युद्धप्रसाद मिश्रका कवितामा प्रकृति र क्रान्ति
कवि युद्धप्रसाद मिश्र ३४औँ स्मृति दिवसको सन्दर्भ: २०८० फागुन ६
नेपाली जनता पञ्चायती व्यवस्थाको अन्त्यका लागि राजनीतिक पार्टीहरूले आह्वान गरेको वि.सं. २०४६ को आन्दोलनमा होमिदै थिए । जब आन्दोलनले देशव्यापी फैलावट लिदै गयो प्रत्येक कार्यक्रम र सभा, जुलुश एवम् सांस्कृतिक कार्यक्रमहरूमा एउटा जोशिलो गीत मूल आकर्षण भएर बज्न थाल्यो । त्यो गीत कतै प्रत्यक्ष गायकहरूकै स्वरमा घन्किन्थ्यो त कतै क्यासेटहरूमा । वरिस्ठ गायकहरूदेखि कनिष्ठ गायकहरूले जनमानसमा आन्दोलनका लागि उर्जा बढाउन, आन्दोलनलाई ज्वालामुखीझै दन्काउन गाए त्यो गीत हजारौं मञ्चहरूबाट । जुलुशमा आन्दोलनकारीहरूले स्वयम् त्यो गीत गाउँदै आफै भित्र जोश बढाउन थाले । कति ठाउँमा त त्यो गीत परेड गीत जस्तै भयो । नेपाली जनजनमा पुगेको, नेपाली मनमनभित्र पुगेको त्यो गीत थियो :
रक्तक्रान्तिको ज्वालामुखीमा
आज उठेको यो स्वाभिमान
श्री नढलेका युवायुवतीको
हृदय हृदयको स्वाभिमान !
थोरै मानिसहरूलाई मात्र थाहा थियो त्यो ज्वालामुखी जस्तो गीत कस्ले लेखेको भन्ने कुरा । थोरै मानिसहरूलाई मात्र थाहा थियो त्यो गीतलाई हिमाल जस्तो अग्ल्याउने र आकास जस्तै फैल्याउने सझ्गीत कस्ले दिएको थियो भन्ने कुरा । थाहै नपाई नपाई मानिसहरूले त्यो गीतलाई आफ्नो गीत बनाएका थिए । त्यो गीत आन्दोलन प्रेमी, परिवर्तनप्रेमी सारा नेपालीहरूको गीत भएको थियो । त्यो गीतका रचनाकार थिए वरिष्ठ प्रगतिवादी, कवि युद्धप्रसाद मिश्र र त्यो गीतका संगीतकार थिए संगीतकार एवम् वरिष्ठ जनगायक रामेश श्रेष्ठ । तिनै गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ३४ औँ स्मृति दिवसको परिप्रेक्ष्यमा उनकै जीवन र काव्यसाधनाका बारेमा यो लेख केन्द्रित छ ।
मिश्रको वाल्यकाल, शिक्षा र जागिरे जीवनको थालनी
कवि युद्धप्रसाद मिश्रको जन्म वि.स. १९६४ साल पुस २७ गते शनिवार भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा भएको थियो । उनी बुबा रुद्रप्रसाद मिश्र र आमा गीताकुमारी मिश्रका एक्ला पुत्र थिए । ठानाका राइटर रुद्रप्रसाद मिश्रको तत्कालिन दरबारीया शासक प्रशासकसँग राम्रो सम्पर्क थियो। उनका मामा गुरुप्रसाद आचार्य पनि तत्कालिन राणा प्रधानमन्त्री भीमशमशेरको अड्डाको सुब्बा पदमा बहाल थिए । प्रशस्त जग्गाजमिन र सरकारी जागिरका कारण रुद्रप्रसाद मिश्र र गुरुप्रसाद आचार्य दुवैको परिवार सम्पन्न परिवार थिए । सम्पन्न परिवारमा जन्मिएका युद्धप्रसाद मिश्रको जीवनले भने नाबालक अवस्थादेखि नै अफठ्यारा र असजिलासँग जुझ्नुपर्ने भयो । उनी डेढवर्षकै हुँदाखेरि बुबाको मृत्यु भयो । परिवारमा आमा, दुई दिदी र उनी मात्र रहे ।
आमा, दिदीहरू र मावलीको रेखदेखमा हुर्किएका मिश्रले बालककालमा आर्थिक अभावको महुसुस त गर्नु परेन तर बुबाको अभिभावकत्व र मार्गनिर्देशन अभावमा अनुशासन र व्यवहारिक कुशलताको निर्माणमा भने कमजोरी रह्यो ।
