ऐँठन: एक युद्ध-विरोधी 'मिसाइल'
विवेक ओझाद्वारा लिखित २०७९ को मदन पुरस्कार विजेता उपन्यास 'ऐंठन' संसारका हरेक सशस्त्र-युद्ध, युद्धजन्य हातहतियार र स्वयम् योद्धाहरुकै विपक्षमा लेखिएको एक सशक्त 'शब्दास्त्र' हो ! यसले विश्वसभ्यतामा महान ठानिएका वा घृणित ठानिएका सबै खाले सशस्त्र युद्धको औचित्यलाई खारेज गरेको छ, प्रश्न उठाएको छ ! यस आलेखमा 'युद्ध-साहित्य'को रुपमा 'ऐंठन'लाई संक्षिप्त विश्लेषण गर्ने जमर्को गरिएको छ !
युद्ध र युद्ध-साहित्य
विश्वप्रशिध्द पुस्तक "सेपियन्स: अ ब्रिफ् हिस्ट्री अफ ह्युमनकाईंन्ड्"मा लेखक युवल नोह हरारीले कसरी 'एक महत्वहीन जनावर'बाट मानवजाति सर्वशक्तिमान "सेल्फ-मेड गड"सम्म बन्न पुग्यो भन्नेसम्मको विकासक्रम सविस्तार वर्णन गरेका छन् ! उनका अनुसार, आज मानिसले आफ्नो 'सुविस्ता र मनोरन्जन'का खातिर अन्य प्राणी र पूरै ईको-सिस्टमलाईलाई नै 'तबाह' गर्नेसम्मको क्षमता र स्वाभाव विकास गरेको छ ! पुस्तकको अन्तमा हरारीले एउटा प्रश्न उठाएर टुङ्ग्याउँछन्: "आफूले के चाहेको हो भन्ने नै थाह नभएका यस्ता असन्तुस्ट र गैर-जिम्मेवार 'भगवान'हरूभन्दा खतरनाक अरू के होला ?"
होमरको 'ईलियाड़' होस् वा व्यासको महाभारत वा वाल्मिकीको रामायण अथवा शेक्सपियरका नाटक हौऊन्, ती युद्धको गौरवगाथा-सरह भएका छन् ! मर्ने र मार्ने उद्योग गौरवपूर्ण बहादुरीको काम मानियो !
हरारीले सीधै नभनेको, तर प्रसंगवश ठाउँठाउँमा देखाएको तथ्य के हो भने शक्तिसंचय भइसकेपछि हरेक सत्ताधारी र शक्तिशालीले आफूलाई 'भगवान' ठानेकै हो ! तिनका लालसा, लहड र गैर-जिम्मेवारीपनको शिकार अन्य प्राणीमात्रै होईन, स्वयम् मानवजाति नै भएको छ, हुँदैआएको छ ! ईतिहासको विभिन्न कालखण्डमा भएका युद्धहरू यसका प्रमाण हुन् ! विभिन्न धर्म-संस्कृतिमा चलिआएका देउता र राक्षसका लड़ाईका मिथकीय कथाहरू, ईतिहासमा राजाहरू, देशहरू र वीरहरू आपसमा लडेका कथा बग्रेल्ती पाइन्छन् ! पृथ्वीका छोटेमोटे 'भगवान'हरु अझै पनि युद्धका कथा रचिरहेका छन् ! यिनै युद्धकथाहरूले मान्छेका ईतिहास, बौध्दिकता, संस्कृति र राजनीतिलाई निर्माण र निर्धारण गर्दै आएका छन् ! मानिसहरुको 'सामूहिक चेतना' निर्माण र विनिर्माण गर्न युद्धकथाको अहम् बूमिका छ ! अहिलेको विश्वसमाज जे-जे र जस्तो अवस्थामा छ, त्यो यिनै युद्ध र युद्ध-साहित्यका कारणले छ भन्नु अतिशयोक्ति नहोला !
