शासक र विवेकहीन बन्दूक‚ दृष्टिविहीन गोलीहरु
सुजन रावत (दैलेख) र वीरेन्द्र शाह (डोटी) को सम्झनामा
अझै ठान्छन् देशका परिश्रमी जनताहरु-
ठूला परिवर्तन पछि‚ शासकका
बन्दूकमा विवेक र गोलीमा आँखा हुन्छ
नयाँ शासकहरुले आर्थिक क्रान्ति गर्नेछन्
र वैज्ञानिक समाजवादको यात्रा तय गर्नेछन्
त्यसैले
पुरानो सेप्टिपिनले बारम्बार घोचेर आफ्नो आसाको तुनालाई
चप्पलमा अड्याइराखेका थिए
भन्थे जीवन हो चप्पलको तुना‚ बारम्बार चुँडिरहे पनि
भन्थे प्राण हो चप्पलको तलुवा‚ खिइँदै गइरहे पनि
र फेरी पनि भन्थे‚ कुनै उज्यालो दिन आउनेछ
र नयाँ बिहानीको किरणसँगै
हामी चप्पलमा‚ विचारको भरपर्दो तुना फेर्नेछौं
र नयाँ आर्थिक क्रान्तिको विगुल फुकेर
हामी चप्पलमा‚ वैज्ञानिक समाजवादको बलियो तलुवा पनि फेर्नेछौं
यस्तै सोचेर उनीहरुले
हिलोले खाएको‚ आफ्नै खुट्टामा लगाइराखेको
अहिलेका तिमीजस्तै
ठ्याक्कै यतिखेरको‚ आदर्श पातलिएको तिमीजस्तै
पट्पटी फुटेको‚ आफ्नै खुट्टामा लगाइराखेको
अहिलेका तिमीजस्तै
ठ्याक्कै यतिखेरको‚ नैतिक आचरणमा भ्वाङ् परेको तिमीजस्तै
तलुवा धसिएर कुर्कुच्चाले भूइँ छुने गरी पातलिएको चप्पल
सम्मानको‚ आफ्नै न्यानो हातले
भरोसाको‚ तिम्रा दरिलो खुट्टामा‚ घुसारिदएका थिए
ताकी तिमीहरुलाई‚ अन्तसम्म महशूस होस्
तानाशाहहरुले बोक्ने बन्दूकको विवेक हुँदैन
र विवेक गुमाएका शासकका
बन्दूकको नालबाट निस्कने गोलीको आँखा हुँदैन
त्यसैले हिजोका बन्दूकका अघिल्तिर उभिएर शहीदहरुले
शासकका विवेकको आँखा खोल्न
आफ्नो छाति थापेर रगत बगाएका थिए
र त्यतिखेर तिमी‚ त्यसको साक्षी‚ त्यहिँ उभिरहेका थियौं
पुराना दिनहरु‚ इतिहास सम्झनु पर्छ योद्धाहरुले
शहीदका छाती तिम्रो रक्षा-कवच थियो
र आज तिमी‚ शहीदका शालिकमा
माल्यार्पण गर्ने अवस्थामा आइपुगेका छौ
त्यसैले
मलाई यत्ति भन आजका शासक-
ग्वार्कोको चोकमा बगेको रगत
के राणा र पञ्चायतका विवेकहीन बन्दूकबाट निस्किएका
दृष्टिविहीन गोलीहरु थिए ?
अनि आज पनि तिम्रा खुट्टाहरुमा
के सुजन रावत र वीरेन्द्र शाहका* अभिभावकले दिएका
तिनै कुर्कुच्चाले भूइँ छुने गरी पातलिएको तर एक जब्बर
क्रान्तिकारीको विचारजस्तै बलियो चप्पल बाँकी छ ?
जुन चप्पल लगाएर तिमीले
सिंहदरवारसम्मको यात्रा तय गरेका थियौ।
--------------
*मिति २०८० पुष १३ गते शुक्रबारका दिन रोजगार अनुभति प्रणाली (ईपिएस) मार्फत कोरिया जान नपाउने भएपछि वैदेशिक रोजगारीमा जान खोजेका युवाहरुले ललितपुरको ग्वार्कोमा प्रदर्शन गरेका थिए र सो क्रममा सुजन रावत (दैलेख) र वीरेन्द्र शाह (डोटी) को मृत्यु भएको थियो।
प्रतिक्रिया