सङ्गीत अन्वेषणमा गहकिलो पाइला
भगवान् शिवको डमरुवादन र सामवेदबाट सुरु भएको मनिने सङ्गीत आज पूर्णत डिजिटल युगमा आइपुगेको छ । आज हुँदाहुँदा सीडी र अडियो क्यासेट पनि विस्मृत भइसकेको छ । आज गीत सङ्गीत हेर्ने वस्तुका रूपमा विकसित भएको छ । यसका आफ्ना सहजता होलान् तर मूलभूत रूपमा सङ्गीतको मर्मचाहिँ आज विलुप्त भएको स्थिति छ । कानले सुनेर मुटुले स्पर्श गर्ने सङ्गीत आज हेर्ने वस्तु हुँदा नै यसको अन्तर्यको मर्ममा घात हुन थालेको हो ।
साहित्यका क्षेत्रमा बग्रेल्ती पुस्तकहरूको लहर दैनिक छाइरहेको आजको अवस्थामा गीतसङ्गीत विषयक ग्रथहरूको भने निकै खडेरी रहेको छ । आजसम्मकै यो क्षेत्रको अवस्था हेर्दा १०० भन्दा मुनि नै यस्ता ग्रन्थहरू सार्वजनिक हुन सकेका छन् । यस्तो अनिकालको अवस्थामा नीलकमलले सुरसङ्गीतका केही साधकका नाममा चौबिस जना गायक, गीतकार तथा सङ्गीतकारका विषयमा तयार पारेको पुस्तक पाठकका सामु आइपुगेको छ । नेपाली गीत रेकर्डिङका क्षेत्रका सर्वप्रथम स्रष्टा आदिगायक सेतुरामदेखि मणिकमल क्षेत्रीसम्मका चौबिस स्रष्टाहरूको संक्षिप्त जीवनवृत्त रहेको यो कृतिमा लेखकले भूमिकामा नै उल्लेख गरेका छन् — केही ओझेलमा परेका सुरकर्मीहरूलाई आजको पुस्तासित एकाकार गराउने यसको उद्देश्य हो भनेर । यस हिसाबले पनि नारायण गोपाल, प्रेमध्वज प्रधान, तारादेवी, शान्ति ठटाल, नातिकाजी आदि प्रवृत्तिका गायकहरू नरहेकोमा सोचे जति गुनासो मान्नु नपर्ला । बरु आम सङ्गीतका भावकहरूले बिर्सिसकेका नामहरू जर्जी व्याङ्क्स, जितेन्द्र बर्देवा, प्रमोद हमाल, दिलमाया खाती तथा रानुदेवी अधिकारी आदिको चर्चा गरेर लेखकले सार्थक कार्य गरेका मान्न सकिन्छ । सङ्गीतको क्षेत्रमा भएका आन्दोलन तथा अभियानहरू राल्फाली आन्दोलन, लेकाली समूह, देवकोटा सङ्गीत, प्रगतिवादी साङ्गीतिक आन्दोलन आदिको यथेष्ट चर्चा उनले आफ्नो भूमिका खण्डमा गरेका छन् । यस मानेमा सङ्गीतको पारख गर्नेहरूलाई केही सूचना पनि यो कृतिले दिन सकेको मान्न सकिन्छ ।
कृतिमा नेपालबाहिर दार्जीलिङका स्रष्टाहरू मूलभूत रूपमा बढी देखिएका छन् । हुन पनि हो अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, दिलमाया खाती तथा शान्ति ठटालहरू बिनाको नेपाली सुगम सङ्गीतको कल्पना पनि कसरी गर्ने ? एउटा कुरा यो हो भने अर्काे कुरा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा भूगोल र राजनीतिको सीमारेखाले कहिल्यै पनि छुँदैन । लैनसिंह वाङ्देलको मुलुक बाहिर, लीलबहादुर क्षेत्रीको बसाइँ तथा इन्द्रबहादुर राईको आज रमिता छ को चर्चा पनि नगरी नेपाली उपन्यासको चिरफार गर्न सकिएला र ? यो कृतिको भाषा अत्यन्त सुन्दर रहेको छ अझ भनौँ शीर्षकले नै धेरै कुरा बोलेको छ । यस मानेमा लेखकलाई निकै तारिफ गर्नुपर्ने हुन्छ । आत्मपरक निबन्धका शैलीमा लेखिएका निबन्ध भन्न सकिने यी आलेखहरू यो क्षेत्रका अध्येताहरूका लागि निकै उपयोगी हुनेछन् भन्न सहजै सकिन्छ ।
कृतिको सन्दर्भ दिने प्रक्रिया र शोधको नियममा केही कमीकमजोरीहरू देखिए पनि कृतिले मरुभूमि जस्तो रहेको यो क्षेत्रमा आशाको सिञ्चन भने गरेको छ । आज गुमनाम जीवन बिताइरहेका बच्चुकैलाश जस्ता सुगम सङ्गीतका प्रतिनिधि स्रष्टाको उत्खनन् यहाँ हुनु नै पनि एउटा सार्थक उपलब्धि हो । यहाँ सैद्धान्तिक विवेचना पटक्कै छैन तर केही गीतकार, सङ्गीतकार र गायकहरूको जीवनवृत्त छ, उनीहरूले भागेका जीवनका अथाह पाटाहरूको फेहरिस्त छ जसले गर्दा यी विधाका प्रेमीहरूलाई यो कृतिले केही खुराक भने अवश्य प्रदान गर्नेछ । केही अमर भइसकेका र केही आज पनि सङ्गीतमा सक्रिय रहेका स्रष्टाहरूको यहाँ अभिलेखीकरण भएको छ । अत्यन्त आकर्षक आवरण, सुन्दर छपाई र सान्दर्भिक फोटोहरूले सजाइएको यो कृतिको मूल्य केही महँगो लागे पनि आजको अवस्थामा यो प्रश्न ठूलो होइन । अत्यन्त कलात्मक भाषामा लेखिएको यो कृतिमा सानो आयतनमा फैलावट रहे पनि यो सानो आँखीझ्यालबाट सङ्गीतको ठूलो संसार चियाउने आधार मिल्ने सम्भावना देखिन्छ ।
कृति: सुरसङ्गीतका केही साधक
विधा: विवेचनात्मक जीवनीसङ्ग्रह
प्रकाशकद्वय: इन्दिरा सुवेदी र सुचेता नेपाल
पृष्ठ: १५४
संस्करण: पहिलो २०७९
मूल्य: ५००।—
प्रतिक्रिया