सर्वहारा अधिनायकत्वको अर्थ कम्युनिष्ट पार्टी वा केन्द्रीय नेताहरुको अधिनायकत्व हाेइन !

मानव समाजको विकास र मार्क्सवाद–८

हामीले मार्क्सले कुन देशको कुन स्थितिको अध्ययन गरी सर्वहारा अधिनायकत्वको अवधिको कुरा गर्नुभएको हो, लेनिनको रुसको कस्तो स्थितिमाथि विचार गरी कुरा गर्नुभएको हो, विचार गर्नुपर्छ । र, हामीले पनि आफ्नो आफ्नो देशको स्थिति विचार गरी आफ्नो देशमा सर्वहारा अधिनायकत्व कुन अवधिमा रहने र कति समय रहने भनी निर्णय गर्नुपर्छ ।

मार्क्सले समाजवादको परिभाषा दिँदा, पुँजीवादबाट समाजवादमा सङ्क्रमणको अवधिबारे सोच्दा उहाँ रहनु भएको मुलुक थियो जर्मनी, उहाँले हेरेको मुलुक थियो ब्रिटेन । ती देशमा पुँजीवादको उच्च विकास र औद्योगीकरण भइसकेको थियो, समाज पूर्ण रुपले पुँजीवादीकरण भइसकेको थियो । त्यहाँ किसान वर्ग बाँकी थिएन, कृषि मजदुर र औद्योगिक मजदुर मात्रै बाँकी थिए । ती दुई वर्गबीच भेद बाँकी थिएन । शोषक शासक वर्ग थियो पुँजीपति वर्ग । र, शोषित शासित वर्ग थियो मजदुर वर्ग । यी दुई वर्गमा मात्र समाज विभाजित थियो । यस्तो स्थितिमा सर्वहारा वर्गले शासन–सत्ता कब्जा गरेपछि द्रुतगतिले समाजवाद र साम्यवादतर्फ जान सकिन्थ्यो । तसर्थ पुँजीवादबाट साम्यवाद जान बीचको सङ्क्रमणको रुपमा रहेको समाजवादी चरण छोटो अवधिको मात्र हुने देखिन्थ्यो ।

लेनिनले क्रान्ति सम्पन्न गरेको देश रुसमा सर्वहारा शासन कायम भइसकेको स्थितिमा पनि साम्यवादी समाज भइनसकेको, अझ पूर्ण रुपको समाजवाद पनि भइनसकेको सङ्क्रमण अवधि थियो त्यो कालखण्ड ।

तर लेनिनले क्रान्ति सम्पन्न गरेको देश रुस वा रुसी साम्राज्य पुँजीवादी मुलुक भए पनि त्यहाँ पिछडिएको वा कम विकसित पुँजीवाद थियो । त्यस्तो ठाउँमा मजदुर वर्गले पुँजीवादी व्यवस्थालाई धराशयी पारेर शासन–सत्ता कब्जा गरिसके पनि मजदुर र किसानबीचको भेद बाँकी नै रहेको थियो । शोषक र शोषितको विभाजन मात्र हटेको थियो र, शोषित समूहभित्रका यी दुई वर्गको बीच भिन्नता बाँकी रहेको थियो । यसैले सर्वहारा शासन कायम भइसकेको स्थितिमा पनि साम्यवादी समाज भइनसकेको, अझ पूर्ण रुपको समाजवाद पनि भइनसकेको सङ्क्रमण अवधि थियो त्यो कालखण्ड । तसर्थ लेनिनको विचारमा वर्गहीन समाजको स्थापना अर्थात् किसान वर्ग र मजदुर वर्गबीचको पनि भेद हटिसक्ने समयसम्मको अवधि अर्थात् पुँजीवादवाट समाजवादमा सङ्क्रमणको अवधि वा पुँजीवादबाट साम्यवादमा सङ्क्रमणको अवधिलाई सङ्क्रमणकाल भन्नुपर्दछ । त्यस्तो समयमा यो सङ्क्रमणकालभरि सर्वहारा अधिनायकत्वको अवधि रहन्छ । समाजवाद नै साम्यवादको प्रथम चरण भएकाले सङ्क्रमणकाललाई पुँजीवादबाट समाजवादमा सङ्क्रमण वा पुँजीवादबाट साम्यवादमा सङ्क्रमण जे भने पनि हुन्छ ।