युद्ध-साहित्यको परम्परा निकै लामो छ ! होमरको 'ईलियाड़' होस् वा व्यासको महाभारत वा वाल्मिकीको रामायण अथवा शेक्सपियरका नाटक हौऊन्, ती युद्धको गौरवगाथा-सरह भएका छन् ! मर्ने र मार्ने उद्योग गौरवपूर्ण बहादुरीको काम मानियो ! युद्ध लड्न नमान्ने अर्जुनलाई भगवान श्रीकृष्णले हौसला र सहयोग दुवै दिएर लडाएको वृतान्त महाभारतमा छ ! अर्थात् हाम्रा पवित्र ग्रन्थहरूका केन्द्रमा युद्ध छ ! ती युद्धसाहित्य हुन् ! 'धर्म-युद्ध', 'जेहाद' वा 'क्रुसेड' जेसुकै नाम दिए पनि धर्महरूले युद्धको आवश्यकता र औचित्यका बारेमा आफ्नै खाले प्रशस्त चिन्तन गरेका छन् !
'ऐंठन': युद्ध-साहित्यको विधा-भन्जन
परम्परागत 'युद्ध-साहित्य'मा हिरो र भिलेनलाई केन्द्रमा राखेर, तिनको वीरता र पराक्रमको गुण गाउने गरिएको पाईन्छ ! खराब तत्वको 'नाश'लाई अपरिहार्य जिम्मेवारीका रूपमा नायकले लिन्छ र सर्वजन हीताय (नर)संहार गर्छ ! समाजले त्यो 'बहादुरी'वापत उसलाई नायक मान्छ; रक्षक र उद्दारक मान्छ ! तर, अपवाद बाहेक, तिनबाट मारिने सबै खराब नै हुन्छन् भन्ने बुझिन्छ ! भुँईं-तहका आम मानिसको र तिनका परिवार र आफन्तजनको पीड़ालाई किनारामा पारिन्छ ! नायकहरू पराक्रमको कथामात्रै केन्द्रमा देखाएको हुन्छ !
'ऐंठन' उपन्यासले परम्परागत युद्ध-साहित्य विधालाई भन्जन गरेको छ ! केन्द्रमा रहेका युद्ध सर्दारहरूलाई देखाउँदै नदेखाई वा अलि संक्षिप्त उल्लेख मात्रै गरेर, युद्धको त्रासदी भोगेको बबनकुमार उर्फ़ बीरध्वजलाई केन्द्रीय पात्र बनाएको छ ! दाङको स्कूलमा पढाउने एउटा मास्टर ऊ, घरभित्रै भएका श्रीमती र छोरालाई सेनाको गोलीबाट गुमाउँछ ! आफू विद्रोहीहरूको बन्धक बन्नपुग्छ ! तिनबाट अवर्णनीय यातना र अपमान झेल्छ ! अछामको मंगलसेन आक्रमणपछि तिनीहरूबाट मुक्त भएर फर्किने क्रममा बसमा खानतलासी हुँदा शङ्का हुनगई सेनाको नियन्त्रणमा पर्छ ! सेनाबाट पनि नारकीय यातना झेल्छ ! अन्तत: भागेर एक अद्भूत बस्तीमा पुग्छ ! अर्थात् 'ऐंठन' उपन्यास भिक्टिम-केन्द्रित उपन्यास हो ! यसले युद्ध मच्चाउने हिरोहरूलाई गाली, आलोचना र तिरस्कार गरेको छ ! बबनकुमार युद्ध-विभीषिकाको साक्षी हो, भोक्ता हो ! त्यसैले उसले गरेको युद्धको घृणा र तिरस्कार जायज छ ! उसलाई युद्ध र युद्धसित सम्बन्धित पुस्तकसित यति नफरत छ कि सपनामा गान्धारीलाई प्रश्न गर्छ ! युधिष्ठिरलाई प्रश्न गर्छ ! अनि, ब्युँझेपछि टेबुलमा भएको महाभारतको पुस्तक झ्यालबाट मिल्काईदिन्छ ! (पृष्ठ २६०)
जादु-मिश्रित यथार्थमा लेख्नु लेखकको रणनीति पनि हो ! विवेक ओझा यो रणनीतिमा सफल पनि देखिन्छन् !
