सुनको लोभले ल्याएको दुष्परिणाम !

बरदान नै श्राप बनेको पौराणिक ग्रीक कथा

राजा मिदास अत्यन्तै लोभी व्यक्ति थिए। उनले दिनभरि आफ्नो खजानाको सुनका असर्फीहरु गनेर बिताउँथे भने राति निद्रामा समेत अझ बेसी धन कमाएको सपना देख्थे। सपना–विपना, आफ्नो खजानामा जति सुन भित्र्याए पनि उनलाई पुग्दैन थियो।

एक दिन राजा मिदास गुलाफका फूलहरुको सुन्दर बगैचामा घुम्दै थिए। उनले त्यहाँ एक जना देउता सेटर (आधा मान्छे र आधा बाख्राको शरीर भएको) लाई देखे। सेटर बगैंचामा बाटो भुलेर अल्मलिरहेको थिए। राजाले सेटरलाई अलिकति खानेकुरा दिए र सही बाटो देखाइदिए। सेटर मिदासको सहयोग बाट प्रसन्न भयो र उसले राजालाई एउटा बरदान माग्न अनुरोध गर्‍यो।

राजा मिदासले धेरैबेर सोचे। कसरी एउटा बरदानबाट उनका यत्रा विधि इच्छाहरु पुरा होलान् ? मिदासले आफूलाई अलिकति ठगिएको महसुस गरे। किनकि देउताले आशिर्वाद दिँदा एउटा मात्र होइन, कमसेकम तीन वटा नै दिने चलन थियो। उनले सेटरलाई यही गुनासो पोख्न लागेका थिए। अचानक उनको दिमागमा एउटा उपाय फुर्‍यो। सुन र सम्पतिले भरिएको खजानाको दृश्य उनको मस्तिष्कमा तरंगित हुन थाल्यो।

राजा मिदासले सेटरसंग भने-  मैले जे छोए पनि सुन बन्ने बरदान दिनुहोस् !

सेटरले सोचमग्न हुँदै भने- यो त्यति राम्रो कुरा होइन। यो कुरालाई तिमी एक पटक पुनर्विचार गर !

तर मिदास आफ्नो कुरामा टसमस भएनन्। अन्त्यमा सेटरले उनको इच्छा पूरा गरिदिँदै बरदान दिए ।

राजा मिदासलाई बरदानको शक्ति परिक्षण गर्न मन लाग्यो। उनले निहुरिएर जमिनमा रहेको एउटा ढुङ्गा टिपे। त्यो तुरन्तै सुनमा परिणत भयो। अविश्वासले उनको आँखा फराकिला बने। त्यसपछि उनले आफू वरिपरि रहेका  घास-पात, हाँगा, रुख-बिरुवा सबै चिज छुन थाले। तत्काल ती सबै चिज सुनमा परिणत भए। अब बल्ल राजा मिदासलाई आफ्नो स्वर्ण स्पर्शको शक्तिमा विश्वास भयो। राजा मिदास अब आफू संसारकै सबै  भन्दा धनि मानिस हुन्छु भनेर कल्पना गरेर हर्षित बने। उनी आफ्नो दरबारमा फर्के र आफूले पाएको बरदानको खुसियाली मनाउन एउटा भव्य भोजको आयोजना गर्न आफ्ना सेवकहरुलाई आदेश दिए। उनले सो भोजमा संसारकै सबै भन्दा उत्कृष्ट फलफुलहरु, माछा-मासु, चिजहरु, पाउरोटी र रक्सीको व्यबस्था गर्न आदेश दिए । अब उनीसंग सम्पतिको कुनै कमि थिएन।

भोज तयार भयो। राजा मिदास खानका लागि कुर्सीमा के बसे थिए, त्यो कुर्सी सुनको बन्यो। रक्सी पिउन गिलास उठाए तामाको गिलास सुनको गिलासमा परिणत भयो। रक्सीको एक घुट्की पिए। रक्सी सुनको ढीक्का बन्यो। त्यो झन्डै उनको घाँटीमा अड्कीयो। उनले पाउरोटीको एक टुक्रा टेबलबाट उठाएर मुखमा हाले। त्यो सुनमा परिणत भयो। त्यसलाई टोक्दा झन्डै उनका दाँत भाँचिए। राजा मिदासलाई आफ्नो बरदानको दुष्परिणाम के रहेछ भन्ने कुरा बल्ल थाहा भयो। उनले अब म भोकै मर्ने भएँ भन्ने पीर पर्‍यो । आफ्नो हालत सम्झेर उनी क्वाँ क्वाँ  रुन थाले।

https://i.pinimg.com

राजा मिदासको रुवाइ सुनेर उनकी सबैभन्दा सानी छोरी आफ्नो बाबुलाई सान्त्वना दिन आइन् । उनले आफ्नो दुवै हात फैलाएर आफ्नो बाबुलाई अँगालो मारिन्। राजकुमारी तत्कालै सुनको मुर्तिमा परिणत भइन् ।

राजा मिदासले रुँदै, कराउँदै घुडा टेकेर भगवानसंग आफूलाई यो मुर्खतापूर्ण बरदानबाट मुक्ति मिलोस भनेर याचना गर्न थाले। उनका आँसु पनि सुनका साना-साना ढीक्का बनेर खस्न थाले।

मिदासले भगवानलाई पुकार्दै रुदै बिन्ती गरे- अब मैले बुझे कि मेरो इच्छा कति मुर्खतापूर्ण रहेछ भनेर। सुनको अत्यधिक लोभ गर्नुको परिणाम स्वरुप मैले सजाय भोगिसके। मैले थाहा पाएँ पैसाले खुशियाली किन्न सकिँदो रहेनछ भनेर। यो सबै सुन फिर्ता लानुहोस् र मलाई फेरि पहिलाकै  जस्तो बनाइदिनुहोस्।

मिदासको अवस्था देखेर भगवानलाई दया लाग्यो। उनले मिदासलाई प्याकटोलुस नदीमा गएर राम्रो संग नुहाएपछि यो बरदान बाट मुक्ति मिल्नेछ भनेर निर्देशन दिए।

राजा मिदास दौडिदै त्यो नदीमा पुगे। नदि भित्र पसेर आफ्नो पुरै शरीर मिचिमिची नुहाए। उनको वरिपरि पानीमा सुनका धब्बाहरु तैरिन थालेका थिए। निक्कै बेर नुहाएपछि राजा मिदास पानि बाहिर निस्के। उनको स्वर्ण स्पर्शको शक्ति हराइसकेको थियो। राजा मिदासकी छोरी फेरि जीवित बनिन्।

राजा मिदास आफू पहिला जस्तै बनेको देखेर खुशी बने। तर भगवानले मिदासलाई उनको मुर्खताको सम्झनास्वरुप स्मृतिचिन्ह दिए। राजा मिदासको टाउकोमा गधाका दुईवटा कान पलाए। जसले राजा मिदासलाई उनको गल्तीको सधै सम्झना दिलाउथियो।

​​​​​​​Title photo: https://1.bp.blogspot.com