यी दुई देशको तुलनात्मक अध्ययन गर्दा हाम्रोजस्तो सामन्तवाद पूर्ण रुपले अन्त्य भइनसकेको र पुँजीवादी समाज पनि पूर्ण रुपले स्थापना भइनसकेको मुलुकमा त समाजवादमा पुग्न पनि पहिले पुँजीवादी क्रान्तिका अभिभारा पूरा गरिसक्नुपर्ने हुन्छ । र, हाम्रो परिस्थितिमा यो कार्य पनि सर्वहारावर्गीय पार्टीको नेतृत्वमा वा कम्तीमा पनि उसको पहलकदमीमा हुनुपर्छ । त्यसैले सङ्क्रमण अवधि अझ लामो हुन्छ र फलस्वरुप सर्वहारा वर्गको अधिनायकत्व झन् लामो हुन्छ । र, यो अधिनायकत्व पनि सुरुमा सर्वहाराको नेतृत्वमा जनवादी अधिनायकत्वको रुपको हुन्छ, पछि मात्र सर्वहारा अधिनायकत्वमा परिणत हुन्छ ।

सर्वहारावर्गीय पार्टीले समाजवादी क्रान्तिभन्दा पहिले आफ्नो नेतृत्वमा वा पहलमा जन–गणतन्त्रतर्फ अगाडि बढ्ने क्रान्ति चालू राख्नुपर्दछ ।

सङ्क्रमणकालबारे विचार गर्न मार्क्सको निरन्तर वा अटूट क्रान्तिको सिद्धान्तलाई ध्यान दिनुपर्दछ । यसरी विचार गर्दा समाजवादी क्रान्ति भनेको पुँजीवादी क्रान्ति सम्पन्न भइसकेपछि हुने भएकाले पुँजीपति वर्गद्वारा पुँजीवादी क्रान्ति गरी सामन्तवाद खत्तम गरिएला भनी पर्खेर सर्वहारावर्गीय पार्टी चुप लागेर बस्नु हुन्न । त्यसो गर्दा क्रान्तिको निरन्तरता रहँदैन । तसर्थ सर्वहारावर्गीय पार्टीले समाजवादी क्रान्तिभन्दा पहिले आफ्नो नेतृत्वमा वा पहलमा जन–गणतन्त्रतर्फ अगाडि बढ्ने क्रान्ति चालू राख्नुपर्दछ ।

हामीले अहिलेसम्मको छलफलमा धेरै ठाउँमा ‘सर्वहारा वर्गको पार्टीद्वारा राज्यसत्ता कब्जा’ भन्ने कुरा उल्लेख गर्‍यौं । अब राज्यसत्ता वा शासन–सत्ताको कब्जाबारे अलि गम्भीर रुपले विचार गरौं । मानौं, कुनै आम–निर्वाचनको परिणामबाट सर्वहारा वर्गको पार्टी कम्युनिस्ट पार्टी सबभन्दा ठूलो पार्टी बनेर त्यस पार्टीको नेतृत्वमा संयुक्त सरकार बन्यो रे, त्यसलाई कम्युनिस्टहरू सरकारमा पुगेको भन्न मिल्छ, तर कम्युनिस्टद्वारा राज्यसत्ताको कब्जा भन्न मिल्दैन । अझ भनौं, त्यस्तो संयुक्त सरकारका साझेदार सबै नै कम्युनिस्ट परे रे ! दुई–तीनवटा कम्युनिस्ट पार्टी मिलेर सरकार बनाए रे ! त्योभन्दा पनि एउटा सिङ्गो कम्युनिस्ट पार्टीले विधायिकामा पूर्ण बहुमत पाएर आफ्नै सरकार बनायो रे ! त्यस स्थितिलाई हामीले के भन्ने ? यसलाई पनि कम्युनिस्ट पार्टी सरकारमा पुगेको भन्न सकिन्छ, तर कम्युनिस्ट व्यवस्था आएको भन्न सकिँदैन । किनभने राज्य–संयन्त्र र शासन–व्यवस्था त पुरानो प्रतिक्रियावादी वा यथास्थितिवादी राज्य–बनौट नै रहेको हुन्छ । पुरानो राज्य–संयन्त्रलाई भत्काएर नयाँ क्रान्तिकारी संयन्त्र बनाउन सके मात्र व्यवस्था बदलियो भन्न सकिन्छ ।

