पोखरा विश्वविद्यालयका चुनौती र समाधानका उपायहरु

चुनौतिलाई नस्वीकारेर ‘मेरो गोरुको बाह्रै टक्का' भनेर बस्न सकिने स्थिति नभएको हुदाँ यस भूमण्डलीकरणलाई अवसरमा बदल्नको लागि हामी सबैको सोच र व्यवहारमा सकारात्मक परिवर्तनको जरुरी छ ।

नेपालका विश्वविद्यालयहरु राजनैतिक भागबण्डाको शिकार भएका छन् र राजनैतिक स्वार्थ विश्वविद्यालयको समग्र क्रियाकलापमा हावी भएका छन्। क्षमता; प्राज्ञिक छवि र प्राज्ञिक नेतृत्व दिन सक्षम भएको आधारमा भन्दा पनि कुनै न कुनै तवरले राजनैतिक दलसँगको सम्बद्धताको आधारमा विश्वविद्यालयको नेतृत्वदायी पदमा पुग्ने वा पुर्‍याइने अवस्थाबाट विश्वविद्यालयहरु अझै मुक्त नभएको भनी शिक्षाविद्हरुले चिन्ता गरिरहेकै देखिन्छ।

यसपटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले “राजनैतिक भागबण्डा नगरिने” अभिव्यक्ति दिएको भए तापनि हालको त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिले पनि राजनैतिक भागबण्डा र/वा दलगत आस्थाको आधार प्रष्ट देखिएको भन्ने आलोचनालाई मिथ्या सावित गर्ने आधार देखिँदैन।

उल्लिखित पृष्ठभूमिमा; २०६५ सालमा पोखरा विश्वविद्यालय प्राध्यापक संघको आयोजनामा भएको “पोखरा विश्वविद्यालयका चुनौती र समाधानका उपायहरु” विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा डा. राजेन्द्रप्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको कार्यपत्र हामीले यहाँ प्रस्तुत गरेका छौं । उक्त कार्यपत्रले आजभन्दा १५ वर्ष अघिको नेपालको उच्च शिक्षाको अवस्थालाई बुझ्न सघाउ त पुग्ने नै छ, यसले त्योभन्दा आधारभूत रुपमा फरक भइनसकेकाे अहिलेका उच्च शिक्षा प्रदायक संस्थाहरुको अवस्थालाई समेत बुझ्न सघाउ पुर्‍याउने हामीले ठानेका छौं । त्यसमाथि थप अहिले १०+२ को पढाइपछि नै विदेशमा गई पढन् चाहनेहरुको चाप बढिरहेको मात्र नभई नेपालका विश्वविद्यालयहरुमा भर्ना भई अध्ययन गर्न समेत विद्यार्थीहरुको रुचि घट्दै गइरहेको सन्दर्भमा नेपालको समग्र उच्च शिक्षाको वातावरण बुझ्नका लागि समेत यो कार्यपत्र उपयोगी हुने हामीले ठानेका छौं ।– दायित्वबोध

१. विषय प्रवेश

बहु-विश्वविद्यालयको अवधारणा अनुरुप देशमा महेन्द्र संस्कृत विश्वविद्यालय ऐन‚ २०४३ द्वारा महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय ऐन; २०४८ द्वारा काठमाण्डौ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय ऐन; २०५० द्वारा पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय ऐन; २०५३ द्वारा पोखरा विश्वविद्यालय स्थापना भएको हो भने वि.सं. २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई “नेपालको सर्वाङ्गगीण विकासको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न, स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र विकास गर्न, कला, विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक एवं व्यावहारिक र समय सापेक्ष बनाउने क्रममा त्रिभुवन विश्वविद्यालयलाई बढी सक्षम बनाउन वाञ्छनीय भएकोले” भनि वि.सं. २०२८ सालको त्रिभुवन विश्वविद्यालय ऐन २०२८ लाई खारेज गरी वि.सं. २०४९ सालमा नयाँ त्रिभुवन विश्वविद्यालय ऐन ल्याई त्रिभुवन विश्वविद्यालयलाई पनि नयाँ विश्वविद्यालय सरह आधुनिक बनाउने प्रयास गरेको पाइन्छ । यसपछि देशमा बिभिन्न विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठानहरु छुट्टा-छुट्टै ऐनद्वारा गठन भएका छन् । यसरी हेर्दा देशले अंगिकार गरेको बहुविश्वद्यिालयको अवधारणा अनुरुप परिमार्जित भएका र नयाँ स्थापित भएका विश्वविद्यालयहरु मध्ये पोखरा विश्वविद्यालय पनि देशको आवश्यकता पूरा गर्न अन्य विश्वविद्यालय सरह स्थापित भएको विश्वविद्यालय हो ।
यतिखेर पोखरा विश्वविद्यालयले आफ्नो स्थापनाको एक दशक पूरा गरीसकेको छ भने यहि अवधिमा देश ठूलो राजनैतिक परिवर्तनबाट समेत गुज्रिरहेको छ । यस स्थितीमा पोखरा विश्वविद्यालयका चुनौतिहरु केलाउने कार्य आफैँमा चूनौति पूर्ण हुदाँहुदै पनि यो प्रयास सान्दर्भिक एवं पोखरा विश्वविद्यालयको उन्नति र विकासको लागि एक महत्वपूर्ण कदम हुनेछ भन्ने विश्वास सहित यो कार्यपत्र तयार पारिएको छ ।

