देशभक्तका लागि फाँसी सर्वोच्च पुरस्कार होः भगतसिंह

‘व्रिटिश शासनका लागि मरेका भगतसिंह जीवित भगतसिंहभन्दा बढी खतरनाक हुनेछ’

धेरैलाई भ्रम छः भारतले व्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गर्नका लागि अहिंसात्मक आन्दोलनको कारण मात्रै सम्भव भएको हो । वास्तवमा यो आधा अधुरो सत्य हो । भारतको स्वतन्त्रताको लागि निश्चय पनि गान्धीको अहिंसात्मक आन्दोलनको ठूलो योगदान छ, तर भारतमा दमनकारी, अत्याचारी साम्राज्यवादी व्रिटिश शासनका विरुद्ध हिंसात्मक आन्दोलनको नेतृत्व गरेका सुभाषचन्द्र वोस, भगतसिंह, सुखदेव, राजगुरु, चन्द्रशेखर लगायतका वीर क्रान्तिकारीहरुको पनि उत्तिकै योगदान छ ।

अहिंसाको बलले मात्रै हिंसात्मक व्रिटिश शासनसत्तालाई ढलाउन सकिन्न भन्ने कुरामा भगत सिंह र उनका साथीहरु प्रष्ट थिए । भगतसिंहले एउटा प्रसङ्गमा भनेका पनि थिए, ‘बहिरो व्रिटिश सत्तालाई आफ्नो आवाज सुनाउनका लागि ठूलो धमाकाको जरुरत छ ।’ व्रिटिशहरुको हिंसात्मक दमनलाई हिंसात्मक प्रतिरोध हुने चेतावनी दिनका लागि पनि भगतसिंह र उनका साथीहरुले एसेम्ब्ली हलमै बम विस्फोट गराएका थिए । चाहेका हुन्थे भने उनीहरु भाग्न पनि सक्थे, तर उनीहरु भागेनन् । भारतीय स्वतन्त्रता आन्दोलनतिर विश्वको ध्यान आकर्षित गर्न उनीहरुले स्वेच्छाले गिरफ्तारी दिए । उनीहरुलाई आफ्नो जीवन खतरामा पर्ने बोध थियो तर देशभक्तिका भावनाले ओतप्रोत भगतसिंह, सुखदेव, राजगुरुहरुले अरु नवयुवाहरुको अन्तरआत्मामा क्रान्तिको मसाल जलाउन हाँसीहाँसी फाँसीको बाटो रोजे ।

क्रान्ति, आन्दोलन र राजनीतिलाई सत्तास्वार्थको फोहोरी खेलमा साट्ने हुण्डरी चलिरहेको बेला भगतसिंहका विचार र बलिदान हाम्रा लागि पनि एउटा सिक्न लायकको पाठ हुन सक्छ भन्ने हामीलाई लाग्छ । आज भगतसिंहको बलिदानी दिवसको अवसरमा हामीले उनको प्रखर देशभक्तिलाई उजागार गर्ने तलको प्रसङ्ग ‘शहीदेआजम की जेलनोटबुक’बाट साभार अनुदित गरी प्रकाशित गरेका छौं ।

दायित्वबोध

भावना कहिल्यै मदैन !

त्यो जुलाइ १९३० को अन्तिम आइतबार थियो । भगतसिंह लाहौंर सेन्ट्रल जेलबाट हामीसँग भेटघाट गनृका लागि बोस्र्टल जेल आएका थिए । उनी अरु अभियुक्तहरुसँग बचाउको तरिकाबारे कुराकानी गर्नुछ भन्ने तर्कको आधारमा सरकारबाट यो सुविधा प्राप्त गर्न सफल भएका थिए । त्यो दिन हामी कुनै राजनीतिक विषयमाथि बहस गरिरहेका थियौं । हाम्रो कुराकानी फैसलातिर मोडियो । हामी सबै त्यही कुराको अधीरताका साथ प्रतीक्षा गरिरहेका थियौं । ख्याल ख्याल गर्दै हामी एक अर्काका विरुद्ध फैसला सुनाउन थाल्यौं, राजगुरु र भगतसिंहलाई चाहिँ त्यो फैसलाबाट मुक्त राख्यौं । हामीलाई थाहा थियो उनीहरुलाई फाँसीमा झुण्ड्याइनेछ ।

‘अनि राजगुरु र मेरो फैसला? के तपाईंहरु हामीलाई रिहा गर्दै हुनुहुन्छ ? मुस्कुराउँदै भगतसिंहले सोधे ।

कसैले कुनै जवाफ दिएनन् ।

“हाम्रो गर्धनमा फाँसीको फन्दा त्यसबेलासम्म झुण्ड्याइयोस्, जबसम्म हामी नमरौं । यो हो वास्तविकता । मलाई यो थाहा छ । तिमीहरुलाई पनि थाहा छ । फेरि यो तथ्यबारे आँखा किन बन्द गर्छौ ?”

‘वास्तविकतालाई स्वीकार्न डर लाग्छ ?’ मसिनो स्वरमा उनले सोधे । त्यहा मौनता छाइरह्यो ।

हाम्रो मौनतामा उनले अट्टहास गर्दै भने, “हाम्रो गर्धनमा फाँसीको फन्दा त्यसबेलासम्म झुण्ड्याइयोस्, जबसम्म हामी नमरौं । यो हो वास्तविकता । मलाई यो थाहा छ । तिमीहरुलाई पनि थाहा छ । फेरि यो तथ्यबारे आँखा किन बन्द गर्छौ ?”

