‘अराजक-पुँजीवादी’, जाभियर मिलेई र दुर्गा प्रसाईं

‘पुँजीवादको हाल चल्दै गरेको संकट अन्तिम हुनेछ । त्यसपछिको कालखण्डमा समाजवाद वा अरू कुनै परिभाषित सामाजिक ढाँचा होइन, बरु लामो उथलपुथलले निरन्तरता पाउनेछ ।’ पुँजीवादको अवसानका बारेमा लेखिएको सन् २०१६ मा प्रकाशित पुस्तक ‘हाउ विल क्यापिटलिज्म इन्ड?’ मा वोल्फगाङ्ग स्ट्रीकले उल्लेखित तर्क गरेका छन् ।

उनको त्यो तर्कको स्मरण यस कारण गरिएको हो कि उनले भने झैँ पुँजीवादलाई सखाप पार्ने गैर समाजवादी, असामाजिक र अराजक नारा वैधानिक रूपमा नै दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा अनुमोदित भएको छ । त्यहाँ आफू ‘अराजक-पुँजीवादी’ रहेको स्वःघोषणा गर्ने जाभियर मिलेईले हालै राष्ट्रपति पदमा विजय हासिल गरेपछि धेरैलाई चासो बढेको छ- आखिर के हो त ‘अराजक-पुँजीवाद’? लगभग त्यस्तै कृत्य गर्ने तर आफू अराजक-पुँजीवादी भएको घोषणा नै चाहिँ गरिनसकेका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि त्यहाँको राष्ट्रपति बन्ने सम्भावना समेत बढ्दै गएको कारण पनि यसको चर्चा व्यापक भएको हो ।

के हो अराजक-पुँजीवाद ?

अराजक-पुँजीवाद त्यस्तो राजनीतिक दर्शन वा राजनीतिक-आर्थिक सिद्धान्त हो : जसले समाजमा वस्तु र सेवाहरू राज्यद्वारा नभई बजारद्वारा नै पूर्ण रूपमा निर्धारित नियमको आधारमा स्वेच्छिक आदानप्रदान हुनुपर्छ भन्ने मान्यता राख्छ । अराजक-पुँजीवादले निजी सम्पत्ति र महत्त्वपूर्ण आर्थिक शक्ति भएका निजी संस्थाहरूलाई समर्थन गरेर अराजकताका अन्य रूपहरूलाई चुनौती दिन्छ । यसले राज्यका विशिष्ट शक्ति र अधिकारहरू अनुचित छन् भन्ने विश्वास गर्छ, किनभने तिनीहरूको अभ्यासले अनावश्यक रूपमा व्यक्तिगत स्वतन्त्रतालाई प्रतिबन्धित गर्छ ।  व्यक्तिगत समृद्धिलाई बाधा पुर्‍याउँछ । धेरै आर्थिक-सामाजिक समस्याहरू सिर्जना गर्दछ वा बढाउँछ ।

अराजक-पुँजीवादी विचारको केन्द्रबिन्दुमा सम्पत्तिको अधिकार, सम्झौता, प्रतिरक्षा र व्यवसायिक कार्यको प्रवर्तनको लागि समाजलाई राज्य भनिने संयन्त्रले लगाउने कानुनी बाध्यता र जबरजस्तीको आवश्यकता पर्दैन भन्ने मान्यता रहेको हुन्छ । तर, अराजकता र पुँजीवाद शब्दहरूको यहाँ भएको मिलन सामाजिक व्यवस्थाको कुनै स्वरूप निर्धारण गर्न होइन, बरु सभ्य समाजमा राज्यको अनुपस्थितिमा समेत के हुनसक्छ भन्ने अनिश्चित भविष्यवाणी वा कल्पनाका लागि हो ।

प्रारम्भिक समाजवादी अराजकतावादीहरूको भन्दा विपरीत अराजक-पुँजीवादीहरूले शास्त्रीय उदारवादबाट प्रेरणा लिएको देखिन्छ । तिनीहरूले एउटा यस्तो संसारको परिकल्पना गर्छन् जहाँ व्यक्तिहरूले स्वतन्त्र बजारको मापदण्ड अनुसार स्वेच्छाले एक अर्कासँग व्यापार गर्छन्

