सामाजिक आन्दोलन, नागरिकको भूमिका र विश्व सामाजिक मन्चको भविष्य

पृष्ठभूमि

अर्को विश्व संभव छ भन्ने नाराका साथ विश्व सामाजिक मन्च अर्को एउटा वैकल्पिक सामाजिक खेमाको सिर्जनातिर अग्रसर भएको अनुभूति हुन्छ । सामाजिक आन्दोलन एक प्रकारको सामुहिक कृया हो । मानव समाजको विकास संगसंगै तात्कालिन समाजले एक पछि अर्को परिवर्तनको सोच राख्दै गयो, उक्त परिवर्तानका लागि ब्यक्ति वा समूह अनिवार्य शर्त थियो । शुरुमा सामाजिक आन्दोलनमा अनौपचारिक समूहहरु देखा परे । जसको ध्येय कैयौं विशिष्ट सामाजिक मुद्दाहरुमा केन्द्रित थिए । समाजको विकास संगसंगै त्यसको गर्भबाट वर्गको जन्म भयो । वर्गसंगै जन्मेको चेतनाको विकासले एक वर्गले अर्को वर्गमाथि गरेको अन्याय, अत्याचार र दमन, विभिन्न प्रकारका विभेदका विरुध्द बोल्ने जागरण पैदा गर्यो । त्यो तागत ब्यक्तिबाट विस्तारै वर्ग मिल्ने, हीत मिल्ने, स्वार्थ मिल्ने समूहहरुमा अन्तरघुलन हुँदै जाँदा सामाजिक रुप धारण गर्न पुग्यो र क्रमशः सामाजिक आन्दोलनमा विकास हुँदै गयो ।

सामाजिक परिवर्तन गर्न चाहने, समाजलाई परिवर्तन नगरी यथास्थितिमा राख्न चाहने बीचको दूरी पनि सामाजिक आन्दोलनले बढाउँदै लग्यो । भनिन्छ ज्ञान आकासबाट खस्दैन, ज्ञानको खानी समाजमा जन्मने विचार, विश्लेषण, छलफल, आन्दोलन नै हो । आधुनिकीकरण संगसंगै विश्वका विभिन्न मुलुकमा चलेका जागरण, आन्दोलन, औद्योगिकीकरण पछिका मजदूर आन्दोलन,नागरीकीकरण, जातीय,महिला आदि सवालहरु एक सामाजिक आन्दोलनको रुपमा विकास हुँदै आए ।

हजारौं वर्षको मानव जातिको इतिहासमा भोक, अन्याय, भेदभाव,  असामानता, हिंसा, अस्थिरता आदिबाट मानव जातिलाई मुक्त गर्न ठूला ठूला सामाजिक आन्दोलन भएका छन् ।

मानव समाजको आजसम्मको इतिहासमा अनेकन् दर्शन, सिध्दान्त, विचार, राजनीति प्रतिपादन भएका छन् । मानव सभ्यताको विकासको क्रममा जन्मेका दार्शनिकहरु प्लेटो, अरिष्टोटल, मन्टेस्क्यूदेखि कार्ल मार्क्ससम्म आइपुग्दा सामाजिक आन्दोलनहरुले नवीन विचारहरु दिएका छन् । समाजलाइ डोर्याउने राजनीतिक र सामाजिक जीवनका महत्वपूर्ण क्षेत्रहरुमा नवीन र प्रगतिशील दर्शन, सिध्दान्त र विचारधाराको जरुरत अवश्य पर्छ । आज विकसित भनिएका पश्चिम र पूर्वका देश र समाजले पनि इतिहासको लामो कालखण्डमा सामाजिक आन्दोलनका ठूला ठूला मूल्य चुकाउनु परेको थियो । हजारौं वर्षको मानव जातिको इतिहासमा भोक, अन्याय, भेदभाव,  असामानता, हिंसा, अस्थिरता आदिबाट मानव जातिलाई मुक्त गर्न ठूला ठूला सामाजिक आन्दोलन भएका छन् । चार्चिष्ट आन्दोलन, किसान आन्दोलन, महिला आन्दोलन, जातीय आन्दोलन, दलित आन्दोलन,  आदिबासी आन्दोलन, भाषा र सांस्कृतिक आन्दोलनहरु आदि सामाजिक आन्दोलन कै अभिन्न अंग हुन् । यी आन्दोलनहरुले मानवले मानवका विरुध्द गरिने विभिन्न विभेदबाट मुक्त गराउन श्रेष्ठता हासिल गरेका छन् । यसका अभियन्ताहरु लिंकन, डाक्टर अम्बेकर, क्लारा जेट्किन, लुहमिचेल, मण्डेला आदिको महत्वपूर्ण योगदान छ । संसारमा भएका विभिन्न सामाजिक आन्दोलनहरु अमिवा जस्तै देखिएका छन् । एककृत आन्दोलन हुन्छ, स्वार्थका लागि फुट्छन्, फुटाइन्छ र फेरि जोडिन्छ पनि । यो एक प्रकारले अमिवा जस्तै भएर अगाडि बढिरहन्छ ।

