भक्त र भगवान

एकाबिहानै

बज्यो घण्टी मन्दिरमा

नाम्लो हातमा लिएर पुग्यो

थारू धनिराम

बजायो घण्टी र भन्यो

प्रभु ! आज धेरै भारी बोक्न पाउँ

हजुरको निम्ति लड्डु चढाउँछु

भगवानले चुपचाप नै भने तथास्तु !

 

शरीरमा 'पर्फ्युम स्प्रे' गर्यो र

'लेटेस्ट्' मोडल कार चढ्यो

विनोद चौधरी -

घण्टी बजायो मन्दिरको

माग्यो

म सधैं सबैलाई  भारी बोकाई रहुँ

म हजुरको निम्ति सुनको मन्दिर बनाउँछु

भगवानले चुपचाप भने तथास्तु

 

सात दिनदेखि डेन्ड्राइट मात्र सुँघिरहेको

एउटा भोको सडक बालक

लरखराउँदै आयो

तिरमिर तिरमिर आँखाले

भगवानको मुखमा हेर्दै

घण्टी बजायो र माग्यो

प्रभु! कृपा गरेर आज मलाई

एउटा डेन्ड्राइट दिलाइ देऊ

म हजुरको निम्ति धुप चढाउछु

तथास्तु !

 

हातमा धुप अक्षता फूल लिएर

गिडगिडाउदै साधुरामले भन्यो -

हिजो पनि सकिन प्रभु

आज मलाई त्यो शक्ति देऊ

कि म सेकुरिटीको आँखा छलेर

चौधरीको को घरमा चोर्न सकुँ

म हजुरको निम्ति सुनको सिक्री चढाउँछु

तथास्तु !

 

बुट बजाउदै  पुलिस आयो र भन्यो

प्रभु आज पनि मेरो खल्ती

खाली नहोस्

लाखबत्ती जलाउँछु

तथास्तु !

 

ज जसलाई जे चाहियो

दिए सबैलाई भगवानले।

 

भगवान

आफू मौन

प्रसाद ग्रहण गरिरहेछन्

भक्तहरू  प्रसाद चढारहेछन्।

 

बिनोद चौधरीको सुनको मन्दिर ठडियो

धनिरामहरू सधैँ भारी बोकीरहेछन्

सडक बालकहरू

डेन्ड्राइट सुँघिरहेछन्

साधुरामहरु चोरिरहेकै छन्

पुलिसहरू समातिरहेछन्

सुनको मन्दिरमा घण्टीहरु बजिरहेछन्।

 

पर उभिएर

चुपचाप हेरिरहेको

कविले सोध्यो

प्रभु! यी सबै तथास्तुमध्ये

कुन पाप हो कुन धर्म हो ?

 

भगवान

केही सुन्दैन

केही देख्दैन

केही बोल्दैन।

झापा । हाल - दुवाकोट भक्तपुर