महत्त्वपूर्ण नून: कहिलेदेखि मानिसले खान थाले ?

आजभोलि संसारभरि नै खानेकुरालाई स्वादिलो बनाउनको लागि नूनको प्रयोग गर्ने गरिन्छ । मानिसको खानामा नून एउटा अभिन्न अंग बनिसकेको छ । नूनको स्वाद चाखिसकेको कसैले पनि नूनबिनाको खाना रुचाउन सक्दैन ।

तर नूनको बारेमा थाहा नपाएका प्राचीन कालका मानिसहरु चाहिँ के गर्थे होलान् त ? उत्तर सहज छ– उनीहरु नूनबिना नै खानेकुरा खाने गर्थे ।

वास्तवमा, अमेरिका तथा संसारका कतिपय ठाउँका मानिसहरुलाई यूरोपियनहरुले खानेकुरामा नूनको प्रयोग गर्न सिकाएका थिए । अझै पनि मध्य अफ्रिकाका कतिपय स्थानहरुमा नूनलाई विलासिताको वस्तु मानिन्छ । त्यहाँ नूनलाई धनी मानिसहरुले मात्रै उपयोग गर्न सक्छन् ।

हाम्रो शरीरमा नून अति आवश्यक छ । तर दूध खाने तथा मासुलाई काँचै वा पोलेर खाने समुदायको लागि थप नूनको आवश्यकतै पर्दैन । उनीहरुले शरीर विकासको लागि आवश्यक पर्ने मात्राको नून, त्यही दूध र मासुबाट नै पाइरहेका हुन्छन् । तर शाकाहारी तथा मासुलाई उसिनेर खानेहरुका लागि भने थप नूनको आवश्यकता पर्दछ ।

मानिसले घुमन्ते जीवन त्यागेपछि नूनको प्रयोग गर्न थालेको पाइन्छ । विशेष गरेर खेतीपातीको युगमा प्रवेश गरेपछि मानव जीवनमा नून अभिन्न अंग बन्न पुगेको देखिन्छ ।

त्यसो त मानव जीवनमा नूनको महत्व खानालाई स्वादिलो बनाउने वा शरीरलाई आवश्यक पर्ने तत्वको अर्थमा मात्र सीमित छैन । यसको आफ्नै सांकेतिक महत्व पनि रहेको पाइन्छ । प्राचीन कालमा देउतालाई बली दिँइदा बलीको साथै नून पनि दिने गरिन्छ । त्यसबेला नूनको आफ्नै विशेष धार्मिक महत्व रहेको पाइन्छ ।

खानेकुरालाई लामो समयसम्मका लागि सुरक्षित गर्नको लागि पनि मानिसहरुले नूनको प्रयोग गर्ने गरेको पाइन्छ । नूनको यही गुणले गर्दा यसलाई लामो समयसम्म सुरक्षित रहने वस्तुको प्रतीकको रुपमा पनि लिने गरेको पाइन्छ । एक समयमा यूरोपतिर कुनै पनि सम्झौता वा लिखत गर्नुपर्दा नून हालेको खानेकुरा खाएर तथा खुवाएर गर्ने गरिन्थ्यो । यसो गर्दा त्यो सम्झौता वा लिखत पक्का र दिगो कालसम्मको लागि भएको मानिन्थ्यो । हाम्रै नेपाली समाजमा पनि कसैकोमा नून हालेको खाना खाएपछि उसको भलाइ मात्रै गर्नुपर्छ भन्ने मान्यता कायमनै

रहेको छ । भनाइ नै छ– नूनको सोझो गर्नू ।

नूनको महत्व मानिसले बुझ्दै गएपछि यसको व्यापारिक महत्व पनि स्थापित हुँदै गयो । रोचक त के छ भने, इटालीको एउटा प्राचीन सडकको नाम नै नूनको बाटो (Via Salaria) रहेको छ ।

करिब २४२ किलोमिटर लामो यस सडकले राजधानी रोमलाई एड्रियाटिक समुद्रसँग जोड्छ । शब्द ल्याटिन शब्द salis बाट बनेको हो जसको अर्थ salt अर्थात् नून हुन्छ । यसको नाम यस्तो हुनुको कारण चाहिँ प्राचीन कालमा त्यही बाटो भएर नून ल्याउने गरिनाले हो । यो बाटोले नूनको व्यापारमा त्यसबेला रोमको एकाधिकारलाई स्थापित गर्न भूमिका खेलेको थियो । त्यसबेला राज्यको सम्पन्नताको प्रतीकसँग नून पनि जोडिएको थियो ।

हामीले काम गरेवापत लिने मासिक तलबलाई अंग्रेजी भाषामा Salary भनिन्छ । यो शब्द पनि नूनबाट नै आएको हो । प्राचीन रोमनकालमा सैनिक वा अफिसरहरुलाई तलबको साटोमा नून नै दिने गरिन्थ्यो । यसबाट पनि त्यसबेला नूनको कति व्यापक महत्व थियो भन्ने अनुमान गर्न सकिन्छ । 

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।