क्लारा जेट्किन जसले अन्तर्राष्ट्रिय महिला दिवसको जग बसालिन् !

किन र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस?

क्लारा जेटकिनको संक्षिप्त जीवनकाल र उनका कार्य

क्लारा जेट्किन मार्क्सवादी चिन्तक, सिद्धान्तकार र समाजवादी अग्रणी महिला नेतृ थिइन्। उनले सदैव महिला अधिकारको वकालत गरिन्। क्लारा जर्मन र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनकी र त्यसमा पनि संघर्षशील महिला श्रमिक आन्दोलनकी एक प्रमुख व्यक्तित्व थिइन्।  उनी अन्तर्राष्ट्रिय महिला दिवसको शुरूवात गराउने विश्वप्रसिद्ध महिला नेतृ हुन्।

क्लाराको जन्म १५ जुलाई १८५७ मा जर्मनीको सेक्सोनी प्रान्तमा भएको थियो। उनका पिता गोटफ्राइड आइजनर स्कूलका शिक्षक थिए। उनकी आमा जोसफिन विटाले शिक्षित महिला थिइन्।

क्लाराले आफ्नो पढाइ सन् १८७२ बाट 'लीपजिंग टीचर्स कलेज फर वोमिन्स' बाट शुरू गरेकी थिइन्। स्कूलकै समयमा उनी सन् १८७४ मा जर्मनीको मजदूर आन्दोलन र महिला आन्दोलनसँग जोडिइन्। सन् १८७८ बाट क्लारा समाजवादी श्रमिक पार्टीमा जोडिइन् र यो पार्टीको नाम पछि सामाजिक-जनवादी पार्टी राखियो।

त्यतिखेरको शासक बिस्मार्कले समाजवादी पार्टीको गतिविधिमा नियन्त्रण गरेकोले सन् १८८२ मा क्लारा ज्यूरिज गइन् र पछि फेरि पेरिस गइन्। त्यहाँ उनले पत्रकारिता र अनुवादको अध्ययन गरिन्। पेरिस प्रवासको क्रममा उनले समाजवादी अन्तर्राष्ट्रिय समूहको स्थापना गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। सन् १८८९ को जुनमा उनका पतिको गम्भीर बिरामी भएर निधन भएपछि उनी  स्टुटगार्ट गइन्। त्यहाँ उनले कलाकार जर्ज फ्रेडरिक जुंडेलसँग दोस्रो विवाह गरेकी थिइन्।

https://www.zdf.de/assets/

सामाजिक जनवादी पार्टीमा जेटकिनकी नजिककी साथी र विश्वासपात्रहरूमध्ये रोजा लक्जेम्बर्ग थिइन्। सन् १८८० मा जर्मनीमा क्रान्तिकारीहरूलाई तत्कालीन शासकले दमन गर्न थालेपछि जेटिकनले जर्मनी छोड्ने स्थिति बन्यो।

क्लारा जेटकिनको सक्रिय राजनीतिक यात्रा ओसिप जेटकिनसँग भेटेपछि भएको थियो। दुवैको विवाहपछि क्लाराले शुरूमा समाजवादी पार्टीका केही बैठकमा भाग लिइन्। उनले मार्क्सवादी विचार अन्तर्गत महिला मुक्ति र समाजमा परिवर्तनको लागि आफ्नो जीवन समर्पित गर्ने निर्णय गरिन् ।

सामाजिक जनवादी पार्टीमा जेटकिनकी नजिककी साथी र विश्वासपात्रहरूमध्ये रोजा लक्जेम्बर्ग थिइन्। सन् १८८० मा जर्मनीमा क्रान्तिकारीहरूलाई तत्कालीन शासकले दमन गर्न थालेपछि जेटिकनले जर्मनी छोड्ने स्थिति बन्यो। यस क्रममा उनी स्वीट्जरल्याण्ड र फ्रान्समा बसिन्।

लगभग एक दशकपछि उनी पुनः जर्मनी फर्किन् र जर्मनीको सामाजिक-जनवादी पार्टीको महिलाको अखवार डाई ग्लीचीट (समानता) को सम्पादक बनिन् । त्यसपछि उनले सन् १८७४ बाट जर्मनीमा महिला आन्दोलन र श्रमिक आन्दोलनसँग सम्बन्ध स्थापना गरिन्। सन् १८७८ मा उनी सोसलिस्ट वर्कर्स पार्टीमा सामेल भइन्।

