मरेपछि किन शरीर कक्रिन्छ ?
तपाईंले कत्तिको ख्याल गर्नुभएको छ– जिउँदो हुँदासम्म लचकदार, निश्चित दिशातिर फर्काउन मोड्न मिल्ने हाम्रो शरीर मरेको केही समयपछि नै कक्रिन्छ, चलाउन–मोड्न नै नमिल्ने गरी । यो अवस्थालाई अंग्रेजी भाषामा रिगर मोर्टिस (Rigor mortis) भनिन्छ । यसो हुनुको कारण चाहिँ एटीपी अर्थात् एडिनोसिन ट्राइफोस्फेट (ATP (adenosine triphosphate)) ले भूमिका खेलिरहेको हुन्छ । यो एटीपीले हाम्रो मांसपेशीहरुलाई नरम, लचकदार र चलायमान बन्न–बनाउनको लागि इन्धनको काम गरिरहेको हुन्छ । हाम्रो मृत्यु भएपछि शरीरको मांसपेशीमा एटीपी विद्यमान रहँदैन । फलतः हाम्रो शरीरको मांसपेशीहरु आफ्नो अन्तिम संकुचित अवस्थामा रोकिन पुग्छ । फलतः मानिसको शरीर कक्रिन जान्छ ।
मानिस वा कुनै पनि प्राणीको मृत्यु भएपछि उसको शरीरमा यो एटीपीको उत्पादन बन्द हुन्छ । यसको उत्पादन अक्सिजनमा निर्भर रहेको हुन्छ । जसै हाम्रो शरीरमा मुटुको धडकन बन्द हुन्छ, शरीरमा पुग्ने रक्तसञ्चार पनि रोकिन पुग्छ । फलतः रक्तसञ्चारमार्फत् अक्सिजन पाइरहेको मांसपेशीहरुमा अक्सिजनको वितरण रोकिन पुग्छ । एटीपीको अभावमा मांसपेशीहरु कक्रिन थाल्छ ।
मांपेशी कक्रिने वा कठोर बन्ने प्रक्रिया स्वचालित ढंगले भइरहेको हुन्छ र त्यसलाई वातावरणको तापक्रम, मृत्युका कारण र व्यक्तिको शरीरमा भएको मांसपेशीको परिणामले ढिलोचाडो गराइरहेको हुन्छ । सामान्यतः मृत्युको केही घण्टाभित्र यो यो शुरु भएर १२–१४ घण्टामा त्यो प्रक्रिया शिखरमा पुग्छ । त्यसपछि विस्तारै फेरि त्यो कडापन कम हुँदै आउँछ ।
यो विशुद्ध जैविक प्रक्रिया हो । तर यो कक्रिने प्रक्रियाको पनि स्वास्थ्य विज्ञानमा निक्कै ठूलो महत्व र फाइदा छ । यो प्रक्रियाको आधारमा दुर्घटना वा अपराधका घटनाहरुमा यसले मृत्यु भएको समयको अनुमान गर्न मद्दत पुग्छ ।
मानिस वा तातो रगत हुने कुनै पनि प्राणी मरेपछि कक्रिने गर्छ । तर सबै मानिस वा प्राणीहरु चाहिँ कक्रिने गर्दैनन् । एक तथ्यांकअनुसार ९० प्रतिशत मानिसहरु मृत्युपछि कक्रिने गर्छन् । मानिस मर्नेबित्तिकै कक्रदैन । मरेको केही घण्टापछाडिदेखि मात्रै कक्रने प्रक्रिया शुरु हुन्छ । मानिसको यो कक्राइलाई अंग्रेजी भाषामा चष्नयच mयचतष्क भनिन्छ । वातावरणको ताफक्रम र अरु पक्षहरुका कारण यो कक्रने प्रक्रिया ७२ घण्टासम्म कायम रहन सक्छ ।
मांसपेशी दुई किसिमका फाइबरहरु एक्टिन (Ation) र मायोसिन (Myosin) मिलेर बनेको हुन्छ । मांसपेशीका कोशहरु क्याल्सियमका आयोनहरु छिर्न मिल्ने खालका हुन्छन् । ती जीवित कोषहरुले क्याल्सियमका आयोनहरुलाई कोषका बाहिर पठाउनका लागि उर्जा फैलाइरहेका हुन्छन् । कोषहरुमा बग्ने क्याल्सियमका ती आयोनहरुले चाहिँ मांसपेशीहरुलाई खुम्चाउने र फैलाउने दुई किसिमका मांसपेशी फाइबरहरु एक्टिन र मायोसिनलाई एकअर्कामा बाँध्ने पूलको काम गरिरहेका हुन्छन् । ती फाइबरहरुले हाम्रो मांसपेशी