उपन्यासको कथावस्तु सलल बगेको आदि, मध्ये र अन्त्य छुट्टिने खालको छैन ! ऐतिहासिक 'जनयुद्ध', स्वप्नामा देखिएको कुरुक्षेत्रको कौरव-पान्डव युद्ध, अनि जादुमयी (मायावी) संसारमा पुनर्जन्मपछिको कमरेड गोकुलको अजीब गाउँ विचरण गर्छ वक्ताले ! जादू, स्वैरकल्पना र यथार्थ मिसाएर हाम्रा पौराणिक ग्रन्थहरू पनि लेखिएका छन् ! उत्तरआधुनिक लेखनमा सलमान रश्दी र ग्याब्रियल गार्सिया मार्खेजजस्ता सिध्दहस्त लेखकहरूले यसको उच्चतम अभ्यास गरेका छन् ! माछाले टेबुल चढ्नु, अनि अंग्रेजीमा लेखिएको पढ्नु, मरेको छोरासित टेलिफोन संवाद हुनु, हेलिकप्टर विशाल मांसभक्षीमा बदलिनु, रक्ताम्मे हिउँ पर्नु, रगतको खोला हुनु, पूरै गाउँ अपाँगता भएका मानिसको हुनु, सबै गाउँलेहरु बिर्सने रोगबाट ग्रस्त हुनु, मान्छेका मासुका परिकारहरु बकाईदा होटलमा निशुल्क बेचिनु, ईत्यादि कुराहरू सामान्य भौतिक जीवनभन्दा परका कुराहरू हुन् ! जादु-मिश्रित यथार्थमा लेख्नु लेखकको रणनीति पनि हो ! विवेक ओझा यो रणनीतिमा सफल पनि देखिन्छन् ! पूर्व-लडाकुको पूरै गाउँ नै बिर्सने रोगबाट ग्रस्त हुनु, मान्छेको मासु यति सस्तो कि त्यो होटलमा फ्रीमा मिल्ने हुनुजस्ता कुराहरूले युद्ध-पश्चातको अवस्थालाई कठोर व्यङ्ग्य गरेको बुझ्न गाह्रो छैन !
यसले अहिलेका कार्यकर्ताको कट्टरता र अन्धभक्ति देखाउँछ ! कसैले नेतृत्वको थोरै आलोचना गर्यो भने "तँलाई टिभी लाग्यो" भनेर कुनै 'दिमागी रोग' लागेको अर्थ लाउँछन् ! यो भयानक चित्रण माओवादी, तिनले लडेको युद्ध र त्यसपछि तिनमा आएको बदलाव/विचलन देख्न पर्याप्त छ !
माओवादी युद्ध र तिनका विचलनमाथि कठोर प्रहार
सामान्यतया: युद्ध एउटा उद्देश्यका लागि लडिन्छ ! तर यहाँ क्रान्तिपछि विद्रोहीहरुको आफ्नो पार्टीको सरकार बन्ने बाहेक अर्को उपलब्धि देखिएन ! ज्यान जोखिममा राखेर लडेका योध्दाहरूको पूरै गाउँ यति गरीब छ कि ती चाउचाउका कार्टुन-बक्सको सिरक ओढेर कठ्याङ्ग्रिने चिसो रात कटाउँछन्, जब कि बाहिर हिउँ परिरहेको छ ! पूँजीवादलाई सत्तोसराप गरेर लादिएको युद्धपश्चात्, आफ्नो पार्टीको सरकार हुँदा त्यही पूँजीवाद जनाउने चाउचाउको खोलले जाडो छेक्नु ? त्यो भन्दा निर्मम मजाक र दरो झापड माओवादीको कथित जनयुद्धका लागि अरू के हुनसक्छ ? एक पेटी जीवनजल गाउँमा पुर्याउन कमरेड राकेश हेलिकप्टर चढ़ेर आउँछ ! कामरेडका सामुन्ने आँसु नदेखाउन सारा गाउँलेहरू अघिल्लै मध्येरातमा भेला भएर रून्छन्, र आँखा निखार्छन् ! भातसम्म खानलाई नपुगेर फट्यांग्रा खोजेर खानुपर्ने हालतमा भएका यी मनुवाहरू कमरेडका लागि चैं पजेरो कार किनिदिन्छन् ! आफू बुर्जुवा शिक्षा भनेर लत्याईएको शिक्षा