यो पार्टीको स्थापना सन् १८७५ मा लासालको पार्टी एडीएभी र लिब्नेख्तको एसडीएपी पार्टीहरूलाई मिलाएर भएको थियो। सन् १८९० मा यसको नाम बदलेर जर्मनीको सामाजिक-जनवादी पार्टी (एसडीपी) राखियो।

सन् १८९८ मा क्लाराको एक क्रान्तिकारी महिला नेतृ रोजा लक्जेम्बर्गसँग असल सम्बन्ध स्थापित भएको थियो, जुन रोजाको मृत्यु नहुन्जेलसम्म कायम रह्यो। रोजाले क्लारालाई धेरै ऊर्जापूर्ण ढंगले सहयोग गरिन्। संशोधनवाद विरूद्धको बहसमा दुवै महिला नेतृले संयुक्त रूपमा बर्नस्टीनका सुधारवादी सिद्धान्तहरूमाथि आक्रमण गरेका थिए। उनीहरूले क्रान्तिकारी विचारलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेले।   

क्लाराले समाजवादको माध्यमबाट महिलाहरूलाई समान अधिकार र मताधिकार दिने पक्षमा दृढतापूर्वक लडिन्। उनले जर्मनीमा सामाजिक-जनवादी महिला आन्दोलनलाई विकास गर्न सहयोग गरिन्। 

सन् १९०७ मा क्लारा सामाजिक-जनवादी पार्टीको नवस्थापित कार्यालयमा महिला कार्यालयको प्रमुख नेता बनिन्।

क्लाराले शुरूदेखि नै महिला आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएकी थिइन्। उनी महिलाहरुको लागि समान हक-अधिकार दिलाउनमा धेरै सक्रिय थिइन्। उनले सन् १९०७ मा नै भएको पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा पनि भाग लिएकी थिइन्।

सन् १९१० को अगस्टमा डेनमार्कको कोपनहेगनमा भएको समाजवादीको दोस्रो अन्तर्राष्ट्रियको आम बैठकभन्दा पहिले एक अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गरिएको थियो। यो बैठकमा नै अन्तर्राष्ट्रिय महिला दिवसको स्थापनाको प्रस्ताव राखियो। केही हदसम्म अमेरिकी समाजवादीहरूको कामबाट प्रेरित भएर जेटकिन, केट डंकर र अन्यले हरेक वर्ष  एक विशेष महिला दिवस मनाउने कुराको प्रस्ताव राखेका थिए। तर त्यो सम्मेलनमा निश्चित दिन भने तोकिएको थिएन। यो सम्मेलनमा १७ देशका १०० महिला संगठनले समान अधिकार र भोटको अधिकारको लागि निर्मित विचारसँग सहमति गरे। त्यसपछि सन् १९११ मार्च १९ मा अन्तर्राष्ट्रिय महिला दिवसलाई पहिलो पटक अस्ट्रिया, डेनमार्क,  जर्मनी र स्वीट्जरल्याण्डमा दसौं लाखको उपस्थितिमा  मनाइएको थियो।

सन् १९११ मार्च १९ मा अन्तर्राष्ट्रिय महिला दिवसलाई पहिलो पटक अस्ट्रिया, डेनमार्क,  जर्मनी र स्वीट्जरल्याण्डमा दसौं लाखको उपस्थितिमा  मनाइएको थियो।

क्लारा पूँजीवादी नारीवादको विरूद्धमा थिइन् र यसलाई उनी मजदूर वर्गको एकतालाई ध्वस्त पार्ने हतियार ठान्थिन्। उनका अनुसार बुर्जुवा नारीवाद र सर्वहारा महिला आन्दोलन दुई मौलिक रूपले भिन्न आन्दोलन हुन्। क्लाराको मतमा बुर्जुवा नारीवादीहरूले पूँजीवादको अस्तित्वमाथि प्रश्न नउठाइकन लिंगको बीचमा र आफ्नो वर्गका पुरूषहरूको विरूद्धमा संघर्षको माध्यमबाट सुधारलाई दबाए। यसको विपरीत श्रमिक महिलाहरूले वर्गको विरूद्ध वर्गसंघर्षको माध्यमबाट र आफ्नो वर्गका पुरूषसँग संयुक्त लडाइँमा पूँजीवादीहरूभन्दा अगाडि निक्लने कोशिस गरेका छन्।

