चीन र अमेरिका बीच जारी व्यापार युद्धको भरमार लाभ उठाइरहेको भियतनाम

चीनका राष्ट्रपति सी जिनपिङले हालै भियतनामको औपचारिक भ्रमण गरे । सो क्रममा उनले त्यहाँको सत्तारुढ कम्युनिष्ट पार्टीका नेता तथा राष्ट्रपति वो वन थुओंगसँग हानोईमा भेटघाट गरे । सो भेटघाटमा दर्जनौँ व्यापारिक सम्झौतामा हस्ताक्षर समेत भयो ।

तीन महिना अघि अमेरिकाका राष्ट्रपति जो वाईडेनले पनि भियतनामको भ्रमण गरेका थिए । सो भ्रमण उनको दक्षिण पूर्वी एसियाका मुलुकहरूसँग रणनीतिक सम्बन्ध बिस्तारको एउटा उपक्रम थियो । अनि ठिक तीन साता अघि जापानबाट पनि त्यस्तै भ्रमण भएको थियो ।

यी सबै घटनालाई हेर्दा के देखिन्छ भने अहिले विश्वको अर्थ-राजनीतिको समेत केन्द्रका रुपमा रहेको एसिया-प्यासिफिक क्षेत्रमा अवस्थित यो मुलुक वास्तवमा नै भू-राजनीतिक दृष्टिले रणनीतिक महत्वको राष्ट्र बनेको छ । यी भ्रमणहरू अन्य उद्देश्यले भन्दा पनि भियतनामको मन र विश्वास जित्ने उद्देश्यले भएका थिए भनेर बुझ्न धेरै गाह्रो छैन ।

कम्युनिष्ट मुलुक भए पनि यसको सम्बन्ध धेरैले अपेक्षा गरेजस्तो चीनसँग अति निकट भने छैन । न त यो देशको चीनसँग खुल्ला र प्रष्ट्रसँग देखिने गरी शत्रुतापूर्ण सम्बन्ध नै छ । विगतमा यो मुलुकको स्वतन्त्रताको लागि चीनले दिएको साथ र चिनियाँ सम्राटहरुले ऐतिहासिक कालमा भियतनामलाई नियन्त्रण गर्न चलेका कदमहरूको मिश्रण समेत यी दुई देशको सम्बन्धमा देखिन्छ ।

भियतनामले एकैसाथ चीनसँगको आफ्नो आर्थिक र व्यापारिक सम्बन्ध अनि चीनको सम्भावित प्रभुत्व दुबैलाई राम्ररी बुझेको छ । सन् १९७९ मा रुससँगको यसको निकटता अन्त्य गर्न चीनले भियतनाममाथि आक्रमण नै गरेको थियो । 

त्यसबाहेक दक्षिण चीन सागर (साउथ चाइना सी)मा रहेका केही टापुहरूको स्वामित्वको विवाद यी दुई मुलुक बीच अझै कायम नै छ । ठूलो व्यापारिक मार्गका रुपमा रहेको यो सागरको रणनीतिक महत्वका कारण पनि त्यस्ता विवाद चाँडै सुल्झने खालका देखिँदैन ।

त्यसबाहेक असंलग्न परराष्ट्र नीति अँगालेको यो मुलुकले राजनीतिक हिसाबले अमेरिकासँग पनि निकट सम्बन्ध राख्ने कुरामा जोड दिएको देखिन्छ । तर, यो सन्दर्भमा धेरैले प्रश्न गर्ने गरेका छन् – के भियतनामले इतिहास भुलेर अमेरिकासँग त्यस्तो मित्रता राख्न सक्छ ? हानोईले वाशिंगटनलाई विश्वास गर्न सक्छ ?  

हो, हानोईसँग त्यस्तो विश्वास छ । यसले भियतनाम युद्ध जितेको हो र अमेरिकालाई हराएको थियो । अनि अमेरिकी अवरोधका बाबजुद भियतनामलाई अखण्ड राख्न सफल बनेको थियो ।

बरु, अमेरिकालाई नै अहिले चीनलाई सताउन र कतिपय मामिलामा रोक्न भियतनामको साथ चाहिएको छ । अमेरिका वैचारिक रुपमा भियतनामको शत्रु नै हो । तर, भियतनामको आर्थिक विकास र लाभका लागि यसले अमेरिकालाई उपयोग भने गर्न सक्ने अवस्था छ । त्यसैगरी अमेरिकासँग सैन्य सहायता लिएर चीनलाई केही हदसम्म खबरदारी गर्न सकिन्छ भन्ने बुझाइमा भियतनाम देखिन्छ ।

उता चीनले पनि यो कुरा बुझेको छ । त्यसैले उनले हानोईसँग सुमधुर सम्बन्ध राख्ने प्रयास गरिरहेको छ । यस कारण भियतनाम आफ्नो पक्षमा उभियोस् र आवश्यक परेको अवस्थामा ‘किंगमेकर’ का रुपमा आफुलाई समर्थन गरोस् भन्ने चीनको चाहना छ ।

चीनलाई भियतनाम किन पनि चाहिएको छ भने यदि भियतनामले साथ दियो भने चीनमा उत्पादित धेरै बस्तुमा ‘मेड इन  चाइना’को लेबलको सट्टा ‘मेड इन भियतनाम’ को भेषमा बस्तुहरू विश्वभर पुर्‍याउन सकिन्छ । चीनले व्यापार प्रतिबन्ध र कडा र उच्च करको सामना गर्नु परिरहेका मुलुकमा समेत भियतनामको आवरणमा बस्तुहरू बेच्न सक्ने हुन्छ ।

अहिले त्यही सहजता खोज्दै धेरै चिनियाँहरूले भियतनाममा लगानी बढाएका छन् । उनीहरूले यस्तो गरेका कारण आसियान क्षेत्रमा चीनको व्यापार ह्वात्तै बढेको छ भने अमेरिकासँग भएको व्यापार अवरोधको क्षतिपूर्ति चीनले यसरी गरिरहेको छ ।

यसरी, भियतनाम अहिले चीन र अमेरिका बीच जारी व्यापार युद्धको भरमार लाभ उठाइरहेको छ । यो मुलुकको चीन र अमेरिका दुवैसँग व्यापार बढ्दो छ । चिनियाँ लगानी बढ्ने देखी आफ्नो मुलुकमा सबै पार्ट्स चीनबाट आयात गरेर एसेम्बल गर्ने धन्धा समेत त्यहाँ फस्टाएको छ ।

Title Photo: https://assets.bwbx.io