पुरानो राज्य–संयन्त्रलाई भत्काएर नयाँ क्रान्तिकारी संयन्त्र बनाउन सके मात्र व्यवस्था बदलियो भन्न सकिन्छ ।

कम्युनिस्ट पार्टी सरकारमा जाने र कम्युनिस्ट व्यवस्था आएको भन्नेबारे चिनियाँ क्रान्तिका महान् नेता माओ चेतुङको विचार मननयोग्य छ । पेरिस कम्युनको स्थापनाको शतवार्षिकी उपलक्ष्यमा सन् १९७१ मा चीनको सरकारी मुखपत्र, पार्टी मुखपत्र, जनमुक्ति सेनाको मुखपत्र, युवा, महिला आदिका वर्गीय सङ्गठनका मुखपत्र सबैमा एउटै सम्पादकीय प्रकाशित गरिएको थियो । माओ चेतुङको रचना भनी विश्वास गरिएको उक्त सम्पादकीय लेखको सारांश यस प्रकार थियो:

‘आजसम्म कुनै पनि देशमा संसदीय आमनिर्वाचनबाट जितेर कम्युनिस्ट पार्टीले सरकार बनाएको एउटा पनि घटना छैन । पछि कुनै बेला कुनै ठाउँमा यस्तो सरकार अर्थात् निर्वाचनबाट कम्युनिस्ट पार्टीको सरकार आई हाले पनि त्यसलाई कम्युनिस्ट व्यवस्था भन्न मिल्दैन । त्यो त प्रतिक्रियावादी राज्य–संरचनाअन्तर्गतको सरकारमा कम्युनिस्ट पार्टी पुगेको मात्र ठहरिन्छ ।

त्यसले केही गर्न सक्छ कि सक्दैन भन्ने अर्को कुरा, त्यस्तो सरकार धेरै समय टिक्न पनि सक्दैन । कम्युनिस्ट पार्टी सरकारमा पुगेको स्थितिमा सबै प्रतिक्रियावादी र यथास्थितिवादी शक्ति मिलेर संसदीय प्रक्रियाअन्तर्गत नै अविश्वास प्रस्तावद्वारा वा अनेक षड्यन्त्रद्वारा त्यस्तो सरकारलाई गिराइछाड्छन् । सकिएन भने सेनालाई हातमा लिएर वा सेनाको पछि लागेर सेनासित मिली सैनिक कूद्वारा त्यस सरकारलाई पक्कै फाल्दछ ।’

यो कथनको सत्यता हाम्रो देशमा दुई पटकको घटनाबाट, मनमोहन अधिकारीको सरकार र प्रचण्डको सरकार ढलेका घटनाबाट सिद्ध भइसकेको छ ।

अब, महत्त्वपूर्ण प्रश्न के उठ्छ भने, सर्वहारा अधिनायकत्व सङ्क्रमण अवधिभरि रहन्छ भने (कहिलेसम्म कायम राख्ने भन्ने होइन, कहिलेसम्म रहन्छ भन्ने, किनभने समाज विकासको क्रमको अध्ययनबाट कहिलेसम्म रहन्छ भनी जान्ने हो) अर्थात् समाजवादी समाजको स्थापना नभएसम्म रहने हो भने, समाजवादको विजय नभएसम्म यो अधिनायकत्व निश्चय पनि रहन्छ । कसैकसैको विचारमा भने सर्वहारा अधिनायकत्व साम्यवादी समाजको स्थापना नभएसम्म नै रहन्छ । त्यति लामो समयसम्मको कुरा नगरी पूर्ण रुपले समाजवादको स्थापना हुने समयसम्म मात्र भनी माने पनि यो समय त्यति छोटो हुँदैन । पश्चिमी युरोपको पुँजीवादको चरम विकास भइसकेको र औद्योगीकरण पनि उच्च स्तरमा पुगिसकेको र किसान वर्ग करिब करिब विलीन भइसकेको वा कृषि मजदुर वर्गमा परिणत भइसकेको अवस्थामाथि विचार गरी मार्क्सले भन्नुभयो, ‘वर्ग–सङ्घर्षको अनिवार्य परिणाम सर्वहारा अधिनायकत्व हो ।’ ‘समाज–विकासको क्रममा यो आइहाल्छ’ ‘तर यसको अवधि छोटो समयको निम्ति मात्र रहन्छ ।’

सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरेदेखि ‘पूर्ण रुपले समाजवादको स्थापना नभएसम्म’, अर्को शब्दमा, समाजवादी क्रान्ति सम्पन्न नभएसम्मको सङ्क्रमण अवधिभरि सर्वहारा अधिनायकत्व रहने अवधि हो ।

विभिन्न देशको समाजको स्थिति हेरी यो अवधि लामो–छोटो हुन्छ, तर यो अधिनायकत्त्व जरुर आउँछ । किनभने सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरेदेखि ‘पूर्ण रुपले समाजवादको स्थापना नभएसम्म’, अर्को शब्दमा, समाजवादी क्रान्ति सम्पन्न नभएसम्मको सङ्क्रमण अवधिभरि सर्वहारा अधिनायकत्व रहने अवधि हो ।

सर्वहारा वर्गले राज्यसत्ता कब्जा गर्नासाथ समाजवादी क्रान्ति सम्पन्न भएको भन्न मिल्दैन, त्यो त क्रान्ति सुरु भएको मात्र भन्न मिल्छ । सन् १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिद्वारा लेनिनले सोभियतसङ्घ स्थापना गरेको महान् घटनालाई स्तालिनले ‘क्रान्ति सम्पन्न भएको होइन, क्रान्ति सुरु भएको मात्र हो’ भनी व्याख्या गर्नुभएको छ । उहाँको विचारमा क्रान्तिको अर्थ परिर्वतन हो, आमूल परिवर्तन हो, अक्टोबर क्रान्तिबाट स्थापित सर्वहारा राज्यको पहलबाट सोभियत समाजमा आमूल परिवर्तन कार्य सुरु भएकाले त्यसलाई ‘क्रान्तिको सुरु’ भनी मान्नुपर्दछ ।

त्यसो भए समाजवादी क्रान्ति सम्पन्न भएको वा समाजवादी समाजको स्थापना भएको भनी कुन बिन्दुलाई मान्ने त ? समाजवादको विजय भयो वा समाजवादी क्रान्ति पूरा भयो भनी मान्ने अवस्था भनेको ‘मजदुर वर्ग र किसान वर्गबीचको भेद हटिसकेर मध्यमवर्गीय जनताले समाजवादी क्रान्तिलाई पूर्ण समर्थन गर्ने अवस्था’ हो । मध्यमवर्गीय जनता भनेको कारण समाजवादमा वर्गहरू बाँकी नै रहन्छन्, वर्गीय शोषण र वर्गीय भेद मात्रै हटिसकेको हुन्छ, वर्ग विभाजन त बाँकी नै रहन्छ । यो समाजवादी समाज भनेको त साम्यवादी समाज वा वर्गीय विभाजन नै हटिसकेको वा वर्गहिन समाजमा पुग्ने सङ्क्रमण मात्रै हो । यो बिन्दु अर्थात् पुँजीवादी व्यवस्था ढलेदेखि समाजवादको निर्माण पूरा हुने अवधिसम्मको सङ्क्रमण अवधि ‘सर्वहारा अधिनायकत्व रहने सङ्क्रमण अवधि’ मात्रै हो । पश्चिमी युरोपभन्दा पिछडिएको पुँजीवादी समाजमै यो अवधि मार्क्सले सोच्नुभएको अवधिभन्दा लामो हुन्छ भनी लेनिनले ठान्नुभयो भने सामान्तवाद निर्मूल भइनसकेको, पुँजीवादी क्रान्तिको अभिभारा पूरा भइनसकेको समाजमा सर्वहारा वर्गको पार्टी कम्युनिस्ट पार्टीले राज्यसत्ता कब्जा गरी क्रान्तिलाई अगाडि बढाइरहेको ठाउँमा सर्वहारा अधिनायकत्वको अवधि लेनिनले रुसका लागि सोच्नुभएको अवधिभन्दा पनि पक्कै लामो हुन्छ ।