 क्लाराका अनुसार महिलाहरूको उत्पीडनलाई सही अर्थमा समाप्त गर्ने एकमात्र मार्ग भनेको समाजवाद हो। उनको प्राथमिक उद्देश्य महिलहरूलाई घरबाट बाहिर निकालेर सक्रिय बनाउनु थियो, जसबाट महिलाहरूले आफ्नो स्थितिमा सुधान गर्नको लागि ट्रेडयूनियन र अन्य श्रमिक अधिकार संगठनमा भाग लिन सकून्। क्लाराको विचारमा समाजवादी आन्दोलन महिला उत्पीडनलाई कम गर्नको लागि हुनुपर्दछ; समाजवादी आन्दोलन महिलाहरूलाई समाजवादतिर एक सामान्य कदममा सामेल गरेपछि मात्र प्रबल हुन्छ, नभए पछिको कानूनले उनीहरूलाई सजिलैसँग खत्तम गरिदिन्छ।

क्लाराको प्राथमिक उद्देश्य महिलहरूलाई घरबाट बाहिर निकालेर सक्रिय बनाउनु थियो, जसबाट महिलाहरूले आफ्नो स्थितिमा सुधान गर्नको लागि ट्रेडयूनियन र अन्य श्रमिक अधिकार संगठनमा भाग लिन सकून् !

क्लारा पहिलो विश्वयुद्धको विरूद्धमा थिइन्। सन् १९१५ मा उनले बर्लिनमा प्रथम विश्वयुद्धको युद्धविरोधी गतिविधिमा  अन्तर्राष्ट्रिय समाजवादी युद्धविरोधी महिला सम्मेलनको आयोजना गरिन्। पूँजीवादीहरूले आफ्नो मुनाफा बढाउन युद्ध भड्काएका हुन् भनेर उनले यसको घोर विरोध गरिन्। उनले भनिन्, यो युद्धमा श्रमिकहरूले केही पनि हासिल गर्दैनन् तर उनीहरूले आफ्ना प्रिय सबै कुरा गुमाउनुपर्दछ। युद्धविरोधी विचार व्यक्त गरेकोले उनलाई धेरै पटक गिरफ्तार पनि गरिएको थियो।

उनले समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय ब्यूरोको सचिवको रूपमा समाजवादी महिला सम्मेलनको आयोजना गरिन् र बुर्जुवा नारीवादी स्थितिको विरूद्धमा लडिन्।  सन् १९१६ मा उनलाई हिरासतमा लिइएको थियो तर बिरामीको कारण छोडियो।

सन् १९१६ मा क्लारा स्पार्टावादी लीग र स्वतन्त्र सामाजिक जनवादी पार्टीको सहसंस्थापक बनिन्। सन् १९१८ को जर्मनीको क्रान्तिपछि सन् १९१९ मा जर्मनी कम्युनिष्ट पार्टीको स्थापना भयो र उनी त्यसमा जोडिइन्। सन् १९२० मा उनले महिलाको सवालमा लेनिनसँग अन्तर्वार्ता लिएकी थिइन्। सन् १९२१ देखि १९३३ सम्म उनी कम्युनिष्ट अन्तर्राष्ट्रियको कार्यकारी समितिको सदस्य पनि रहिन्।

उनले महिलाहरूको लागि एक अन्तर्राष्ट्रिय सचिवालयको अध्यक्षता पनि गरिन्, जसलाई अक्टुबर १९२० मा कम्युनिष्ट अन्तर्राष्ट्रियद्वारा बनाइएको थियो। जुन १९२१ मा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। मस्कोमा भएको कम्युनिष्ट महिलाहरूको बैठकको अध्यक्षता उनैले गरेकी थिइन्। यसले अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने निर्णय गरेको थियो। त्यहीबाट ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस बन्नगयो।  

सन् १९२५ मा उनी जर्मन वामपन्थी संगठनको अध्यक्ष चुनिएकी थिइन्। क्लाराले फासीवादको विरूद्धमा पनि दृढतापूर्वक संघर्ष गरिन्। उनलाई सन् १९२७ मा अर्डर अफ लेनिन र सन् १९३२ मा अर्डर अफ रेड ब्यानरले सम्मान गरिएको थियो।

सन् १९३३ मा जर्मनीमा हिटलरको आगमनपछि कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायो। त्यसपछि क्लारा निर्वासनमा सोभियत संघ गइन्, त्यही वर्ष जुन २० मा  ७६ वर्षको उमेरमा मस्को नजिकै अर्खान्जेल्सकोयमा उनको मृत्यु भयो। उनी धेरै चर्चित कम्युनिष्ट महिला नेतृ थिइन्। उनको अन्तिम श्रद्धान्जलीको लागि युरोपबाट धेरै कम्युनिष्ट नेता आएका थिए।

