मानिसले जस्तै कुकुरले पनि रङ्गीन देख्छ कि देख्दैन ?

आजभन्दा धेरै पहिले कुकुरहरुले रङ्ग छुट्याउन सक्दैनन् भन्ने विश्वास गरिन्थ्यो । तर अहिले गरिएका विभिन्न अध्ययनहरुले भने पहिलेको अनुमानलाई गलत साबित गरिदिएका छन् । अध्ययनकर्ताहरुले कुकुरहरुको संसार केवल कालो र सेतोमात्र नभएको तथ्य पत्ता लगाएका छन्, जसको अर्थ तिनीहरुले पनि हामीजस्तै पूर्ण रुपमा नभए पनि केही मात्रामा रङ्गीन देख्न सक्छन् भन्ने हो । सन् १९९५ मा जर्नल अफ द भेटेनेरी मेडिकल एसोसिएन नामक प्रकाशनमा यसबारेमा एउटा लेख प्रकाशित भएको थियो । उक्त लेखमा कुकुर र मानिसको देख्ने क्षमताका बीचमा रहेका भिन्नताहरुको बारेमा उल्लेख गरिएको थियो । त्यही प्रकाशनका अनुसार हाम्रो आँखाले केवल उज्यालो प्रकाशमा मात्र देख्न सक्छ । तर कुकुरको आँखाले भने अन्य सिकारी जनवारहरुजस्तै कम प्रकाशमा पनि राम्ररी देख्न सक्छ । मानिसको तुलनामा भने तिनीहरुले निकै कम रङ्गहरु ठम्याउन सक्छन् । कुकुरले कसरी देख्न सक्छ भन्ने कुरा जान्न पहिले मानिस र अन्य स्तनधारी जीवहरुले चाहिँ कसरी देख्छन् भन्ने कुरा थाहा पाउनु जरुरी छ ।

हामी कसरी देख्छौं त ?

हामीले देख्ने प्रक्रियामा आँखामा रहेको रेटिनाले निकै ठूलो भूमिका खेलेको हुन्छ । रेटिना हाम्रो आँखाको भित्री भागमा रहेको हुन्छ । यसले बस्तुबाट परावर्तित भएर आएको प्रकाशलाई ठम्याउन सक्छ । यसले आगाडि रहेको बस्तुको आकारका बारेमा संकेतहरु हाम्रो मस्तिष्कमा पुर्याउने काम गर्छ । यसबाट हामी हाम्रो आँखाअगाडि रहेका कुराहरु देख्न सक्छौँ । रेटिनामा प्रकाशलाई ग्रहण गर्ने कोषहरु हुन्छन् । तिनीहरु अकारका आधारमा दुई प्रकारका हुन्छन्: रड र सोली । यिनीहरुले विद्युतीय तरङ्गहरुलाई अप्टिक नसाहरुमा पुर्याउने काम पनि गर्छन् । रड आकारका कोषहरु कम प्रकाश भएको बेला सक्रिय हुन्छन् । तिनीहरु कुनै वस्तुको गतिप्रति निकै संवेदनशील हुन्छन् । उता, सोली आकारका कोषहरुले भने वस्तुको रङ्ग र त्यसको विस्तृत विवरण लिने गर्छ । हाम्रो आँखामा करिब १० करोड रड आकारका कोषहरु र ७० लाख सोली आकारका कोषहरु हुन्छन् ।

सोली आकारका कोषहरुमा विशेष प्रकारको पिगमेन्ट हुन्छ, जसले विभिन्न रङ्गहरुका तरङ्गहरु बीचको दूरीलाई ठम्याउन सक्छ । हाम्रो आँखा ट्राइक्रोमाटिक (Trichromatic) हुन्छ, जसको अर्थ हाम्रो रेटिनामा रङ्गका विभिन्न भागहरुलाई छुट्याउनका लागि तीन प्रकारका सोली आकारका कोषहरु हुन्छन् । यिनै कोषहरुको मद्दतले गर्दा हामी राता, नीला र हरिया पिगमेन्टहरुबाट मिसिएर बनेका विभिन्न रङ्गहरु देख्न सक्छौं । तर कुकुरको आँखामा रहेको रेटिनामा भने केवल २ प्रकारका मात्र सोली आकारका कोषहरु हुन्छन् । त्यसैले तिनीहरुको आँखालाई डाइक्रोमाटिक (Dichromatic) भनिन्छ । यसले गर्दा तिनीहरुले रातो र हरियो पिगमेन्ट मिसिएर बनेका रङ्गहरुलाई ठम्याउन सक्दैनन् । यसका साथै, तिनीहरुका रेटिनामा रहेका सोली आकारका कोषहरु हाम्रो रेटिनाको तुलनामा निकै कम हुन्छन् । साइकोलोजीको कलेजको लागि कुकुरको देख्ने क्षमताको बारेमा प्रकाशित अर्को एउटा लेखमा कुकुरले हरियो, पहेंलो, नीलो र खैरो रङ्गको मिश्रणबाट बनेका रङ्गहरु मात्र देख्ने कुरा पनि उल्लेख गरिएको छ ।

कुकुरले कसरी रङ्ग चिन्छ ?