सर्वहारा वर्गको अधिनायकत्व भन्नु त्यही वर्गको अधिनायकत्व हो, यसलाई कम्युनिस्ट पार्टीको अधिनायकत्व भनी ठान्नुहुँदैन । त्यस्तो ठान्न पुग्यो भने, त्यो क्रम बढ्दै गएर पार्टीको केन्द्रिय समितिको अधिनायकत्व मतलब केन्द्रिय नेताहरूको अधिनायकत्व हुन पुग्छ ।

एकातिर, ‘सर्वहारा अधिनायकत्व’को धारणालाई सही ढङ्गले नबुझेर त्यसलाई कुनै ‘क्रुर तानाशाही’ वा ‘दानवी अत्याचारी दमन’ ठानी त्यसको विरोध गर्नेहरू छन् । अर्कोतिर, यसका ‘उत्साही समर्थक’मध्ये पनि यसको सैद्धान्तिक आधार नबुझी त्यसको अभ्यासमा विकृति ल्याएर ‘सर्वहारा अधिनायकत्व’को नाममा आफ्नो हुकुमी शासन लाद्न खोज्ने पनि छँदैछन् । यो अधिनायकत्व शोषक वर्गको अधिनायकत्वलाई अन्त्य गर्न चलाइने अधिनायकत्व हो । अर्को शब्दमा भनौं भने ‘शोषण र दमनको अधिनायकत्वको संयन्त्र’लाई सधैँका लागि अन्त्य गर्न, त्यस्तो अधिनायकत्वलाई भत्काउन, ‘बलप्रयोगको परम्परालाई अन्त्य गर्न प्रयोग गरिने बलप्रयोग’ हो । अर्काको अधिनायकत्व वा बलप्रयोग वा मनोमानीलाई हटाएर आफ्नो बलप्रयोग कायम गर्ने अधिनायकत्व नै सर्वहारा अधिनायकत्व हो ।

सर्वहारा अधिनायकत्व वर्ग–सङ्घर्षको अनिवार्य परिणाम भन्नुको अर्थ जनताको अधिकारको सुरक्षाका लागि प्रयोग गरिने अधिनायकत्व हो, जनतालाई दमन गर्ने अधिनायकत्व होइन । सर्वहारा वर्गको अधिनायकत्व भन्नु त्यही वर्गको अधिनायकत्व हो, यसलाई कम्युनिस्ट पार्टीको अधिनायकत्व भनी ठान्नुहुँदैन । त्यस्तो ठान्न पुग्यो भने, त्यो क्रम बढ्दै गएर सर्वहारा अधिनायकत्व भन्नु सर्वहाराको पार्टी (कम्युनिस्ट पार्टी)को अधिनायकत्व हुनपुग्छ । र, पार्टीको अधिनायकत्व भनेको पनि पार्टीको केन्द्रिय समितिको अधिनायकत्व मतलब केन्द्रिय नेताहरूको अधिनायकत्व हुन पुग्छ । यस्तो बुझाइ र प्रवृत्तिबाट जनतामाथि रजाइ गर्ने मालिक वर्गको जन्म हुनजान्छ । यही विकृतिको विरोध गर्न ‘सर्वहारा समाजवादी क्रान्तिको आरम्भको घोषणा’ गर्दा माओ चेतुङले ‘पार्टीको हेडक्वार्टरमाथि बम प्रहार गर’ भन्ने आह्वान गरे । यो नारा अराजकतावादी नारा थिएन, जनताको श्रमिक जनताको वा सर्वहारा वर्गको सेवा गर्नुपर्ने पार्टीको ‘हेडक्वार्टर’ वा केन्द्रिय नेतृत्वले जनतामाथि रजाइँ गर्न खोजेकाले त्यसलाई बम प्रहार गर वा जनताले विद्रोह गरी खतम पार भनेको हो ।

* यो लेख नेपालमा मनमोहन अधिकारीले नेतृत्वमा नेकपा (एमाले)को सरकार बन्नुभन्दा पहिलेको लेखिएको थियो ।