२. पोखरा विश्वविद्यालयको वर्तमान स्थिति

“उच्चशिक्षामा निजी क्षेत्रको सहभागितामा अत्याधिक बृद्धि गरी कला, विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, प्राविधिक तथा अन्य व्यावसायिक विषयमा गुणात्मक एवं स्तरयुक्त उच्चशिक्षाको अवसर सबै क्षेत्रका सर्वसाधारणलाई सर्वसुलभरुपमा उपलब्ध गराई राष्ट्रिय बिकासमा दक्ष जनशक्तिको आपूर्तिलाई सुनिश्चित तुल्याउन र प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तरमा अभिवृद्धि गर्दै देशको शैक्षिक एवं प्राज्ञिक वातावरणलाई बढी स्वच्छ, मर्यादित र उपलब्धिमूलक तुल्याउन" पोखरा विश्वविद्यालय लेखनाथ नगरपालिका, पोखरामा स्थापना भएको हो । ऐनमा भएको व्यवस्था अनुसार पोखरा विश्वविद्यालयको सांगठनिक ढाँचा यस प्रकारको छ :

(क) विश्वविद्यालय सभा

(ख) प्राज्ञिक परिषद्

(ग) कार्यकारी परिषद्

(घ) सेवा आयोग

(ङ) संकाय

(च) बिद्या परिषद्

(छ) अनुसन्धान केन्द्र

(ज) क्याम्पस

(झ) पाठ्यक्रम विकास केन्द्र र

(ञ) तोकिएका अन्य निकायहरु

यसै गरी विश्वविद्यालयमा निम्न पदाधिकारीहरु रहने व्यवस्था समेत ऐनले गरेको छ :