अन्तर्राष्ट्रिय महिला दिवस - ८ मार्च

अन्तर्राष्ट्रिय महिला दिवसको मुख्य उद्देश्य महिलाहरूमा हुने भेदभावलाई हटाएर समाजमा बराबर हक दिलाउनु हो। समाज विकास, नीति-निर्माण र नेतृत्व तहमा महिलाहरूको पनि उत्तिकै अधिकार हुन्छ भन्ने कुरा स्पष्ट पार्नु पनि महिला दिवसको औचित्य हो। आफ्नो हकअधिकार खोसिएकोले यसको विरूद्ध सबै एकताबद्ध भएर संघर्ष गर्नु पनि यसको उद्देश्य हो।

आजको संसारमा महिलाहरू पनि समाजसँगै देश निर्माणमा पनि आफ्नो अमूल्य योगदान दिइरहेका छन्। महिलहरू केवल घरमा मात्र सीमित छैनन्। राजनीति, विकासनिर्माण, कर्मचारी, खेलकुद, शिक्षा, स्वास्थ्य, विज्ञान, सामाजिक कार्य, आदि जस्ता हरेक क्षेत्रमा महिलाहरूले पनि धेरै सफलता हासिल गरेका छन्। यसको अतिरिक्त उनीहरूले देशविदेशमा धेरै ठूलो भूमिका निर्वाह गरिरहेका छन्।

यद्यपि धेरै देशमा अझै पनि महिलाहरूको अधिकार संकुचित छ। कतिपय ठाउँमा महिलाहरू घरेलु हिंसाको शिकार भएका छन्। विभिन्न प्रकारका कुरीति र कुसंस्कारले उनीहरूलाई धेरै प्रताडित बनाएको छ। शिक्षा हासिल गर्ने कुराबाट महिलाहरूलाई वञ्चित गराइएको छ। महिलाहरूलाई पुरूषको संरक्षणमा मात्र कुनै पनि काम गर्न दिइन्छ। उनीहरूलाई धेरजसो घरमा सीमित राखिन्छ। अझ कतिपय महिलालाई पूरै अनुहार ढाकेर हिँड्न विवश बनाइन्छ।

त्यसकारण हरेक क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनको लागि महिलाहरूप्रति समाज र देशलाई जागरूक गराउनको लागि र उनीहरूलाई आवश्यक हक अधिकार र सम्मान उपलब्ध गराउनको लागि  नै हरेक वर्ष ८ मार्च मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ। यो दिन देश र समाजको विकासमा महिलाहरूको योगदानलाई स्मरण गरिन्छ र उनीहरूलाई आफ्ना अधिकार र सम्मानप्रति जागरूक गराइन्छ।

सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा लगभग १५ हजार महिलाहरूले कामको घण्टा कम गरियोस्, उनीहरूलाई उचित तलब प्राप्त होस् र उनीहरूलाई भोट दिने अधिकार पनि दिइयोस्, आदि माग राखेर आन्दोलन गरे। यसको एक वर्षपछि सन् १९११ मा अमेरिकाको समाजवादी पार्टीले २८ फेब्रुअरी मा पहिलो राष्ट्रिय महिला दिवस बनाउने घोषणा गर्‍यो ।

अन्तर्राष्ट्रिय महिला दिवसको जग क्लारा जेटकिनले राखेकी हुन्। तर यसको शुरूवात भने मजदूर आन्दोलनको रूपमा भएको थियो। महिलाहरू इतिहासको धेरै समय आफ्ना सम्पूर्ण अधिकारबाट वंचित रहेका थिए। उनीहरूलाई पुरूष समान अधिकार दिइएको थिएन। उनीहरूलाई दोस्रो दर्जाको व्यवहार गरिन्थो। उनीहरूलाई काम बढी समय गर्न लगाइन्थ्यो र ज्याला पनि कम दिइन्थ्यो। उनीहरूलाई भोट दिने अधिकार पनि थिएन।

यस्तो बेलामा महिलाहरूको बीचमा भारी अशान्ति र आलोचनात्मक बहसहरू भइरहेका थिए। महिला उत्पीडन र असामानताले उनीहरूलाई परिवर्तन अभियानमा सक्रिय हुन प्रेरित गरिरहेको थियो।