आफ्नी छोरीलाई दिलाउन मरिहत्ते गर्छन् ! त्यति हुँदा पनि आफ्ना कमरेडका बारेमा कसैले नराम्रो समाचार भनेको भनेर टिभी नै फुटाल्छन् ! उता अमरसिंहजस्ता कमरेडहरू "रक्सी बोकेर कुनै आइमाईको कोठामा पसेको खबर" आउँछ ! (पृष्ठ ३४१) नेताहरूका महल देखाउने, तिनले टाउको दुखेमा उपचारका लागि सिंगापुर गएको बताउने, ठेकेदार र माफियासित भोज गरेको देखिनेजस्ता समाचार टीभीमा देखिएमा पूर्व-लडाकु गाउँलेहरू त्यो सहन सक्दैनन्, र टिभी फुटाउन पुग्छन् ! यसले अहिलेका कार्यकर्ताको कट्टरता र अन्धभक्ति देखाउँछ ! कसैले नेतृत्वको थोरै आलोचना गर्यो भने "तँलाई टिभी लाग्यो" भनेर कुनै 'दिमागी रोग' लागेको अर्थ लाउँछन् ! यो भयानक चित्रण माओवादी, तिनले लडेको युद्ध र त्यसपछि तिनमा आएको बदलाव/विचलन देख्न पर्याप्त छ ! माओवादीको युद्ध र त्यसको परिणतिमाथि यत्तिको निर्ममतापूर्वक सायदै कुनै साहित्यिक रचना लेखिएको होला !
शान्तिको वकालत
पूरै परिवार तबाह हुँदाहुँदै पनि अन्तमा बबनले आफ्नो पहिल्यै मरिसकेको छोरालाई टेलिफोन गरेर सारा संसारका हातहतियार ब्रेक-डाउन गर्ने 'मास्टर रे' पत्ता लाउने सुझाव दिन्छ ! यो आशाको त्यान्द्रो देखिन्छ उपन्यासमा ! देवाजयको छोराले डटेर शान्तिपूर्ण जागरण र हिंशाविरोधी तर्कहरू राखिरहँदा बबन अवाक हुन्छ र समर्थन गर्दछ ! बबन अर्थात् वीरध्वज र देवजय दुवै क्रमश: कौरव र पाण्डवका पक्षबाट लडेका निरीह लडाका थिए ! दुवैका छोराहरू युद्धको खिलाफमा हुनु अबको पुस्ताले युद्धलाई अस्वीकार गर्ने संदेश दिएको प्रष्ट हुन्छ ! लेखकले हिटलर, चर्चिल र पोलपोटहरूलाई खरो आलोचना गरे पनि शान्तिपूर्ण क्रान्तिलाई नकार्दैनन् ! बुध्द, गान्धी, मन्डेला र लुथर किङका नामै किटेर उहाँहरूको जस्तो जागरण ल्याएर पनि समाज बदल्न सकिन्छ भन्ने तर्क राखेका छन् !
युद्धसित कोही लेनादेना नभएका थुपै शिक्षकहरू चन्दा असुली, शरीर बन्धक, अंगभंग वा ज्यानै जाने खालका घटनाबाट गुज्रेका थिए !
उपन्यासको पात्र र स्थान चयन पनि अर्थपूर्ण छ ! युद्धसित कोही लेनादेना नभएका थुपै शिक्षकहरू चन्दा असुली, शरीर बन्धक, अंगभंग वा ज्यानै जाने खालका घटनाबाट गुज्रेका थिए ! जसरी निर्दोष बबन दोहोरो आततायी यातना झेल्न विवश भयो, गृहयुद्धकालमा त्यस्ता सयौं, हजारौं शिक्षकहरूले त्यस्तो दर्दनाक अवस्था झेलेका थिए ! बबनजस्ता युद्धसित असम्बन्धित पक्षले झेलेको सन्तापको कुनै हिसाब हुनसक्दैन ! उपन्यासका युद्धसम्बन्धि मुख्य-मुख्य घटनाहरू दाङ, सल्यान, सुर्खेत, अछाम हुँदै बाँकेसम्म घटेका देखिन्छन् ! यी ठाउंहरू खास गरि मध्येपश्चिम क्षेत्र माओवादी विद्रोहबाट निकै प्रभावित क्षेत्र हो !