तसर्थ सामाजिक आन्दोलनको लक्ष्य निर्धारण गर्न दर्शन एवम् सामाजिक सिध्दान्तको आवश्यकता पर्छ । लक्ष्य निर्धारण नगरी अघि बढेको सामाजिक आन्दोलन सही ठाउँमा पुग्न सक्दैन । त्यसैले एउटा राजनीतिक शक्तिको निर्माण पनि सामाजिक शक्तिले निर्माण गर्छ । उक्त शक्ति सामाजिक आन्दोलनबाट मात्र प्राप्त हुने हुनाले समुन्नत, समतामूलक, विभेद रहित समाजको निर्माणको लागि सामाजिक आन्दोलनको महत्वपूर्ण भूमिका रहने छ ।

नागरिकको दायित्व

अन्याय, अभाव र अत्याचारको विरोध तथा न्याय, समानता र मुक्तिको पक्षधर भै अगाडी बढ्नु हरेक नागरिकको कर्तव्य हो । संसारका विभिन्न सामाजिक आन्दोलनमा विचार, संगठन र परिचालन विना आन्दोलनले पूर्णता पाएको छैन । यी तत्वहरु नागरिकहरुबाटै जन्मन्छ । सामाजिक आन्दोलनले नै हो नागरिक अगुवाहरुको जन्म दिने । स्वायत्त सामाजिक आन्दोलनहरु, विभिन्न प्रकारका संजालहरु निर्माण गरी आन्दोलनलाई मुखरीत बनाउनु नागरिकको दायित्व नै हो । जनतन्त्र र जनजीविकाको लागि गरिएको संघर्षलाई सामाजिक रुपान्तरणको हिसाबले हेर्दा नागरिक अगुवाहरुको भूमिका अग्रणी छ । विश्व पूजीवादी, नवउदारवादी एवम् नेपालको सन्दर्भमा दलाल पूजीवादी व्यवस्था र त्यसको नाफामुखी उद्देश्यको विरोध गर्दै एउटा वैकल्पिक, मानवतावादी, सहयोगात्मक समाज अर्थात् समाजवादी समाजका लागि संघर्ष गर्नु अग्रज नागरिकको कर्तव्य हो ।

सामाजिक आन्दोलनले नै हो नागरिक अगुवाहरुको जन्म दिने । स्वायत्त सामाजिक आन्दोलनहरु, विभिन्न प्रकारका संजालहरु निर्माण गरी आन्दोलनलाई मुखरीत बनाउनु नागरिकको दायित्व नै हो ।