बुबाको अभिभावकत्व र मार्गदर्शन के कस्तो हुन्छ युद्धप्रसादले जान्नभोग्न पाएनन् । आमा, दिदीहरू र मावलीको रेखदेखमा हुर्किएका मिश्रले बालककालमा आर्थिक अभावको महुसुस त गर्नु परेन तर बुबाको अभिभावकत्व र मार्गनिर्देशन अभावमा अनुशासन र व्यवहारिक कुशलताको निर्माणमा भने कमजोरी रह्यो । आमा र दिदीहरूको पुल्पुल्याहट र मावलीको सम्पन्नताको रवाफले मिश्रमा भविष्य सोच्ने भन्दा वर्तमानमा रमाउने, साथीहरू जम्मा गर्ने, घुमफिर गर्ने बानीको विकास गरायो । सुरक्षा गार्डहरूलाई छक्याएर उनी राणाका दरबारभित्र पसी फलफूल बगैँचामा पुग्ने, फलहरू टिपेर खाइदिने, त्यहाँका तलाउमा पौडी खेल्ने जस्ता नपत्याउने क्रियाकलाप समेत गर्थे । यस्ता कुराले मिश्र कुनै पनि वर्गका मानिसहरूसँग डर नमान्ने आँटिला स्वभावका थिए भन्ने बुझिन्छ । गाउँघरदेखि राणा दरबारका केटाकेटीहरूसँग उनको मित्रता थियो । साथी भनेपछि उनी हुरुक्कै हुन्थे । साथीहरूका लागि उनी जस्तो सुकै त्याग समेत गर्न उत्सुक भइहाल्थे । साथीहरूलाई खुवाउँदा पैसा सकिएर उनले चुरोट राख्ने चाँदीको बट्टासमेत बिक्री गरेका थिए । उनी आफूलाई गुमाउन सहज मान्थे तर साथी गुमाउन चाहदैनथे ।
हजुरबुबा, बुबाकै पालादेखि सरकारी जागिरे, पढेलेको परिवारकी भएकी कारण आमा गीताकुमारी स्वयम्ले छोरा युद्धप्रसादलाई कखरा पढाएकी हुन् । लेख्न पढ्न सक्ने बनेपछि मावली हजुरबुबा गणेशबल्लभ आचार्य र फुपाजू नाताका अङ्गीरसको सहयोग र सल्लाहमा गीताकुमारीले युद्धप्रसादलाई घरमै पढ्नका लागि शिक्षकको व्यवस्था गरिदिएकी थिन् । यसैक्रममा उनले संस्कृत भाषाका महाभारत, रामायण, पञ्चतन्त्र, कथासरित् सागर, चण्डी, रुद्री, लघुसिद्धान्त कौमुदी, शाकुन्तलम्, रघुवंश, मेघदूत, चाणक्यनीति आदि ग्रन्थहरूको अध्ययन गरेका थिए । यही अध्ययनले मिश्रलाई साहित्यतर्फको रुची बढाएको थियो।
उनले संस्कृत भाषाका महाभारत, रामायण, पञ्चतन्त्र, कथासरित् सागर, चण्डी, रुद्री, लघुसिद्धान्त कौमुदी, शाकुन्तलम्, रघुवंश, मेघदूत, चाणक्यनीति आदि ग्रन्थहरूको अध्ययन गरेका थिए । यही अध्ययनले मिश्रलाई साहित्यतर्फको रुची बढाएको थियो।
परिणामस्वरूप मावलीहरूकै सहयोगमा उनी भारतको बनारसमा संस्कृत साहित्यको अध्ययन गर्न पुगेका थिए । त्यहाँ उनले हिन्दी र अङ्ग्रेजी भाषा साहित्यको पनि अध्ययन गर्ने अवसर पाए । हिन्दी साहित्यका ग्रन्थहरूको अध्ययन चाहिँ मिश्रले आफ्ना दरबारिया मित्र मियर शमशेरकी आमा बुना महारानीको निजी पुस्तकालयमा गरेका थिए । बनारस जानु अघि मिश्रलाई आमा गीताकुमारीले औपचारिक शिक्षाका लागि दरबार हाइस्कुलमा भर्ना गराएकी थिइन् । तर बनारस जाने भएपछि उनको सो अध्ययनको क्रम टुटेको थियो । पछि वि. सं. १९८० तिर पुन: दरवार स्कूलमा भर्ना भएर उनले वेद र निजामती शिक्षा अध्ययन गरे । राम्रो नतिजा ल्याएर १९८७ मा निजामति शिक्षा पहिलो किलास उत्तीर्ण गरेकै कारण उनले पछि नायव सुब्वा तहसम्मको जागिर पाएका थिए । जागिर खान थाल्नु भन्दा अगाडि नै बुबा, आमा, परिवार सबैको माया, ममता, अभिभावकत्व प्रदान गर्ने आमा गीता कुमारीको मृत्यु भइसेकेको थियो ।
जेल, जागिर र राजनीति
बुबाको अभावमा परिवारको आर्थिक सम्पन्नताका आधारहरू भत्कन थालेका थिए । युद्धप्रसादले परिवारको आर्थिक सम्पन्नताको संरक्षण गर्नुपर्छ भन्ने कहिल्यै ठानेनन् । उनी आफू हैन अरुलाई खुसी बनाउनु पर्छ भन्ने मान्यता लिएर आफ्नो सम्पतिको बेहिसाब प्रयोग गर्न रुचाउँथे । परिणामस्वरूप उनले पनि जागिर खानुपर्ने परिस्थिति आयो ।
