भ्लादीमिर इल्यीच
मलाई थाहा छ - वीरहरूले ओकेल्दैनन्
क्रान्तिको उर्लंदो लावा ।
वीरहरूको कथा -
मगज खियाउनेहरूको बकबास हो !
किन्तु
मौन रहन सक्छ को
नगाएर गौरव गाथा
हाम्रा इल्यीचको ?
गिदीबिनाका गोडा - व्यर्थ छन् ।
मगज नभएका
हातहरूको पनि कुनै काम छैन ।
चहार्दैथियो
विश्वका सबै दिशाहरूतर्फ
मथिङ्गलबिनाको गींड मात्र ।
हामीलाई बेचिन्थ्यो
बगेरेले मासु भाग लगाएझैं
जब रणभेरीको आवाज गुञ्जन्थ्यो ।
जुन वेला
विश्वमाथि उठे
विशाल शिर ठाडो गरेर
लेनिन !
अनि पृथ्वी
घुम्न लाग्यो आफ्नो धुरीमा,
हरेक प्रश्न – थियो सरल !
र शून्यतामा
दुई कुरा
टडकारै देखापरे
सिङ्गै आङ तन्काएर ।
पहिलो =–
बडेमानको भुँडीमा बोसोको बाक्लो तह।
र दोस्रो -
जब्बर पहरोतुल्य
लाखौं कणको एक सबल ढिस्को,
जो उठ्यो
अजङको पहाड बनेर !
अब
हाम्रो निसाना अचूक हुनेछ :
कसलाई ढाल्नुपर्छ –
राम्रो थाहा छ हामीलाई ।
गोडाहरू पनि जान्दछन्
कसको
लाशमाथि कुल्चेर
बढ्नुछ अगाडि !
ठाउँ छैन – शङ्का र सुस्केराको निम्ति,
न त खाँचो नै छ - “प्रतीक्षाको " !
हातहरू पनि बुझ्दछन्
कसलाई उनीहरूले
मृत्युको झम्टाइबाट जोगाउनुपर्छ !
डढेलोले पृथ्वीलाई लपेट्दै, जताततै,
जहाँ जनमुक्तिको संघर्ष छिडेको छ,
बमको विष्फोटनझैं
सुनिन्छ जयघोष :
लेनिन !
लेनिन ! !
लेनिन ! ! !
र यो -
कुनै वीरको खुसामद गर्न होइन,
कविताको शीतल पङ्खा हम्केर !
बरू म
लेनिनको यश-गाथाद्वारा
संसारको आस्थाको
गौरव गाउँदैछु,
र आफ्नै विश्वासको पनि
मधुर गीत सुनाउँदैछु।
म कवि नै हुने थिइनँ
यदि नगाउँदो हुँ त गौरव-गाथा –
रसियाली कम्युनिष्ट पार्टीको
असीम आकाशमा चम्केका
पाँचकुने ताराहरूको !
प्रतिक्रिया