(क) कुलपति

(ख) सह – कुलपति

(ग) उपकुलपति

(घ) सेवा आयोगको अध्यक्ष

(ङ) रजिष्ट्रार

(च) डीन

(छ) अनुसन्धान केन्द्रको प्रमुख

(ज) क्याम्पस प्रमुखहरु

(झ) पाठ्यक्रम बिकास केन्द्रका प्रमुख

   (ञ) तोकिएका अन्य पदाधिकारीहरु

उल्लिखित व्यवस्था अनुसार हेर्दा पोखरा विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा विश्वविद्यालय सभा रहको छ जसको अध्यक्षता कुलपतिले गर्नेछन् । ऐनको व्यवस्था अनुसार प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुनेछन् भने सहकुलपति शिक्षा मन्त्री (वा राज्यमन्त्री) हुनेछन् । उपकुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारीको रुपमा रहनेछन् ।
विश्वविद्यालयलाई क्याम्पसहरुको स्थापना र संचालन गर्ने (दफा १८), निजी क्षेत्रमा कुनै क्याम्पसले विश्वविद्यालयसँग सम्वन्धन प्राप्त गरी संचालन हुन चाहेमा सम्बधन प्रदान गर्ने (दफा २०) र अन्य विश्वविद्यालयको कुनै आंगिक क्याम्पसलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा संचालन गर्न सक्ने विशेष व्यवस्था (दफा २१) ऐनले दिएको छ । यसै अनुरुप, हाल पोखरा विश्वविद्यालयका दुईवटा आंगिक क्याम्पसहरु र एक कार्यक्रम (जनसंख्या विकास तथा लैङ्गिक कार्यक्रम) र २३ वटा सम्बन्धनप्राप्त कलेजहरु संचालनमा रहेको छन् (हेर्नुहोस् अनुसूचि १)। हाल विश्वविद्यालयले अनुसूचि २ मा उल्लेख गरिएका कार्यक्रमहरु संचालन गरिरहेको छ र ५००० भन्दा बढी विद्यार्थीहरु यस विश्वविद्यालय अर्न्तगत अध्ययनरत छन् ।
विश्वविद्यालय संचालनको निमित्त आवश्यक रकम निम्‍न अनुसार प्राप्त हुने समेत ऐनले व्यवस्था गरेको छ :

(क) सरकारबाट प्राप्त अनुदान रकम,

(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा, दान, दातव्य वा आर्थिक सहायता स्वरुप प्रदान गरेको रकम,

(ग) विदेशी सरकार, अन्तराष्ट्रिय संघसंस्था, वित्तिय संस्था वा व्यक्तिबाट ऋण एवं सहयोग स्वरुप प्राप्त रकम,

(घ) शुल्क तथा अन्य कुनै स्रोतबाट प्राप्त रकम

सरकारबाट प्राप्त अनुदान रकम विश्वविद्यालय संचालनको लागि पर्याप्त नहुने र विश्वविद्यालय संचालनको लागि आवश्यक रकम निजी शिक्षण संस्थाहरुबाट प्राप्त हुने सम्बन्धन शुल्क, परीक्षा शुल्क लगायतका शुल्क प्रमुख रुपमा रहेको छन् ।
 

३. विश्वविद्यालयले गर्ने प्रमुख कामहरु

उच्च शिक्षा प्रदान गर्ने जिम्मेवार निकायको रुपमा पोखरा विश्वविद्यालयले गर्ने मुख्य काम भनेको उपाधि र प्रमाणपत्र दिने तथा समकक्षता र स्तर निर्धारण गर्ने (दफा ३१) नै हो । हाल पोखरा विश्वविद्यालयले ध्यान दिनुपर्ने कामका प्रमुख क्षेत्रहरु निम्न अनुसार छन् :

(क) विद्यार्थी  भर्ना (Admission)

(ख) सम्बन्धन (Affiliation)

(ग) परीक्षा प्रणाली (Examination), र

(घ) पाठ्यक्रम बिकास (Curriculum)

यी बुदाँहरु माथि यस कार्यपत्रमा चर्चा गर्न नसकिने भएकोले बुदाँगत रुपमा छुट्टै चर्चा गर्नु पर्ने देखिन्छ।

४. पोखरा विश्वविद्यालयका चुनौतिहरु

विश्वविद्यालयका चुनौतिबारे कुरा गर्न विश्वविद्यालय र यसलाई प्रभाव पार्ने तत्वहरुको बारेमा चर्चा गर्न जरुरी हुन्छ । एक प्रणाली (System) को रुपमा विश्वविद्यालय आफैँ भित्रका उप- प्रणालीहरु (Sub-system) र आफुभन्दा बाहिरका तत्वहरु दुबैबाट प्रभावित भएको हुन्छ । विश्वविद्यालय र यसलाई प्रभाव पार्ने बाह्य तत्वहरु (बाह्य वातावरण) निम्न अनुसार छन् जसलाई चित्र नं. १ मा प्रस्तुत गरिएको छ :

(क) राजनैतिक अवस्था (Politic environment)

(ख) भूमण्डलीकरण (Globalization)

(ग) सामाजिक-सांस्कृतिक अवस्था (Socio-cultural Environment)

(घ) आर्थिक अवस्था (Economic environment)

 

