अनागरिक
शहरको गल्ली गल्लीमा
पम्प बिनाको मेरो साइकलको टायर र
जुत्ता बिनाको मेरो खुट्टाको छाला
तिखो सिसा र
दुष्ट बचनले छेड्नै नसक्ने
भुत्ते मन लिएर
विशिष्ट नागरिकको
पेटमा चारो पुर्याउन
दौडिन्छु दिन भर
साँझ
म थाकेको गोरू
खाली पेट गल्लीमा लम्पसार पर्छु।
म अनागरिक
नागरिकहरुको भाडामा चामल हाल्छु र
खालि पेट दौङन्छु
मरुभूमिमा र समुद्र किनारमा ।
खेत जोत्छु
बाली पाकेपछि
जिम्मा लाएर मालिकलाई
लुक्छु मलेसियाको जंगल तिर।
तेलभर्छु दिन भर
चिल्ला कारमा
र साँझ लुक्छु
साउदीका बालुका थुम्कातिर।
म अनागरिक
नागरिकहरुको भाडामा चामल हालिरहेछु
नागरिकता दिनेले भात दिएन
भात दिनेले नागरिकता दिएन
खै के दुस्मनी छ नागरिकता र भातको
मलाई थहा छैन।
सिहदरवारको कुर्सी होस कि ह्वाईट हाउस
म अनागरिक
जन्मिदाकै अनागरिक ।
किन कसैले सोध्दैन
साईबेरिया बाट कोशी टप्पु बसाइँ आएका
चराहरुको नागरिकता
किन कसैले सोद्धैन
तिब्बतबाट हाम्रो खेत मा चर्न आएका
कर्याङकुरुङको नागरिकता
न नक्सल बाट बाहुनडाँगी आएका
हात्तीहरुको नागरिकता खोजियो ।
चारो खोज्न आए उनीहरु धर्तिमा
चारो खोज्दै हिँडेको म पनि अर्को देशमा
फरक यतिमात्रै रह्यो
उनिहरु सिङ्गो धर्तीमा हिडिरहे छन्
म टुक्राटुक्रा देशमा
देशभित्र टुक्राटुक्रा पहाडमा मदेशमा
पहाड ,मदेशभित्र
जाति भाषा र भेषमा
टुक्राटुक्रा भएका मनमा
माटोको सुवास भए पनि देहमा
खल्तीमा लाल पुर्जा नभएको
म अनागरिक
आफ्नो भाडो रित्तै राखेर
नागरिकहरुको भाडामा चामल हालिरहेछु
म अनागरिक ।
• दुवाकोट
प्रतिक्रिया