संसार विगतका भन्दा भिन्न बहुध्रुवीय विश्वव्यवस्थाको चरणमा प्रवेश गर्दैछ !

भारत वा पश्चिमाहरुको सदभावबेगर सत्तामा पुग्न वा टिक्न सकिन्न भन्ने सपना पाल्न छाड्नु पर्छ

दोस्रो विश्वयुद्धबाट अहिलेको अवस्थासम्म आइपुग्दा हामी तेस्रो विश्वव्यवस्थाको चरणमा प्रवेश गर्दैछौं । दोस्रो विश्वयुद्धपछि दुई ध्रुवीय विश्व थियो । त्यसबेला रुस नेतृत्वको वार्सा प्याक्ट र अमेरिकाले नेतृत्व गरेको नेटोअन्तर्गत दुई ध्रुवीय विश्व व्यवस्था थियो । त्यसबीचमा असंलग्न आन्दोलन देखापर्यो । त्यसले केही भूमिका निर्वाह गरे पनि  मुख्य निर्णायक भूमिका र प्रभाव त्यही दुई ध्रुवकै रह्यो । १९९० पछि रुस र पूर्वी युरोपमा समाजवादको पतन भएपछि एकल ध्रुवीय विश्वव्यवस्था कायम भयो । त्यो करिब करिब सन् २००८ सम्म एकदमै चरमोत्कर्षमा पुग्यो । त्यसबीचमा इराक, अफगानिस्तानमा आक्रमण तथा अन्य थुप्रै देशहरुमा कलर रिभोलुसन गर्दै आफ्नो चकचकी देखायो । २००८ को आर्थिक संकटपछि एकल ध्रुवीय विश्वव्यवस्थाका कमीकमजोरी एवं अशक्तताहरु प्रकट हुन थाल्यो । हुँदा हुँदा रुस युक्रेन युद्धपछि प्रष्ट रुपमै त्यो एकल ध्रुवीय विश्व व्यवस्थाको पतन र बहुध्रुवीय विश्व व्यवस्थामा विश्व प्रवेश गर्न थालेको देखिन्छ । त्यसै अनुसारका धारणाहरु संयुक्त राष्ट्रसंघले समेत दिन थालेको छ ।

अहिले निर्माण हुँदै गइरहेको बहुध्रुवीय विश्व व्यवस्था हिजोका दुवैथरि विश्वव्यवस्थाभन्दा भिन्न हो । अहिले युरोप र अमेरिका एकै ठाउँमा देखिए जस्तो भए पनि त्यो नहुन पनि सक्छ ।

अहिले निर्माण हुँदै गइरहेको बहुध्रुवीय विश्व व्यवस्था हिजोका दुवैथरि विश्वव्यवस्थाभन्दा भिन्न हो । अहिले युरोप र अमेरिका एकै ठाउँमा देखिए जस्तो भए पनि त्यो नहुन पनि सक्छ । त्यहाँ पनि युरोप र अमेरिकाबीच अलग अलग ध्रुवहरु विकसित हुने सम्भावना छ । अर्कोतिर विकासशील देशका भारत, इण्डोनेशिया, दक्षिण अफ्रिका, ब्राजिल जस्ता देशहरु उदय भइरहेको छ । यी सबै मिलेर एउटा सामूहिक मञ्च निर्माण गर्ने दिशातिर अगाडि बढ्न पनि सक्छ । यसबीच ब्रिक्स पनि सशक्त रुपमा उदाइरहेको छ ।  

असंलग्न आन्दोलन विगतका दुवै ध्रुवहरुबाट पृथक रहेको अभियान थियो । अबको बहुध्रुवीय विश्वको स्थितिमा असंलग्न आन्दोलन कतिवटा ध्रुवहरुबाट पृथक रहने ? त्योभन्ँदा मोटो रुपमा सामुहिक पश्चिम विरुद्ध दक्षिणका मुलुकहरुका रुमा एउटा होला । आआफ्ना हितहरुको पनि श्रेय राख्ने गरी सामुहिक हितहरुलाई प्रतिनिधित्व गर्ने गरी कोशिश गर्ने बहुराष्ट्रिय गठबन्धन बन्ने र साझा एजेण्डाहरुमा काम गर्ने भावभूमि फराकिलो होला ।