यही बेला सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा लगभग १५ हजार महिलाहरूले कामको घण्टा कम गरियोस्, उनीहरूलाई उचित तलब प्राप्त होस् र उनीहरूलाई भोट दिने अधिकार पनि दिइयोस्, आदि माग राखेर आन्दोलन गरे। यसको एक वर्षपछि सन् १९११ मा अमेरिकाको समाजवादी पार्टीले २८ फेब्रुअरी मा पहिलो राष्ट्रिय महिला दिवस बनाउने घोषणा गर्‍यो ।

अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाव सबभन्दा पहिले समाजवादी क्रान्तिकारी महिला नेतृ क्लारा जेटकिनले दिएकी थिइन्। उनले महिला दिवसको प्रस्ताव एक श्रमिक महिलाहरूको लागि डेनमार्कको राजधानी कोपनहेगनमा सन् १९१० मा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा गरेकी थिइन्। शुरूमा क्लारा जेटकिनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाब दिँदा यसको लागि कुनै मिति तोकिएको थिएन।उनले भनेकी थिइन् - आफ्ना माँगहरूलाई जोड दिनको लागि हरेक वर्ष हरेक देशमा एकै दिन महिला दिवस मनाइनुपर्दछ।  

त्यस सम्मेलनमा करिब १७ देशका १०० भन्दा बढी महिला प्रतिनिधिहरू उपस्थित थिए, जसले ट्रेड यूनियन, समाजवादी पार्टी, श्रमिक महिला, आदि संगठनको प्रतिनिधित्व गर्थे।

 जेटकिनको सुझावलाई सर्वसम्मतिले अनुमोदन गरियो। क्लाराकै प्रस्ताव अनुसार सन् १९११ को मार्च १९ मा सबभन्दा पहिले जर्मनी, अस्ट्रिया, डेनमार्क, स्वीट्जरल्याण्ड, आदि देशहरूले अन्तर्राष्ट्रिय महिला दिवस मनाएका थिए। यसमा दस लाख भन्दा महिला र पुरूषहरूसमेतले भाग लिएका थिए र उनीहरूले यहाँ महिलाहरूलाई काम गर्ने, भोट दिने, प्रशिक्षित हुने, सार्वजनिक कार्यालय सम्हाल्ने र भेदभावलाई समाप्त गर्ने अधिकारको सुनिश्चित गर्ने कुराको प्रचार गर्दै र्‍याली गरेका थिए।

पहिलो विश्वयुद्धको पूर्वसन्ध्यामा शान्तिको लागि अभियान चलाउँदै रूसी महिलाहरूले २३ फेब्रुअरीमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएका थिए। सन् १९१४ मा सम्पूर्ण यूरोपमा युद्धको विरूद्धमा महिलाहरूले अभियान चलाउने र एकताबद्धता व्यक्त गर्नको लागि र्‍यालीहरू आयोजना गरेका थिए।

सन् १९१७ मा रूसमा बोल्शेभिक क्रान्तिको बेलामा रूसी श्रमिक महिलाहरूले रोटी र शान्तिको माँग गर्दै जार निकोलस द्वितीयको विरूद्धमा अन्य मजदूरहरूसँगै आन्दोलनमा अग्रणी भूमिका निभाए। बोल्भिकसहित पार्टीको विरोधको बाबजुद उनीहरूले अन्तर्राष्ट्रिय महिला दिवसको प्रदर्शनलाई एक सामूहिक हड्तालमा बदलिदिए, जसले पेट्रोग्रादका सम्पूर्ण श्रमिक वर्गलाई प्रभावित बनायो । यो आन्दोलनमा महिलाहरूको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहयो र रूसी क्रान्तिको जन्मसँगै निकोलसले आफ्नो राज्य छोड्नुपर्यो ।  त्यसपछि बनेको अस्थायी सरकारले महिलाहरूलाई पनि भोट दिने अधिकार प्रदान गरेको थियो।

रूसमा यो आन्दोलन हुँदा जुलियन क्यालेण्डर अनुसार २३ फेब्रुअरी थियो, तर धेरै देशमा प्रयोग हुने ग्रेगोरियन क्यालेण्डर अनुसार त्यो दिन ८ मार्च थियो। त्यसकारण ८ मार्चलाई नै अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन लागियो।

