साहित्यकार पारिजात र उहाँलाईं हेर्ने दृष्टिकोणका बारेमा केही चर्चा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Parijat-lai-hernie-dristikon_wuGw8VdJyS_xcvsknwmdqube3fwsxrlhysjjqia5t36bycie4gyykf1fs64evlq7gdn1mvn_nzuupvwRYV_n2xj7lmjn9d2obhzfqfw0aztxrxcslfgkoqehkqug7juztxaggny7k88ykur.jpg)
नेपाली साहित्याकाशकी एक शशक्त एवम् ज्वाजल्यमान तारा हुनुहुन्छ साहित्यकार पारिजात। पारिजातको सार्वजनिक व्यक्तित्व साहित्यिक र साहित्येतर रहेको भन्दै साहित्यिक क्षेत्रमा पारिजात कवि, कथाकार, उपन्यासकार, संस्मरणकार, निबन्धकार, नाटककारको रुपमा स्थापित भएको र साहित्येतर क्षेत्रमा उहाँको सामाजिक र राजनैतिक व्यक्तित्व माथिल्लो तहमा उठेको चिन्तक एवम् साहित्यकार डी. आर. पोखरेल बताउनु हुन्छ।[i] बहुआयामिक प्रतिभा र सार्वजनिक क्षेत्रको सक्रियताका साथै आफ्नो समयको साहित्यिक गतिविधिको केन्द्रविन्दुको रुपमा रहेकोले पारिजात पारिजात बन्न सफल हुनु भएको हो। बि. सं १९९० साल फागुन ३० गते[ii] दार्जिलिङको लिंगिया चिया कमानमा जन्मनुभएकी विष्णुकुमारी वाइबा पछि साहित्यकार पारिजातको रुपमा प्रसिद्ध हुनुभयो। उहाँ बि. सं. २०११ सालमा नेपाल आउनु भएको हो। मूलतः उपन्यास र कथाकारको रुपमा चर्चित उहाँका शिरीषको फूल (उपन्यास)‚ अनिंदो पहाडसँगै (उपन्यास)‚ आदिम देश (कथा सङ्ग्रह) लगायत बिभिन्न विधाका लगभग दुई दर्जन कृतिहरु प्रकाशित छन्।
आफ्नो पहिलो उपन्यास, शिरीषको फूलकै लागि बि. सं. २०२२ सालको मदन पुरस्कार प्राप्त गर्न सफल लेखिका पारिजातको यस कृतिको प्रकाशकीयमा साझा प्रकाशन लेख्छ :
"'शिरीषको फूल' पारिजातको जेठो उपन्यास हो। जेठो भएर मात्र यो चर्चित भएको होइन, उत्कृष्ट हुनाले प्रशंसित भएको हो। नेपाली साहित्यमा प्रस्तुत उपन्यासको विशिष्ट स्थान छ।"[iii]
यद्यपि यस उपन्यासको वैचारिक पृष्ठभूमिलाई लिएर गोविन्द भट्टले "'शिरीषको फूल' कि कागजको फूल"[iv] भनेर फरक कोणबाट विश्लेषण गर्नु भएको पनि छ। कुनै पनि कृतिमाथिको आलोचना, समालोचना, समीक्षा र दृष्टकोणको प्रस्तुतीले नै त्यस कृतिलाई जीवन दिन्छ र पाठकहरु त्यसको उपादेयता र महत्वको बारेमा जानकार रहन्छन्। त्यसो त रुद्रप्रसाद खरेलसँगको एक अन्तर्वार्तामा पारिजातले शिरीषको फूलको पार्श्वदर्शन विसंगति, पलायन, जस्तो जनविरोधी हुनाको कारण अस्वीकार गरेको बताउँदै प्रश्नकर्ताको "'शिरीषको फूल' नेपाली भाषाको अभिव्यक्ति सामर्थ्यको उत्कर्ष हो र यो कलात्मक उच्चताको पनि नमूना हो भन्ने धारणा नेपाली वाङमयको विकासक्रम कोट्याउने सन्दर्भमा व्यक्त गरिएको पाइन्छ" भन्दै पारिजातको धारणा मागेकोमा त्यसमा आफ्नो सहमति रहेको पारिजातले बताउनु भएको थियो।[v] यस्ता भनाईहरुको आधारमा लेखकहरुले पारिजातको समयको राजनैतिक, सामाजिक र आर्थिक परिवेश, तथा उहाँको शारिरीक अवस्था, उहाँको सार्वजनिक सक्रियता र लेखनलाई आत्मसात गर्दै जिम्मेवारपूर्ण ढंगबाट आलोचना वा समीक्षा गर्नु पर्ने नै हुन्छ।
पारिजात, पारिजातको सार्वजनिक जिवन र लेखनको चर्चा गर्दा पारिजात बाँचेको समाज, उहाँसँगका सार्वजनिक घटना र उहाँका प्रकाशित रचनाहरुलाई आधार मानेर गर्नु पर्ने हुन्छ। तर हिजोआज उहाँसँग जोडिएका कतिपय व्यक्तिगत, अझ भनौं नितान्त व्यक्तिगत विषय वा घटनाहरुलाई रसपूर्ण ढँगबाट प्रस्तुत गर्ने प्रवृत्ति देखिन थालेको छ। यस्तो कार्यले मूलतः पुरुष मानसिकता कै प्रदर्शन गर्ने र बजारमा बिक्ने सस्ता कुराहरु प्रस्तुत गरेर आफूलाई भने चर्चामा राख्ने काममा ध्यान दिन खोजेको देखिन्छ। त्यस्तो चर्चा परिचर्चाले पारिजातको योगदानलाई ओझेलमा पार्ने उहाँका कृतिहरुको सहि मूल्याङ्कन हुने अवस्थालाई भने बादलले क्रमशः आकाशलाई ढाक्दै गएजस्तो गरी धूमिल पार्दै जाने भएकोले यस लेखमा पारिजातबारेका केही स्मरण र चर्चाहरुलाई आधार बनाएर उहाँलाई हेर्नु पर्ने दृष्टिकोणको बारेमा केही चर्चा गरिएको छ।