चित्र नं. १ विश्वविद्यालय र यसको बाहिरी वातावरण

  • राजनैतिक अवस्था

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था र विश्वविद्यालयको प्रमुख कार्यकारी उपकुलपति प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्थाको कारण र देशको राजनैतिक संक्रमणको अवस्थाले गर्दा हाम्रा विश्वविद्यालयहरु विगतमा भन्दा बढी राजनैतिक रुपबाट प्रभावित एवं निर्देशित हुन पुगेका छन् । उदाहरणको लागि, जनआन्दोलनको अवधि २०६२ चैत्र देखि २०६४ जेठसम्मको लामो अवधि पोखरा विश्वविद्यालय आफैँ पदाधिकारी बिहिन बन्न पुग्यो भने राजनैतिक परिवर्तन पछि देशका महत्वपूर्ण विश्वविद्यालयका पदाधिकारीहरु स्पष्ट रुपमा राजनैतिक भागवण्डाको आधारमा नियुक्ति हुन पुग्यो, जस अर्न्तगत यी विश्वविद्यालयमा उपकुलपतिहरु :

  • त्रिभुवन विश्वविद्यालय- ने.क.पा. (एमाले)
  • नेपाल संस्कृत विश्वविद्यालय- नेपाली कांग्रेस
  • पोखरा विश्वविद्यालय- ने.क.पा. (माओवादी)‚ र
    पूर्वाञ्चल विश्वविद्यालय- नेपाली कांग्रेसको भागमा पर्न गयो भने अन्य पदाधिकारी पनि भागबण्डाकै आधारमा नियुक्ति गरियो ।

फलतः विश्वविद्यालयका पदाधिकारीहरु विश्वविद्यालयले गर्नुपर्ने प्राज्ञिक र शैक्षिक कार्य बाहेकका कामहरुमा बढी व्यस्त हुने र विश्वविद्यालयको हितलाई एकातिर पन्छाएर आफ्नो नियुक्तको 'पर्म' तिर्ने कार्यमा बढी तल्लिन भएको उदाहरण आज देशको कुनैपनि विश्वविद्यालयलाई हेरेमा प्रष्ट देखिन्छ । यहाँनेर लुसी मार्कको अध्ययनको एक निष्कर्ष उल्लेख गर्नु सान्दार्भिक देखिन्छ :

"appointing vice-chancellors on the basis of political affiliation often means that they are seen as more accountable to government that to the university and can be a major cause of conflict between academics and students on the other one hand and the university administration on the other." (Lucy Markham, 1996)”

  • सामाजिक-सांस्कृतिक अवस्था

चेतनाको अभाव र शिक्षाको कमीको कारण हाम्रो जस्तो विकाससील राष्ट्रमा जनताहरु अरुबाट बढी प्रभावित हुने गर्दछन् भने समाजका केही बाठाटाठाहरुले चाहीँ शिक्षा, चेतना र रोजगारीबाट वञ्चित जनताहरुलाई आफ्नो स्वार्थ पूर्तिको निमित्त बिभिन्न प्रकारबाट उपयोग गर्ने गरेका पाईन्छ । यसको अतिरिक्त, हाम्रो सामाजिक–सांस्कृतिक अवस्थाको कारण निम्न स्वभावहरु हाम्रा गतिविधि/ व्यवहारमा देखा पर्दछन्, जसबाट विश्वविद्यालय पनि प्रभावित नभई रहन सक्दैन :

(क) द्वैध चरित्र (dual character)

(ख) समयलाई कम महत्व दिने (low concern over time)

(ग) नकारात्मक सोचाई (negative attitude)

(घ) स्व- केन्द्रित (self-centered), र

(ङ) ‘ठालु’ संस्कार (thalu culture)

(ग) आर्थिक अवस्था

गरिब मुलुक भएको कारण हाम्रो पर निर्भरता बढी छ । प्रतिब्यक्ति आय कम छ र हाम्रो बजार सीमित र असन्तुलित छ । सरकारबाट विश्वद्यिालय संचालन गर्न पर्याप्त बजेट प्राप्त हुँदैन भने अर्कोतिर विद्यार्थी (अभिभावक) बाट पर्याप्त शुल्क उठाउन राजनीति, अभिभावकहरुको आर्थिक अवस्था र चेतनाको कमीको कारण संभब भइरहेको हुँदैन । यसले गर्दा अध्ययनको लागि आवश्यक भौतिक पूर्वधारहरु (Physical infrastructure) प्रविधि ( Technology) र सूचना (Information) विद्यार्थी हरुलाई दिन सकिएको छैन । फलतः शिक्षाले प्रदान गर्नुपर्ने अवधारणा (Concept), क्षमता (Capability) र आत्मविश्वास (Confidence) प्रदान गर्नमा हाम्रो शिक्षा अझ पछाडी नै छ । यसर्थ, शिक्षाको गुणस्तर (Standard) लाई स्पष्ट परिभाषित गरी त्यसको खर्च राज्यले व्यहोर्ने हो कि विद्यार्थी (अभिभावक) ले हो स्पष्ट हुनु पर्दछ । अन्यथा, वर्तमानको जस्तो राजनीति शिक्षाको विकासको निमित्त नभएर शिक्षा राजनीतिको निमित्त नै रहन जान्छ ।
घ) भूमण्डलीकरण