जुन १९२१ मा क्लारा जेटकिनले मार्च ८ लाई आधिकारिक बनाउनको लागि काम गरिन्। जेटकिनको अध्यक्षतामा मस्कोमा आयोजित कम्युनिष्ट महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा के घोषणा गरियो भने भविष्यमा ८ मार्चलाई संसारभरी अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइनेछ। त्यसबेलादेखि संसारका देशहरूमा ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस समारोह आयोजना गरिन्छ, जसले श्रमिक महिलाहरूको क्रान्तिकारी क्षमताको वार्षिक स्मरणको रूपमा कार्य गर्दछ।

सामान्य रूपमा भन्दा अन्तर्राष्ट्रिय महिला दिवस शुरूदेखि नै श्रमिक महिला दिवस थियो। यसको तात्कालिक उद्देश्य सार्वभौमिक महिला मताधिकार प्राप्त गर्नु थियो। तर यसका आकांक्षाहरू धेरै थिए, जसानुसार पूँजीवादलाई उखेलेर फ्याँक्नु र समाजवादको विजय गर्नु, शिक्षा र हेरविचारको कार्यको सामाजीकरणको माध्यमबाट श्रमिकहरूको ज्याला दासता र महिलहरूको घरेलु दासता दुवैलाई समाप्त गर्नु थियो।

सन् १९७५ बाट संयुक्त राष्ट्र संघले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउने घोषणा गर्‍यो  र त्यसबेलादेखि यो दिवस हरेक वर्ष ८ मार्चमा संसारका प्रायः सबै देशले आ-आफ्नो तरीकाबाट मनाउँदै आइरहेका छन्।

सन् १९७५ बाट संयुक्त राष्ट्र संघले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउने घोषणा गर्‍यो  र त्यसबेलादेखि यो दिवस हरेक वर्ष ८ मार्चमा संसारका प्रायः सबै देशले आ-आफ्नो तरीकाबाट मनाउँदै आइरहेका छन्। सन् १९९६ मा पहिलो पटक यो दिवका उद्देश्यहरूलाई पूरा गर्नको लागि एक थीम राखियो, जुन अतीतको पर्व, भविष्यको लागि योजना थियो।  र, यसपछि हरेक वर्ष यो दिवसको लागि एक मूल विषयवस्तु घोषणा गरिंदै आएको देखिन्छ।

यसरी अहिले हरेक वर्षको ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस प्रायः सबै देशमा मनाइन्छ। यो दिन महिलाहरूका महत्त्वपूर्ण उपलब्धिहरूको सम्मान गर्न र लैंगिक समानताको लागि समर्पण गरिन्छ। यस दिनमा महिला भेदभाव र लैंगिक असमानताको विरूद्धमा दृढतापूर्वक संघर्ष गरेका एवं भूमिका निर्वाह गरेका तमाम महिलाहरूको शक्ति र क्षमताको उच्च मूल्यांकन तथा सम्मान गरिन्छ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को विषयवस्तु 'इन्स्पायर इन्क्लुजन'  रहेको छ। यसको अर्थ महिलाहरूको मूल्य बुझ्नु र अरूलाई पनि यसको लागि प्रेरित गर्नु हो। यो थीममा विकासका हरेक पक्षमा महिलाहरूलाई सामेल गर्ने क्षमतालाई पहिचान गर्नको लागि संसारको समाजसँग आग्रह गर्ने कुरामा ध्यान दिइएको छ। उत्कृष्ट संसार निर्माण गर्न यो कुरा आवश्यक हुने मानिएको छ।

सन्दर्भ स्रोतहरू

  1. https://www.marxists.org
  2. Clara Zetkin: Selected Writings, by Klara Zetkin (Author), Philip Sheldon Foner (Editor), International Publishers Co Inc.,U.S.
  3. https://jacobin.com/author/cintia-frencia
  4. https://www.internationalwomensday.com/Activity/15586/The-history-of-IWD
  5. https://hindi.webdunia.com/womens-day-special/history-of-international-women-day-123030100078_1.html
  6. https://www.weforum.org/agenda/2024/03/international-women-day-what-why-when/
  7. महिलाओं के मुद्दे (महिलाओं के प्रश्न पर लेनिन से बातचित), क्लारा जेटकिन, भारत ज्ञान विज्ञान समिति
  8. अन्तर्राष्ट्रिय कम्युनिष्ट महिला आन्दोलनकी नेता क्लारा जेटकिन -फिलिप एस फोनरको लेख पर आधारित, अनुवाद शांता सुन्दरी, संघर्षरत महिला प्रकाशन।

Title Photo: https://img-s-msn-com.akamaized.net