वि.सं. १९८४ मा मिश्रले कुमारी चोकमा नौसिन्दाको सरकारी खाए । १९८६ तिर भीम शमशेरकी कान्छी रानी सीता महारानीको ढुकुटी विभागमा बहिदार पदमा काम गर्न थाले । काठमाडौंकी लोककुमारी देवकोटासँग विवाह पनि गरे ।
युद्धप्रसादले परिवारको आर्थिक सम्पन्नताको संरक्षण गर्नुपर्छ भन्ने कहिल्यै ठानेनन् । उनी आफू हैन अरुलाई खुसी बनाउनु पर्छ भन्ने मान्यता लिएर आफ्नो सम्पतिको बेहिसाब प्रयोग गर्न रुचाउँथे ।
त्यसै समयमा उनले लेखेको 'अहिंसा प्रार्थना' खण्डकाव्यमा राणा खान्दान बिरुद्धको भावना छ भनेर राणा प्रधानमन्त्री भीमशमशेरले डढाइदिए । त्यसले मिश्रको भावनामा चोट लगायो। अपमान महसुस भयो तर घरायसी आर्थिक अवस्थाका कारण उनले तुरुन्त जागिर भने छोड्न सकेनन् । जुद्धशमशेरको कठोर शासन, आफूभित्र बढ्दो राणाहरू प्रतिको घृणाभावका कारण उनले १९९० मा राणा दरबारको जागिर त्यागे । उनी आफ्नै जन्मथलो भक्तपुर, सिरुटार स्थित सोमलिङटारमा गएर पैत्रिक थाकथलोमा बसोबास गर्न थाले ।
पैत्रिक सम्पति स्याहारेर बस्दा उनको आर्थिक अवस्थामा कुनै सुधार आएन । आर्थिक आम्दानीको कुनै स्रोत नभएका कारण जीवन झन जटिल भयो । साना साना छोराछोरीको पालनपोषणमा समेत अप्ठ्यारो हुन थालेपछि मिश्रले वि.सं. २००० सालमा वीरगञ्जस्थित सर्कल अफिसमा वनजाँचको सुवेदार पदको जागर सुरु गरे । बनारस बस्दा उनीभित्र अङ्कुरण भएको राजनीतिक चेतनाको बिज बिरगञ्जमा विकसित हुन थाल्यो ।
वि.सं. १९९७ देखिनै राणा बिरोधी आन्दोलनमा लाग्न थालेका मिश्र जागिर खाँदै नेपाली राष्ट्रिय काङ्ग्रेसको सम्पर्कमा आएर सङ्घर्षमा सहभागी हुनथाले । २००४ सालमा त उनी पूरै राजनीतिक कार्यकर्ताको जस्तै सक्रियताका साथ आन्दोलनमा लागेपछि राणा शासनमा उनको जागिर रहेन । उनको जागिरमात्र गएन, जेल जीवन पनि सुरु भयो। जेल जीवनले उनलाई कति पनि गलाएन । राणा विरोधी उनको चेतना अझ सशक्त बन्यो । हुन त उनी किशोर उमेरमै आफ्ना साथीहरू लिएर राणाको थापाथलीको दरवारको बगैँचामा पसी बिना अनुमती फलफूल टिपेर खाँदा, राणा परिवारले पौडी खेल्ने पोखरीमा पौडी खेल्दा पाएको केही अपमान र केही घण्टा थुनिएको पीडाले अन्तरचेतनामा राणाहरूप्रति घृणा भावको भावना जगाइसकेको थियो ।
२००४ सालमा त उनी पूरै राजनीतिक कार्यकर्ताको जस्तै सक्रियताका साथ आन्दोलनमा लागेपछि राणा शासनमा उनको जागिर रहेन । उनको जागिरमात्र गएन, जेल जीवन पनि सुरु भयो। जेल जीवनले उनलाई कति पनि गलाएन । राणा विरोधी उनको चेतना अझ सशक्त बन्यो ।
वीरगञ्ज जेलमा २ वर्षभन्दा बढी समय कठोर यातनासहित थुनिएपछि मिश्र स्वयं कैदीलाई खानदेऊ, औषधीको व्यवस्था गर, राजबन्दी मुक्त गर, प्रजातन्त्रको घोषणा गर आदि माग राखेर २४ दिन अमरण अनसनमा बसे । उनको अनसनले वीरगञ्जमा ठूलो प्रभाव पार्यो । मिश्रको रिहाइका लागि त्यहाँ जनप्रदर्शन समेत भयो । दवावको परिणामस्वरूप २ वर्ष ४ महिना पछि मिश्र जेलबाट रिहा भएका थिए ।