पारिजात आफैँमा जीवन हो र पारिजात सार्थक जीवन जिउनका लागि प्रेरक पात्र पनि हो। कुनै पनि प्रसिद्धि प्राप्त व्यक्तिहरुको चर्चा गर्दा र त्यस्ता व्यक्तिहरुसँग सम्बन्धित सामग्रीहरु सार्वजनिक गर्दा उनीहरुको समग्र जीवन र जीवन-दर्शनलाई आत्मसाथ गरेर त्यसै अनुरुप प्रस्तुत गर्नु पर्ने हुन्छ। विषयवस्तुको स्पष्टताको निमित्त केही उदाहरणहरु लिनु सान्दर्भिक हुन्छ। आनन्द नेपालले यूट्युबमा पारिजातको जीवनी राख्नु भएको छ।[vi] जीवनीको सुरुवातमा पारिजातले नै लेखेको र सुसन मास्केले गाएको गीत "मर्न मन लाग्छ मायालु रातसँगै मध्यान्हसँगै" लाई पृष्ठभूमिमा बजाउनुको सट्टा खगेन्द्र संग्रौलाले लेख्नु भएको, रायनको संगीत तथा इसास कीर्तिपूरका वीरप्रसाद भन्सारी, गुज्ये मालाकार, रानीशोभा महर्जन, दिपा महर्जन र साथीहरुको स्वर रहेको "उदास जीवनको उजाड बगरमा मुना टुसायो एक दुबोको, पारिजात अपराजिता पारिजात"[vii] भन्ने गीत राख्न पाएको भए आनन्द नेपालले गर्नु भएको प्रयास झन् बढी सार्थक हुन्थ्यो कि ? यति भन्दा भन्दै पनि मैले लेखक र लेखनको बिबिधता र दृष्टिकोणमाथि हस्तक्षेप गर्न खोजेको चाहिँ होइन।
अर्को उदाहरण हेरौं- एडुटेनमेन्ट नेपालीले यूट्युबमा राखेको पारिजातको जीवनीमा भनिएको छ- "…हाडजोर्नी सम्बन्धी बाथ रोगबाट आक्रान्त भएर उनी ओछ्यानमै थला परिन्। यसले गर्दा उनको शरीर कुँजो नै भयो…"।[viii] सरसर्ति हेर्दा यसमा टिप्पणी गर्नु पर्ने केही छैन। पारिजात आफैँले लेख्नु भएको छ- "झण्डै २०१७ सालदेखि भने म विवश भएर ओछ्यान लागें। यो मेरो २५, २६ को उमेर थियो। म ओछ्यानमा सीमित भए…"। फेरी पारिजात लेख्नु हुन्छ- "आज मसँग त्यो रोगको ठाडो शासन छैन तर हातका औंला र घुँडातिर भने विकारहरु स्मृतिचिन्हस्वरुप छोडिएका छन्।"[ix] पारिजात 'र्युमट्वाइड आर्थराइटिस' (Rheumatoid Arthritis) नामक रोगबाट पीडित हुनुहुन्थ्यो तर "बाथ रोगबाट आक्रान्त भएर उनी ओछ्यानमै थला परिन्" र "शरीर कुँजो नै भयो" भन्ने जस्ता प्रस्तुतीले पारिजातको सक्रियता र सार्वजनिक जीवनलाई खुम्च्याउने र ओझेलमा पार्ने अवस्था रहन्छ।
सार्वजनिक सक्रियताको हिसाबले पारिजात आफ्ना समयका अन्य पात्रहरुभन्दा कम चलायमान हुनुहुन्थेन भन्ने जानकारी हामीले दिनै पर्ने हुन्छ। उदाहरणको लागि बि. सं. २०४६ सालको चैत ३ गतेका दिन नेपालका लेखक कलाकारले पञ्चायतको विरोधमा कालो पट्टी बाँधेर काठमाडौंको सरस्वती सदनको चौरमा धर्ना बस्दा पारिजात पनि धर्नामा उत्रनु भएको थियो,[x] अर्थात् "ओछ्यानमै थला" परेको नभई, उहाँ सडकमै हुनुहन्थ्यो। नयाँ करेन्ट साप्ताहिकले पारिजातप्रति श्रध्दाञ्जली प्रकट गर्दै लेखेको निम्न पंक्तिले पारिजातको अवस्था र व्यक्तित्वलाई बुझ्न सघाउ पुर्याउने देखिन्छ :
"उनी रोगी भइन्, ओछ्यान परिन् तर उनको स्रष्टा कहिल्यै मधौरु भएन, त्यो सँधै सशक्त र सक्षम रह्यो। आफ्नो बिचार र सिद्धान्तलाई तिलाञ्जली दिएर आत्मसमर्पण गरेकी भए उनी आर्थिक दृष्टिले सम्पन्न हुन सक्थिन् अनि उनको रोगको उपचार विदेशको कुनै राम्रो अस्पतालमा हुन्थ्यो। त्यो उनलाई स्वीकार्य भएन। यो बृथा अहं नभएर उनको महानता नै थियो। अब त श्रध्दाञ्जली अर्पण गर्नु बाहेक के नै गर्न सकिन्छ र ?"[xi]
अहिलेका चर्चित एवम् प्रतिभावान कलाकार प्रकाश सपुतले पनि पारिजात र उनको कृतिको प्रसिद्धिलाई बजारमा आफ्नो उत्पादन बिक्रिका लागि प्रयोग गर्न पछि परेनन्। उनको बहुचर्चित गीति भिडियो, सकम्बरी (फूलमाया) सार्वजनिक भए लगत्तै पारिजात स्मृति केन्द्रले विज्ञप्ती निकाल्दै आफ्नो गम्भीर आपत्ति रहेको उल्लेख गरेको थियो। साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगबीर नाम दिनु र शिरीषको फूल पुस्तक समेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था देखिएन भन्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतको छायाँकनमा अप्रासंगिक रुपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीति भिडियोमा देखाइएका पात्रहरुको नाम सकम्बरी र सुयोगबीर राखिएको प्रति पारिजात स्मृति केन्द्रको गम्भीर आपत्ति रहेको जनाउँदै त्यस्ता अनिधिकृत छायाङ्कनबाट सुप्रशिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुने र पारिजातको छविलाई अमर्यादित पार्ने काम भएको ठहर समेत पारिजात स्मृति केन्द्रले गरेको थियो।[xii] यस्ता 'अनुत्तरदायी प्रवृत्तीलाई' 'स-साना कुरा भनेर पन्छाउन' हुँदैन। जिम्मेवार लेखक र कलाकर्मीहरु यस प्रकारका कार्यहरु प्रति सचेत र जिम्मेवार त हुनै पर्छ।
