गहुँगोरो अफ्रिका

मेरो रातो रगत

मानिसको पवित्र रातो रगत

नीलो पसीनाको बुँद बनेर जब झर्दछ

तिमी आफ्ना नरम अञ्जुलीहरुमा आली लगाएर थाप्दछौ

 

जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्छु

तिमी मेरो अपमान गर्छौं र मलाई टाढा राख्छौ

आँखा जुधाउने आँट गर पूजारी !

म बीसौं शताब्दीको ‘अछुत’ हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

म न्याय चाहन्छु/म मुक्ति चाहन्छु ।

 

तिम्रो मन्दिरको मूर्तिमा आरनको गन्ध आउँछ

ओदानीमाथिको कराहीमा मेरो पसीनाको गन्ध आउँछ

 

आँखा जुधाउने आँट गर धर्माती मान्छे !

–कि मेरो अस्तित्वलाई भूंग्रोमा पोल र धर्म धान्ने आँट गर

–कि मेरो अपमान गर्ने शास्त्रका पानाहरुलाई

 च्यात्ने या जलाउने साहस गर

म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

 

तिम्रो बस्तीको सफा भुईंलाई सुँघ

बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ ।

आँखा जुधाउने आँट गर सफा मान्छे !

–कि मेरा रक्तनलीहरुमा पानी भर

–कि आफ्नो दिमागको फोहर सफा गर

म तिम्रो बस्तीको फोहर सोहर्ने च्यामे हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरुलाई च्यात

त्यहाँ मेरो संगीतको मधुर सरसराहट सुनिन्छ

आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !

–कि मलाई जनावरसँगै बाँध र घाँस खुवाउँने आँट गर

–कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर

म सारङ्गी रेट्ने, मादल ठोक्ने गाइने हुँ, वादी हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।

 

माटोमा धस्सिएको मेरो जीवनलाई छाम

त्यहाँ मेरो आँशुको आहाल भेटिन्छ

आँखा जुधाउने आँट गर अघाएको मान्छे !

–कि तिम्रो गाउँमा मेरो आँशुको गन्ध छैन भन्ने आँट गर

–कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर

म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हुँ, हली हुँ !

यो गोल भूगोलको एउटा गाहुँगोरो अफ्रिका हुँ ।

 

तिम्रो पैतालाको जुत्तादेखि

शरीरको टोपीसम्म

तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म

म कहाँ छैन ? म सर्वत्र छु ।

मलाई तिमी कसरी ‘अछुत’ बनाउनसक्छौ ‘छुत’ मान्छे ?

–कि इतिहासको कठघरामा उभिने आँट गर

–कि आफूलाई बदल्ने साहस गर

आँखा जुधाउने आँट गर पूजारी !

म बीसौं शताब्दीको ‘अछुत’ हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।

म अपमानित इतिहासको हिसाब चाहन्छु ।

म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ।

'गहुँगोरो अफ्रिका' बाट