भूमण्डलीकरणले अहिले कुनैपनि संस्थालाई अवसर र चुनौति दुवै दिएको छ । सबल, सक्षम र दुरदृष्टि (Vision) भएका देश र संस्थालाई यो अवसर (Opportunity) को रुपमा रहेको छ भने कमजोर, असक्षम र संकुचित दृष्टि (Narrow vision ) भएका देश र संस्थाहरुको निमित्त यो भूमण्डलीकरण ठूलो चुनौतिको रुपमा प्रस्तुत भएको छ ।

सूचना, संचार र यातायातमा भएको प्रगतिले गर्दा भूमण्डलीकरणको प्रभावबाट बच्नसक्ने अवस्था देखिदैन । यस्ता चुनौतिलाई नस्वीकारेर ‘मेरो गोरुको बाह्रै टक्का' भनेर बस्न सकिने स्थिति नभएको हुदाँ यस भूमण्डलीकरणलाई अवसरमा बदल्नको लागि हामी सबैको सोच र व्यवहारमा सकारात्मक परिवर्तनको जरुरी छ । उदाहरणको लागि, भूमण्डलीकरणको कारण आज पढ्न चाहने पर्याप्त विद्यार्थी  र पढाउन चाहने दक्ष शिक्षक दुवैको अभाव भोग्नुपर्ने स्थिति हाम्रो छ । बाहिरका विद्यार्थी हरु र बाहिरबाट प्रतिस्पर्धी शिक्षकहरुलाई हामीकहाँ आकर्षित गर्नुपर्ने समयमा हाम्रा आफ्नै नागरिकहरु पढ्न र रोजगारीको निमित्त विदेशिने कम बढेको छ ।

हामीले माथि उठाएका कुराहरुले हाम्रो वातावरणलाई बुझ्न सघाउ पुऱ्याँउछ भने यिनै चर्चाले वर्तमानमा हाम्रो सामु रहेको चुनौतिलाई पनि प्रष्ट पारेको छ ।

५.     पोखरा विश्वविद्यालयका मुख्य पक्षहरु

पोखरा विश्वविद्यालयका मुख्य पक्षहरुलाई निम्नानुसार लिन सकिन्छ, जसलाई चित्र नं. २ मा प्रस्तुत गरिएको छ :

(क) विश्वविद्यालयका पदाधिकारीहरु

(ख) विश्वविद्यालयका आंगिक क्यापसहरु र कार्यक्रम

(ग) विश्वविद्यालयबाट सम्वधन प्राप्त कलेजहरु

(घ) विश्वविद्यालयका विद्यार्थीहरु (आंगिक तथा सम्वन्धनप्राप्त कलेजका)

(ङ) विश्वविद्यालयका कर्मचारीहरु

(च) विश्वविद्यालयका शिक्षकहरु (आंगिक तथा सम्वन्धनप्राप्त कलेजका )