वि. सं. २००७ मा प्रजातन्त्र आएपछि मिश्रले जागिरमा पुनर्वहाली हुने अवसर पाए । केही समयपछि नायव सुब्बाको पदमा बढुवा पनि भए । केही समयका लागि उनको पारिवारिक आर्थिक पक्ष केही सबल पनि भयो । यो राजनीतिक परिवर्तनले नेपाली जनतामा सुखानुभूति दिन सक्दैन, राज्यको नेतृत्व गरिरहेको पार्टी जनहितको, देशको हितको पक्षमा छैन भने उनलाई लागेपछि आफू सम्बद्ध भएको नेपाली काङ्ग्रेस पार्टीसँगको उनको सम्बन्ध बिग्रन थाल्यो र उनीमाथि भ्रष्टाचारको मुद्दासमेत लाग्यो । उनको सम्पूर्ण तलब रोक्का भयो ।
यो राजनीतिक परिवर्तनले नेपाली जनतामा सुखानुभूति दिन सक्दैन, राज्यको नेतृत्व गरिरहेको पार्टी जनहितको, देशको हितको पक्षमा छैन भने उनलाई लागेपछि आफू सम्बद्ध भएको नेपाली काङ्ग्रेस पार्टीसँगको उनको सम्बन्ध बिग्रन थाल्यो र उनीमाथि भ्रष्टाचारको मुद्दासमेत लाग्यो ।
लामो समय मुद्दामा झेलिए पनि २०१६ सालको अन्यतिर उनले मुद्दाबाट सफाइ पाए र रोक्का तलबसमेत एकमुष्ट प्राप्त गरे । सिंहदरबारभित्र कर विभागमा नायव सुव्वाको पदमा पुनर्वहाली भए पछि आर्थिक स्थिति पनि सहज बन्यो । तर राज्यले मिश्रलाई सजिलो बाटोमा हिँड्न दिएन । २०१७ सालमा वर्दिया मालपोत र २०१८ सालमा कैलाली र कञ्चनपुरको मालपोतमा सरुवा गरेर परिवारबाट धेरै टाढा पठाइदियो ।
२०१७ सालको राजनीतिक परिवर्तन मिश्रलाई पटक्कै सह्य भएन र जागिरे जीवनमै उनले त्यो परिवर्तन विरुद्ध पर्चा समेत निकाले । परिणामस्वरूप उनलाई काठमाडौँ बाहिर जान निषेध गरी नजरबन्द जस्तो अवस्थामा राखिए पछि मिश्रले सोही समयमा जागिरबाट अवकास लिए । हेटौँडामा आवाद गरिएको केही जमिन सम्हालेर त्यतै बसोबास गर्ने योजना लिएर हटौडा पुगेका मिश्रलाई पञ्चायती व्यवस्था विरुद्ध काङ्ग्रेसको विद्रोहलाई सघाएको भनी पक्रिएर ७ दिन थुनामा राखिएको थियो। त्यसपछि स्वदेशमा बस्न धेरै असजिलो महसुस गरी सम्पूर्ण जायजेथा त्यागेर उनी परिवारसहित निर्वासित जीवनका लागि भारतको बनारसतिर लागे । बनारसमै बसेर मिश्रले नेपालको निरङ्कुश शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि शसक्त रूपमा कलम चलाए ।
८३ वर्षको वृद्ध अवस्थामा २०४६ साल चैत्र ३ गते पञ्चायती व्यवस्था विरुद्ध लेखक कलाकारहरूद्वारा मुखमा पट्टी बाँधेर गरिएको विरोध कार्यक्रमको नेतृत्व पङ्तिमा रहेका मिश्रलाई उनको जीवनको अन्तिमपटक गिरफ्तार गरिएको थियो ।
दुईदशकभन्दा लामो समय बनारसमा साहित्यिक एवं राजनीतिक जीवन बिताएर स्पष्ट राजनीति दृष्टिकोणसहित २०४० सालका नेपाल फर्केपछि मिश्र नेपाली प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी साहित्यिक क्षेत्रको शीर्षस्थ व्यक्तिका रूपमा स्थापित भए । मार्क्सवादी साहित्यिक चिन्तकका रूपमा समेत चिनिएका मिश्र २०४६ सालको जनआन्दोलनको साहित्यिक मोर्चाको मियो व्यक्तित्वका रूपमा रहेका थिए । उनी साझा आन्दोलन भन्थे, सहकार्य भन्थे, प्रजातन्त्र; लोकतन्त्र; गणतन्त्र भन्थे, पन्चायती तानाशाहीको अनिवार्य अन्त्य भन्थे ।