समाजवादी अराजक क्रोपोटकिन र बाकुनिन जस्तै, मुर्रे रोथबार्ड जस्ता अराजक-पुँजीवादीहरूले राज्य मानव स्वतन्त्रताको ठूलो बाधा भएको तर्क गर्छन् । यद्यपि, प्रारम्भिक समाजवादी अराजकतावादीहरूको भन्दा विपरीत अराजक-पुँजीवादीहरूले शास्त्रीय उदारवादबाट प्रेरणा लिएको देखिन्छ । तिनीहरूले एउटा यस्तो संसारको परिकल्पना गर्छन् जहाँ व्यक्तिहरूले स्वतन्त्र बजारको मापदण्ड अनुसार स्वेच्छाले एक अर्कासँग व्यापार गर्छन् ।

यो मान्यताको आधारमा संसारमा राज्यको मुख्य कार्यहरू (जस्तै, न्याय प्रशासन, प्रहरी, सम्पत्तिको रक्षा, र पूर्वाधार निर्माण)को अस्तित्व समाप्त हुनेछैन । बरु, अराजक-पुँजीवादीहरू तर्क गर्छन् कि यी कार्यहरूको समेत निजीकरण गर्नुपर्छ । अदालतको सट्टा तिनीहरू स्वेच्छिक न्याय प्रणालीको वकालत गर्छन् । प्रहरीको सट्टा तिनीहरू निजी रक्षा कम्पनीहरू (सुरक्षा गार्ड कम्पनी)को वकालत गर्छन् । सडक जस्ता पूर्वाधार निर्माणमा सरकारले जनताले तिरेको कर वा कम्पनीको नाफामा लागेको कर खर्च गर्नुको सट्टा निजी कम्पनीहरूलाई सडक निर्माण गर्न र प्रयोग गर्नेलाई शुल्क लिने दिने संसारको परिकल्पना गर्छन् ।

अराजक-पुँजीवादलाई सामाजिक अराजकतावादीहरूले चुनौती दिएका छन् । यसले केही व्यक्तिहरूलाई आर्थिक र राजनीतिक शक्ति प्राप्त गर्न बजारका शक्तिहरू प्रयोग गर्न सक्षम बनाउँछ भन्ने उनीहरूको आरोप छ । यस सन्दर्भमा, अमेरिकी भाषाविद्, दार्शनिक र सामाजिक अराजकतावादी नोम चोम्स्की अराजक-पुँजीवादले ‘मानव इतिहासमा दुर्लभ रूपमा भएका अत्याचार र उत्पीडनका रूपहरू निम्त्याउनेछ ।’ उनका  अनुसार ‘स्वतन्त्र सम्झौताको विचार एक भद्दा मजाक हो ।’ थप आपत्ति केही स्वतन्त्रतावादीहरूबाट पनि आएको छ जसले दाबी गर्छन् कि बजारमा अधिक निर्भरताले कानुन र न्यायको मापदण्ड र अभ्यासहरूमा समस्या ल्याउन सक्छ ।

अराजक-पुँजीवादलाई नबुझ्दाका समस्या

अवधारणाका रूपमा यति बुझिसकेपछि अहिले अराजक-पुँजीवादीलाई ठिक ढंगले नबुझ्दा त्यसबारे के कस्ता बुझाई र दृष्टिकोणहरू सार्वजनिक भइरहेका छन् र स्वयम् जाभियर मिलेईलाई नै पनि के कस्ता विशेषणका साथ सम्बोधन गरिँदै छ भन्ने बारेको चर्चा आवश्यक हुन्छ ।

प्रथमतः न्यूयोर्क टाइम्स, गार्जियन र अन्य हजारौँ सञ्चार माध्यमहरूले उनलाई ‘दक्षिणपन्थी' भनेर सम्बोधन गरेको देखिन्छ तर वास्तवमा त्यो सही होइन । यस सम्बन्धमा के बुझ्नु पर्छ भने ‘अराजक-पुँजीवाद’ को धारणा बायाँ-दायाँ भन्ने बाइनरी भन्दा बाहिर छ । उनी उनले दाबी गरे झैँ अराजक-पुँजीवादी नै हुन् ।