चित्र नं. २ पोखरा विश्वविद्यालयका मुख्य पक्षहरु

  • विश्वविद्यालयका पदाधिकारीहरु

विश्वविधालयको उन्नति र प्रगतिको लागि विश्वविद्यालयका पदाधिकारीहरुको भूमिका महत्वपूर्ण रहने निर्विवाद छ । नेपालको सन्दर्भमा कुलपति प्रधानमन्त्री रहने सहकुलपति शिक्षामन्त्री (वा राज्यमन्त्री) रहने र कुलपतिद्वारा उपकुलपतिको नियुक्ति हुने व्यवस्था एकातिर छ भने अर्कोतिर राजनैतिक अस्थिरता र राजनैतिक भागवण्डा (समझदारी ?) ले गर्दा पदाधिकारीहरुको नियुक्ति र पदाधिकारीहरु बीचको समन्वय जटील मोडमा पुग्ने गरेको पाइन्छ ।
उल्लिखित स्थिति बाहेक दलगत राजनीतिको प्रभाव पनि पदाधिकारीहरुमा विभिन्न माध्यमबाट पर्ने हुँदा पदाधिकारीहरुलाई केही काम भयो भने वा गर्न सकियो भने मैले गरेको भन्ने र काम भएन भने वा गर्न सकिएन भने बाह्य कारणलाई देखाएर आफु पन्छन पाउने अवसर पनि प्राप्त भएको छ ।

(ख) विश्वविद्यालयका आगिंक क्याम्पस/ कार्यक्रम

पोखरा विश्वविद्यालयका दुईवटा आंगिक क्याम्पस स्कुल अफ फार्मेसी एण्ड बायोमेडिसीनव्यवस्थापन क्याम्पस छन् भने जनसंख्या लैङ्गिक तथा विकास कार्यक्रम एक संचालनमा छन् । छोटो अवधिमा नै बि. फार्मेसी कार्यक्रमले राम्रो ख्याति आर्जन गरेको छ भने आंगिक क्याम्पसहरुमा संचालित एम.बि.ए. र बि.बि.ए. जस्ता कार्यक्रमहरुले पनि राम्रो संभावना देखाएका छन् । योग्य (Qualified), सक्षम (Capable) र प्रतिबद्ध ( Dedicated) शिक्षकहरु, व्यवहारिक (Practical), दक्ष (Skilled) र उप्रेरित (Motivated) कर्मचारीहरु, तथा मेहेनती (Hard working), अध्ययनशील (Studious ) र अनुशासित (Disciplined) विद्यार्थीहरुलाई विश्वविद्यालयमा टिकाईराख्नु र विश्वविद्यालयप्रति आकर्षित बनाउनु पोखरा विश्वविद्यालयको चुनौतिमध्ये एक हो भन्ने मलाई लाग्दछ ।

  • विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु

सम्बन्धन प्राप्त कलेजहरुको संख्यालाई सीमित राखी तिनीहरुको गुण (Quality) मा जोड दिएर पोखरा विश्वविद्यालयले आफ्नो राम्रो र बलियो परिचय दिएको छ । सम्हाल्न सकिने संख्या (२३ वटा) मा रहेका सम्बन्धन प्राप्त कलेजहरु क्रमशः स्थापित हुँदै गएका छन् । सन् १९९४ मा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित नेपालको निजी क्षेत्रको पहिलो इन्जिनियरिङ कलेज- नेपाल कलेज इन्जिनयरिङ कलेज (nec) ले आफ्नो सम्बन्धन परिवर्तन गरी पोखरा विश्वविद्यालयको सम्बन्धन लिनु पोखरा विश्वविद्यालयको निमित्त ठूलो सफलता एवं गर्वको विषय हो ।
अंग्रेजीमा एम. फिल. र एम. ए; स्नातकोत्तर तहमा एम. बि.ए, कन्स्ट्रक्सन मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, एम.सी.आई.एस जस्ता कार्यक्रमहरु र स्नातक तहमा सफ्टवेयर इन्जिनियरिङ्ग, आइटी इन्जिनियरिङ्ग, विविए (बैकिङ्ग एण्ड इन्सुरेन्स), रुरल एण्ड सिभिल इन्जिनियरिङ्ग, जस्ता सीपमूलक बजारमुखी कार्यक्रमहरुलाई सफलतापूर्वक संचालन गर्नमा यी सम्बन्धन प्राप्त कलेजहरुले ठूलो भूमिका निर्वाह गरेका छन् ।

पोखरा विश्वविद्यालयले सम्बन्धन प्राप्त कलेजहरुलाई सवलीकरण (Strengthening) गर्दै तिनीहरुको संस्थागत (Institutional) र दिगो (Sustainable) विकासको लागि सृजनात्मक कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ । सक्षम (Capable ), सवल (Strong ) र अगुवा (Leading ) सम्बन्धन प्राप्त कलेजहरु नै आजको पोखरा विश्वविद्यालयको पहिचान हो भन्ने कुरा पोखरा विश्वविद्यालयले भुल्नु हुँदैन।

