किन केही जनावरहरु जाडो महिनामा शीतनिद्रामा जान्छन् ?

सुत्ने प्रक्रिया सबै जीवित प्राणीहरुमा हुने गर्छ । कोही एकदमै छोटो समय सुत्ने गर्छन् त कोही लामो समयसम्म सुत्ने गर्छन् । तर नसुती भने कुनै पनि प्राणी बाँच्न सक्तैन । यदि कुनै जनवारले धेरै दिनसम्म सुत्न पाएन भने त्यो विस्तारै शिथिल हुँदै जान्छ र अन्त्यमा मर्न पुग्छ । सुत्नाले शरीरलाई आराम मिल्छ । । सुतेको बेला मष्तिष्क, मुटु र अन्य केही अति आवश्यक अंगहरु मात्र काम गरिरहेका हुन्छन् । बाँकी अंगहरु भने आराम गरिरहेका हुन्छन् ।

हामीजस्तै जनवारहरुले पनि सुत्ने बेला विशेष ध्यान दिएर तयारी गर्छन् । अझ चिसो स्थानमा बसोबास गर्ने जनावरहरु त जाडो मौसममा निक्कै लामो समयसम्म सुत्ने गर्छन् । त्यस्तो सुताइलाई शीतनिद्रा भन्ने गरिन्छ । त्यसरी लामो समय निष्क्रिय भएर सुत्ने बेलामा त झन उनीहरु विशेष सर्तकताका अप्नाउने गर्छन् । पूर्ण रुपमा आराम लिन उनीहरु अलग्गै प्रकारले सुत्ने गर्छन् । उनीहरु आफै अलग्गै ओछ्यान तयार पार्छन् र त्यहीँ सुत्छन् ।

चिसो स्थानमा पाइने केही जनवारहरु विशेष गरेर जाडो समयमा लामो समय सुत्ने गर्छन् । जाडो महिनामा यसरी लामो समयसम्म सुत्नुको पछाडि पनि कारण छ । वास्तवमा, जाडो मौसममा खानेकुराको व्यापक अभाव हुने गर्छ । कि त खानेकुरा नै पाइँदैन, पाइहाले पनि एकदमै कम मात्र पाइने गर्छ । त्यस्तो मौसममा कीरा, फलफूल, घाँसपातहरु उपलब्ध हुँदैनन् । यस मौसममा जनवारहरुलाई खानेकुरा खोज्न निकै नै मिहिनेत गर्नुपर्छ । धेरैले त यो समयमा खाना जुटाउनै सक्तैनन् ।

यो प्रतिकूल अवस्थामा बाँच्नका लागि प्रकृतिले जनावरहरुको शरीरमा विशेष प्रकारको व्यवस्थाको विकास गरेको हुन्छ । त्यस व्यवस्थाअन्तर्गत खानेकुराको अभावमा कमी हुने शरीरको उर्जालाई बचाउनको लागि जाडो क्षेत्रमा बसोबास गर्ने अधिकांश जनावरहरु जाडो याममा लामो समयसम्म आराम गर्न सुत्ने गर्छन् । यस्तो सुताइलाई शीत निन्द्रा पनि भनिन्छ । वास्तवमा, जब वातावरणको तापक्रम एउटा निश्चित विन्दुभन्दा तल झर्छ, तब जनावरहरुको गतिविधि शिथिल हुन थाल्छन् । उनीहरुको शरीरमा भइरहने प्रक्रियाहरु पनि विस्तारै सुस्त हुन थाल्छन् । कतिसम्म भने उनीहरुको मुटुको गति, श्वासप्रश्वास समेत अत्यन्तृ कम भएर जान्छ । उनीहरुको शरीरको तापक्रम पनि घट्दै जान्छ । त्यसपछि उनीहरु एकै ठाउँमा डल्लो परेर सुत्ने गर्छन् । यसरी सुत्दा उनीहरुको श्वसप्रश्वास प्रक्रिया पनि ढिलो हुन्छ । यसले उनीहरुको उर्जाको खपत कम हुन जान्छ । अनावश्यक उर्जा खर्च नहुँदा शरीरमा सञ्चित शक्तिहरु रित्तिन पाउँदैन ।

यसरी उनीहरु धेरै समयसम्म केही नखाई सुत्छन् । आफ्नो शरीरमा संचित रहेको उर्जा तथा बोसोलाई यिनीहरुले यो बेलामा फारोतिनो गरेर प्रयोग गर्ने गर्छन् ।

यसरी शीतनिन्द्रामा भएको बेला यी जनवारहरुलाई प्रकाश, पानी वा हल्लाले मात्र नभएर कम तापक्रमले पनि असर पार्न सक्छ । यस्तो समयमा उनीहरु अलि तातो ठाउँ वा गुफामा गएर सुत्ने गर्छन् ।

 

केही अध्ययनकर्ताहरुले तापक्रमको कारणले मात्र यस्तो हुँदैन भन्ने कुरा बताएका छन् । उनीहरुले ती जनवारहरुलाई आफ्नो  घरको न्यानो वातावरणमा राख्दा पनि ठीक त्यही समयमा उनीहरु शीतनिन्द्रामा गएको पाइयो ।

अर्को एक अध्ययनले चाहिँ जनवारहरु शीतनिन्द्रामा जाँदा उनीहरुको ढाड, मुटु र फोक्सोलाई बोसोले छोप्ने कुरा पत्ता लगाएको छ । यसले उनीहरुका महत्वपूर्ण अंगहरुलाई चिसोबाट बचाउने गरेको पाइएको छ । निन्द्राबाट उठेपछि भने त्यो बोसो आफै शरीरले नाश गर्ने कुरा पनि प्रकाशमा आएको छ ।

त्यसो त शीतनिद्रा पनि जनावरपिच्छे फरक हुन सक्छ । उदाहरणको लागि भालु पनि शीतनिद्रामा जाने गर्छ तर त्यो अल्पकालीन हुन्छ । भालुको शीतनिद्रा टारपोर नाम गरेको अवस्थामा हुन्छ, जसअनुसार उसको शरीरको तापमान र चयपचय मात्रै केही मात्रामा कम भएको हुन्छ । अर्कोतिर लोथर्के र चमेरा भने पूर्ण शीतनिद्रामा जाने गर्छन् । शीतनिद्रामा जाने प्राणीहरुमा भ्यागुतो, केही साप, छेपारी, पुतली आदि पर्दछन् ।

शीत निद्रामा जाने केही जनावरहरु छोटो समयका लागि खान, पिउन र दिसापिसाब गर्नको लागि उठ्ने गर्छ । अर्कोतिर मोटो पुच्छर हुने बौना लेमुर (dwarf lemur) भने नौ महिनासम्म शीतनिद्रामा जान सक्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।