प्रकाश सपुतको यसै गीतको प्रसंगमा पुष्पा थपलिया लेख्नुहुन्छ- "प्रकाशको गीत समाजमा रहेको एक पाटोको ऐना हो। तर ऐना पनि कसरी देखाउने भन्ने त हुन्छ नै। उनले समाजलाई ऐना देखाउँदा जुन शब्द र शैली अपनाए त्यो स्वीकार गरिहाल्न सकिने खालको छैन।" समाजले निर्माण गरेको महिलाप्रतिको भाष्यमा, सत्ताले महिलाप्रति गरेको व्यवहारमा र महिलाप्रतिको पितृसत्तात्मक दृष्टिकोणमा यतिबेला बहस हुनुपर्थ्यो तर बहस अझै प्रवृत्ति केन्द्रित नभएर कलाकार केन्द्रित मात्र छ भन्ने वहाँको भनाई गम्भीर छ र सामयिक पनि छ। यस माथि कमसेकम प्रगतिवादी लेखक कलाकारहरुले गम्भीर बहस चलाउनै पर्थ्यो तर त्यसो हुन सकेको देखिएन। यसै प्रसँगमा पुष्पा थपलियाकै निम्न भनाई पनि त्यति नै मननीय देखिन्छ :
"‘उध्रेको चोली’, ‘ठमेल बजार’ देखि, ‘ए ससुरा बा मलाई साली मनपर्यो’ सम्मका शब्दहरू लिप सिंक मिलाउँदै कम्मर भाँच्नेहरूले अहिले आएर प्रकाश सपुतले पितृसत्ताको आँखाबाट व्याख्या गरेको भन्न पटक्कै सुहाउँदैन। शब्द र दृश्याङ्कन हेर्ने हो भने प्रकाशको सिर्जनाभन्दा यी भद्दा लाग्छन्।"[xiii]
कुनै पनि विषयवस्तुलाई हेर्ने र प्रस्तुत गर्ने वा दृष्टिकोण निर्माण गर्ने विषयमा कहिलेकाहिँ सचेत र जिम्मेवारहरु पनि वहकिने अवस्था आउन सक्छ। त्यस्ता घटना वा प्रवृत्तिहरुको बारेमा समयमै चर्चा गर्न र झकझक्याउन पनि आवस्यक हुन्छ अन्यथा त्यस्ता घटनाहरुबाट अनुत्तरदायी प्रवृत्तीले बढावा पाउने डर हुन्छ। मलाई खट्केको प्रसंग के पनि हो भने खगेन्द्र संग्रौला र गोविन्द गिरी प्रेरणा वक्ता र स्नेह सायमी सहजकर्ता हुनुभएको नेपाल लिटरेचर फेस्टिभल २०२२[xiv] नाम दिइएको साहित्यिक माहोलमा पारिजात : पात्रहरुको गहिराइमा भन्ने शीर्षकमा राखिएको सत्रमा सहजकर्ता स्नेह सायमी, जो पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष समेत हुनुहुन्छले, "…शीर्षक पनि पारिजात : पात्रहरुको गहिराइमा भन्ने राख्नु भा'छ। अब पारिजातभित्रको, पारिजातको रचनाभित्रको पात्र हो कि पारिजात वरिपरीको पात्र हो भन्ने कुरामा चाहिँ गौण छ" भन्दै विषय प्रवेश गर्ने क्रममा भन्नु भयो "पारिजातको रचनाभित्रका पात्रहरुभन्दा पनि पारिजात जीवितहुँदा खेरी र आज पर्यन्तका पात्रहरुमा केन्द्रित हुन चाहन्छु।" यहाँनेर सहजकर्ताले छलफल वा चर्चाको विषयवस्तुलाई अझै विशिष्टिकृत रुपमा प्रष्ट पार्नु पर्ने थियो- पारिजात वरिपरीका के कस्ता विषयवस्तु वा घटनाहरुसँग सम्बन्धित के कस्ता पात्रहरुको बारेमा कुन उद्देश्य प्राप्तिका लागि उक्त छलफल चलाइएको भन्ने कुरा। त्यसको अभावमा फेरी पनि छलफलको गन्तव्य चाहिँ अस्पष्ट नै रहने भयो।
"उपन्यास बौद्धिक पनि त हुनुपर्छ। के बौद्धिकता साहित्यको दोष हो र ?"[xv] भनेर प्रश्न तेर्स्याउने पारिजातलाई, पात्रहरुको गहिराइमा खोज्दा चाहे रचनाभित्रका पात्र हुन् वा पारिजात वरिपरीका ती सबैलाई 'गहिराई' भित्रै खोज्नु पर्ने र सोही अनुसारको अपेक्षा गर्नु पर्ने हुन्छ। अन्यथा हाम्रो आफ्नै कारण पारिजातको व्यक्तित्व र कृतित्व तथा पारिजातको समग्र योगदानलाई हामीले नै जानेर वा नजानेर सतही बनाउने प्रयास गरिरहेका हुनेछौं। यसतर्फ कम्तिमा पनि पारिजातका आफ्ना र नजिककाहरु, पारिजातलाई अलि धेरै बुझेकाहरु बढी सचेत हुनु पर्ने देखिन्छ।
पारिजात : पात्रहरुको गहिराइमा कै विषयमा थप चर्चा गरौं। चर्चित साहित्यकार खगेन्द्र संग्रौलाले पारिजातसँगको प्रसंगको गहिराई खोतल्दै भन्नु भयो :