  • विश्वविद्यालयका विद्यार्थीहरु

विद्यार्थी विनाको विश्वविद्यालय हुन सक्दैन र विद्यार्थी नै मूलभुत रुपमा विश्वविद्यालयका आधार हुन् । पोखरा विश्वविद्यालयले शुरुदेखिनै संयमित र अनुशासित विद्यार्थीहरु पाएको छ । यसैको कारण, देशका विश्वविद्यालयहरु मध्ये शैक्षिक सत्र कम प्रभावित भएको विश्वविद्यालय बनेको छ पोखरा विश्वविद्यालय । यसै गरी, आफ्नो अध्ययन अवधिको अन्तसम्म आईपुग्दा पोखरा विश्वविद्यालयका विद्यार्थीहरुको प्रगति उत्साहजनकरुपमा राम्रो हुँदै गएको पाइन्छ भने विदेशमा धेरैभन्दा धेरै क्रेडिट ट्रान्सफरको अवसर पाउन समेत सफल भएका छन् । अर्कोतिर छोटो अवधि मै यस विश्वविद्यालयका विद्यार्थीहरु विदेशका प्रमुख विश्वविद्यालयहरुमा क्रेडिट ट्रान्सफरद्वारा र माथिल्लो तहको शिक्षाको लागि पुगिसकेका छन् । यसको अतिरिक्त, यस विश्वविद्यालयको डिग्री लिएर गएका विद्यार्थीहरुले स्वदेश र विदेशमा महत्वपूर्ण तह र पदमा आफ्नो क्षमता समेत प्रदर्शन गर्न थालिसकेका छन् । यो पोखरा विश्वविद्यालयका विद्यार्थीहरुको प्रशंसनीय एवं उल्लेखनीय कार्य हो । यस वातावरण र संस्कारलाई जोगाई विश्वविद्यालयको गरीमा र विद्यार्थीहरुको भविष्य सुनिश्चित पार्न विश्वविद्यालय, कलेज र विद्यार्थी बीचको सम्बन्ध र समन्वयलाई अझ मजबुत पार्दै लैजान विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नु पर्दछ भन्ने पनि मलाई लाग्दछ ।

(ङ) विश्वविद्यालयका कर्मचारीहरु

आकर्षक र ठूला भवनहरुलाई त्यस भित्रका फलामले मजबुत पारेर राखेको हुन्छ, जो देखिँदैन‚ त्यस्तै भूमिका विश्वविद्यालयका कर्मचारीहरुले विश्वविद्यालयलाई मजबुत पारेर राख्‍नको लागि खेलेका हुन्छन् । नयाँ विश्वविद्यालय, अस्थिर राजनीति र पदाधिकारी विहिन अवस्थामा पनि यस पोखरा विश्वविद्यालयलाई संचालनमा राख्न यसका कर्मचारीहरुले गरेको योगदान निकै महत्वपूर्ण छ । उचित मार्ग निर्देशन (Direction), सही परिचालन (Mobilization) र आवश्यक विश्वास (Confidence) गर्न सकेको अवस्थामा पोखरा विश्वविद्यालयका कर्मचारी भरपर्दा सम्पत्तिको रुपमा रहेका छन् भन्ने मलाई लाग्दछ । यसको एक उदाहरण विश्वविद्यालयको परीक्षा प्रणाली (परीक्षा संचालन र नतिजा प्रकाशन) मा देख्न सकिन्छ ।

(च) विश्वविद्यालयका शिक्षकहरु

दक्ष (Skilled) शिक्षकहरु विश्वविद्यालयका गहना हुन् । हालसम्म पोखरा विश्वविद्यालयले गरेको उन्नती र यसका विद्यार्थीहरुले प्राप्त गरेको सफलताको पछाडी पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा अध्यापन गर्ने शिक्षकहरुको भूमिका पनि प्रमुख रहेको छ । विश्वविद्यालय अन्तर्गतको शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन र शिक्षकहरुलाई अनुसन्धानतर्फ उन्मुख गराउन विश्वविद्यालयले अनुसन्धान र कार्यपत्र लेखनको लागि छुट्टै बजेटको व्यवस्था गर्नु आवश्यक छ भने शिक्षकहरुको निमित्त अभिमूखिकरण (Orientation), पूनर्ताजगी (Refresher ) कार्यक्रमको अतिरिक्त तालिम र भ्रमणहरुको पनि व्यवस्था गर्नु पर्ने देखिन्छ ।

