​​​​​​​यु डिजर्भ दिस् !

चरम नैराश्यताको कालो बादलले ढाक्दा पनि

चन्द प्रतिशत युवामात्रै देशमा बाँकी राख्दा पनि

आलो रगतको प्यालासँग; मस्त सिद्धान्तको नसामा-

रंगमञ्चमा हत्या/बलात्कारको 'प्रीमियर सो' मा मात्ने-

नतात्ने; चिस्यानमा सुतेका मसान नेपाली

हेर्दै जा; छिट्टै हुनेछ अवसान नेपाली

पिस् पिस् मा देश बेच्दा रिस् नउठ्ने ठिस्

हेल्पलेस् नेपलीज्! यु डिजर्भ दिस्।

 

बाउको काटेको औँलाको छिमेकी पुर्जामा छाप छ

उनै मौसुफको वरदान किन्तु लामो पुर्खौली श्राप छ

हजुर'बाको  सन्दूकको चाबी लुटेरालाई सुम्पिएर-

लुटेर लाँदै गरेको बोराबाट केहि खस्छ कि भनी थाप्ने-

नतात्ने; चिस्यानमा सुतेका मसान नेपाली

हेर्दै जा; छिट्टै हुनेछ अवसान नेपाली

पिस् पिस् मा देश बेच्दा रिस् नउठ्ने ठिस्

अन्कन्सियस् नेपालीज्! यु डिजर्भ दिस्।

 

देशलाई 'आमा' भन्ने अनि आमा छोड्न घुर्काउने

दलतन्त्र ल्याउने अनि दलाली-दलदल हुर्काउने

आफैँले बगाएको रगत बिर्सिदिएर-

पुनः प्रेत जगाउन अदृश्य तान्त्रिक समात्ने-

नतात्ने; चिस्यानमा सुतेका मसान नेपाली

हेर्दै जा; छिट्टै हुनेछ अवसान नेपाली

पिस् पिस् मा देश बेच्दा रिस् नउठ्ने ठिस्

अ~~~ड्याम् नेपालीज्! यु डिजर्भ दिस्।

 

अटल स्वाभिमान होस्! विश्वभरी सान होस्!

सबै जना अट्ने-डट्ने सिँगो संविधान होस्!

टुट फुट विखण्डन ल्याउने हाम्रा आफ्ना हैनन्-

आफ्नो पिंढी आफैँ लिप्ने हो कोही आउने छैनन्-

जे हुनु'थ्यो भयो सक्किएको पक्कै होइन...

तात् न ए तात् सुतेका मसान नेपाली

अन्यथा हुनेछ अवसान नेपाली

पिस् पिस् मा देश बेच्दा उठ्नपर्छ रिस्

एक्चुअल्ली नेपालीज्! यु डिजर्भ दिस्।