त्यसैले उनी निरङ्कुशता बिरोधी साहित्यकारहरूका लागि साझा ब्यक्तित्व थिए । कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएका कारण उनी एककिसिमले सर्वमान्य ब्यक्तित्व थिए । ८३ वर्षको वृद्ध अवस्थामा २०४६ साल चैत्र ३ गते पञ्चायती व्यवस्था विरुद्ध लेखक कलाकारहरूद्वारा मुखमा पट्टी बाँधेर गरिएको विरोध कार्यक्रमको नेतृत्व पङ्तिमा रहेका मिश्रलाई उनको जीवनको अन्तिमपटक गिरफ्तार गरिएको थियो । प्रहरीले मिश्रलाई गिरफ्तार गरिरहेका बखत एउटा हातले लठ्ठी टेकेर अर्को हातले उपस्थित लेखक, कलाकार र जनमानसलाई अभिवादन गर्दा अग्रनायक कविलाई लेखक, कलाकार एवं जनसमुदायले नारा र तालीका साथ सम्मान अभिवादन गरेको थियो ।
मिश्रको प्रकृतिप्रेम र स्वच्छन्दतावादी लेखन
नेपाली कविता साहित्यमा सातदशक साधना गरेका कवि प्रसाद मिश्रले आधुनिक नेपाली कविताको प्रारम्भकालदेखि चालिसको दशकको आलोचनात्मक अथार्थवादी समाजावादी लेखनमा कलम चलाए । उनले कविता लेख्न आरम्भ गर्दा आध्यात्मिक साँस्कृतिक पुनरजागरणको अभियान सहितको परिष्कारवादी लेखन नेपाली कविता लेखनको मुल धारा बनेको थियो । लेखनाथ पौडेल, चक्रपाणि चालिसे, सोमनाथ सिग्द्याल, बालकृष्ण सम, धरणीधर कोइराला, महानन्द सापकोटाले यस किसिमको लेखनलाई स्थापित गरिरहेका थिए। युद्धप्रसाद मिश्र पनि यसै समयमा कविका रूपमा देखा परेका हुन् । उनका कवितामा पनि उल्लेखित कविहरूकै दृष्टिकोणको प्रभाव नपरिरहन सकेन । उनले १९७७ मा भाङ्सेवीका लागि, पागल, १९८६ मा 'अहिंसा प्रार्थना', १९८८ मा विद्यार्थी शिक्षा' आदि रचना गरे । मिश्रका यी कविताहरूमा तत्कालिन समयको सामाजिक विसङगति र विकृति बिरुद्ध चेतना प्रकट भएको छ भने विचारका दृष्टिकोणले हिन्दु आध्यात्मवादी आदर्शवादको नजिक देखिन्छन् । यी कविताहरूलाई युद्धप्रसाद मिश्रका अभ्यासकालिन रचनाहरू मानिन्छन् ।
युद्रप्रसाद मिश्रले १९९० सालमा जब दरवारीया जागिर छोडेपछि उनले आफूलाई स्वतन्त्रता प्राप्त भएको महसूस गरे। जसको परिणाम उनको काव्य साधनामा देखा पर्न थालिहाल्यो । उनका कवितामा स्वच्छन्द अभिव्यक्ति प्रकट हुनथाले ।
मिश्रको कलमले पनि प्रकृतिप्रेम, अतितको मोह, वर्तमानप्रतिको असन्तुष्टि, सुन्दर भविश्यको कल्पना, विद्रोही भावना, सामाजिक यचार्थ, व्याङ्ग्यात्मक अभिव्यक्ति, करुणा, वेदना, प्रकृतिको मानवीकरण गर्ने जस्ता स्वच्छन्दतावादी शैलीमा कविताहरू रचना गर्न थाले ।
राणा शासकहरूको दमनकारी नीति, भारतमा चलेका विभिन्न राजनीतिक क्रियाकलापहरू, सामाजिक एवम् साहित्यिक गतिविधिहरू र नेपालभित्र हुन थालेका सामाजिक एवं राजनीतिक क्रियाकलाप र घटनाहरूको कविहरूमा प्रभाव परिरहेको थियो । कविहरूमा अङ्ग्रेजी स्वच्छन्दतावादी लेखनको प्रभाव पनि आउन थाल्यो । प्रकृति, प्रेम, राष्ट्रभक्ति, व्यङ्ग्य, स्वतन्त्रता आदि विविध विषयमा कविहरुका कलम चल्न थाले । मिश्रको कलमले पनि प्रकृतिप्रेम, अतितको मोह, वर्तमानप्रतिको असन्तुष्टि, सुन्दर भविश्यको कल्पना, विद्रोही भावना, सामाजिक यचार्थ, व्याङ्ग्यात्मक अभिव्यक्ति, करुणा, वेदना, प्रकृतिको मानवीकरण गर्ने जस्ता स्वच्छन्दतावादी शैलीमा कविताहरू रचना गर्न थाले । उनी लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठकै पङ्तिमा स्वच्छन्दतावादी कविको अग्रभाग मा उभिए । वि.सं. १९९२ देखि १० वर्षभन्दा बढिको समय उनले स्वच्छन्दतावादी धाराका कविताहरूको रचना गरेका छन् । यस समयका उनका अभिन्न कवि मित्र सिद्धिचरण श्रेष्ठसँगको मित्रता, स्वयं आफ्नो प्रकृति र स्वतन्त्रताप्रेमी स्वभाव आदिले मिश्रलाई स्वच्छन्दतावादी कविका रूपमा कलम चलाउन सहयोग पुर्याएको थियो ।