"प्रत्येक शुक्रबार पारिजातको दिदीकोमा गुड फ्राइडे हुन्थ्यो र स्कच चाहिन्थ्यो। ललिजन रावल भन्ने एकजना गजलकार हुनुहुन्थ्यो वहाँ सोल्टीमा काम गर्नुहुन्थ्यो। ललिजन रावल भन्ने एकजना गजलकार हुनुहुन्थ्यो। त्यो सोल्टीमा काम गर्दा खेरी, सोल्टीको क्यासिनोमा काम गर्दा खेरी त्यहाँ केही न केही दारु प्राप्त हुन्थ्यो, त्यो पनि स्कऽच व्हिस्की। कहिले आधा बोतल, कहिले एक चौथाई, कहिले एक पेग पनि होला।"
सोही क्रममा साहित्यकार संग्रौलाले त्यस माहोललाई थप रोचक प्रसँग जोड्दै थप रसिलो बनाउने प्रयत्न गर्नु भयो :
"…पछि मैले पनि अभिनय गरेँ। मैले यौटा, खुकुरी रम एक बोतल लिएर पारिजात दिदीकोमा गएँ… मैले पारिजात दिदीकै अगाडि बोतल खोलेँ, दुईटा गिलास ल्याएँ। अनि पारिजात दिदीसँगै मैले पनि त्यो मदिराको मोर्चा खोलेँ।"
सहजकर्ताकै भनाई बमोजिम पारिजातलाई जीवनभर पढ्ने पात्रहरु मञ्चमा र दर्शकदीर्घामा पनि भएको सभाकक्षमा पारिजातलाई पात्रहरुको गहिराईबाट हेर्नका लागि वरिष्ठतम् साहित्यकार खगेन्द्र संग्रौलाले संभवत दर्शकदीर्घमा रहनुभएका पारिजातलाई जीवनभर पढ्ने पात्रहरुबीच गहिरो खाडल खन्ने क्रमको एक चपरी माटो तासिदिनु भयो। कहाँ मदन पुरस्कार प्राप्त शिरीषको फूल वा अनिंदो पहासंगै लेख्ने पारिजात, कहाँको लिटरेचर फेस्टिभल र कहाँ पात्रहरुको यो गहिराई ?
अर्का वक्ता, गोविन्द गिरी प्रेरणाले पारिजातलाई पात्रहरुको गहिराईमा खोतल्ने क्रममा, "पारिजातलाई भेट्न जाँदा मान्छेहरुले के भन्थे भने त्यतिखेर, चुरोट लिएर जानु पर्छ भन्ने काठमाडौंमा व्यापक चर्चा थियो र मैले पनि दुई बट्टा खुकुरी चुरोट लिएर वहाँलाई भेट्न गा'को संझना छ" भन्दै पारिजातसँगको स्मरण यसरी राख्नु भयो :
"पारिजातको जीवनी तथा जीवनीमूलक पुस्तक झन्डै आधा दर्जन प्रकाशन भइसकेको जानकारीसँग आफू अनभिज्ञ नरहेको बताउदै "मैले सङ्कलन गरेका सामग्रीमा भएका पारिजातको जीवनका विविध झाँकी ती पुस्तकमा त्यति पाइन। त्यसले झन् मलाई यो पुस्तक [सुश्री पारिजात] लेख्न प्रेरित गर्यो। अध्ययनका क्रममा थाहा पाएँ, एउटै व्यक्तिका जीवनी पनि धेरै हुँदा रहेछन्"[xvi]
साढे चार दशक लामो लेखन यात्रा तय गरेका पारिजातको जीवनीका लेखकले पारिजातलाई संझने यसैगरी हो त ? माथि उल्लेख गरिए जस्तै पारिजात के "खुकुरी रम" वा "खुकुरी चुरोट" को कारण चर्चित भएको हुन् त ? त्यसो भए पारिजातका जीवनीकारको पुस्तकले के लाई प्राथमिकतामा राखेको होला ? जिज्ञासा उठ्नु स्वभाविकै हुन्छ। त्यसैले यस्ता वर्णनहरु स्थापित साहित्य र साहित्यकारका विषयवस्तु हुन् भन्ने लाग्दैन। यसले क्षणिक मनोरञ्जन दिन त सक्ला, तर "पारिजातलाई जीवनभर पढेका" वा अन्य कोही पनि साहित्यानुरागीहरुको हकमा भने हो भने चाहिँ कुन्नि ? यस्ता वर्णनहरुले वर्णित पात्रहरुको स्वाभिमानमा चोट पुर्याउने र वर्णनकर्ताले आफूलाई उक्त पात्रभन्दा अलि बढी सभ्य र उसमाथि दया गरेको भाव झल्काउन खोज्नुभन्दा बढी अर्थपूर्ण हुन्छ भन्ने लाग्दैन। फेरी पारिजातकै फर्माइस विना, त्यस्ता वस्तुहरु लिएर जाने चाहिँ को र किन ? यहाँनेर स्वाभिमानको सम्बन्धमा पारिजातको धारणा एकपटक राख्नु सान्दर्भिक देखिन्छ :
"मेरो अस्मितालाई पैसामा कसैले नापजोख गर्न खोजे म एकदम जंगली मनस्थितिमा पुग्छु, बौलाहीजस्ती हुन्छु, आफ्नै लुगा च्यातुँ आफ्नै कपाल लुछूँ अथवा छेउमा जो छ त्यसलाई जे पायो त्यसैले हिर्काएर मारौं जस्तो उत्तेजित भइसक्छु र यस्ता तीता अनुभवहरु मेरो मानसमा देखिएका छन्।"[xvii]
पारिजातसँगको भेटको प्रसंगमा साहित्यकार एवम् साहित्यिक पत्रकार मोहन दुवालको स्मरण भने माथि चर्चा गरिएकोभन्दा फरक देखिन्छ। त्यस्तो फरक ढंगबाट पारिजातसँग साक्षात्कार हुनुहुने पारिजातका शुभचिन्तकका प्रसंगहरु भने बजारमा कम बिक्ने हुँदा त्यस्ता प्रसंगहहरुले चर्चा वा स्थान पाउने संभावना पनि कमै रहन्छ। यो कुरा सामान्यतयाः सबै सर्जक एवम् पाठकहरुलाई जानकारी भएकै विषय हो। मोहन दुवालको स्मरणको एक अंश :