हामीजस्तै कुकुरले पनि हरेर संसारमा रहेका विभिन्न बस्तुहरुको बारेमा जानकारी लिने गर्छ । कुकुरको मस्तिष्क पनि हाम्रो मस्तिष्कजस्तै कुनै वस्तुको बारेमा जानकारी लिँदा उक्त वस्तुको उज्यालोपन, आकार, चमक र गतिप्रति निकै संवेदनशील हुन्छ ।

तर रङ्गको बारेमा चाहिँ तिनीहरुको मस्तिष्क कति संवेदनशील हुन्छन् त ?

माथि उल्लेख गरिएजस्तै धेरै पहिले त मानिसहरु कुकुरले रङ्ग चिन्दैन भन्ने ठान्थे । यसरी रंग नचिन्नुलाई हामी कलरब्लाइन्ड भन्छौं । यो कुराले धेरै समयसम्म लोककथाजस्तै लोकप्रियता हासिल गर्यो । त्यसपछि सन् १९८० को अन्त्यतिर क्यालिफोर्निया विश्वविद्यालयमा सान्टा बारबराले कुकुरहरुले रङ्ग देख्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा प्रयोग सुरु गरिन् । उक्त प्रयोगमा फ्लिप र जिप्सी नाम गरेका दुई इटालियन ग्रेहाउन्ड प्रजातिका कुकुरहरुलाई समावेश गरिएको थियो । यसका साथै रेटिना नाम गरेको टोय पुडल प्रजातिको अर्को एउटा कुकुरलाई पनि उक्त अध्ययनमा राखिएको थियो । तीनवटै कुकुरहरु घरपालुवा थिए ।

कुकुरहरुको देख्ने क्षमता पत्ता लगाउनका लागि हरेक कुकुरलाई ठाडो तीन घेरा प्रकाश रहेको बाकसमा राखिएको थियो । हरेक प्रकाशको मुनि एउटा कप पनि राखिएको थियो । त्यहाँ कम्प्युटरको सहायताले विभिन्न खाले रङ्गहरु पैदा गरिएको थियो । हरेक बाकसमा दुईवटा रङ्गहरु एउटै हुन्थे र अर्को चाहिँ भिन्नै हुन्थ्यो । त्यहाँ कुकुरलाई फरक रङ्ग छुट्याउन सिकाइएका थिए । सही छनौट गरेबापत तिनीहरुलाई कपमा उपहारस्वरुप खानेकुरा दिइन्थ्यो । गलत छनौट गर्यो भने तिनीहरुलाई केही पनि दिइँदैनथ्यो । यो परीक्षण करिब ४००० पटक गरिएको थियो । ती कुकुरहरु खान भनेपछि निकै सौखिन भएकाले गर्दा ती आफैं उत्साहित भएर उक्त बाकसमा परीक्षणका लागि छिर्ने गर्थे ।

कुकुरहरुले पनि यो परीक्षण बुझेको थाहा पाएपछि एक पटकमा २०० देखि ४०० पटक सम्म तिनीहरुमाथि परीक्षण गरिन्थ्यो । यो परीक्षण ३ हप्तासम्म चलेको थियो । यो प्रयोगपछि कुकुरहरु जम्मा ३३ प्रतिशत मात्र सही छनौट गर्न सक्षम रहेको तथ्याङ्क अगाडि आयो । कुकुरहरुले रङ्गकै आधारमा छनौट गरिरहेका छन् भन्ने पत्ता लगाउन कहिलेकाहीँ प्रकाशको स्थानलाई पनि फेरबदल गरिन्थ्यो । यसको साथै प्रकाशको उज्यालोपना र चमकलाई पनि फेरबदल गरिन्थ्यो ।

यो प्रयोगपछि कुकुरहरुले रङ्ग त देख्छन् तर हामी मानिसको तुलनामा निकै कम प्रकारका रङ्गहरु देख्छन् भन्ने कुरा पत्ता लाग्यो । हामीले देख्ने इन्द्रेणीको रङ्गलाई VIBGYOR भनेर भनिन्छ । जसमा वैजनी, इन्डिगो, नीलो, हरियो, पहेंलो, सुन्तले र रातो रङ्गहरु पर्छन् । यसमा तिनीहरुका विभिन्न प्रकारहरु पनि पर्छन् । कुकुरले देख्ने इन्द्रेणी भने VIBYYYR मात्र हुन्छ । जसमा वैजनी, इन्डिगो, नीलो, पहेँलो, पहेँलो, पहेँलो र रातो रङ्ग मात्र पर्छ । कुकुरहरु हरियो, पहेँलो र सुन्तले रङ्ग एउटै देख्छन् । तर नीलो, रातो र वैजनीबाट भने तिनीहरुले ती रङ्गहरुलाई छुट्याउन सक्छन् । उनीहरुले VIB रङ्गहरुलाई भने राम्ररी छुट्याउन सक्छन् । त्यसै गरी नीलो–हरियो रङ्ग त तिनीहरुले सेतो रङ्गजस्तो मात्र देख्छन् । माथि गरिएका प्रयोगहरुले सीमित मात्रामा भएपनि कुकुरहरुले पनि रङ्गीन देख्न सक्छन् भन्ने कुराको पुष्टि गर्छ ।