स्वछन्द भावका कविता लेखनमा कवि मिश्र अत्यन्तै सक्षम देखिएका छन् । १९९२ जेठ ३२ मा प्रकाशित उनको कविता मेघमालाले उनको स्वच्छन्दतावादी लेखनको सुन्दर नमूना प्रस्तुत गरेको छ । यध्यपी यो कविता उनको यस प्रवृतिको लेखनको थालनी थियो । यसै महिनामा शारदा पत्रिकामा उनका अन्य दुई कविताहरू 'अनित्यमा नित्य' र 'चञ्चल मन' पनि प्रकाशित भए । प्रकृतिवादी 'प्रकृतितर्फ फर्क' भन्ने रूसोको प्रकृतिवादी स्वछन्दतावादी चिन्तनको गहिरो प्रभाव रूपमा देखिन्छ कवि मिश्रका यो चरणका कविताहरूमा। उनका कविताहरूमा व्यक्तिगत जीवनका असफलता, निराशा, कुण्ठा, पलायनवादी स्वर, प्रकृतिप्रेम, ययार्थभन्दा परको अलौकिक आनन्द, शान्ति, आफूले भोगेका युगका पीडा र वेदनालाई प्रतिकात्मक शैलीमा प्रस्तुति दिने, प्रकृतिलाई मानवीकरण गर्ने, विद्रोही भाव प्रकट गर्ने प्रवृत्ति देखिन्छ । कवि मिश्रको 'चरा' कविता सङ्ग्रहका १९९४ मा प्रकाशित हुन्छ । यो सङ्ग्रह प्रकाशित हुनु अगाडि नै कवि मिश्रका मेघमाला, सन्ध्या, चरखण्डीको खोचे, पागल (2), जावीको चरा, हाम्रो जीवन जस्ता थुप्रै कविताहरू प्रकाशित भइसकेका थिए । चरा कविता सङ्ग्रहमा चरा सम्बन्धी नै कविता हरु सङ्ग्रहित छन् । 'फूलदानी'कविता १९९५ मा प्रकाशित भयो ।
युद्धप्रसाद मिश्रका कविताहरू लेखिने बित्तिकै छापिने गर्दथे। यसले कविको कवित्व क्षमता उच्चकोटीको थियो र सम्पादकहरूलाई आकर्षित गरिहाल्थ्यो भन्ने देखाउँछ ।
स्वच्छन्दतावादी कविहरूले कल्पना शक्तिलाई अत्यन्त मजबूतीका साथ आफ्ना कवितामा प्रयोग गर्दछन् । युद्धप्रसाद मिश्रले पनि आफ्ना कवितामा कल्पनाशीलताका पङ्खहरू फैलाएका छन् । कल्पनाका माध्यमवाट प्राकृतिक जीवनको स्वर्गीय आनन्दको अनुभव गरेका छन् । प्रकृतिको आत्मासम्म चिहाएर त्यहाँको सुन्दरताको बयान गरेका छन् :
निर्मल जलको पतला सारी
टलपल टलपल सर्र लतारी
कोमल झ्याउ, पथ्थर हरिला
सज्जित जलको चोली हीला (चरखण्डीको खोँच)
स्वच्छन्दतावादी कविहरू प्रकृतिमा शान्ति र मुक्ति खोज्छन्, राष्ट्रिय भावना पोख्छन्, दुनियाँको सबैभन्दा अलौकिक सौंदर्य पनि प्रकृतिमै भेट्छन्, निराशा, कुण्ठा र पलायनका पीडालाई प्रकृतिसँग रमाएर बिर्सन्छन् । उनीहरू प्रेमको मरमानन्द पनि प्रकृतिमै भेट्छन् । युद्धप्रसाद मिश्रका कविताहरूमा यी सबै भावहरू प्रकट भएका छन् । यिनै गुणका कविताले उनलाई नेपाली स्वच्छन्दतावादी कविहरूको अग्रपङ्तिमा उभ्याउन सफल भए ।
मिश्रको प्रगतिशील/ प्रगतिवादी लेखन:
