जेब्राको शरीरमा काला धर्काहरु किन हुन्छन् ?

जेब्राका धर्का हाम्रो औँलाको छापजस्तै !

जेब्राबारे सायद हामी धेरैले सुनेका छौं होला । पत्रिका वा किताबमा यसको तस्बिर पनि देखेका छौं होला । यदि तपाईंले यसबारे केही ज्ञान छैन भने आउनुहोस् जेब्रा के रहेछ भन्नेबारे जानौं ।          

वास्तवमा जेब्रा एक स्तनपायी जनवार हो । यो हेर्दा घोडाजस्तो देखिन्छ । तर यिनीहरु अकारमा घोडाभन्दा अलिक साना हुन्छन् । समान्य घोडाको शरीरको रङ्ग एकै खाले हुन्छ । तिनीहरु विशेष गरी खैरा, काला वा सेता हुन्छन् । तर जेब्राको शरीर भने सेतो हुन्छ, जहाँ धेरै काला धर्काहरु हुन्छन् । 

तिनीहरुको शरीरमा भएका काला धर्काहरुले तिनीहरु हेर्दा निकै सुन्दर देखिन्छन् । तर ती काला धर्काहरुले तिनीहरुको सुन्दरता मात्र बढाउने काम गर्दैन । यसले तिनीहरुलाई अरु मांशाहारी जनावारहरुबाट बचाउने गर्छ । यो कुरा तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ ।

कसरी काला धर्काले तिनीहरुलाई हरु जनवारबाट बचाउन सक्ला त ?

हो, त्यही काला धर्काले तिनीहरुलाई अरु जनवारहरुबाट विभिन्न तरिकाले बचाउन मद्दत गर्छ । तिनीहरुको शरीरमा भएको काला धर्का तिनीहरु बस्ने जंगलको वातावरणसँग मेल खान्छ । यसलाई प्याट्रन केमोफ्लेज (pattern–camouflage) भनिन्छ । हामीले सैनिकहरुले जंगलमा युद्ध गर्न जाँदा अरुले नदेखोस् भनेर हरियो लुगा र मुखमा कालो रङ्ग दल्ने गरेको पनि देखेका छौं होला । यही कुरा जेब्रामा पनि लागु हुन्छ ।

तर घाँस त पहेंलो कि त हरियो हुन्छ ? कसरी त्यसले उनीहरुलाई लुकाउन सक्छ त ? यो प्रश्न उठ्न सक्छ । तिनीहरुको मुख्य दुश्मन भनेको सिंह हो, जो रङ्ग छुट्टाउन सक्दैन । सिंहहरु कलर ब्लाइन्ड (colorblind) हुन्छन् । जेब्राको शरीरमा भएको कालो रंगको बनावट र घाँसको बनावट मिल्ने हुन्छ । यदि तिनीहरु घाँसमा नहल्ली बसे भने सिंहलाई तिनीहरु छुट्याउन निकै गाह्रो पर्छ ।

त्यसैले जनवारहरुबाट बँच्न तिनीहरुको शरीरको धर्काले केही हदसम्म मद्दत गर्छ । तर त्यस्ता जनवारहरुबाट तिनीहरुलाई बचाउने मुख्य हतियार भनेको तिनीहरु समूहमा सँगै हिँड्ने बानी नै हो । जेब्राहरु प्रायः सधैँ ठूलो समूह बनाएर हिँड्ने गर्छन् । उनीहरु एकै ठाउँमा बस्ने हुँदा सिंह पनि कहिलेकाहीँ तिनीहरुलाई घाँस भनेर झुक्किने गर्छन् । जेब्राहरु ठूलो समूहमा हिँड्ने हुँदा कहिलेकाहीँ सिंहले सबै जेब्रालाई एउटै ठान्छ । यसरी ठूलो जनवार ठानेर सिंहले पनि तिनीहरुलाई आक्रमण गर्ने आँट गर्दैन । त्यसलाई जेब्रा कुन दिशामा जाँदैछ भन्ने कुरा पनि थाहा हुँदैन । त्यसलाई समूहमा रहेको कमजोर जेब्रालाई छुट्टाउन पनि उप्ठ्यारो हुन्छ । त्यसैले तिनीहरु एकैचोटी आक्रमण गरिहाल्दैनन् ।

त्यो धर्काले गर्दा के जेब्राहरु आफै त झुकिँदैनन् त ? तर अचम्मको कुरा के छ भने अझ यसले तिनीहरुलाई एक अर्कालाई चिन्न पो मद्दत गर्छ । तिनीहरुको शरीरमा भएको धर्का भनेको हाम्रो औँलाको छापजस्तै हो । जसरी हाम्रो औँलाको छाप एकअर्कासँग मिल्दैन, त्यसरी नै तिनीहरुको शरीरमा भएको

धर्का एकअर्कासँग मिल्दैन । वैज्ञानिकहरुका अनुसार यसैको मद्दतले तिनीहरुले एकअर्कालाई चिन्छन् ।

यसरी जेब्राले आफ्नो समूह पनि चिन्ने गर्छ । यसले वैज्ञानिकहरुलाई एउटै जेब्राको लगातार अध्ययन गर्न पनि मद्दत गर्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।