प्रतिनिधित्वको सवाल
द्वन्द्वका बारेमा लेख्दा लेखक सकभर तटस्थ भएर लेख्नुपर्छ भन्ने एउटा मान्यता छ ! अर्को मान्यता अनुसार लेखक तटस्थ रहनै सक्दैन ! एउटा साक्षी र/वा भोक्ताका रूपमा द्वन्द्वका कथा बताईरहँदा एउटा कथावाचकले पक्ष लिनुपर्ने नैतिक दायित्व हुन्छ ! त्यो पक्ष चाहिं पीडितको पक्ष हो ! अभिशायी मार्गालिट, जेफ्री ब्लुस्टिनलगायतका विद्वानहरू पक्ष लिनुपर्ने बताउँछन् ! त्यस अर्थमा यो उपन्यासले पीडितको पक्ष लिएको छ ! तर हिंसाको परिमाण र परिणाम दुबैमा माओवादीद्वारा गरिएका क्रूरताका घटना र तिनको घनत्व निकै बढी देखिएका छन् ! तिनको डिटेल पनि लेखकले बढी नै सजीव पस्केका छन् !
सरकारी पक्षबाट भए गरेका क्रूरता त्यति धेरै छैनन् ! अझ माओवादी आन्दोलन किन उठ्यो, त्यस बेलाको सरकारले चलाएको 'किलो शेरा-२' जस्ता अपरेशनले मच्चाएको क्रूरताको कहीं कता उल्लेख भएको भए हुने !
त्यसका तुलनामा सरकारी पक्षबाट भए गरेका क्रूरता त्यति धेरै छैनन् ! अझ माओवादी आन्दोलन किन उठ्यो, त्यस बेलाको सरकारले चलाएको 'किलो शेरा-२' जस्ता अपरेशनले मच्चाएको क्रूरताको कहीं कता उल्लेख भएको भए हुने ! पत्रकारहरुबाटै पनि निष्पक्ष लेखन दुर्लभ भएका बेला साहित्यकारले तटस्थ र निष्पक्ष खालको जर्नालिस्टिक साहित्य लेखोस् भन्ने अपेक्षा गरिंदैन ! गर्नुहुन्न ! त्यस्तै उपन्यास लेखकबाट उपन्यासमा इतिहास खोज्नु जायज होईन, तर लेखकले सरकारी दमन र अत्याचारको मात्रा अलि कम देखाएर लेखकीय 'पलिटिक्स' देखाएका छन् भन्दा अन्यथा नहोला ! यद्यपि आ-आफ्नो दृष्टिकोण पस्किन हरेक लेखक स्वतन्त्र छ !
लेखन र शैली
विवेक ओझाको भाषा खारिएको र माझिएको देखिन्छ ! संवाद र विषयवस्तु स्तरीय छन् ! उडन्ते गफ मात्रै नगरेर अलि रिसर्च गरेर लेखेजस्तो, अनि लेखन छ, सम्पादित र परिष्कृत भाषाको प्रयोग गरिएको छ ! कहीँकहीं अछाम र कर्णालीको सेरोफ़ेरोमा बोलिने स्थानीय भाषाका वाक्य/शब्द प्रयोग भएका छन् ! तर नबुझिने छैनन् ! काली-कर्णाली क्षेत्र नेपाली भाषाको उद्गम थलो नै हो !