राणा शासकहरूप्रतिको घृणाभाव, जागिरे जीवनमा पाएको सास्ती, राजनीतिक पार्टीसँगको सामिप्यता, राणाविरोधी आन्दोलनमा सहभागिता, राष्ट्रप्रेम, जनप्रेम, आफ्नो सहयोगी भावना र विद्रोही स्वभाव आदिका कारण राणा शासनको अन्तिम अन्तिम समयदेखि युद्धप्रसाद मिश्रका कविताले स्वच्छन्दतावादी प्रवृत्तिलाई क्रमश: छाड्दै प्रगतिशील ययार्थवादी प्रवृतिउन्मुख हुन थालेको देखिन्छ । २००४ सालको राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनथाले पछि मिश्रमा प्रकृतिवादी स्वच्छन्दवादी लेखनभन्दा सामाजिक वास्तविकता महसुस गरी मानव जीवनका विविध पक्षलाई हेर्ने प्रगतिशील मूल्य र मान्यतायुक्त लेखन प्रिय बन्न सुरु भएको पाइन्छ। कवितामा वस्तुवादी दृष्टिकोण उजागर हुन थालेको देखिन्छ ।
बाढीमा सङ्ग्रहित कविताहरूमा पञ्चायती व्यवस्थाका विरुद्रमा बुलन्द आवज मुखरित हुने कविताहरू छन् । मजदुर, किसानका पक्षमा आवाज भरिएका कविताहरू छन्, युग परिवर्तनको आवश्यकताका चाहनाहरू छन् ।
नेपाली राजनीतिमा २०१७ को घटना भए पछि बनारसको निर्वासन जीवनमा उनले लगभग एकदशकमा लेखेका कविताहरूको सङ्ग्रह 'बाढी' प्रकाशित भयो । बाढीमा सङ्ग्रहित कविताहरूमा पञ्चायती व्यवस्थाका विरुद्रमा बुलन्द आवज मुखरित हुने कविताहरू छन् । मजदुर, किसानका पक्षमा आवाज भरिएका कविताहरू छन्, युग परिवर्तनको आवश्यकताका चाहनाहरू छन् । यस सङ्ग्रह भित्रका कविताहरूमा भविश्यप्रतिको स्पष्ट दृष्टिकोण, क्रान्तिकारी शक्तिहरूको पहिचान र परिवर्तनको आवश्यकता बोध गरिएको छ । सामाजिक-राजनीतिक विसङ्गत र विकृत अवस्थाप्रति तीव्र असन्तुष्टि, चर्को आलोचना र विद्रोहात्मक स्वर मुखरित गर्नु मिश्रला यस अवधिका कविताका मूल प्रवृति हुन्। उदाहरणका लागि यो अंश प्रस्तुत गर्न सकिन्छ :
आओस् सन्देश यस्तो, घरघर सबको दुःख दारिद्रय छुट्ने
हारेको जन्ममाथि मनुज मनुजमा न्यायको बाँध फुट्ने
पाओस् तातो नशाको रगत रगतले शक्ति जञ्जीर टुट्ने
आगो सल्कोस् दबेको उथल-पुथल भै च्यानमा ज्यान उठ्ने
(युग-महोत्सवको गीत)
प्रबासकै बसाइमा मिश्रले मुक्तिरामायण : अरण्यकाण्ड(२०२७) खण्डकाव्य लेखे। पौराणिक रामायणको कथावस्तु लिएर मौलिकता दिने प्रयास गरे । उनी बनारसमा रहँदा पुष्पलालको नेतृत्वको नेकपाको सम्पर्कमा आए । उनी विभिन्न साहित्यिक एवम् सांस्कृतिक सङ्गठनहरूसँग पनि सम्पर्कित भए। तिनीहरूसँगको सम्पर्क र सम्बन्धले उनमा माक्सवादी राजनीतिक चेतनाको विकासमा सहयोग पुर्यायो भने मार्क्सवादी साहित्य सृजनाका लागि उर्जा बढ्यो । कविता मार्फत क्रान्तिकारी चेतना र सामाजिक परिवर्तनको आकाङ्क्षाको अभिव्यक्ति दिनुपर्छ भन्ने दृष्टिकोण बलियो भयो ।
बनारसमा बसेर नेपालमातृभूमिलाई निरङ्कुश शासनबाट मुक्त गर्न, नेपाली जनतालाई मुक्ति दिलाउन आह्वान गर्दै कविता लेखिरहे । नेपालमा हुने गरेको अन्याय, अत्याचार, दमन, उत्पीडनको विरुद्धका एवं देश र जनताको स्वतन्त्रता र मुक्तिको पक्षका आवज उनका कवितामा ज्वालामुखी झैँ भएर विष्फोट हुन थाले । क्रान्तिको अनिवार्यताको शंखघोष गर्दै लेखे कवि मिश्रले क्रान्तिकारी कविता । परिवर्तनका लागि जनता जुट्नै पर्छ, जनता उठनै पर्छ भन्ने उनको कविताको मुख्य बोल हुने गर्थ्यो । उनका कविता जनताका आवजले अर्जापिएका धारिला तरवारजस्ता हुन्थे ।