“२०३० सालतिर मात्र उहाँसँग मेरो परिचय हुने भाग्य जुर्यो। धुलिखेलमा केही दिन बस्ने चाँजोपाँजो मिलाएर आउनु भएको रहेछ उहाँ …। उहाँसँग दुई जना महिला साथीहरु पनि थिए- परिचय भयो। त्यस बेला उहाँको मुहारमा लुकेको गाम्भीर्य‚ दृढता‚ स्वाभिमानी व्यक्तित्वले मलाई निकै प्रभावित तुल्यायो। सरल ढङ्गमा आफूलाई व्यक्त गर्ने उहाँको बानी र सहज व्यवहारले मलाई उहाँसँग नजिक तुल्याउन राम्रो भूमिका खेलेको थियो।”[xviii]
यस्तै प्रसंगहरुको चर्चा गर्दा, पारिजातका अप्रकाशित पत्रहरुको सार्वजनिकीकरणको पनि चर्चा गर्नु पर्ने देखिन्छ। साहित्यकि पत्रिका वेदना (पूर्णाङ्क ५४) मा 'आत्मस्वीकृति' अन्तर्गत 'पारिजातका केही अप्रकाशित महत्वपूर्ण पत्रहरु' शीर्षकमा 'डा. महेश' लाई सम्बोधन गरिएका केही पत्रहरु प्रकाशित गरिएको छ (पेज १८-२४) र तिनै पत्रको समेत आधारमा गोविन्द गिरी प्रेरणाले सुश्री पारिजात भन्ने पुस्तकमा 'आनीबानी' खण्डभित्र "चुरोट, रक्सी, प्रेम, यौन र पारिजात" शीर्षकमा लेख्नु पनि भएको छ (पेज २५२-२५६)। म वेदनामा छापिएका ती पत्र र गोविन्द गिरी प्रेरणाले गर्नु भएको पारिजातको जीवनसँग सम्बन्धित चर्चालाई जस्ताको त्यस्तै उद्धृत गर्ने पक्षमा छैन। तर ती पत्रहरुको सार्वजनिकीकरणको आवस्यक्ता, उद्देश्य र तिनलाई जस्ताकोतस्तै उद्धृत गर्नुको औचित्यमाथि छलफल तथा विश्लेषण हुन जरुरी छ भन्ने लागेकोले यहाँ प्रसँगबस कुरा उठाएको मात्र हुँ। अझ प्रगतिवादी वृत्तभित्रका चिन्तक र साहित्यकारहरुले यस्ता विषयको मानक नै तयार पार्ने गरी जिम्मेवार भएर इमान्दारीपूर्वक बहश चलाउन जरुरी छ भन्ने पनि लाग्छ। उल्लिखित पत्रहरु प्रकाशित गर्ने उद्देश्यलाई वेदनाका संपादकले यसरी प्रष्ट्याएको पाइन्छ :
"पारिजातले जीवनलाई कुन रुपमा लिनु भएको थियो, आफूले भोगेको जीवनलाई स्वयंले कसरी मूल्यांकन गर्नु भएको थियो र वेहोर्नु परेको मानसिक घात-प्रतिघात तथा पीडालाई उहाँले कसरी सामना गर्नुभयो, यी कुराहरु व्यक्ति पारिजातसँग मात्र सम्बन्धित नभएर उहाँका सबै पाठकका चासोका विषय हुन्। यही कारण उहाँले झण्डै आत्म-स्वीकृतिका रुपमा सचेत ढंगबाट लेखेका पत्रमध्ये केहीलाई हामीले यहाँ प्रस्तुत गरेका छौं। यी पत्रलाई हामीले ऐतिहासिक अभिलेखका रुपमा स्वीकारेका छौं। त्यसैले पारिजातको अभिव्यक्तिलाई कतै पनि खण्डित गरेर प्रस्तुत गर्नु मनासिव ठानेनौं।"
सोही "अप्रकाशित" "महत्वपूर्ण" पत्रहरुमा पारिजातले "डा. महेश घनिष्ट पुरुष मित्रहरु निकै छन् र घनिष्ट कुराकानी नहुने पनि होइन र कतै पत्र पनि चल्छ तर तपाईलाई जति भित्री कुराहरु मैले कसैलाई पनि भनेकी छैन" भन्ने लेखिएको पनि पाइन्छ। यो प्रसंग नर्थ इलिनोइस युनिभर्सिटीकी प्राध्यापक सुजान डेग्स-व्हाइटको "कहिलेकाँही, "सबै कुरा" साथीलाई भन्नुजत्तिको राम्रो महशुस अरु केहीबाट हुँदैन"[xix] भन्ने भनाईसँग मिल्ने देखिन्छ। अमेरिकन साइकोलोजिकल एशोसिएसनको गोपनीयता बारेको निम्न भनाई पनि यहाँनेर मननयोग्य देखिन्छ :
"गोपनीयता मनोविज्ञानको आचार संहिताको एक सम्मानित पक्ष हो। मानिसहरु आफ्ना वैयक्तिक विषयहरुको बारेमा र आफूसँग भएका जानकारीहरु सहजतापूर्वक बताउनका लागि, सुरक्षित स्थान चाहन्छन् अर्थात् आफूलाई मनमालागेका कुनै पनि कुरा गर्न आफूले राखेका कुराहरु कोठा बाहिर जाँदैन भन्ने यकिन हुने सुरक्षित स्थान चाहन्छन् भन्ने कुरा मनोवैज्ञानिकहरुले बुझेका हुन्छन्। त्यसैले गोपनीयतालाई उनिहरुले गम्भीरतापूर्वक लिएका हुन्छन्।"[xx]
