हाम्रो कानले कसरी सुन्छ ?

ध्वनिको तरङ्ग आवाजमा परिणत हुनुको रोेचक यात्रा

हामी मनोरञ्जनका लागि गीत संगीत सुन्छौ । कुनै कुरा कसैलाई बताउनु पर्‍यो भने वा अभिव्यक्तिको माध्यमको रुपमा पनि आवाजकै प्रयोग गछौं । यो सबै कुरा हाम्रो कानको सुन्ने शक्तिको कारणले नै सम्भव भईरहेको छ । कानकै सुन्ने शक्तिको कारण हाम्रो जीवन सहज भई रहेको छ । एक छिन कल्पना गर्नुहोस त–हामी कसैले पनि कान सुन्न नसक्ने, बाहिर भयौभने हाम्रो जीवन कस्तो होला ?

तर के तपाईले कहिल्यै सोच्नुभएको छ–हाम्रो कानले कसरी सुन्छ भनेर ? अवश्य पनि छैन होला । शायद सवालमा घोत्लिइबस्नु पर्ने जरुरत नै तपाईले कहिल्यै महशुस गर्नु भएन होला । किनभने हामीले कसैले बोलाउँदा वा रेडियो क्यसेट, टिभीबाट गीत संगीत सुन्नु पर्दा बोलाएको वा बटन थिचेको तत्कालै आवाज सुनिहाल्छौं ।

तर वास्तवमा, कुनै पनि ध्वनि पैदा हुनेवित्तिकै हाम्रो कानले त्यत्तिकै सुनिहालेका हुँदैन । त्यो ध्वनि हाम्रो कानले सुन्नु भन्दा पहिला त्यसको तरंगले एउटा निश्चित र लामो प्रक्रिया पुरा गरेको हुन्छ । तर त्यो प्रक्रिया अत्यन्त चाँडो र तीव्र हुने भएकोले हामी सामान्यतः त्यो प्रक्रियाबारे महसूस नै गर्न सक्दैनौ । यसरी कुनै पनि आवाज वा ध्वनि हाम्रो कानले सुन्नको लागि त्यसले पार गर्ने प्रकृया कम रोचक  छैन ।

जब कुनै आवाज पैदा हुन्छ, त्यो आवाजको तरंग कानको बाहिरी भागबाट प्रवेश गर्छ । हाम्रो कानको बाहिरी भाग सोली जस्तो हुन्छ ।  त्यही सोली जस्तो भागहरुको नली पार गरेर कनको मध्यभाग हुँदै भित्री भागतिर बढ्छ ।

 

 

त्यसरी प्रवेश गरेको तरंग कानको बाहिरी भागमा रहेको करीब ३ से.मी लामो श्रवण नली हुँदै कानको मध्यभागमा रहेको करीव १.५ से.मी. चौडा र त्यत्ति नै लामो साँघुरो गल्ली (additory canal) पार गरेर कनको मध्य भागमा रहेको पर्दामा गएर ठोकिन्छ । कानको पर्दामा ध्वनिको तरंग ठोक्किएपछि पर्दामा कम्पन पैदा हुन्छ । त्यो कम्पनले पर्दासंगै रहेको घन जस्तो सानो र लचिलो हड्डीले बनेको अंग (hammeer) लाई हल्लाउँछ । त्यो ह्यामरले अर्को अंग  एन्भिल (Anvli) लाई धकेल्छ र त्यो एन्भिलको अर्को भाग स्टीर अप (stirrup) पनि भित्री कानमा स्थित cochlea मा रहेको विशेष तरल पदार्थमा कम्पन पैदा गराउन थाल्छ । र त्यसरी पैदा  भएको कम्पनलाई cochlea मा जोडिएर रहेको मसिना रौ जस्ता कोषहरुले ग्रहण गर्छन् । त्यसक्रममा ती रौंहरु अगाडि पछाडी मोडिने गर्छन् । cochlea मा त्यस्ता श्रवण रौहरु हज्जारौं  संख्यामा रहेका हुन्छन् ।

त्यसरी रौं कोषहरु मोडिँदा ध्वनि तरङ्ग विद्युतीय कम्पनको रुपमा रुपान्तरित हुन्छन् । सोही कम्पनको सूचना श्रवण स्नायु (auditory nerve) ले मस्तिष्कमा  पुर्याउँछ । त्यसरी मस्तिष्कसम्म पुगेको आवाजको तरंगको सुचनालाई मस्तिष्कले आवाजको रुपमा ग्रहण गर्छ । त्यसपछि मात्रै हामी ध्वनिको त्यस तरंगलाई आवाजको रुपमा सुन्छौ । त्यसरी सुनिएको आवाज तरङ्गको आधारमा फरक तीखोपना, चर्कोपना, बोलीहरु र सङ्गीतको रुपमा सुनिने गर्छ ।