संसारको सबैभन्दा तितो पदार्थः डेनाटोनियम

तपाईंलाई कसैले सोध्यो–संसारको सबैभन्दा तीतो पदार्थ कुन होला ? तपाईं के उत्तर दिनु हुन्छ ?

कसैले भन्नुहोला, करेला ! कसैले नीम, कसैले के कसैले के ! अझ कसैले चाहिँ मलेरियाको उपचारमा प्रयोग हुने ओखती कुनाइनको नाम लिनुहोला । हुन पनि कुनाइन पनि अतिनै तीतो हुन्छ । त्यसैले अति तीतो पदार्थको कुरा गर्दा कुनाइनको नाम लिनु स्वभाविकै हो ।

तर पनि तपाईंका यी सबै उत्तरहरु गलत सावित हुनेछन् । किनभने, यस संसारमा यस्तो पदार्थ पनि पाइन्छ, पदार्थ कुनाइन भन्दा हज्जारौं गुना बेसी तीतो छ । वैज्ञानिकहरुले यो पदार्थको नाम डेनाटोनियम स्याकराइड (denatonium saccharide) रखेको छन् । यसलाई छोटकरीमा बिट्रेक्स (Bitrex) पनि भनिन्छ ।

यो अहिलेसम्म मानिसले थाहा पाएका तीतो पदार्थमध्ये सबैभन्दा तीतो पदार्थ हो । तीतोको मापदण्डमा यो ०.०१ पीपीएम (ppm) मानिन्छ । पीपीएमको अर्थ हो– parts per million अर्थात् १० लाखको १ हिस्सा ।  यसको अर्थ के हो भने यो पदार्थको अत्यन्तै सानो हिस्सालाई पनि हाम्रो स्वाद ग्रन्थीले अत्यन्तै तीतो पदार्थको रुपमा चिन्न महसूस गर्न सक्छ ।

स्याकरिन जस्तै, यो डेनाटोनियम स्याकराइड पनि कुनै योजनाबद्ध अनुसन्धानबाट पत्ता लागेको थिएन, यो पनि एउटा प्रयोगको दौरानमा आकस्मिक रुपमा पत्ता लागेको थियो । खासमा एउटा बेलायती कम्पनी म्याकफारलेन ल्याबोरेटोरिजले बाह्य प्रयोगबाट लठ्याउने औषधी (local anesthetics) को खोजी गर्ने क्रममा संयोगवश पत्ता लागेको थियो । सन् १९५८ मा युनाइटेड किंगडमको नटिङ्घम विश्वविद्यालयका डा. मिलर र डा. बेकरको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले स्थानीय एनेस्थेटिक्ससँग सम्बन्धित यौगिकहरूको अनुसन्धान गर्ने क्रममा डेनाटोनियमको चरम तीतोपन पत्ता लगाएका थिए।

अत्यन्तै तीतो हुने हुनाले यो पदार्थको प्रयोग केमा होला त ? खासगरी, कुनै पनि वस्तुको सेवन जनावर वा बालबच्चाहरुले नगरोस् भन्नाको लागि यो डेनाटोनियमको प्रयोग हुने गर्छ । जनावरहरुबाट बाली जोगाउन गरिएका तारवारहरुमा यो पदार्थको लेपन गर्ने गरिन्छ । त्यसले गर्दा जनावरले बारेका तारहरुलाई चपाउन खोज्दा तितोको कारण भाग्ने गर्छ । 

अत्यन्तै तीतो हुने भए पनि यो मानिसको लागि त्यस्तो हानिकारक चाहिँ हुँदैन । झुक्किएर थोरै मात्राको सेवन गर्‍यो भने पनि यसले खासै नोक्सानी गर्दैन । तर अलि बढी नै मात्रामा यो खाइयो भने त्यो वाकवाक लगाउने, वान्ता गराउने हुन सक्छ । 

झट्ट हेर्दा यो डेनाटोनियम पनि चिनी जस्तै दानेदार नै देखिन्छ । तर यो वास्तवमा चिनी जस्तै चाहिँ होइन । यसको संरचनामा एमोनियम हुन्छ र यसको रासायनिक संरचना चिनी (सुक्रोज)को भन्दा फरक हुने गर्छ ।


यो पनि पढ्नुहोस्
स्याकरीनः चिनीभन्दा ३७५ गुना गुलियो पदार्थ !