राजनीतिले बाटो बिराएपछि पश्चाताप गर्दा पनि समयले मौका दिँदैन !
देवदत्त बौद्ध संघमा लागेर पनि भारी उपद्रो मचाइरहेका थिए । उनीमा भित्रभित्रै बुद्धको ख्यातिप्रति जलन थियो र त्यस्तो ख्यातिको असली हकदार उनी हुन चाहन्थे । उनको यस्तो अतृप्त तृष्णाको निम्ति षड्यन्त्र नै उनको निम्ति अचुक औजार हो । उनी ठान्थे बुद्धको लोकप्रियता उनको जादु हो । 'तब म किन न सिकौं बुद्ध बाटै त्यो शिक्षा र उनैलाई पछि न पारौं ?!'
मनमनै त्यस्तो सोचेर उनले स्वयम् बुद्धलाई अनुरोध पनि गरे । बुद्धले सल्लाह दिए, 'सदगुणमा ध्यान देउ, जादु टुनामुना स्वतः आइहाल्छ । तिमीले आध्यात्मिक अन्तरचेतना र श्रेष्ठतर ज्ञान हासिल गर्यौ भने जादु टुनामुना जस्ता कुरा सित्तैमा सिकिहाल्छौ ।'
ध्रुत देवदत्तले बुद्धको संकेत न बुझ्ने कुरै थिएन । आफ्नो हठ ऊ किन छोड्थ्यो । जादु सिक्न भनेर उ कौडिन्य, अश्वजित, भण्डारिक र अरु कहाँ कहाँ पुगेन ?! सब बेकार । उनीहरुले लगभग एउतै भाषामा भने, 'देवदत्त ! तिमी रुपको वारेमा सर्वाङ्गिण ज्ञान हासिल गर ; वेदना, संज्ञा, संस्कार, विज्ञान जस्ता विषयमा सही समझदारी राख्न सक्यौ भने जादु टुनामुना त चुट्की बजाको भरमा आइहाल्छ ।' उनीहरुबाट पनि देवदत्तले केही हात पार्न सकेन ।
अन्ततः उसले राज्यलाई प्राभावित बनाएर आफ्नो मनसुवा पुरा गर्ने सोंच बनायो । त्यसबेला मगध नरेश थिए विम्विसार, बुद्धका बडो भक्त । आफ्नो मनसुवाको निम्ति ठुलो तगारो । राजकुमार अजात शत्रु राजषी तामस त भएको तर सुद्धिबुद्धि भने त्यहीं तामसले खाएको । अँ, यो ठीक हुन्छ भनेर उसैलाई उपयोग गर्दै षड्यन्त्रका तानाबाना बुन्न थाल्यो । राजकुमारलाई उचालेर आफ्नै बाबुबाट राजमुकुट खोस्न लागायो, राजालाई बन्दी बनायो । कतै अपदस्त राजा फर्केलान् कि भन्ने डरका मारे देवदत्तले राजालाई जेल भित्रै मार्ने षडयन्त्र रच्यो र नयाँ राजालाई उकास्यो ।
विम्विसारलाई मानसिक यन्त्रणा दिन भनेर जेलमा उनलाई महारानी वैदेहीबाहेक कसैलाई भेट्न नदिने गरी कडाइ गरियो । रानी नै बन्दी राजालाई खानेकुरा पुर्याउने गर्थिन् । अलिपछि त रानीलाई खानेकुरा पुर्याउने काममा पनि रोक लगाइयो । रानीले जुक्ति निकालिन्– शरीरमा पौष्टिक चीजको लेपन लगाउने र कल्लीमा पानी भरेर जाने । त्यसरी पनि राजालाई भोक भोकै मर्नबाट बचाइन् । रानीको यो चालको पनि पोल खुलेपछि उनलाई राजालाई भेट्नै न दिन प्रतिबन्ध लगाइयो । यही बेला बुद्ध ग्रिद्धकुटमा आएर बस्न थाल्न भयो । जेलको झ्यालबाट माथि बुद्धको चाल देखेर राजालाई बाँच्ने जीजिविषा जागेर आयो । उनी मर्ने कुनै छाँट देखिएन । यसको पनि पोल खुल्यो । जेलको झ्यालै बन्द गरियो । राजाका खुट्टै काटियो ।
बुद्ध साह्रै दुखित भए र मौद्गलायनलाई बन्दी राजा भेट्न भनेर पठाए । मौद्गलायनले गएर भने, ' तपाई तन्दुरुस्त हुनुहुनेछ र यस क्षेत्रका चार प्रसिद्ध राजामध्ये एक हुनुहुनेछ ।'
यत्तिकैमा एक दिनको कुरा हो, अजात शत्रुको छोरा उदयीभद्रको औंलामा घाऊ आएर सुन्निएको र फुट्ला फुट्ला जस्तो थियो । उ ऐया आत्था गरिरहेका थियो । बाबुले छोरालाई काखमा राखे र औंला चुसेर जमेको पीप रगत निकालिदिए । छोरो रुन कराउन छोड्यो । ठीक त्यहीबेला अजात शत्रुकी आमा विदेही टुप्लुक्क आइपुगिन् । रानीले भनिन्, उहिले तिमी सानो छँदा तिम्रो बाबुले तिमीलाई पनि त्यसै गरेर यस्तै घाऊको पीडाबाट छुटकारा दिलाएका थिए ।' अजात शत्रु छाँगाबाट झरे जस्तो भए । पागल झैं उनी बर्बराउन थाले, ' के मेरा बाबु अझै जीवित छन् ?! उनी जीवित छन् भनेर कोही सूचना दिने भए म उसलाई यो राज्यै उपहार दिने थिएँ ।' वरिपरिका भाइभारदार, प्रजा खुशी हुँदै जेलतिर आफ़लताफ़ल गर्दै निस्किए । बन्दी राजा विम्विसारले ठाने, ‘यो भीड मलाई अरु यन्त्रणा दिन आउँदैछ ।’ उनले लामो सास ताने र प्राण त्याग गरे ।
प्रतिक्रिया