मित्रता, विश्वास, र गोपनीयताको आयाम निकै व्यापक हुन्छ। विश्वासका साथ मित्रसँग व्यक्त गरिएका कुराहरु सार्वजनिक चासो वा सार्वजनिक हित वा सार्वजनिक उपयोगिताको विषय हो कि होइन भन्ने कुरासँग जोडेर मात्र गोपनियताको विषयलाई अर्को कोणबाट हेर्नु पर्ने पनि हुनसक्छ। त्यसैले यो विषय सरल र सहज भने पक्कै छैन। माथिका भनाईहरुले मित्रता र विश्वासबीचको सम्बन्ध र मानिसको जीवनमा रहेको मित्रताको महत्वपूर्ण पक्षलाई दर्शाउँछ। पूँजीवादी अर्थ व्यवस्थामा भने बजारमा बिक्ने सामग्रीले नैतिकताको घेरालाई अतिक्रमण गरिरहेको नै हुन्छ। विश्वास तोडियो भने विश्वासघात हुन जान्छ। यस्ता विषयहरु कतिपय अवस्थामा कानुनीरुपमा पनि देखा पर्न सक्छन् र त्योभन्दा माथि मानिसको नैतिकतासँग नै बढी जोडिएको हुन्छ। यो विषयलाई सैद्धान्तिक रुपमा र नेपालको सन्दर्भलाई समेत पृष्ठभूमिमा राखेर थप छलफल गर्न तथा बहशमा ल्याउन उपयोगी नै हुने देखिन्छ। डा. महेश‚ पारिजात र पारिजातका पत्रहरुको सन्दर्भमा निनु चापागाईंले व्यक्त गर्नु भएको निम्न भनाईं‚ यहाँ चर्चा गरिएको विषयवस्तुको थप छलफल तथा विश्लेषणको निमित्त बढी उपयोगी एवम् सान्दर्भिक हुने देखिन्छ :
“महेश मास्केलाई पारिजातसँग चिनाउने म नै थिएँ। महेश मास्के त्यतिबेला अस्कलमा पढ्नुहुन्थ्यो। त्यसपछि उहाँ छात्रवृत्ति पाएर दरबङ्गामा पढ्न जानुभयो। त्यही क्रममा मैले ०३१ सालमा उहाँलाई निर्मल लामा कशाँ लगेको थिएँ। त्यतिबेला पारिजात पनि निर्मल लामा हाँ नै बस्नुहुन्थ्यो। यसै क्रममा मास्के र पारिजातबीच चिनजान भयो। त्यसपछि अरुलाई भन्दा अलि बढी नै विश्वास गर्न लाग्नुभएको थियो मास्केलाई। एकआपसमा उनीहरु निकै घनिष्ट रहे।
उहाँले मास्केलाई लेखेका केही चिठी मसँग पनि थिए। केही अझै पनि मास्केले मलाई देखाउनु भएको छैन। त्यतिबेला म वेदना पत्रिकाको प्रधान सम्पादक थिएँ। पारिजातका चिठी पढेपछि मलाई अनौठो अनुभूति हुन्छ। कुनै कुनै कुरा हामीले पारिजातबारे बनाएका धारणाभन्दा भिन्न प्रकृतिका छन्।“[xxi]
माथिका चर्चाहरुले‚ पारिजातका पत्रहरुको विषयमा‚ पारिजातका चिठी पढेपछि निनु चापागाईंलाईं हुने अनौठो अनुभूति र पारिजातबारेका भिन्न प्रकृतिका धारणाहरु सार्वजनिक चासो‚ सार्वजनिक उपयोगिता‚ मित्रता‚ गोपनीयता र सार्वजनिक मर्यादाका कोणहरुलाई समेत समेटेर थप चर्चा गर्नका लागि निनु चापागाईंले नै जिम्मेवार ढँगबाट जाँगर चलाउनु पर्ने देखिन आएको छ। त्यसो त पारिजातले डी. आर. पोखरेल‚ जगदीश घिमिरे आदिलाई पनि पत्रहरु लेख्नु भएको देखिन्छ। यस अर्थमा पारिजातका पत्रहरुको बारेमा बेग्लै चर्चा गर्नु पनि महत्वपूर्ण हुने देखिन्छ।
अन्तमा, एक पुस्तकको मन्तव्य लेख्ने क्रममा ठाकुर पराजुली लेख्नु हुन्छ- "जीवनका बहुआयामिक अनुभव र व्यक्तित्व बटुलेकी पारिजातले नेपाली साहित्यका पनि धेरैजसो विधा र चिन्तनलाई रुप र शक्ति प्रदान गरेकी छिन्। पारिजातको भौतिक जीवन त्यति लामो होइन न त उनको जीवनलाई छोटो नै भन्न मिल्छ। उनले एउटा नेपालीको औसत जीवन भोगिन्। जति भोगिन्, त्योभन्दा धेरै बढी नेपाली साहित्यको उचाइ थपिन।"[xxii] यसैगरी पारिजातको समग्र सार्वजनिक व्यक्तित्व र जनचासो तथा जनपयोगी योगदानलाई नियाल्दै गोरखापत्र लेख्छ- "साहित्य, पत्रकारिता, मानवअधिकार, राजनीति, नारीमुक्ति आदि विषयमा पारिजातको योगदान रह्यो। उनको कलम र आवाजले यस्तै विषयमा समर्थन र बिरोध गर्यो। एकेडेमीको गठन, मानव अधिकार, नारीमुक्ति, कारागार सुधार आदि विषयमा पारिजातको आवाज र कलमबाट योगदान पुगेको छ। पारिजातको अलग व्यक्तित्व साहित्यिक व्यक्तित्व हो।"[xxiii] यस प्रकारको व्यक्तित्व निर्माण गरेर नेपाली साहित्यको एक कालखण्डलाई गौरवपूर्ण प्रतिनिधित्व गरेकी पारिजातको योगदानका थुप्रै चर्चायोग्य पाटाहरुको विवेचना र विश्लेषण यतिखेर पारिजातको सन्दर्भमा आवस्यक्ता हो।
पारिजातलाई चिनेको, बुझेको तथा पारिजातको नजिक रहेको भन्न रुचाउनेहरुले उहाँलाई स्मरण गर्ने केका लागि हो र पारिजातलाई नचिनेका, नबुझेका तथा पारिजातको नजिक नरहेकाहरुबीच पारिजातलाई कसरी चिनाउन चाहनुहुन्छ त्यो उहाँहरुको अघिल्तिर उभिने नैतिक प्रश्न पनि हो। विश्वका प्रतिष्ठित व्यक्तित्वहरुका बारेमा लेखिएका जीवनी र उहाँहरुको जीवनको बारेमा सार्वजनिक गरिएका व्यक्तिगत विषयहरुले नैतिक वहश तथा कानुनी लडाईहरु लडेका उदाहरणहरु पाइन्छन्। उदाहरणको निमित्त बेलायती राजकुमारी डायना[xxiv] वा फ्रान्सका प्रधानमन्त्री रहनुभएकी एलिजाबेथ बोर्नसँग[xxv] जोडिएका व्यक्तिगत घटनाका विवरणहरुको प्रशारण तथा प्रकाशनहरुलाई लिन सकिन्छ।