यस उपन्यासको विषयवस्तु सदावहार छ ! मानव सभ्यता शुरु हुनुभन्दा पहिलेदेखि नै युद्ध थियो, र अझै छ ! त्यसको स्वरूप बदलिएको होला ! त्यसैले लेखकको विषयवस्तु सर्वकालिक महत्त्वको छ ! नेपाली साहित्यको एक विशिष्ट दस्तावेज हुनसक्छ यो उपन्यास !
केही महत्वपूर्ण र स्मरणीय पङ्क्तिहरू:
─ तराजुको एक काँटामा युद्धका उपलब्धि राख्नुस् र अर्को काँटामा लाखौंलाख मानिसको जीवनमा परेको विध्वंस जोख्न नबिर्सनुस् ! बम र गोली बाहेकले गर्न सक्ने परिवर्तनका कैय्यौं बाटा पनि होलान् !(पृ. ३७०-७१)
─ रगत पिएका हतियारले समयका पानामा दूषित ईतिहास छाडेर गएका छन् ! (पृष्ठ ३६७)
─ केन्द्रबाट कामरेड आउने अघिल्लो रात सम्पूर्ण गाउँ रून्छ, ता कि हाम्रा आँखामा आँसुको नामोनिशान नदेखियोस्, ता कि हाम्रा प्रिय कमरेडहरू हाम्रो उपलब्धिमाथि सर्वथा गौरव गरिरहून् ! हाम्रा आँखामा आँसुका छनकले मात्रै हाम्रा कमाण्डरलाई पीडा हुनसक्छ ! त्यसैले जे जति आँसु जम्मा भएको हुन्छ त्यो [अघिल्लै रात] रित्त्याउँछौं ! तिमी पनि रोऊ ! (पृष्ठ ३४८).
─ यहाँ धेरैमा विगत बिर्सने समस्या छ ! वा हुनसक्छ, यहाँ बिगतले बिर्सिएकाहरू बस्छन् ! (पृष्ठ ३३७)
─ उसो त खाल्डो बाधा र दुर्गतिको बिम्ब हो ! तर कहिलेकाहीँ त्यही खाल्डो जीवनका खातिर कवच हुँदो रहेछ ! (पृष्ठ ३२०)
─ यस गाउँमा जो कोहीको एक कुरूप विगत छ ! शक्तिको अगाडि आम मान्छे फट्यांग्रा बराबर हो ! म पनि एक फट्यांग्रा हुँ, जसले बिनागल्ती एक खुट्टा गुमायो ! (पृष्ठ २७०)
─ भोलि म कुनै किताबसिताब लिनेछैन ! मारकाट भएका पुस्तक त जिन्दगीमा पढ्नेछैन ! त्यस्ता पुस्तक पढ्नु पनि हुन्न र बोक्नु पनि हुन्न ! (पृष्ठ २६०)
─ गान्धारी, तिमी जति आफ्नो छोरालाई माया गर्छौ, त्यति नै हरेक योध्दाका आमाले गर्छन् ! के यहाँ करोडौं मृत छोराका करोडौं आमालाई आफ्नो छोराको अस्तु सेलाउने मन नहोला ? (पृष्ठ२५८)
─[युधिष्ठिरलाई] 'धर्मराज' उपाधिको तिमी योग्य हौ भने यहाँ सलबलाई रहेका शरीर देख्ने धर्म गर ! के करोडौं मानिस तिमीलाई राजा बनाउन मात्रै मरेका हुन् ? (२५८)
─ तिमीहरुले यो युद्धलाई 'धर्मयुद्ध' भन्यौ ! काटमार पनि कतै धर्मसङ्गत हुन्छ ? (२५९)
─ म त्यो मानिसको मृत्युमा रोएँ, जसले मलाई बन्दी बनायो, जसले मेरो नारकीय जीवनको द्वार उघार्यो र जसका लागि घृणा बाहेक हृदयमा अर्थोक थिएन ! (२५२)
─ उसो त उषाको सुहागरातको दिन थियो त्यो ! तर ऊ तमाम सुहागहरू मेट्नमा व्यस्त थिई ! (२४१)
─मंगलसेन युद्धउप्रान्त पनि यो अँगालो नछुटोस् ! दुनियाँमा कसैको अँगालो हतियारले ननिलोस् ! कसैको ललाट मेरो जस्तै नहोस् ! (२२२)
