बुद्ध दर्शनका विशेषताहरू
कर्मको सिद्धान्त र पुनर्जन्मको अवधारणा
बुद्ध ईश्वर र भाग्यमा विश्वास गर्नुहुन्नथ्यो । उहाँ अनीश्वरवादी हुनुहुन्थ्यो । उहाँको मौलिक सिद्धान्त प्रतीत्यसमुत्पाद'मा ईश्वरका निम्ति कुनै स्थान थिएन । प्रतीत्यसमुत्पादको सिद्धान्तले ल्याएको नयाँ धारणा के थियो भने 'यदि त्यो छ भने यो छ, त्यसको उदयले यसको उदय गराउँछ, यदि यो छैन भने त्यो हुँदैन, यदि यो रोकिन्छ भने त्यो रोकिन्छ ।' अर्थात् संसारमा प्रत्येक कुराको उत्पत्ति अरू कुरामा आधारित हुन्छ । निराधार रूपमा र निरपेक्ष रूपमा कुनै पनि कुरा पैदा हुँदैन । प्रतीत्यसमुत्पादको अर्थ नै 'कुनै कुरामा निर्भर उत्पत्ति' हो । यसबारे हामीले यसअघि नै प्रशस्त चर्चा गरिसकेका छौं ।
बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्त आधुनिक द्वन्दवादी दर्शन र विज्ञानमा 'कारण-कार्य को अवधारणा, सापेक्षतावादको सिद्धान्त र अन्तर्सम्बन्धको सिद्धान्तसित धेरै हदसम्म मिल्दोजुल्दो छ । यो बुद्धको महानतम् देन हो- आजभन्दा २५०० वर्ष पहिले चिन्तन जगतमा बुद्धले यस्तो वैज्ञानिक अवधारणा ल्याउनुभयो, जसले संसारका हरेक वस्तुलाई अलगथलग रूपमा होइन, अरू वस्तुसितको अन्तर्सम्बन्ध र अन्तर्निर्भरतामा पैदा हुन्छ भनेर हेर्न सिकाउँछ । हरेक वस्तुलाई त्यसले सापेक्षतामा हेर्न सिकाउँछ । कुनै पनि वस्तु अकारण पैदा हुँदैन- यो कुराले त्यो कुरा पैदा गर्छ, त्यो कुराले फेरि अर्को कुरा पैदा गर्छ, यो नभएपछि त्यो हुँदैन, यसको अन्त्य भएपछि त्यसको पनि अन्त्य हुन्छ भनेर यसले हेर्न सिकाउँछ । वस्तुलाई र वस्तुको उत्पत्तिलाई हेर्ने यो दृष्टिकोण विल्कुलै द्वन्दात्मक देखिन्छ । एउटा वस्तुले अर्को वस्तु पैदा गर्छ, एउटा वस्तुको अन्त्यले अर्को वस्तुको अन्त्य हुन्छ भन्ने यो दृष्टिकोणमा ईश्वर र भाग्यको निम्ति कुनै स्थान देखिन्न । बरू यसमा सचेत मानव कर्मको लागि प्रशस्त स्थान देखिन्छ । बुद्ध दर्शनको विशेषता नै यही हो ।
बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्त आधुनिक द्वन्दवादी दर्शन र विज्ञानमा 'कारण-कार्य को अवधारणा, सापेक्षतावादको सिद्धान्त र अन्तर्सम्बन्धको सिद्धान्तसित धेरै हदसम्म मिल्दोजुल्दो छ ।
बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्तमुताविक र बुद्धको १२ वटा कारण-कार्यको सिक्रीमुताविक मान्छेको वर्तमानमा जुन जीवन र अस्तित्व छ, त्यो विगत बोली, विचार र कर्महरूको उपज हो र वर्तमानमा मान्छेले जुन कर्म गर्छ, त्यसले नै उसको भविष्य पैदा गर्छ । अर्थात् अहिले मान्छेले जे बोल्छ, विचार गर्छ र कार्य गर्छ, त्यसमा नै मान्छेको भविष्यको जीवन कस्तो हुन्छ त्यो निर्भर गर्दछ । यसैलाई बुद्धले कर्मको नियम भन्नुभएको छ । वर्तमानमा होशपूर्ण कर्म गर, आफ्नो भविष्य कस्तो बनाउने, त्यो तिम्रै हातमा निर्भर हुनेछ- बुद्धको कर्मसम्बन्धी सोच यस्तो देखिन्छ । यो सोच भाग्यवादको पूरै विरूद्धमा छ ।
बुद्धको सोच के देखिन्छ भने चाहे विचार होस्, बोली होस् वा कुनै काम, त्यसले निश्चित रूपमा असरहरू पैदा गर्छ । तिनै असरहरू अन्य असरहरूका कारण बन्न सक्छन् । हामी वर्तमानमा जुन सुख वा दुःखको अनुभूति गर्छौं, त्यो विगतका हाम्रै बोली, विचार वा कामका असरहरू सिवाय केही होइनन् । तिनै असरहरूलाई कारण बनाएर हामी वर्तमानमा जुन बोली बोल्छौं, विचार गर्छौं वा कार्य गर्छौं तिनले त्यस्ता असरहरू पैदा गर्छन्, जसले भविष्यमा या त हामीलाई सुखी बनाउँछ, या दुःखी । यसरी कर्मको एउटा सिक्री नै बन्दछ । बुद्धका अनुसार विगतमा निर्भर भएर वर्तमान पैदा भएको हुन्छ, र वर्तमानमा आधारित भएर हाम्रो भविष्य हुनेछ । हाम्रो वर्तमान र भविष्य दुवै निरपेक्ष र निराधार छैनन् । ती सापेक्ष छन् र अन्तर्निर्भर छन् । (हेर्नुहोस्: आर, पुलीगण्लाको Fundamentals of Indian Philosophy अन्तर्गत Buddhism, एविंग्डन प्रेस, न्यूयोर्क, १९७५, पृष्ठ ६३-६४)
बुद्धले पुनर्जन्मको धारणा पनि ल्याउनुभएको छ । तर बुद्धको पुनर्जन्मको अवधारणा- मान्छे मरेपछि एउटा चिरस्थायी आत्मा अर्को नयाँ शरीरमा सर्ने अवधारणाका रूपमा देखिन्न...