उल्लिखित सन्दर्भमा, पारिजातलाई चिनाउन स्वस्फूर्तरुपमा जमर्को गर्नु ज्यादै नै प्रशंसनीय कार्य हो। यसैगरी लेखक तथा साहित्यकारहरुले आफ्नो विवेक, दृष्टिकोण र समय अनुसार पारिजातबारे अध्ययन अनुसन्धान गर्ने र पारिजातका सवल एवम् दुर्वल पक्ष वा कमजोरीहरुबारे (खरो) टिप्पणी, समालोचना वा आलोचना गर्ने कार्य चलिरहने कार्य हुन् र त्यस्तै जिम्मेवार बहश, छलफल वा चर्चाहरुबीच नै पारिजात बाँचिरहने पनि हो। त्यस्ता अध्ययन, अनुसन्धान वा बहश, छलफलहरु जिम्मेवारपूर्ण हुन् र तिनीहरुको सचेत उद्देश्य समाजोपयोगी तथा समाजको गतिलाई अग्रगामी बनाउने खालका हुनुपर्छ र समाजको चेतनास्तर उकास्नका निमित्त सहयोगी हुनुपर्छ भन्ने हो। बजारले डोर्याएको कारण बजारोपयोगी सामग्रीको उत्पादनमा मात्र प्रश्रय दिने प्रकृतिका नहुन् भन्ने तर्फ चाहिँ जिम्मेवार लेखकहरुको ध्यान जानै पर्ने हुन्छ। पारिजात आफैंले पनि "अनुत्तरदायी प्रवृत्तीलाई स-साना कुरा भनेर पन्छाउन नखोजौं" भन्दै प्रगतिवादी धारणामाथि आस्था राख्नेहरुको निम्ति स-साना कुराहरु चारित्रिक कमजोरीहरु हुन् र तीनलाई वास्ता नगर्नु बुर्जुवा मान्यता हो भन्नु भएको थियो।[xxvi] उहाँको यस भनाईलाई कमसेकम उहाँकै बारेमा, त्यो पनि सार्वजनिक चर्चा गर्दा भने ख्याल गर्नै पर्ने हुन्छ।
संभवत पुराना संस्मरण वा घटनाहरुको सार्वजनिक औचित्य र महत्वलाई हेरेर नै चिन्तक एवम् साहित्यकार निनु चापागाईंले सुशील देवकोटाको नाममा पारिजातमाथि आफूले तीतो आलोचना गरेको र त्यसमा पारिजातको प्रतिक्रिया आएपछि त्यसमाथि आफूले पुनःआक्रमण गरेको भन्दै त्यस्ता घटना र स्मृतिहरु अनगिन्ती भएतापनि तिनलाई फाटफुटरुपमा टिपोट गर्न सम्भव नभएको मात्र होइन आफूले उचित नठानेको पनि बताउनु भएको छ। पारिजातसँगको सम्बन्ध‚ घटना र स्मृतिहरुको बारेमा उहाँ भन्नुहुन्छ- “पारिजातसित अभिन्न जस्तै भएर बितेका २९ वर्षको अवधिमा पारिजातका सम्बन्धमा मैले सँगालेका राम्रा‚ नराम्रा घटना र स्मृतिहरु अनगिन्ती छन्।”[xxvii] निनु चापागाईंको यो भनाई मननीय छ- सबै घटना र स्मृतिहरु उचित तथा सार्वजनिक महत्वको नहुन सक्छन्।
पारिजात स्मृति केन्द्रजस्ता संस्थाहरुले पनि पारिजातको बारेमा प्रकाशन तथा प्रशारण भएका सामग्रीहरुको अनुगमन गरेर तीनीहरुको अभिलेख राख्ने र कतिपय सामग्रीहरुको उत्पादन वा लेखनका लागि मार्गदर्शन हुन सक्ने गरी आफ्ना धारणाहरु राख्न जरुरी देखिएको छ। पारिजातबारे तयार भएका वा लेखिएका राम्रा सामग्रीहरु सिर्जना‚ उत्पादन तथा प्रचार प्रसार गर्ने र त्यस्ता सामग्री सिर्जना वा उत्पादन गर्नेहरुको पहिचान गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने कार्यहरु गर्न पनि जरुरी देखिन्छ। यतिखेर पारिजातका योगदान र कमजोरी तथा व्यक्तित्व र कृतित्वलाई आजको समय सापेक्ष ढँगबाट कसरी हेर्नु पर्छ भन्ने विषयमा थप छलफल तथा बहश हुनु पर्ने देखिएको छ र विज्ञ सर्जक एवम् लेखकहरुबाट सोही अनुसारको अपेक्षा गर्नु पर्ने हुन्छ।
------------------------------------------------------------
पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य सचिव तथा पूर्व अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी भौतिक पूर्वाधार तथा निर्माण व्यवस्थापन क्षेत्रमा कार्यरत छन् र उनी साहित्यिक क्षेत्रमा पनि परिचित छन्।
सन्दर्भ सामग्री :
- घिमिरे, कृष्णप्रसाद घिमिरे, ज्ञवाली रामप्रसाद (२०५८), आख्यानकार पारिजात, हजुरको पुस्तक संसार, काठमाडौं
- प्रेरणा‚ गोविन्द गिरी (२०७९), सुश्री पारिजात, फाइन प्रिन्ट, काठमाडौं
- पोखरेल, डी. आर. (२०६२), पारिजातको साहित्यिक मूल्याङ्कन‚ भृकुटी एकेडेमिक पब्लिकेशन्स्, काठमाडौं
- नागरिक दैनिक