उल्लिखित कार्यको अतिरिक्त, पोखरा विश्वविद्यालयले अफ्ना शिक्षकहरु (आंगिक तथा सम्बन्धनप्राप्त कलेजमा कार्यरत) को निमित्त विद्यावारिधीको अवसर आफ्नै विश्वविद्यालयमा सृजना गर्न ढिलो भइसकेको महशुस भएको छ । यसको निमित्त यथाशिघ्र छिटो एक कार्यदल बनाई विद्यावारिधीको कार्यक्रम संचालन गर्न समेत पोखरा विश्वविद्यालयलाई सुझाव दिइन्छ ।

७. अन्तमा

एक प्रगतिशील एवं सशक्त विश्वविद्यालयको रुपमा अगाडी बढिरहेको पोखरा विश्वविद्यालय समक्ष पनि केही चुनौतिहरु रहेका छन् । ती चुनौतिहरुलाई संक्षिप्त र बुँदागत रुपमा उल्लेख गर्ने प्रयास यस कार्यपत्रमा भएको छ । प्रत्येक बुँदाहरुमा छलफलकै क्रममा चुनौति वा समस्या देखाइएको छ भने त्यसलाई सामना गर्न वा त्यसको समाधानको निमित्त आवश्यक पर्ने कार्य तर्फ पनि इंगित गरिएको छ ।
पोखरा विश्वविद्यालय एक महत्वपूर्ण र अगुवा विश्वविद्यालयको रुपमा आफ्नो पहिचान बनाउन सक्ने स्थितिमा छ भने पोखरा विश्वविद्यालयको गरीमा र अस्मिताले नै भोलिको हाम्रो पहिचान समेत बनाउने छ । यसर्थ, विश्वविद्यालयका सम्पूर्ण पक्षहरुको प्रभावकारी (Effective), समन्वयात्मक (Coordinative) र परिणाममुखी (Output oriented) इमान्दार प्रयासको आज बढी भन्दा बढी आवश्यक छ ।

सन्दर्भ सामग्रीहरु

  1. Report of the Workshop of OPEN, May 26-27, 2006
  2. OPEN brochure, 2006
  3. Some Discussions on Teaching and Learning by Rajendra P. Adhikari prepared for Nepal College of Information Technology, 2005
  4. A draft of the Strategic Plan of the Pokhara University, 2059 B. S.
  5. A report on Effectiveness of Relative Grading System in Pokhara University prepared by Roshan simkhada and Nimesh Tamrakar, submitted to Nepal Engineering College, May 1, 2003
  6. Evaluation Practices Adopted by the Universities in Nepal and Abroad, a paper presented by Bharat Bilas Pant on the seminar on Evaluation System in Pokhara University organized by Pokhara University, April 24, 2000
  7. Quality Improvement in Engineering Education in Institute of Engineering, TU, a case study of Tak Bahadur Galami submitted to M. Sc. Program in Construction Management of Pokhara University, 2000
  8. Methods Used in the Appointment of Vice-chancellors in Commonwealth Universities (CHEMS Paper No 14) by Lucy Markham, 1996
  9. विश्वविद्यालय अनुदान आयोगको बार्षिक प्रतिबेदन २०६३/२०६४
  10. पोखरा विश्वविद्यालय ऐन २०५३

पोखरा विश्वविद्यालय प्राध्यापक संघको आयोजनामा २०६५ साल पुष ३ गते पोखरा विश्वविद्यालय, पोखरामा आयोजित पोखरा विश्वविद्यालयका चुनौति र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र । तत्कालीन अवस्थामा कार्यपत्र प्रस्तोता अधिकारी पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपाल (OPEN) का अध्यक्ष एव  नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (NCIT) का प्रिन्सिपल हुनुहुन्थ्यो ।

डा. राजेन्द्रप्रसाद अधिकारी

डा. अधिकारी सार्वजनिक खरिद र निर्माण आयोजना व्यवस्थापन विज्ञ हुन् ।