मान्छेले प्रयत्न गयो भने कर्मको यो सिक्रीलाई तोड्न संभव छ भन्ने बुद्धको शिक्षाको सार देखिन्छ । बुद्धका अनुसार बस् अज्ञानताबाट मुक्त हुनुपर्छ, तृष्णा वा इच्छाबाट मुक्त हुनुपर्छ, यो विल्कुलै संभव छ ।
बुद्धले पुनर्जन्मको धारणा पनि ल्याउनुभएको छ । तर बुद्धको पुनर्जन्मको अवधारणा- मान्छे मरेपछि एउटा चिरस्थायी आत्मा अर्को नयाँ शरीरमा सर्ने अवधारणाका रूपमा देखिन्न, जस्तो- उपनिषद्हरू र अन्य हिन्दू धर्म ग्रन्थहरूमा व्याख्या गरिएको भेटिन्छ । बुद्ध चिरस्थायी आत्मामै विश्वास गर्नुहुन्नथ्यो । त्यसैले बुद्धका निम्ति पुनर्जन्म भनेको एउटा स्थायी आत्मा अर्को शरीरमा मरेपछि स्थानान्तरण गर्ने कुरा होइन । बुद्ध प्रत्येक क्षण पुनर्जन्म भइरहने धारणा राख्नुहुन्थ्यो । (हेर्नुहोस्: एम हिरियन्नाद्वारा लिखित 'भारतीय दर्शनकी रुपरेखा'मा प्रारम्भिक वौद्ध धर्म, राजकमल प्रकाशन, नयाँ दिल्ली, १९९७, पृष्ठ १५४) । बुद्धका अनुसार मरेपछि मात्र पुनर्जन्म हुने कुरा होइन, प्रत्येक क्षण हरेक शरीरमा नष्ट- उत्पत्ति नष्ट - उत्पत्तिको प्रक्रिया चलिरहेको हुन्छ, मृत्यु र पुनर्जन्म साथसाथ भइरहेको हुन्छ । शरीरको अन्त्यपछि पनि नष्ट- उत्पत्तिको यो प्रक्रिया जारी रहन्छ । (हेर्नुहोस्- राहुल सांकृत्यायनद्वारा लिखित 'दर्शन दिग्दर्शन' अन्तर्गत 'अनात्म वौद्ध दर्शन, किताव महल, इलाहावाद, १९९८, पृष्ठ-४१५)
यस सम्बन्धमा बुद्ध दर्शनमा अक्सरतया मैनबत्तीको उदाहरण पेश गर्ने गरिन्छ । जब एउटा मैनबत्ती बल्छ, यसको ज्वाला खास समयसम्म लगातार बलिरहेझैं भान हुन्छ । तर के यस क्षणको मैनबत्तीको ज्वाला र अर्को क्षणको मैनबत्तीको ज्वालाका बीचमा स्थायी प्रकारको कुनै अर्को तत्व स्थानान्तरण गरिरहेको हुन्छ र ? कदापि हुन्न । भएको के हुन्छ भने अहिले मैनबत्तीको जुन शिखा बलिरहेको छ, त्यो एकछिनअघि बलिरहेको शिखाभन्दा नितान्त बेग्लै हो । तथा अघिल्लो मैनबत्तीको शिखाको ज्वालाले पछिल्लो शिखालाई बाल्न कारणको भूमिका खेलिरहेको हुन्छ । यसरी अघिल्लो मैनबत्तीको शिखा बलेर नष्ट भइरहेको पनि हुन्छ । त्यही क्षण नयाँ शिखामा नयाँ ज्वालाको उत्पत्ति भइरहेको पनि हुन्छ । अघिल्लो क्षणको मैनबत्तीको शिखा र ज्वाला र पछिल्लो क्षणको शिखा र ज्वाला भिन्नै हो, तर दुईथरि शिखा र ज्वाला सिक्री जोडिएका पनि छन् । अघिल्लो क्षणको ज्वाला नै पछिल्लो क्षणको मैनबत्तीको ज्वालाको कारण बनेको छ । यसबीचमा अर्को कुनै स्थायी वस्तु छैन जुन एउटा मैनबत्तीको ज्वालाबाट अर्को मैनबत्तीको ज्वालामा कुनै स्थायी अस्तित्वका रूपमा सरेको होस् ।
बुद्ध दर्शनमा अक्सरतया मैनबत्तीको उदाहरण पेश गर्ने गरिन्छ । जब एउटा मैनबत्ती बल्छ, यसको ज्वाला खास समयसम्म लगातार बलिरहेझैं भान हुन्छ । तर के यस क्षणको मैनबत्तीको ज्वाला र अर्को क्षणको मैनबत्तीको ज्वालाका बीचमा स्थायी प्रकारको कुनै अर्को तत्व स्थानान्तरण गरिरहेको हुन्छ र ?