- निर्माण प्रकाशन (२०५४), पारिजातका संकलित रचनाहरु, ग्रन्थ १-६‚ सिक्किम (भारत)
- पारिजात स्मृति केन्द्र (२०५१) पारिजात स्मृति ग्रन्थ, काठमाडौं
- पारिजात, शिरीषको फूल (तेह्रौं संस्करण, २०६०), साझा प्रकाशन‚ काठमाडौं
- भृकुटी (पारिजात विशेषाङ्क)‚ मङसिर २०७५
वेवसाइटहरु :
https://www.psychologytoday.com
nagariknews.nagariknetwork.com
[साभार : हाम्रो सिर्जना‚ पूर्णाङ्क २६‚ २०८० माघ]
पादटिप्पणी :
[i] डी. आर. पोखरेल, पारिजातको साहित्यिक मूल्याङ्कन (२०६२), भृकुटी एकेडेमिक पब्लिकेशन्स्, काठमाडौं, पे. ३४-३६
[ii] पारिजात स्मृति केन्द्रको मिति २ असोज २०७८ को बैठकको निर्णय बमोजिम पारिजातको जन्म मिति १९९० फागुन ३० गते हुनेगरी संशोधन गरिएको।
[iii] पारिजात, शिरीषको फूल (तेह्रौं संस्करण, २०६०), साझा प्रकाशन‚ काठमाडौं
[iv] गोविन्द भट्ट (२०२३), "'शिरीषको फूल' कि कागजको फूल", पारिजात स्मृति ग्रन्थ, २०५१ (हिमाली, वर्ष-२ अङ्क-४, २०२३ मा प्रकाशित)
[v] निर्माण प्रकाशन (२०५४), पारिजातका संकलित रचनाहरु, ग्रन्थ ६, सिक्किम (भारत) पे. २३१
[vi] आनन्द नेपाल (भाद्र २०७६), https://www.youtube.com/watch?v=i2NgjT7EPOQ, १२ सेप्टेम्बर २०१९
[vii] https://www.facebook.com/jharnakogeet/posts/866053910448231/
[viii] एडुटेनमेन्ट नेपाली (कार्तिक २०७४), https://www.youtube.com/watch?v=dcgt3-YC61U, २४ अक्टोबर २०१७
[ix] निर्माण प्रकाशन (२०५४), पारिजातका संकलित रचनाहरु, ग्रन्थ ४, पे. ६१
[x] स्नेह सायमी (मंसिर २०८०), "स्मृतिमा चैत ३", नागरिक, ३ चैत २०७५, https://nagariknews.nagariknetwork.com/blog/173737-1552801080.html
[xi] पारिजात स्मृति केन्द्र (२०५१), पारिजात स्मृति ग्रन्थ, काठमाडौं, पे. १८२
[xii] मिति २०८०।१।१० को पारिजात स्मृति केन्द्रको वक्तव्य
[xiii] पुष्पा थपलिया, "घाँटीमा लिपिस्टिकको डाम बनाएर टिकटक बनाउने महिलाको भीडमा प्रकाशमाथि प्रश्न उठाउनुको के अर्थ ?", उकेरा, ५ बैशाख २०८०, https://www.ukeraa.com/news/detail/132013/
[xiv] Nepal Literature Festival 2022, 17 July 2023, https://www.youtube.com/watch?v=_YSwg8_8amU
[xv] निर्माण प्रकाशन (२०५४), पारिजातका संकलित रचनाहरु, ग्रन्थ ६, पे. २६५
[xvi] गोविन्द गिरी प्रेरणा (२०७९), सुश्री पारिजात, फाइन प्रिन्ट, काठमाडौं
[xvii] निर्माण प्रकाशन (२०५४), पारिजातका संकलित रचनाहरु, ग्रन्थ ४, पे. ८०
[xviii] मोहन दुवाल (२०७९)‚ मेरो मानसपटलमा फुलिरहने वासनादार फूल हो पारिजात…‚ जनमत‚ २ असोज २०७९‚ https://janamatsahitya.com/2022/09/5084.html
[xix] https://www.psychologytoday.com/intl/blog/lifetime-connections/201405/when-friends-reveal-secrets-youve-asked-them-keep (२५ मई २०१४)
[xx] American Psychological Association (2019), Protecting your privacy: Understanding confidentiality in psychotherapy, https://www.apa.org/topics/psychotherapy/confidentiality.
[xxi] निनु चापागाईं‚ 'पारिजातसँगको मित्रता र अन्तरविरोधपूर्ण मेरो सम्बन्ध'‚ रातोपाटी‚ ५ जेठ २०७६‚ https://www.ratopati.com/story/87869
[xxii] कृष्णप्रसाद घिमिरे, रामप्रसाद ज्ञवाली (२०५८), आख्यानकार पारिजात, हजुरको पुस्तक संसार, काठमाडौं
[xxiii] पारिजात स्मृति केन्द्र (२०५१), पारिजात स्मृति ग्रन्थ, काठमाडौं, पे. १८२
[xxiv] https://www.history.com/news/princess-diana-bbc-interview-martin-bashir; https://www.redbrick.me/the-lack-of-ethics-behind-dianas-1995-interview/
[xxv] https://www.reuters.com/world/europe/french-pm-sues-biography-publisher-violating-her-privacy-2023-05-24/
[xxvi] निर्माण प्रकाशन (२०५४), पारिजातका संकलित रचनाहरु, ग्रन्थ ६, पे. ५
[xxvii] निनु चापागाईं (२०७५)‚ सही मूल्यको खोजीमा पारिजात‚ भृकुटी (पारिजात विशेषाङ्क)‚ मङसिर २०७५‚ पे. १५८
प्रतिक्रिया