अर्को महत्वपूर्ण कुरा के छ भने, कुकुरले संसारका विभिन्न बस्तुहरुलाई केवल त्यसको रङ्गको आधारमा मात्र ठम्याउँदैन । सबैभन्दा पहिले कुनै बस्तुलाई ठम्याउन कुकुरले बस्तुको गतिको सहायता लिन्छ । किनभने स्थिर बस्तुलाईभन्दा चलिरहेको बस्तुहरुलाई ठम्याउन निकै सजिलो हुन्छ । उदाहरणको लागि: हरियो पातमा बसेको हरियो छेपारोलाई भन्दा हिँडिरहेको छेपारोलाई ठम्याउन धेरै सजिलो पर्छ । त्यसपछि यसले बस्तुलाई ठम्याउन त्यसको चमकको पनि सहायता लिने गर्छ । किनभने बस्तु स्थिर भएपनि यदि त्यो छेउको बस्तुहरुभन्दा चम्किलो छ भने त्यसलाई ठम्याउन सजिलो हुन्छ । छेउछाउको वातावरणको जस्तै बस्तुको चमक भयो भने त्यसलाई ठम्याउन गाह्रो पर्छ । यी दुई आधारले पनि कुनै बस्तुलाई छुट्याउन सकेन भने मात्र अन्त्यमा कुकुरले रङ्गको सहायताले कुनै बस्तु ठम्याउने गर्छ । यसकारण कुकुरले राम्ररी देख्नका लागि कुनै बस्तुमा गति, चमक हुनु जरुरी छ । त्यसैगरी त्यो बस्तुको रङ्ग छेउछाउका अन्य बस्तुहरुभन्दा अलग हुनुपर्छ । यति भएपछि मात्र कुकुरले कुनै बस्तुलाई राम्ररी ठम्याउन सक्छ ।

तर यसरी कुकुरहरुले राम्ररी धेरै खाले रङ्गहरु छुट्याउन नसकेपनि त्यसमा दुःख मान्नु पर्ने कुनै कुरा छैन । तिनीहरु रेटिनाको पछाडि टेपटम लुसिडम हुन्छ, जसले प्रकाशलाई परिवर्तित गर्न सक्छ । यसको मद्दतले अँध्यारोमा तिनीहरु मानिसभन्दा पनि राम्ररी देख्न सक्छन् । यसका साथसाथै तिनीहरुको सुघ्ने र सुन्ने क्षमता पनि त्यतिकै राम्रो हुन्छ ।

मानिस र कुकुरको देख्ने क्षमताको तुलना

कुकुरले मानिसभन्दा कम प्रकाशमा देख्न सक्छ । कुकुरको आँखाको रेटिना रड अकारका कोषहरुबाट बनेको हुन्छ, जसको मद्दतले त्यसले खैरो रङ्गको छाँया समेत ठम्याउन सक्छ । हाम्रो आँखाको रेटिना भने सोली आकारका कोषहरुबाट बनेको हुन्छ । यसले गर्दा हामी रङ्गहरु मात्र ठम्याउन सक्छौं । कुकुरको आँखामा भएका कोषहरु निकै कम प्रकाशमा पनि काम गर्न सक्छन् । तर हाम्रो आँखामा भएका कोषहरुले रङ्ग छुट्याउनु पर्ने भएकोले देख्नका लागि  यसलाई अलि धेरै मात्राको प्रकाश चाहिन्छ । कुकुरले कुनै बस्तुको गतिलाई मानिसभन्दा पनि राम्ररी ठम्याउन सक्छ । कुकुरले कुनै बस्तु हेर्दा लगातार नभएर टेलिभिजनमा जस्तै भिन्नभिन्न फ्रेमहरु बनाएर हेर्ने गर्छ । तर तिनीहरुले वस्तुको आकार भने राम्ररी ठम्याउन सक्दैनन् । हामीले राम्ररी देखिरहेको बस्तुलाई त्यही ठाउँबाट कुकुरले हेर्ने हो भने त्यो बस्तु नठम्याउन सक्छ । कुकुरको हेर्ने छमता २०/७५ हुन्छ, जसको अर्थ कुकरले २० फिटबाट राम्ररी देख्ने वस्तु समान्य मानिसले ७५ फिट परबाटै राम्ररी ठम्याउन सक्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।