काव्य साधनाका अथक साधकका रूपमा स्थापित भइसकेका कवि मिश्रले मुक्तिरामायण: अरण्य काण्ड जस्तै पौराणिक विषयवस्तुलाई मौलिकता दिएर 'मुक्त सुदामा' र 'बेनवध' काव्यहरू पनि लेखे । पारिवारिक आर्थिक सङ्कटको ठूलो पीडा सहुँदै कवि मिश्रले लगभग २२ वर्षको स्वनिर्वासित जीवन बनारसमा बिताएर २०४० सालमा स्वदेश फर्किदा उमेरका दृष्टिले निकै बृद्धभइसकेका थिए। चेतना, सृजना, क्रान्तिकारी जोश र विद्रोही स्वर भने झन झन जवान बनिरहेको थियो । कवितामा जोशिला युवा भएर प्रकट हुन रुचाउने भएका थिए।
स्वदेश फर्किएपछि प्रजातन्त्रका हिमायती कवि लेखकहरूका अग्रजका रूपमा मान्य भए मिश्र । निरङ्कुशता विरोधी अभिव्यक्तिका लागि आयोजित कार्यक्रममा उनको उपस्थिति अरूका लागि उर्जाको स्रोत बन्न थाल्यो।
स्वदेश फर्किएपछि प्रजातन्त्रका हिमायती कवि लेखकहरूका अग्रजका रूपमा मान्य भए मिश्र । निरङ्कुशता विरोधी अभिव्यक्तिका लागि आयोजित कार्यक्रममा उनको उपस्थिति अरूका लागि उर्जाको स्रोत बन्न थाल्यो। उनले बढ्दै जाओ बढ्दै जाओ, भोका नाङ्गा उठ, बुद्धिजीवीहरुसँग, भोका नाङ्गा भाइभाइ, बलिदान उठ्यो, नारी घोषणा, सही बाटो जस्ता जनताका चाहना, मुक्तिका आह्वान गरिएका धेरै कविताहरू लेखे। ८३ वर्षको वृद्ध उमेरमा स्वतत्रताप्रेमी नेपाली लेखक कलाकारहरूको आन्दोलनको नेतृत्व गर्दै २०४६ चैत्र ३ गते आन्दोलन स्थलबाटै गिरफ्तारी समेत दिए । उनी विचार र भावनाले कहिल्यै वृद्ध भएनन्, उनले त ८० वर्षको उमेरमा समेत बालबालिकाको साथी बनेर बाल कविताहरू समेत लेखे । सबै वर्ग, पेशा, धर्म जाति लिङ्ग, उमेरका मानिसहरूको पक्षमा आवाज दिने, अत्याचार, अन्याय र निरङ्कुशता विरुद्ध विद्रोहको स्वर उराल्ने कवि मिश्रको मृत्यु २०४७ साल फागुन ६ गते काठमाडौँ अस्पतालमा भयो ।
जीवनभर नेपाली साहित्यको सेवा गरेका कवि मिश्रले नेपालको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका निमित्त आफ्नो कलमलाई तरबार जस्तै धारिलो बनाएर चलाए। उनकै आवाजसमेतको आवाजले, उनकै आन्दोलनसमेतको आन्दोलनले, उनकै आह्वानसमेतको आह्नानले नेपालमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो र गणतन्त्र आयो तर कुनै पनि परिवर्तन पछिका सरकारहरूले कवि युद्धप्रसाद मिश्रलाई सम्झनामा राख्न सकेका छैनन्, उनलाई जीवित छँदा प्रेम गर्न सकेनन्, उनलाई सहयोग गर्न सकेनन् । यिनै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका आवजका एकजना नायक स्रष्टा युद्धप्रसाद मिश्रलाई उनको ३४औँ स्मृति दिवसको अवसरमा सम्मान एवम श्रदान्जली व्यक्त गर्दछु उनैले २०४७ पुसमा लेखेको उनको जीवनको अन्तिमा कविता 'सही बाटो'को एउटा अंशको सम्झना गर्दै :
प्रगति भो व्यापक जाज्वल
परिसके प्रतिगामीहरू तल
उठिसक्यो उई व्यापक जागृति
उदित भै जनमानसको स्थिति ।
सन्दर्भ सामग्री :
अधिकारी, वासुदेव (२०७९) युद्धप्रसाद मिश्रका प्रतिनिधि कविताहरू, काठमाडौं, नेपाल प्रज्ञा प्रतिष्ठान ।
अधिकारी, वासुदेव (२०६४) युद्धप्रसाद मिश्रका काव्य रचनाहरू काठमाडौं, भृकुटी एकेडेमिक पब्लिकेसन्स ।
अधिकारी, वासुदेव (२०४८) युद्धप्रसाद मिश्रका कविताहरू, भक्तपुर, युद्धप्रसाद पुरस्कार तथा प्रकाशन गुठी
तिमल्सेना, पशुपतिनाथ (२०६५) युद्धप्रसाद मिश्र र उनका कविता, काठामाडौं, एसिया पब्लिकेसन्स
(लेखक युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव हुन् )
प्रतिक्रिया