्याणका लागि डा. चार्ल्स ड्रिउको योगदान असाधारण थियो । त्यसैले रङभेदले उनको भौतिक शरीरलाई निले पनि उनको योगदानलाई निल्न–मास्न सकेन । उनका योगदानका कारण करोडौं मानिसहरुले जीवनदान प्राप्त गरेको कुरा कहाँ मेटिन सक्थ्यो र ? सन् १९८१ मा आएर लस एन्जल्सको एउटा मेडिकल विश्वविद्यालयको नामाकारण उनकै नाममा गरियो । अमेरिकाको हुलाक सेवाले ‘महान अमेरिकी’ (Great Americans) सिरिज अन्तर्गत उनको नाममा एउटा हुलाक टिकट पनि जारी गर्यो ।
डा. ड्रिउको सबैभन्दा ठूलो विशेषता भनेकै त्यसबेलाको प्रतिकूल परिस्थितिमा पनि मानव जातिको कल्याणको लागि गरेको योगदान हो । उनले पद, प्रतिष्ठाका लागि आफ्नो मानवीयतालाई छाडेनन्, व्यवसायिकतालाई लोभ, लालचको बली चढाएनन् । उनले मानव समाजको लागि कहिल्यै नमेटिने कलंकको रुपमा स्थापित रङ्गभेदको डटेर विरोध गरे र अन्ततः त्यही रङ्गभेदकै शिकार बनेर उनको इहलीला समाप्त भयो ।
प्रतिक्रिया