त्यसैगरी हामीले सामान्य रूपमा बुझ्ने अराजकतासँग यसको कुनै सरोकार वा सम्बन्ध छैन । यहाँ अराजकता शब्दको प्रयोग भनेको राज्यको उन्मूलनसँग छ । यदि हामीले समाजवादीहरूले प्रयोग गर्ने गरेको अर्थमा यहाँको ‘अराजक’ भन्ने शब्दलाई लियौँ भने त्यो बुझाई सर्वथा गलत हुन्छ । सम्पत्ति सम्बन्ध, स्वेच्छिक कारबाही, निजी कानुन र स्वतन्त्र उद्यमद्वारा निर्माण गरिएको सम्झौता कार्यान्वयनमा राज्यलाई प्रतिस्थापन गर्नुमात्र यसको उद्देश्य हो । यसको अर्थ उपद्रो मच्चाउने भन्ने होइन ।

माथिबाट कानुन लागू गर्नुको सट्टा मानव इच्छा र सामाजिक विकासको विस्तारको रूपमा कानुनको निर्माण गर्नु यसको ध्येय हो । शान्ति र सामाजिक सद्भाव स्वतन्त्रताको सन्तान हो भन्ने विचारसँग अराजक-पुँजीवादी सहमत छन् । त्यसैले जति बढी स्वतन्त्रता हुन्छ त्यति नै सहज रूपमा शान्तिपूर्ण र सद्भावयुक्त समाज निर्माण हुन्छ भने यसको विश्वास छ ।

तेस्रो कुरा आफूलाई ‘अराजक-पुँजीवादी’ भनी घोषणा गर्ने सबैले विचारधाराको रूपमा यसबारे बोल्दैनन् । उनीहरू फगत राज्यले पारेका अप्ठ्यारा र गरेका अनावश्यक नियन्त्रणकारी नियमको मात्र विरोध गरिरहे जस्ता देखिन्छन् । तर, खासमा उनीहरू नै अराजक-पुँजीवादी हुन सक्छन् ।

रोथबार्डको मान्यता

‘अराजक-पुँजीवाद’ शब्द अमेरिकी अर्थशास्त्री मरे रोथबार्डको कामबाट उत्पत्ति भएको हो । जो १९५० को दशकमा उपन्यासकार ऐन रान्ड को स्वतन्त्रतावादबाट कडा रूपमा प्रभावित थिए । तर, रोथबार्डले रान्डको विचारलाई नजिकबाट जाँच गरेपछि भने उनको मान्यताको बारेमा शंका गर्न थाले किन कि रान्डले राज्य नै आवश्यक छ भन्ने तर्क अगाडि सरिरहेको भेटियो ।

यदि हामीसँग सम्पत्तिको अधिकार छ भने राज्यलाई किन त्यसको हनन गर्न अनुमति दिएको छ ? यदि हामीले आत्म-स्वामित्व राख्ने हो भने राज्य नामको संस्थालाई किन भर्ती, पृथकीकरण र अन्य माध्यमबाट मानिसहरूलाई कुल्चीमिल्ची गर्ने अनुमति दिइएको छ ? यदि हामी शान्ति खोज्छौँ भने हामी किन युद्ध लड्न राज्य चाहन्छौँ ? यस्तै यस्तै धेरै प्रश्न त्यहाँ उत्पन्न भए ।

यदि हामीसँग सम्पत्तिको अधिकार छ भने राज्यलाई किन त्यसको हनन गर्न अनुमति दिएको छ ? यदि हामीले आत्म-स्वामित्व राख्ने हो भने राज्य नामको संस्थालाई किन भर्ती, पृथकीकरण र अन्य माध्यमबाट मानिसहरूलाई कुल्चीमिल्ची गर्ने अनुमति दिइएको छ ?