हामी आफैं चाहिँ के गरिरहेका छौं र कता गइरहेका छौं त ? यस सवालमा घोत्लिँदा नेपालको सन्दर्भमा घटेका दुईटा घटनाहरु उल्लेखनीय छ ।

एउटा घटना एमसीसीमा नेपालको प्रवेश हो । त्यसलाई हिजोको अमेरिकी प्रस्तावलाई अस्वीकार गर्दै हाम्रो संसदले केही शर्तहरु राखेर स्वीकारेको हो । त्यसलाई अमेरिकाले मान्छ कि मान्दैन, त्यो अर्को कुरा भयो । तर नेपालको अभिमत ती शर्तहरुका साथ मात्रै नेपालले एमसीसीमा प्रवेश गरेको हो ।

हाम्रा गतिविधिहरुले हामी बहुध्रुवीय विश्वको वर्तमान अवस्थामा एउटा ध्रुवलाई समर्थन गरेर गइरहेका त होइनौं भन्ने प्रश्नचिन्ह खडा भएको छ ।

अर्को घटना रुस–युक्रेन युद्धमा नेपालले भारत र चीन तटस्थ रहँदा रहँदै नेपालले रुसलाई निन्दा गर्ने प्रस्तावलाई समर्थन गर्यो । हाम्रा गतिविधिहरुले हामी बहुध्रुवीय विश्वको वर्तमान अवस्थामा एउटा ध्रुवलाई समर्थन गरेर गइरहेका त होइनौं भन्ने प्रश्नचिन्ह खडा भएको छ । भारत चीनजस्ता मुलुकहरु तटस्थ रहेको बेलामा हामीलाई त सहज अवस्था सिर्जना भएको थियो, तटस्थ बस्नका लागि । हामीले हाम्रो भूराजनीतिक अवस्थामा त्योभन्दा भिन्न अवधारणा लिएर जान सक्दैनौं भनेर अडान लिन सक्नुपर्थ्यो । त्यो मुद्दामा हामी चिप्लियौं ।

अहिलेको परिवर्तित विश्व व्यवस्थामा हिजो महाशक्तिले जे आदेश दिन्थ्यो त्यसलाई खुरुक्क मान्ने पर्ने अवस्था केही खुकुलो भएर गएको छ । त्यो सँगसँगै विकास भइरहेको कुरा के पनि हो भने, चीन पहिल्यै एउटा महाशक्तिको रुपमा विकसित भएर गइरहेको छ । त्यो महाशक्ति भनेको सैनिक–सामरिक दृष्टिकोणले मात्रै हैन, आर्थिक लगायत तमाम कारणहरु छन् । वैश्विक सवालहरुमा पनि ऊ सशक्त हस्तक्षेप गर्ने हैसियतमा पुगिसकेको छ । इरान र साउदी अरेबियाबीचको द्वन्द्वमा मध्यस्थता गर्ने कुरामा त्यो देखिएकै हो । रुस–युक्रेन युद्धलाई मत्थर पार्ने कुरामा पनि चीनको भूमिका र उसले अघि सारेका प्रस्तावहरु धेरैले सुन्ने अवस्था बनेको छ । अरु कतिपय वैश्विक सवालहरुमा समेत यही स्थिति छ ।

भारतलाई पश्चिमाहरुको कठपुतलीको रुपमा मात्रै बुझिनु हुन्न । उसको पृथकतालाई पनि हामीले देख्नु पर्छ । भारत–चीनबीचको एकताको मात्रै हैन, उनीहरु बीचको विवादको कुरा पनि हामीले ख्याल राख्नैपर्छ ।

