'२०४६, चैत्र ३' को सम्झनामा कविता गोष्ठी

नेपालको राजनीतिक परिवर्तनका लागि गरिएको आन्दोलनको समर्थनमा पञ्चायती व्यवस्थाको अन्त्यको आह्वान गर्दै कवि लेखकहरूले २०४६ साल चैत्र ३ गते मुखमा कालोपट्टी बाँधेर काठमाडौँको त्रिचन्द्र कलेजको सरस्वती सदनमा मौन धर्ना दिएका थिए । सोही ऐतिहासिक दिनको सम्झनामा चैत्र ९ गते राजधानीमा कविता गोष्ठीको आयोजना गरिएको छ ।

उक्त गोष्ठीमा कविहरू अशेष मल्ल, अमर गिरी, अनिता लामा, कर्णाद महर्षी, जगदीशचन्द्र भण्डारी, नन्दु उप्रेती, पुरुषोत्तम सुवेदी, भुवन ढुङ्गाना, मातृका पोखरेल, मित्रलाल पज्ञानी, रघु पन्त, रजनी ढकाल, राजव, राजेन्द्र शलभ,  विमल निभा, विष्णुविभु घिमिरे, विवश वस्ती, डाक्टर सरोज धिताल , सुलोचना मानन्धर,  स्नेह सायमी,  हरिगोविन्द लुइँटेल आआफ्ना कविता वाचन गरेका थिए भने धिरेन्द्र प्रेमर्षी, गंगा कर्मचार्य पौडेलले गजल प्रस्तुत गरेका थिए ।

चैत्र ३, २०४६ को कार्यक्रममा सहभागी लेखक कलाकार सहितका श्रोताहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा कवि स्नेह सायमीले २०४६ साल चैत्र ३ को आन्दोलनको चर्चा  गर्दै सहभागीहरूलाई स्वागत गरेका थिए । साहित्यकार एवम् प्रतिनिधिसभा सदस्य, एमाले साहित्य, कला तथा संस्कृति विभागका इन्चार्ज रघुजी पन्तले चैत्र ३ लाई सम्झनु पर्ने आवश्यकतामाथि प्रकाश परेका थिए । कार्यक्रमका बारेमा चर्चा गर्दै पन्तले राजनीतिक पार्टीहरू आआफ्नो भिन्न भिन्न बाटोमा हिँडिरहन्छन् तर लेखक कलाकारहरू हिड्ने बाटो एउटै हुन्छ, विगतमा यस्तै भएको थियो र २०४६ सालको आन्दोलनलगायतका आन्दोलनहरू सफल भएका हुन् भन्दै देश, जनता र समयको आवश्यकता परिपुर्तिका लागि वर्तमानमा र आगामी दिनमा पनि लेखक कलाकारहरू एउटै बाटोमा हिँड्नु पर्ने विचार व्यक्त गरेका थिए ।

नेकपा एमाले संस्कृति विभाग र राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष कलाकार प्रेमनाथ अधिकारीले गरेका थिए भने अमृत खाती, लक्ष्मी गुरुङ एवम् सुसेला परिवारका रन्जन बाबुलगायतका कलाकारहरूले गीतहरू प्रसतुत गरेका थिए । कार्यक्रममा उपस्थित सबै लेखक कलाकार एवम् अन्य सम्पूर्ण श्रोतालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै कार्यक्रम आरम्भ गरिएको थियो । कार्यक्रमको संचालन विभागका सचिव राजेश थापाले गरेका थिए ।

स्मरण रहोस्, पञ्चायती निरंकुशताविरुद्धको २०४६ चैत्र ३ को धर्ना कार्यक्रममा त्यसबेलाका चर्चित लेखक, साहित्कार तथा कलाकारहरु सहभागी भएका थिए । युद्धप्रसाद मिश्र, पारिजात, बाशुशशि, कमल दीक्षित, आनन्ददेव भट्ट, बेन्जु शर्मा, रामेश, अशेष मल्ल, रायन लगायत पुराना र नयाँ सयौँ लेखक कलाकारहरू सहभागी भएको त्यो धर्ना आरम्भ हुनेबित्तिकै प्रहरीले हस्तक्षेप गरी उपस्थित लेखक, साहित्यकार कलाकारहरूलाई गिरफ्तार गरेको थियो । त्यो मौन धर्ना र गिरफ्तारीको घटनाले त्यसबेलाको जनआन्दोलनमा नयाँ उर्जा थपिएको थियो । आन्दोलनमा विभिन्न पेशामा आबद्ध मानिसहरूको सहभागिता व्यापक भएको थियो ।