त्यस्तै, हामी एउटा मैनबत्तीको सहाराले अर्को मैनबत्ती बाल्न सक्छौं । तर के यी दुई मैनबत्ती बल्नुको बीचमा जुन निरन्तरता हुन्छ, त्यो कुनै स्थायी वस्तुको स्थानान्तरणले गर्दा हुन्छ ? कदापि हुन्न । यहाँ पनि एउटा मैनबत्तीको ज्वाला नै अर्को मैनबत्ती बल्नुको कारण भइरहेको हुन्छ । मैनबत्ती दुईटा बिल्कुलै अलग हुन् । बलिरहेको ज्वाला र त्यसले दिइरहेको ताप र प्रकाश पनि विल्कुलै भिन्नै हुन् । तर एउटा मैनबत्तीमा जुन ज्वाला छ, त्यही नै अर्को मैनबत्तीको ज्वालाको स्पष्ट कारण हो । ज्वालाको निरन्तरताको कारण कुनै स्थायी वस्तुको अस्तित्व होइन, दुई मैनबत्तीका बीचमा विद्यमान कारण- कार्य सम्बन्ध हो ।
बुद्धको धारणाअनुसार जसरी हरेक क्षण अघिल्लो ज्वालाको कारणबाट मैनबत्तीमा नयाँ ज्वालाको उत्पत्ति भइरहेको हुन्छ, त्यसरी नै मान्छेको पनि हरेक क्षण पुनर्जन्म भइरहेको हुन्छ । यो पुनर्जन्म कुनै स्थायी आत्माको स्थानान्तरण हुनाको कारणले हुँदैन, अघिल्ला कर्महरूको वा भव तृष्णाहरूको कारणले हुन्छ । मान्छेले यो क्षणमा जे बोल्छ, विचार गर्छ वा कार्य गर्छ मान्छेले यो क्षणमा जुन ईच्छा वा तृष्णा राख्छ, त्यो नै अर्को क्षणको जीवन कस्तो हुन्छ, त्सको कारण बन्छ, यस क्षणको मैनबत्तीको ज्वाला अर्को क्षणको ज्वालाको कारण भएजस्तै । जसरी एउटा मैनबत्तीको ज्वालाले अर्को मैनबत्ती बाल्छ, त्यसरी नै एउटा व्यक्तिको कर्म र तृष्णा ऊ मरेपछि पनि असरका रूपमा अर्को व्यक्तिमा सर्दछ । कुनै स्थायी आत्मा मरेपछि अर्को शरीरमा सरेर पुनर्जन्म हुने कुरामा बुद्धको पटक्कै विश्वास देखिन्न, किनभने बुद्ध स्थायी आत्मा भन्ने कुरा नै अस्तित्वमा छैन भन्ने धारणा राख्नुहुन्थ्यो । बुद्धको ठम्याइमा, त्यसैले स्थानान्तरण आत्माको होइन, चरित्रको हुन्छ, तृष्णाको हुन्छ । मरेपछि आत्मा अर्को शरीरमा सरेर पुनर्जन्म हुने होइन, उसको स्थानमा उसके संस्कार वा चरित्र भएको अर्को व्यक्ति अस्तित्वमा हुन्छ । पुनर्जन्म आत्माको होइन कर्मको, चरित्रको वा संस्कारको हुन्छ । जब कोही व्यक्ति मर्दछ, उसको कर्म, संस्कार वा चरित्रको प्रभाव उसको मृत्युपछि पनि रहिरहन्छ । यो प्रक्रिया तबसम्म चक्रका रूपमा चलिरहन्छ, जबसम्म सम्बन्धित व्यक्ति तृष्णा र अज्ञानताबाट पूरै मुक्त हुँदैन । (हेर्नुहोस्- उही एम. हिरियम्नाद्वारा लिखित भारतीय दर्शनकी रुपरेखाको 'प्रारम्भिक बौद्ध धर्म, पृष्ठ १५४-५५)
मूल्याङ्कन मासिक, २०५९–६०, चैत–वैशाख अङ्कमा प्रकाशित
सम्बन्धित लेखहरु |
बुद्ध दर्शनका विशेष योगदानहरू |
प्रतिक्रिया