हामी आफैंले पालो मिच्यौं भने कसले नियम पालना गर्छ ?
कुरा, सन् १९२१ को हो । म कामको सिलसिलामा पहिलोपटक मस्कोको क्रेमलिन सहर पुगेको थिएँ । दाह्री खौरिनका लागि म एउटा सैलुनमा गएँ । त्यहाँ हामी ६ जनाले पालो कुरिरहेका थियौँ । अचानक लेनिन पनि त्यही सैलुनमा दाह्री काट्न आइपुग्नुभो । हामी सबैजना उठेर उहाँलाई अभिवादन गर्दै भन्यौँ – ‘नमस्ते लेनिन !’
लेनिनले पनि हाम्रो अभिवादन फर्काउँदै भन्नुभयो– ‘नमस्ते नमस्ते साथीहरु !’
उहाँ आफ्नो गोजीबाट केही पत्रिकाहरु निकालेर पढ्न थाल्नुभो । हामी भने एकटकले उहाँलाई हेरिरह्यौं । एकछिनपछि हजामले भर्खरै खालि भएको कुर्सी देखाउँदै पालो मिचेर लेनिनलाई भन्नुभो– ‘भ्लादिमिर इल्यिच, ल यो दाह्री काट्ने कुर्सीमा बस्नुस् ।’
‘त्यसका लागि धन्यवाद’, लेनिनले भन्नुभो– ‘तर हामी सबैले आफ्नो पालो पर्खनुपर्छ । किनभने हामी आफैं कानुन बनाइरहेका छौं, त्यस्तो अवस्थामा हामी आफैंले पालो मिच्यौं भने कसले नियम पालना गर्छ ?’ यति भनेर लेनिन आफ्नै सिटमा बसिरहनुभो ।
हामी सबै चुप भयौं । केहीबेरपछि साहस बटुल्दै हामीले भन्यौं– ‘तपाईं व्यस्त हुनुहुन्छ । हामी तपाईंजति व्यस्त छैनौं त्यसकारण हामी पालो कुर्छौं । तपाईं आफ्नो दाह्री काट्न बस्नुस् ।’
यति भनेर हामी सबैजना पालो कुरेर बस्यौं । लेनिन हाम्रो चित्त नदुखोस् भनेर अनकनाइ–अनकनाइ दाह्री कटाउन कुर्सीमा बस्नुभो । आफ्नो दाह्री कटाएपछि उहाँ बाहिरिनुभो । जानुभन्दा पहिले हामी सबैलाई भन्नुभो– ‘ल है साथी हो, फेरि भेटौंला !’
यसरी भएको थियो लेनिनसँग मेरो भेट । हजामको अघि बसेर दाह्री कटाइरहनुभएको लेनिनको त्यो तस्बिर अझै पनि मेरो मनमस्तिष्कमा ताजै छ ।
(कारखानाका मजदुर ग्रिगोरी इवानोविच इवानोबको संस्मरण ‘लेनिन विषयक कहानियाँ’बाट अनुदित)
प्रतिक्रिया