भगतसिंह आफ्नोपनमा आइसकेका थिए । उनी विस्तारै बोलिरहेका थिए । यो उनको तरिका थियो । सुन्नेवालालाई लाग्थ्यो कि उनी फकाउने कोशिश गरिरहेका छन् । चिच्याएर बोल्ने उसको बानी थिएन । यही शायद उनको शक्ति पनि थियो ।

उनीहरु ठान्दछन् कि मेरो पार्थिव शरीरलाई नष्ट गरेर उनीहरु यस देशमा सुरक्षित रहनेछन् । यो उनीहरुको भूल हो । उनीहरुले मलाई मार्न सक्छन् तर मेरो विचारलाई मार्न सक्दैनन् ।

उनी आफ्नो स्वभाविक अन्दाजमा बोल्न जारी राखे, “देशभक्तिका लागि यो सर्वोच्च पुरस्कार हो । र मलाई गर्व छ कि मैले यो पुरस्कार पाउन लागिरहेको छु । उनीहरु ठान्दछन् कि मेरो पार्थिव शरीरलाई नष्ट गरेर उनीहरु यस देशमा सुरक्षित रहनेछन् । यो उनीहरुको भूल हो । उनीहरुले मलाई मार्न सक्छन् तर मेरो विचारलाई मार्न सक्दैनन् । उनीहरुले मेरो शरीरलाई कुल्चिन सक्छन् तर मेरो भावनाहरुलाई कुल्चन सक्ने छैनन् । व्रिटिश शासनको टाउकोमा मेरो विचार त्यसबेलासम्म एउटा अभिशाप जस्तै मँडारिइरहनेछ, जसबसम्म उनीहरु यहाँबाट भाग्न मजबूर हुने छैनन् ।”

भगतसिंह पूरै आवेशमा बोलिरहेका थिए । केही समयका लागि हामीले यो कुरा बिर्स्यौं कि हामीसामु बसेका मानिस हाम्रा सहयोद्धा हुन् । उनी बोलिरहेका थिए, “तर यो तस्विरको एउटा पाटो हो । अर्को पाटो पनि उत्तिकै उज्ज्वल छ । व्रिटिश शासनका लागि मरेका भगतसिंह जीवित भगतसिंहभन्दा बढी खतरनाक हुनेछ । मलाई फाँसी दिएपछि मेरो क्रान्तिकारी विचारहरुको सुगन्ध हाम्रो यस मनोहर देशको वातावरणमा व्याप्त हुनेछ । त्यसले नवयुवाहरुलाई मदहोश तुल्याउने छ र उनीहरु स्वतन्त्रता र क्रान्तिका लागि पागल भएर उठ्नेछन् । नवपयुवाहरुको यही पागलपनले नै व्रिटिश साम्राज्यवादीहरुलाई विनाशको मुखमा पुर्याइदिनेछ । यो मेरो दृढ विश्वास हो । म अधीरताका साथ त्यो दिनको प्रतीक्षा गरिरहेको छु जब मलाई देशका लागि मेरा सेवाहरु र जनताप्रति मेरो प्रेमको सर्वोच्च पुरस्कार मिल्नेछ ।”

मलाई फाँसी दिएपछि मेरो क्रान्तिकारी विचारहरुको सुगन्ध हाम्रो यस मनोहर देशको वातावरणमा व्याप्त हुनेछ । त्यसले नवयुवाहरुलाई मदहोश तुल्याउने छ र उनीहरु स्वतन्त्रता र क्रान्तिका लागि पागल भएर उठ्नेछन् ।

भगतसिंहको भविष्यवाणी एक सालभित्र सत्य साबित भयो । उनको नाम मृत्युलाई चुनौती दिने साहस, बलिदान, देशभक्ति र संकल्पशीलताको प्रतीक बन्यो । समाजवादी समाजको स्थापना गर्ने उनको सपना शिक्षित युवाहरुको सपना बन्यो र ‘इन्कलाब जिन्दावाद’को उनको नारा समग्र राष्ट्रको युद्धनाद भयो । १९३०–३२ मा जनता एकजुट भएर खडा भए । कारागार, कोर्रा, लठ्ठीहरुको प्रहारले उनीहरुको मनोबललाई तोड्न सकेन । यही भावना, योभन्दा पनि माथिल्लो स्तरमा, ‘भारत छोड’ आन्दोलनको बेलामा देखियो । भगतसिंहका नाम ओठमा र उनका नारा आफ्ना झण्डाहरुमा लिएर किशोर र बच्चाहरुले गोलीहरुको सामना यस तरिकाले गरे मानौं उनीहरु नौनीले बनेका हुन् । पूरा राष्ट्र पागल भएका थिए । र फेरि आयो १९४५–४६ को समय, जब विश्वले एउटा अलग्गै नयाँ भारले कोल्टे फेर्दै गरेको देखे । मजदूर, किसान, छात्र, नवयुवक, नौसेना, थलसेना, वायुसेना र पुलिससम्म, सबै कडा प्रहार गर्नका लागि आतुर थिए । निष्क्रिय प्रतिरोधको स्थान सक्रिय जवाबी हमलाले लियो । बलिदान र यातनाहरुलाई सहने जुन भावना १९३०–३१ सम्म केही नवयुवाहरुमा मात्रै सीमित थिए, अब समग्र जनतामा देखिन थालेको थियो । व्रिदोहको भावनाले पूरा राष्ट्रलाई आफ्नो कब्जामा लिएको थियो । भगतसिंहले ठीकै नै त भनेका थिए, “भावना कहिल्यै मर्दैन ।” त्यसबेला पनि त्यो मरेको थिएन ।

Image soruce: https://www.newssamachar.com

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।