─ हतियारले उजाडिएको जो सुकै होस्, धर्तीको जुनै कुनामा होस्, उसले हतियारलाई पक्कै घृणा गर्छ ! त्योभन्दा बढी घृणा हतियारको बैशाखी टेक्नेलाई गर्छ ! म पनि गोकुललाई घृणा गर्छु ! (२१२)
─कम्जोरहरूलाई सुन्दर देखिने अधिकार छैन ! (१४९)
─ जब तपाईंको वंश रहँदैन, जब तपाईंको सूर्य डुब्छ, आकाश हराउँछ ! कसरी सुनौलो बिहानको भविष्य आउँछ ? (१३४)
─ शिक्षकले जीवनभर केही हजारलाई उज्यालो देला ! तर क्रान्तिकारीले करोडौं गरीबको घर उज्यालो पार्न सक्छ ! (११०)
─ हृदय यस्तो रेफ्रीजेरेटर हो, जसले हरेक कुरा आफैंभित्र ताजा राखेको हुन्छ ! (७६)
─ बन्दूक समाएको जोसुकै होस्, हात मिलाई सकेपछि मेरो हातमा रगत लत्पतिएको महसुस हुन्छ ! सकभर उनीहरू मलाई नछोउन् ! (पृष्ठ ६७)
─ धरतीमा बन्दूक समाउने प्रत्येक हात कुहिएर झरून् र फूल समाउने हात पलाऊन् ! (पृ. ६७)
यस्ता कैय्यौं वाक्य, शब्दावली र टुक्काहरू छन् जो पाठकका मर्मलाई छुनसक्छन् ! यस अर्थमा पनि उपन्यास पठनीय छ !
समसामयिक राजनीतिक सन्दर्भ र औचित्य
'ऐंठन' उपन्यासले यस्तो बेला देशको प्रतिष्ठित मदन पुरस्कार पायो, जतिखेर संसदमा ज्ञानेन्द्र शाही, सडकमा दुर्गा प्रसाईं र सामाजिक संजालमा रविन्द्र मिश्रजस्ता मानिसहरु यो व्यवस्था उल्ट्याउन अर्थात् माओवादी आन्दोलनका उपलब्धिलाई खारेज गर्न खरो र दरो आवाज उठाईरहेका छन् ! यो संयोगमात्रै नहोला ! यो उपन्यासले सतहमा ल्याएजस्तै आन्दोलन र व्यवस्था परिवर्तनपछि हिजोका क्रान्तिकारी नेताहरू जसरी सुखभोगी भए, पुराना घाईते र अपांग कार्यकर्ताको जुन बेहाल देखिएको छ, त्यो 'ऐंठन'ले देखाएको भन्दा कम भयावह छैन ! पत्रकार विराट अनुपमले २०७९ चैत १८ गते 'नेपाल प्रेस'मा एक संक्षिप्त रिभ्यूमा लेखेजस्तै गएको दुई दशकमा गैर-न्यायिक हत्या र गम्भीर मानवाधिकार उल्लङ्घनका घटनाका बारेमा आवाज उठिरहे पनि हिजो लडेर आएको नेतृत्वले वेवास्ता गर्दै आईरह्यो ! पटकपटक सत्तामा गएर पनि हिजोका युद्ध-पीडितका लागि केही गर्न सकेन !
आमा-बाकै सामुन्ने खाल्डो खन्न लाएर निर्दोष र जवान छोरोलाई जिउँदै पुर्नु, गोली हानेर मारेको मान्छेलाई पनि टुक्रा-टुक्रा पारेर काट्नु, युवतीलाई नांगै बनाएर योनीमा लट्ठी घुसाउनु, सामुहिक बलात्कार गर्नु, खुकुरीले शरीर चिराचिरा पारेर खुर्सानी दल्नु, आमाका सामुन्ने छोरी बलात्कार गर्नु, नियन्त्रणमा लिएर बाँधिएको मानिसलाई भीरबाट खसाल्दिनु यस्ता कैय्यौं राक्षसी हर्कत भएका छन् कथामा ! यी कुनै युद्धका नियममा पर्दैनन् ! यस्ता मानवताविरोधी अपराधहरूको कुनै छानबीन, लेखाजोखा नहुनु उदेकलाग्दो विषय हो ! तत्कालिन विद्रोही र सत्ता दुवै पक्षबाट यस्ता कुकर्महरू भएका छन् ! यो उपन्यासले यी यावत विषयलाई पुन: सतहमा ल्याइदिएको छ !