पूजीवादद्वारा उत्पन्न भौतिक दरिद्रता र मानसिक तुच्छताबाट ग्रसित ठूलाबडाका विश्व नीतिका विकल्प विना अर्को विश्व संभव देखिंदैन । त्यसको लागि इतिहासको लामो कालखण्डमा जसरी अब्बल दर्जाका नागरिकहरुको जन्म भयो र स्तुत्य भूमिका निर्वाह गरेर भौतिक रुपमा विदा भए, वहाँहरुको योगदान सुदूर भविष्यसम्म अविस्मरणीय रहने छ । आजको सामाजिक आन्दोलनले पनि त्यस्तै सोही भूमिका खोजेको छ । आज विश्व राजनीतिको शिखरमा नवउदारवादको विखण्डनकारी रणनीति हावी छ । यो रणनीतिको प्रयोग हिजो झैं केवल श्रमिकहरु माथि मात्र होइन, आधारभूत वर्ग, समाज र सामाजिक आन्दोलन अलग्याउने, समूह विभाजन गराउने प्रयत्नहरु भरहेका छन् । यसबाट सामाजिक अभियन्ताहरु, न्यायप्रेमी नागरिकहरु सदैव सज रहनु पर्दछ । समाजमा भएका साना ठूला सबै शक्तिहरुलाई एकिकृत गरी सामाजिक आन्दोलन अघि बढाउनु पर्दछ । नवउदारवादका सबैखाले तिकडम र चालबाजीबाट आन्दोलनलाई बचाउनु अपरिहार्य छ यद्यपि यो कठिन छ ।

आज विश्व राजनीतिको शिखरमा नवउदारवादको विखण्डनकारी रणनीति हावी छ । यो रणनीतिको प्रयोग हिजो झैं केवल श्रमिकहरु माथि मात्र होइन, आधारभूत वर्ग, समाज र सामाजिक आन्दोलन अलग्याउने, समूह विभाजन गराउने प्रयत्नहरु भरहेका छन् ।

यो गौरशाली तथा ऐतिहासिक विश्व सामाजिक मन्च निर्माणको अभियानमा कमरेड लुलाले जुन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको छ, अवश्य पनि यसको प्रेरणा वहाँले कमरेड चे, फिडेल क्याष्ट्रो लगायतबाट प्रेरणा प्राप्त गर्नु भएको होला भन्ने अनुमान गर्न सकिन्छ । ल्याटिन अमेरिकी आन्दोलनमा चे, फिडेल, ह्युगो, आदिको महत्वपूर्ण भूमिका र दायित्व थियो । विगतको कालखण्डमा युरोपको राज्यक्रान्ति, मजदूर आन्दोलन, अमेरिकी स्वतन्त्रता संग्राम, एसिया, अफ्रिकी, ल्याटिन अमेरिकी मुक्ति आन्दोलनहरु सामाजिक आन्दोलनका उपज हुन् । फरक यो छ कि दर्शन, सिध्दान्त, विचारको जगमा उठेका आन्दोलनहरुले परिवर्तनको प्रत्याभूत गरेका छन् भने स्वतस्फुर्त रुपमा उठेका आन्दोलनहरुले खास उपलब्धि दिन सकेनन् । तसर्थ वैचारिक नेतृत्व आजको सामाजिक आन्दोलनको माग र आवश्यकता बनेको छ ।

विश्व सामाजिक मन्चको भविष्य

विश्व सामाजिक मन्चले २३ वर्षको लामो इतिहास व्यतित गरी सकेको छ । यो मन्चले सिंगो मानव जातीको हितका खातिर समाजमा देखिएका अन्याय असमानता, जातीय विभेद लगायतका विभिन्नखालका सामाजिक न्यायको पक्षमा वकालत गर्दै आएको छ । हाल विश्वभर नै हरेक सामाजिक क्षेत्रहरुमा बढ्दो असन्तोष महसुस हुन थालेको छ । ती असन्तोषहरु विभिन्न रुपको प्रतिरोधमा रुपान्तरण हुँदै जान थालेका छन् । प्रतिरोधलाई निष्कृय बनाउन नवउदारवादले अपनाएका सामाजिक विखण्डनको रणनीतिको बाबजुद पनि भूमण्डलीकृत व्यवस्थाको विरुध्द प्रदर्शनहरु र आन्दोलनहरुमा अग्रसर हुनु विश्व सामाजिक मन्चका लागि सकारात्मक पक्ष हो । जसबाट संघर्षका नयाँ विश्वचक्र निर्माण हुन सक्छ । नयाँ नयाँ विभिन्न क्षितिजहरु खुल्न सक्छन् । तर यो तमाम संभावनाका बावजुद पनि विश्व सामाजिक मन्चका सामु असीमित चुनौतिहरु छन् ।

