चाओ एन–लाई र नयाँ लुगा
लङ्गमार्चको क्रममा हामीहरु वाओयो पाओ पुग्यौँ । त्यहाँका लाल सेना र क्रान्तिकारी जनसमुदायले हामीहरुलाई बस्नको लागि एउटा गुफाको बन्दोवस्त गरिराखेका थिए । हामीहरु त्यो गुफामा गएर आराम गर्यौं । गुफा एकदमै ठूलो फैलिएको र उज्यालो थियो ।
गुफाभित्र माटोका खाटहरु पनि बनेका थिए । हामीहरु त्यहाँ निकै आनन्दसंग सुत्न सक्यौँ । त्यहाँ हामीलाई निक्कै राम्रो खानाको पनि प्रबन्ध गरिएको थियो । कहिलेकाहिँ त सुंगुरको मासु पनि खान पाइन्थ्यो ।
त्यहाँ पुगेको केही दिनपछि नै सेनाको सैनिक विभागले भुवादार कपडा र जुत्ताहरु हामीलाई दियो । त्यस्तो लुगा मैले कहिल्यै लगाएको थिइनँ । पहिलोपटक त्यो लुगा लगाउँदा त मलाई अप्ठ्यारो लाग्यो । तर त्यो लुगा मेरो च्यातिसकेको हाफपाइन्ट र फरको ज्याकेटभन्दा निक्कै राम्रो थियो । कति दिनको दुःख कष्टको भोगाइपछि राम्रो लुगा लाउन पाएकोमा र राम्रो खाना खान पाएकोमा हामीहरु ज्यादै खुसी भएका थियौँ ।
तर हामीले नयाँ लुगा लगाएको धेरै दिनपछिसम्म पनि उपाध्यक्ष चाओ–एन–लाई भने उही पुरानै लुगामा हुनुहुन्थ्यो । त्यो लुगा हामीहरुले माओ अक्डाएमै तयार गरेका थियौँ । र, त्यो लुगा फाटेर ठाउँ-ठाउँमा च्यातिइसकेको थियो । पहिला त हामीले के सोच्यौँ भने, नेताका लागि विशेष लुगाको बन्दोबस्त गर्न लागेकोले गर्दा ढीला भएको होला । तर अरु धेरै दिन बितिसक्दा पनि लुगाको प्रबन्ध भएको हामीले देखेनौँ ।
यसपछि हामीहरु किन यस्तो भयो भनेर सेनाको आपूर्ति विभागमा गयौँ र उपाध्यक्ष चाओलाई किन लुगाको बन्दोवस्त नभएको भन्ने कुरा सोध्यौँ । त्यहाँका एकजना साथीले जवाफ दिए– ‘उपाध्यक्ष चाओ नयाँ लुगा नै लगाउन चाहनुहुन्न त हामी के गरौँ ?’ उसको अनुहार देख्दा हामीलाई यस्तो लाग्यो कि ऊ स्वयं निरुपाय छ ।
त्यहाँबाट फर्केर म सरासर उपाध्यक्ष चाओ कहाँ गएँ र भने– ‘हेर्नुस् त, तपाईंका लुगाहरु यति धेरै फाटिसकेका छन्, तपाईं किन नयाँ लुगा लिनु हुन्न ? हामीहरु सबैले लिइसकेका छौँ ।’
उहाँले आफ्नो शरीरमा भएको लुगालाई प्रेमपूर्वक हेर्नुभयो र हातले सुम्सुम्याउनु भयो । अनि भन्नुभयो– ‘हैन, हैन, मलाई नयाँ लुगाको आवश्यकता छैन । यो ज्याकेटले अझैं एउटा जाडो कटिन्छ ।’
मैले प्रतिवाद गरें– ‘यो ज्याकेट त च्यातिएर टुक्राटुक्रा हुन लागिसक्यो ।’
उहाँले फेरि भन्नुभयो– ‘त्यसो हो भने तिमीले यसलाई लिएर जाऊ, धोएर राम्ररी सिलाएर लिएर आऊ । ’
मलाई उहाँको कुरा चित्त बुझेन । शायद मेरो चित्त नबुझेको अनुहार उहाँले देख्नुभयो क्यारे, मलाई विस्तारै सम्झाउँदै भन्नुभयो– ‘हामीभन्दा अगाडिका सैनिक मोर्चाका सैनिकहरु कठ्यांग्रिने जाडोमा लडिरहेका छन् । उनीहरु कसैसंग पनि बाक्ला लुगाहरु छैनन् ।’
उहाँको तर्कको अगाडि म निरुत्तर भएँ । तर म यो पनि देख्न सक्दिनथेँ कि बरफ वर्षिरहेको जाडोमा उपाध्यक्ष थरथर काम्दै मिटिङ्गहरुमा भाग लिन जाउन् । त्यसैले, हामी साथीहरुको बीचमा सल्लाह गर्यौं र पहिले उहाँको लागि हामीले नै लुगा लिएर आउँछौँ र पछि मात्र उहाँलाई बताउँला भन्ने निर्णय गर्यौं ।
त्यही निर्णय अनुसार, हामीले आपूर्ति विभागमा गएर उहाँको लागि लुगा लिएर आयौँ । तर जब उपाध्यक्ष चाओलाई यो कुरा थाहा भयो, उहाँ हामीदेखि निक्कै रिसाउनुभयो । र, हाम्रो तीव्र आलोचना गर्दै भन्नुभयो– ‘मलाई नयाँ लुगा चाहिँदैन भनेर पहिले नै भनेको थिएँ । मलाई नै नसोधिकनँ तिमीहरुले लुगा लिएर आयौ । यो लुगा तुरुन्तै फर्काएर आउनू ।’
हाम्रो केही जोड नचलेपछि हामीले बाध्य भएर आपूर्ति विभागमा लुगा फर्काउन गयौँ । हामीलाई देख्ने बित्तिकै आपूर्ति विभागका साथीले हामीलाई यसरी हेर्यो कि, मानौं उसले हामीले भन्न खोजेको छ– ‘देख्यौ तिमीहरुले ? कस्तो भयो त ? मैले त पहिले नै भनेको थिएँ नि !’
उसले यति त भनिछाड्यो– ‘यो कुरा तिमीहरुको बसको कुरा होइन ।’
'लम्बे अभियान मे चाओ–एन–लाई के साथ'बाट अनुदित
प्रतिक्रिया