फैलिँदा र खुम्चिँदा एक अर्कालाई बाध्ने र छोड्ने काम गरिरहेको हुन्छ । फाइबरहरुबीचको यो प्रक्रियालाई मांसपेशीका कोशभित्र हुने बायोकेमिकल बाटाहरुले नियन्त्रित गरिरहेका हुन्छन्, जसमा क्याल्सियमका आयोनहरु विद्यमान रहेका हुन्छन् । यी आयोनहरु कोषभित्र भन्दा पनि कोष वरिपरि रहेका तरल पदार्थहरुमा बढी मात्रामा रहेका हुन्छन् । यसै प्रक्रियामा क्याल्सियम हाम्रो कोषभित्र गएर फैलिने गर्छ । जब कोषभित्र क्याल्सियमको आयोन बढी मात्रामा जम्मा हुन्छ, त्यसले कोषभित्रका बायोकेमिकल बाटाहरुलाई मांसपेशी खुम्चाउनका लागि उत्प्रेरित गर्ने गर्छ । त्यसको विपरीत मांसपेशीलाई फैलाउने क्रममा कोषभित्र जम्मा भएका क्याल्सियमका आयोनहरु बाहिर फ्याँकिने गर्छन् । यस क्रममा ती आयोनहरुलाई कोषका झिल्लीहरुमा फैलाउन वा पठाउनका लागि शक्तिदायक अणुहरुको जरुरत पर्ने हुन्छ ।
जब मानिस वा कुनै प्राणी मर्छ, क्याल्सियमका अणुहरुलाई कोषबाट बाहिर पठाउने ती शक्तिदायक अणुहरुको निर्माण कार्य बन्द हुने गर्छ । यसो हुनुको कारण चाहिँ मृत्युपछि शरीरमा अक्सिजनको नियमित आपूर्ति नहुनु नै हो । यस्तो अवस्थामा मांसपेशीका कोषहरुमा क्याल्सियमका आयोनहरुलाई कोषबाहिर पठाउने शक्ति रहँदैन । यसले गर्दा कोषहरुभित्र क्याल्सियमका आयोनहरुको मात्रा बढ्न थाल्छ र हाम्रो मांसपेशी पनि खुम्चन थाल्छ । यसरी मांसपेशी खुम्चने क्रिया चालु रहने तर फैलने प्रक्रिया भने ठप्प हुने हुँदा नै मानिस वा कुनै पनि प्राणी कक्रिन थाल्छ ।
मानिस वा तातो रगत हुने कुनैपनि प्राणी यसरी मरेपछि कक्रनुको कारण चाहिँ हड्डीमा टाँसिएर रहने मांसपेशीहरु केही खुम्चनु नै हो । यस अवस्थामा मांसपेशीमा जीवित छँदाको जस्तो फैलने र खुम्चने क्षमता हुँदैन, खालि खुम्चिने काम मात्र
हुन्छ । अर्थात् मांसपेशीका दुई फाइबरहरु एक्टिन र मायोसिन जोडिइरहन्छन् । फलतः हड्डीका जोर्नीहरु चल्न पाउँदैनन् । यस अवस्थामा शरीर कक्रन पुग्छ ।
मृत शरीर कक्रने यो प्रक्रियाको एउटा फाइदा छ । विशेष गरेर दुर्घटना वा अपराधका घटनाहरुमा यसले मृत्यु भएको समयको अनुमान गर्न मद्दत पुग्छ । मानिस कक्रने प्रक्रिया १० मिनेटदेखि कैयौं घण्टासम्म रहिरहन्छ र यो कुरा तापक्रम लगायत विभिन्न पक्षहरुमा भर पर्छ । मृत्युभएको १२ देखि २४ घण्टाभित्र मृतकको शरीर सबैभन्दा बढी कक्रने गर्छ । यसमा पनि सबैभन्दा पहिले अनुहारको मांसपेशी कक्रन थाल्छ भने त्यो विस्तारै फैलिएर अरुतिर पनि शुरु हुन्छ । त्यसै गरी जोर्नीहरु कक्रने स्थिति १ देखि ३ दिनसम्म रहिरहन सक्छ ।
तर सधैंभरि मृत शरीर कक्रिरहँदैन । एउटा निश्चित समयपछि मृत शरीरका मांसपेशीको प्रोटिन नष्ट हुने प्रक्रिया शुरु हुन थाल्छ । यसै क्रममा lysosomal intraclleular नामक पाचन इन्जाइम पनि मृतकको मांसपेशीका कोषहरुबाट बग्न थाल्छ । त्यसपछि चाहिँ कक्रिएको शरीर विस्तारै शिथिल भएर नरम हुन थाल्छ ।
प्रतिक्रिया