रोथबार्डको विचारमा समाजमा व्यक्ति र सम्पत्ति विरुद्धको आक्रामकतालाई निषेध गर्ने एक सु-सङ्गत नियम राज्यमा पनि लागू हुनुपर्दछ । किनकि राज्यले मानिसको सम्पत्ति माथिको अधिकारलाई रोकेको छ । जुन ऐतिहासिक रूपमा मानव अधिकारको सबैभन्दा हानिकारक उल्लंघनकर्ताको रूपमा रहेको छ । हामी राज्यहरूलाई हाम्रो अधिकारको रक्षा गर्छ भनेर सहन्छौँ ,तर त्यही राज्य हाम्रो अधिकारको लागि मुख्य खतरा हो । राज्य निर्माण भएपछि त्यसलाई नियन्त्रण गर्ने प्रविधि वा प्रणाली कसैले पनि ल्याएको छैन । त्यो बुझ्न आवश्यक छ ।

रोथबार्डले आफ्नो पुस्तक ‘एनाटोमी अफ स्टेट’ मा भनेका छन् कि राज्य बिनाको समाजमा संशाधनको पूर्ण बाँडफाँड समानताद्वारा शासित समुदायले गर्छ । त्यस्तो संशाधनको स्वामित्व, वाणिज्य, श्रम विभाजन, लगानी, निजी अदालत, शेयर बजार, पुँजीको निजी स्वामित्व निजी क्षेत्रको हुनेछ । अर्को शब्दमा भन्नुपर्दा : राज्यविना स्वतन्त्र अर्थतन्त्र पहिलेभन्दा बढी फस्टाउनेछ ।

मरे रोथबार्डको पुस्तक ‘एनाटोमी अफ द स्टेट’ अराजक-पुँजीवादको लागि आधारभूत पाठ हो । यसले राज्य एक हिंसात्मक र जबरजस्ती गर्ने संस्था हो जसले व्यक्तिगत अधिकारहरू हनन गर्दछ । र, राज्य बिनाको स्वेच्छिक समाज सम्भव र वाञ्छनीय छ भन्ने तर्क गर्दछ ।

रोथबार्डका अनुसार बल र हिंसामा राज्यको एकाधिकार अवैध छ किनभने यसले आत्म-स्वामित्वको सिद्धान्तलाई उल्लंघन गर्छ, जसले प्रत्येक व्यक्तिलाई आफ्नो शरीर र सम्पत्ति नियन्त्रण गर्ने अधिकार छ भनी बताउँछ । राज्यको कानुनी प्रणाली पनि अवैध छ किनभने यो हिंसा र जबरजस्तीमा आधारित छ । जुन न्याय र स्वेच्छिक आदानप्रदानको सिद्धान्त विपरीत छ ।

रोथबार्डको तर्क छ कि राज्यले व्यक्तिगत अधिकारको रक्षा गर्न वा सार्वजनिक वस्तु वा सेवाहरू प्रदान गर्न आवश्यक छैन । बरु, निजी व्यक्ति वा स्वेच्छिक संस्थाहरूद्वारा यी कार्यहरू अझ प्रभावकारी रूपमा प्रदान गर्न सकिन्छ । उदाहरणका लागि उनी तर्क गर्छन् कि निजी सुरक्षा फर्महरूले अपराधीहरू विरुद्ध सुरक्षा प्रदान गर्न सक्छन् र निजी अदालतहरूले सरकारी अदालतहरू भन्दा बढी निष्पक्ष रूपमा न्याय निरूपण गर्न सक्छन् ।

विश्वव्यापी बन्दै मिलेई प्रवृत्ति

अबको १० दिनपछि डिसेम्बर १० तारिकमा औपचारिक रूपमा पदभार ग्रहणको प्रतीक्षामा रहेका अर्जेन्टिनाको नवनिर्वाचित राष्ट्रपति मिलेईले आफू निर्वाचित भएको खण्डमा त्यहाँको केन्द्रीय बैंक खारेज गर्ने, अमेरिकी डलरलाई नै आफ्नो देशको मुद्रा बनाउने, संस्कृति महिला, स्वास्थ्य, शिक्षा लगायतका मन्त्रालय बन्द गर्ने, कल्याणकारी भत्ता कटौती गर्ने र कर्मचारी कटौती गर्ने लगायतका एजेन्डा आफ्नो निर्वाचनको घोषणापत्रमा समेटेका थिए । अन्ततः सुन्दै अनौठा जस्ता लागेः तिनै अराजक एजेन्डाले उनलाई लोकप्रिय मात्र बनाएन, चुनाव नै जितायो ।

सुन्दै अनौठा जस्ता लागेः तिनै अराजक एजेन्डाले मिलेईलाई लोकप्रिय मात्र बनाएन, चुनाव नै जितायो ।

