जब विद्यार्थीले हत्केला चिरेर विद्यारेखा बनाए !
कुरा अहिलको हैन, उहिलेकै हो । त्यसबेला अहिलेको जस्तो स्कुलहरुमा पढाइ हुँदैनथियो । त्यसबेला आश्रमहरुमा पढाइ हुने गर्थ्यो । त्यस्ता पढाइ हुने ठाउँलाई गुरुकुल भनिन्थ्यो ।
एउटा गुरुकुलमा शिक्षकले आफ्ना विद्यार्थीहरुलाई कुनै पाठ सम्झाइरहेका थिए । एक जना विद्यार्थी यस्ता पनि थिए, जसले गुरुले पढाएका कुरा बुझ्न सकिरहेका थिएनन् । अति जिज्ञासु ती विद्यार्थीले प्रश्नमाथि प्रश्न सोधेर गुरुलाई हायलकायल तुल्याइरहेका थिए ।
जति पढाए पनि, जति बुझाए पनि बुझ्नै नसकेपछि दिक्क मानेका गुरुले उसको हात हेर्दैअलि कडा स्वरमा भने, तँ पढिखाँदैनस् । तेरो हत्केलामा विद्यारेखा नै छ्रैन । जा घर ।’
गुरुको कटु वाणीले मर्माहत बने ती बालक । उनी चुपचाप आफ्ना पढाइका सामानहरु समेटेर घरतिर लागे ।
भोलिपल्ट ती बालक फेरि गुरुले पढाइरहेका ठाउँमा पुगे । गुरुले उनलाई कर्के नजरले हेरे । गुरुले ती बालकलाई केही भन्नुपूर्व नै उनले आफ्नो गोजीबाट सानो चक्कु निकाले । आफ्नो हातमा चक्कुले चिरेर रेखा बनाए । रक्तधारा बगिरहेको हत्केला गुरुतिर तेर्स्याउँदै उनले सोधे– ल हेर्नोस् गुरु! अब मेरो हातमा पनि पढाइ रेखा बन्यो । के अब म पढ्न सक्छु ?’
ती बालकको यो अनौठो हिम्मत देखेर गुरु हतप्रभ बने । उनले ती विद्यार्थीलाई अङ्गालो हाल्दै भने, तिम्रो अद्भूद साहस र दृढ लगन देखेर म तीनछक्क परें । तिमीमा पढाइप्रतिको जुन लगाव र उत्साह छ, त्यो आधारमा म ठोकवा गरेर भन्न सक्छु– तिमीलाई पढ्नबाट कसैले रोक्न र बञ्चित गर्न सक्दैन ।’
त्यसरी आफ्नो हत्केला चिरेर पढाइ रेखा बनाउने, गुरुको अन्धविश्वासलाई चुनौती दिने बालक अरु कोही थिएनन्, पाणिनी थिए । यी पाणिनी तिनै हुन्, जो कालन्तरमा संस्कृतका धुरन्धर महापण्डित बने । उनले संस्कृत व्याकरणका थुप्रै किताबहरु लेखेर भाषा विज्ञानको उत्थानमा ठूलो योगदान दिए ।
प्रतिक्रिया