२०६० र '७० दशकमा जसरी बाम-रुझान नेपालमा देखियो, अबको दशक त्यसप्रतिको मोहभंग, वितृष्णा र एक हदसम्मको घृणा देखिने र नेपालको सम्पूर्ण बौध्दिक र राजनीतिक मूलधार दक्षिणपन्थी प्रभावमा देखिने सङ्केत पनि यसबाट लिनसकिन्छ ! २०५८ देखि २०७७ सम्मको कथामा यो उपन्यास टुंगिएजस्तो ७० को दशकको अन्ततिर माओवादीहरूले भन्ने गरेको जनयुद्धको राप र ताप पनि सेलाई सकेको छ ! त्यसका कथित उपलब्धिहरू रक्षात्मक अवस्थामा पुगेका छन् !
आफू शक्तिमा जान वा आफ्नो शक्तिको लालसाको परितृप्तिका खातिर कम्जोर र निर्धालाई भुसुना ठानेर युद्धमा झोस्ने र आफ्नो दुनो सोझ्याउने जोसुकै युद्धपिपासुहरू पनि छोटेमोटे 'भगवान' भएर हाम्रो भाग्य र भविष्य खोस्न आउँछन् ! तिनको प्रतिवाद नगरे पनि तिरस्कार र घृणा गर्न सकिन्छ !
मूल सन्देश
विश्वविख्यात लेखक सलमान रश्दीले सन् १९९६ मा एउटा विश्वविद्यालयको दीक्षान्त समारोहमा दिएको छोटो र खरो भाषणमा युवा विद्यार्थीहरूलाई भनेका छन् : For in the years to come you will find yourselves up against gods of all sorts, big and little gods, corporate and incorporeal gods, all of them demanding to be worshipped and obeyed - the myriad deities of money and power, of convention and custom, that will seek to limit and control your thoughts and lives. Defy them; that's my advice to you. (भावार्थ: भविष्यमा पैसा र पावर भएका, संस्थागत वा निराकार, परम्परा र रितिरिवाजले बनाएका, ठूलासाना विविध खाले भगवानहरू आफ्नो आज्ञा मान्न र पूजा गराउन तपाईंहरूको विचार र जीवन नै कन्ट्रोल गर्न आउनेछन् ! तिनको अवज्ञा गर्नुस्, विरोध गर्नुस् !) विवेक ओझाको ऐंठनले यही भाव बोकेको छ ! आफू शक्तिमा जान वा आफ्नो शक्तिको लालसाको परितृप्तिका खातिर कम्जोर र निर्धालाई भुसुना ठानेर युद्धमा झोस्ने र आफ्नो दुनो सोझ्याउने जोसुकै युद्धपिपासुहरू पनि छोटेमोटे 'भगवान' भएर हाम्रो भाग्य र भविष्य खोस्न आउँछन् ! तिनको प्रतिवाद नगरे पनि तिरस्कार र घृणा गर्न सकिन्छ ! युद्धलाई दुत्कार्न सकिन्छ, र पर्छ पनि ! युवल नोह हरारीले भने झैं यी स्व-निर्मित, असत्ति र गैर-जिम्मेवार 'भगवान'हरूका स्वार्थ-केन्द्रित साँढे जुधाईका बीच परेर निर्धा, निमुखा र गरीबहरुले कहिलेसम्म मरिरहने ? किन मरिरहने ?
लेखक कैलाली बहुमुखी क्याम्पस, धनगढ़ीमा प्राध्यापन गर्नुहुन्छ ।
प्रतिक्रिया