विश्व सामाजिक मन्चलाई विश्वसनीय र दीर्घजीवी बनाउन तल्लो तहका आधारभूत जनताको बीचमा एकाकार हुने र उनीहरुको सृजनात्मक पहलकदमीमा भरोसा र विश्वसनीय वातावरण बनाउन आवश्यक छ किनभने उनीहरुले वास्तविक समस्याहरु पहिल्याउन र समाधानका लागि निस्वार्थ उपायहरु पनि खोज्दछन् । सामाजिक आन्दोलनलाई सशक्त बनाउन विभिन्न समूहका समानान्तर प्रयत्नहरुलाई जारी राख्नु पर्दछ किनकि जनतामा परिरहेका समस्याहरु,उनीहरुको आकांक्षा त्यसमा मुखरीत वा संगठित हुन्छन् । अन्ततोगत्वा ती आवाजहरु सामाजिक आन्दोलनको रुपमा प्रदर्शित हुन्छ । विश्व सामाजिक मन्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवादले गर्ने विभिन्न विभेदकारी नीतिका विरुध्द संघर्ष अगाडी बढाउँदै अर्को विश्व संभव छ भन्ने जुन नारा अगाडी सारेको छ, यसलाई असफल बनाउँन नवउदारवादी र पूजीवादका नाइकेहरुले विभिन्न खाले दमन र षडयन्त्रको योजना बनाउने छन् । त्यसलाइ चिर्न सामाजिक शक्तिको अदम्य साहस,त्याग र बलिदान आवश्यक पर्न सक्छ , किन कि संसार बदल्ने भनी घोषणा गरिएका ठूला बलिदानीपूर्ण आन्दोलनहरुको इतिहास ताजै छ, सहजै अर्को विश्व बन्न दिने वाला छैनन् ।

विश्व सामाजिक मन्चलाई विश्वसनीय र दीर्घजीवी बनाउन तल्लो तहका आधारभूत जनताको बीचमा एकाकार हुने र उनीहरुको सृजनात्मक पहलकदमीमा भरोसा र विश्वसनीय वातावरण बनाउन आवश्यक छ किनभने उनीहरुले वास्तविक समस्याहरु पहिल्याउन र समाधानका लागि निस्वार्थ उपायहरु पनि खोज्दछन् ।

नवउदारवादी भूमण्डलीकरणको यस युगमा ती शक्तिशाली सन्जालका विरुध्द हामीले बनाउन चाहेको मानवतावादी सहयोगात्मक सामाजिक विश्व आन्दोलनको उनीहरुले विरोध गर्ने छन् । त्यतिवेला माक्र्सले संसारका मजदूर एक हौं भने झैं संसारका श्रमजीवी जनता, आधारभूत क्षेत्रका मानिसहरु, विश्व सामाजिक आन्दोलनका अभियन्ताहरु एक भएर अघि बढ्नु, संघर्षका लागि योगदान गर्नु सबैभन्दा उत्तम विधि हुने छ । नवउदारवाद र नोकरशाही राजनीतिक चिन्तनले आधारभूत स्तरका मानिसहरुलाई समाजका हरेक निर्णय प्रकृयामा जनताका आफ्ना विचारहरु ब्यक्त हुन दिनुपर्छ जसबाट आन्दोलन साझा सम्पत्ति हो भन्ने तर्फ मुखरीत हुन्छ ।

अहिलेको नवउदारवादी भूमण्डलीकरणको युगमा सामाजिक आन्दोलन बचाउँन सक्ने शक्ति भनेको सचेत श्रमजीवी जनता, मानवतावादी संस्थाहरु, समाजवादी आन्दोलनमा लागेका संसारका आन्दोलनकर्मीहरु नै अग्रभागमा हुनेछन् । सामाजिक आन्दोलनको विशाल जहाजको मस्तुल अगाडी बढ्ने छ, अर्को विश्व संभव हुने छ ।

विश्व सामाजिक मन्चको १६ औं सम्मेलन २०२४ मा प्रगतिशील समाजवादी मन्चको तर्फबाट प्रस्तुत कार्यपत्र