अर्कोतिर उदीयमान भारत छ । ऊ पश्चिमाहरुको पक्षपोषण गर्दै आइरहेको देखिए पनि ऊभित्र तीब्र दवाब छ । दुवै शक्तिहरुको दवाब भारतमाथि छ । त्यसका बाबजूद भारतलाई पश्चिमाहरुको कठपुतलीको रुपमा मात्रै बुझिनु हुन्न । उसको पृथकतालाई पनि हामीले देख्नु पर्छ । भारत–चीनबीच प्रतिद्वन्द्विता र झगडा मात्रै हैन, उनीहरु बीचमा आपसी सहयोग र सहकार्यका आयाम पनि छन् भन्ने कुरा पनि हामीले ख्याल राख्नैपर्छ ।

यस पृष्ठभूमिमा उनीहरुका विवादहरुबाट पृथक रहन सक्ने, चीन–भारतको सम्पन्नता–बाट लाभ लिन सक्ने दृष्टिकोण राख्नुपर्छ । चीन–भारतबीचको आपसी विवाद, प्रतिद्वन्द्विताबाट पृथक रहेर, अछुतो रहेर, उनीहरुको जायज चासोप्रति संवेदनशील हुँदै आफ्ना हितहरुको संवेदना उनीहरुले पनि राख्नका निम्ति हामी कति क्षमता प्रदर्शन गर्न सक्छौं भन्ने कुरा पनि महत्वपूर्ण हो । फेरि पनि हाम्रो तटस्थता नै मुख्य कुरा हो ।

हामीले सकेसम्म विश्व राजनीतिमा योगदान पुर्याउने नाममा कसैको खुसामद गरेर लाभ लिने सोच राख्नुभन्दा पनि हामी तटस्थ रहेर नै अरुबाट पनि लाभ लिन सक्छौं भन्ने ख्याल गर्नैपर्छ । अन्यथा त्यो आत्मघाती कदममा परिणत हुन सक्छ भन्ने पनि हेक्का राख्नु जरुरी छ ।

वैश्विक सन्दर्भमा पनि हामीले सकेसम्म विश्व राजनीतिमा योगदान पुर्याउने नाममा कसैको खुसामद गरेर लाभ लिने सोच राख्नुभन्दा पनि हामी तटस्थ रहेर नै अरुबाट पनि लाभ लिन सक्छौं भन्ने ख्याल गर्नैपर्छ । अन्यथा त्यो आत्मघाती कदममा परिणत हुन सक्छ भन्ने पनि हेक्का राख्नु जरुरी छ । अहिले नै पनि हामीले सकेसम्म भारत, चीनबाट सहयोग लिनेतर्फ नै प्रयत्न हुनुपर्छ । भारतबाट सहयोग लिँदा चीन रिसाउँला कि वा चीनबाट सहयोग लिँदा भारत वा पश्चिमाहरु रिसाउँला कि भनेर खुट्टा कमाएर बस्नु उचित हुन्न । यस सन्दर्भमा चीनसँग पछिल्लो पटक भएका सम्झौताहरु गत सात–आठ वर्षदेखि थन्किएर बसेका छन् । भारत र पश्चिमाहरु रिसाउँछ भन्ने भाष्यका कारण ती सम्झौताहरु अहिले थन्किएको अवस्था छ । चीनसँग भएका सम्झौताबारे करिब करिब सबै पार्टीहरुको सहमति छ । तर कार्यान्वयन गर्न नजानिँदोढंगले भूराजनीतिक दवाबले नै रोकिरहेको छ । त्यसबाट बच्ने र माथि उठ्ने हिम्मत हामीले प्रदर्शन गर्नु जरुरी छ । त्यो प्रदर्शन गर्न सम्भव छ । त्यसका लागि मुख्य शर्त हो– भारत वा पश्चिमाहरुको सदभावबेगर सत्तामा पुग्न वा टिक्न सकिन्न भन्ने सपना पाल्न छाड्नुपर्छ । राष्ट्रिय हितका लागि लिइएका नीति र सम्झौताहरु कार्यान्वयन गर्ने सिलसिलामा सत्ता जान्छ भने पनि जाओस् भन्ने हिम्मत गर्ने हो र डराउन छोड्ने हो भने त्यसो गर्न कुनै गाह्रो छैन ।

(वामपन्थी नेता एवं चीनका लागि पूर्व राजदूत कार्कीसँगको कुराकानीमा आधारित लेख)