के लेमिङले साँच्चै ‘आत्महत्या’ गर्छ ?
यस संसारमा थरिथरिका विचित्रका जीवजन्तुहरु पाइन्छन् । त्यस्तै एउटा विचित्रको जीव हो लेमिङ्ग । आमरुपमा के विश्वास गरिन्छ भने यो जीवले समुद्रमा हाम्फालेर आत्महत्या गर्ने गर्छ । खासगरी, आफ्नो जनसंख्यामा अत्यधिक बृद्धि भएपछि यसले आत्महत्या गर्छ भनेर भन्ने गरिन्छ । तर वास्तवमा यो कुरा सही होइन ।
लेमिङ्ग पहेंलो खैरो वर्णको, झट्ट हेर्दा मुसा जस्तो लाग्ने सानो जीव हो । यो अक्सर गरेर एशिया, युरोप उत्तर अमेरिकाका चिसो स्थानहरुमा पाइन्छन्। यो जीव आकारमा करीब १३ से.मी. को हुन्छ । छोटो पुच्छर,गोलाकार टाउको, भुत्लाले ढाकिएका स–साना कान हुने यस जीवको खुट्टा पनि छोटा नै हुन्छन् । यो जीवले पानी भएको क्षेत्र नजिक आफ्नो गुँड बनाउँछ । मूलतः शाकाहारी यो जीवले एक पटकमा पाँच वटासम्म र एक वर्षमा कैंयौं पटक बच्चा जन्माउँछ ।
भिन्न भिन्न क्षेत्रमा पाइने लेमिङ्गका भिन्न भिन्न विशेषताहरु हुन्छन् । तर स्कान्डिनाभिया (उत्तर पश्चिम युरोप)मा पाइने नर्वे लेमिङ्ग (Lemmus lemmus) मा भने एउटा विचित्रको विशेषता पाइन्छ । अन्य क्षेत्रमा पाइने लेमिङ्गहरु भन्दा यसमा एउटा नितान्त भिन्न चरित्र के देखिन्छ भने, यो जीव खाद्यान्नको खोजीमा बसाई सराई पनि गर्ने गर्छ । वर्षभरिमा धेरै बच्चा जन्माउने भएको कारण यस जीवको संख्यामा वर्षेनी अचाक्ली बृद्धि हुन्छ । यसरी संख्यामा धानिनसक्नुको बृद्धि भएपछि यो जीव नयाँ वासस्थान र आहाराको खोजीमा लाखौंको संख्यामा समुद्रभएतिर ओइरिन्छ । यसरी समुद्रतिर लाग्ने क्रममा बाटामा नै हज्जारौं लेमिङ्गहरु अन्य जनावरहरुको भोजन बन्छन्, कतिपय प्राकृतिक मृत्युको शिकार बन्न पुग्छन् समुद्रछेउसम्म पुगेका थुप्रै लेमिङ्गहरु समुद्रमा हाम्फाल्न पुग्छन् र डुबेर मर्छन् ।
यसरी समुद्रमा डुबेर मर्ने भएको कारणले गर्दा नै मान्छेहरुले विश्वास गर्ने गर्छन्– संख्या बढेपछि लेमिङ्गले आत्महत्या गर्छ ।
तर खासमा चाहिँ लेमिङ्गले यसरी आत्महत्या गर्नकै लागि त्यसरी समुद्रमा ओइरिएको हुँदैन । आफ्नो जनसंख्यामा अचाक्ली बढेपछि लेमिङ्ग बसोबास भएको क्षेत्रमा खाद्यान्नको व्यापक अभाव हुन थाल्छ । फलतः उचित वासस्थान र पर्याप्त खाद्यान्न पाइने क्षेत्रको खोजीमा लाखौंको संख्यामा लेमिङ्ग बसाइसराइ गर्ने गर्छ । स्वभावतः पानीको नजिक बस्न रुचाउने भएकोले यो जीव तलाउ, खोला, नाला, नदी जस्ता पानी भएका क्षेत्रहरुतिर आकर्षित हुने गर्छ । यसै दौरानमा यी जीवहरु समुद्रका छेउछाउ पनि पुग्ने गर्छन् । यस्तो अवस्थामा पछाडि रहेका समुहको ठेलमठेलमा परेर समुद्रछेउ पुगेका यी जीवहरुको अघिल्लो हिस्सा समुद्रमा खस्न वा डुब्न पुग्छन् । त्यस दौरानमा उनीहरुले समुद्रलाई पनि नदीमा जस्तो तैरेर पार गर्न खोज्छन् । तर समुद्रको अनन्त विस्तारलाई नाँघ्न नसकेर यो जीव समुद्रमा नै डुब्छ र मर्न पुग्छ ।
प्रत्येक तीन वा चार वर्षमा नर्वे लेमिङ्गमा बसाइसराइको र समुद्रमा डुबेर हुने आम–संहारको यो प्रक्रिया दोहोरिइरहन्छ । तर पछिल्लो चरणमा, खासगरी सन् १९९० दशकको मध्यदेखि दक्षिणी नर्वेका लेमिङले आफ्नो यो ऐतिहासिक लयलाई पछ्याउन छाडेको देखिन्छ ।
रोचक त के छ भने, अन्य जातिका लेमिङ्गले भने यसरी बसाइसराइ गर्दैन र उनीहरुको यस्तो दुःखान्त संहार पनि हुन पाउँदैन।
प्रतिक्रिया