अमेरिका, युरोप लगायत धेरै मुलुकहरूमा यसअघि नै अराजक-पुँजीवादीहरू राजनीतिमा सक्रिय छन् । तर, अहिलेसम्म कहीँ पनि उल्लेख्य उपस्थिति देखाउन नसकेका अराजक-पुँजीवादीहरूमा मिलेइको जितले उत्साह थपेको छ । त्यसो त आर्थिक दुरावस्था भोगिरहेका धेरै अल्पविकसित र विकासशील मुलुकहरूमा धेरैले जानी-नजानी यसको पक्षमा वकालत गरिरहेको देख्न थालिएको छ ।

अमेरिकामा ट्रम्पले त्यस्तै रूप देखाइरहेका छन् । त्यहाँ पहिले नै लिबर्टेरियन पार्टीले धेरै वर्षदेखि अराजक-पुँजीवादी सिद्धान्तहरूको वकालत गर्दै आएको छ । भलै सो पार्टीले पार्टीले कुनै पनि ठूला चुनाव जितेको छैन । तर यसको सानो तर समर्पित अनुयायीहरू छन् ।

युरोपमा अराजक-पुँजीवादी आन्दोलन जर्मनी र अस्ट्रियामा सबैभन्दा बलियो छ । जर्मनीमा फ्रि डेमोक्रेटिक पार्टी धेरै वर्षदेखि अराजक-पुँजीवादी सिद्धान्तको वकालत गर्दै आएको छ । तर, त्यहाँ पनि सो पार्टीले कुनै पनि ठूला चुनाव जितेको छैन । फेरि पनि सानो संख्यामा तर समर्पित अनुयायीहरू भने छन् । जो मिलेईको जितबाट उत्साहित बनेका छन् ।

अहिलेलाई अराजक-पुँजीवाद एक अल्पसङ्ख्यक दृष्टिकोण हो । यसले हालैका वर्षहरूमा विशेष गरी युवा पुस्ताहरूमा बढ्दो संख्यामा समर्थकहरूलाई आकर्षित भने गरेको छ । अराजक-पुँजीवाद अहिल्यै मूलधारको राजनीतिक विचारधारा बन्ने हो कि होइन, त्यो त हेर्न बाँकी छ ।

अहिले नेपालमा बैंक, वित्तीय संस्था र सरकारी नियन्त्रणविरुद्ध आन्दोलन र अभियानहरू चलिरहेका छन् । त्यसको आधार भनेको जनतामा व्याप्त चरम निराशा नै हो, जुन अर्जेन्टिनामा पनि देखिएको थियो । अर्जेन्टिनामा मानिसहरूले मिलेईको एजेन्डालाई कति गम्भीर रूपमा लिएका थिए भन्ने प्रश्न पनि अहिले उठिरहेको छ । किनकि धेरैको के विश्लेषण छ भने एजेन्डाले भन्दा पनि जनतामा व्याप्त निराशाले गर्दा परिवर्तनको खोजी गरेका जनताबाट उनले भोट पाएका हुन् । दोहोर्याउनु नपर्ला कि त्यो निराशाको केन्द्रमा त्यहाँको आर्थिक संकट नै रहेको थियो ।

यहाँको निजी क्षेत्र केन्द्रीय बैकसँग निकै रुष्ट छ र भनिरहेको छ कि राष्ट्र बैंक नै सबै खालका आर्थिक संकटको एक मात्र कारक हो । यदि जनताले व्यापारीको त्यो बोलीमा विश्वास गरे भने यहाँ पनि मिलेईले झैं आफूले जिते राष्ट्र बैंक खारेज गर्ने घोषणा गर्दै भोट माग्नेले चुनाव जित्न सक्ने हुनसक्छ । उता, राज्यले अनावश्यक ढंगले पेलेर ‘पागल झैँ’ बन्न बाध्य बनेका धेरै दुर्गा प्रसाईंहरू सडकमा यो प्रणालीको अन्त्य र नयाँ व्यवस्थाको स्थापनाको माग गरिरहेका छन् ।

उनीहरूका कुरा आकर्षक मात्र छैनन् कि धेरैले ‘प्रसाईंले कुरा त ठीकै गर्छ’ भन्ने भाष्य बोलेको सुनिन्छ मलदेखि चिया पसलसम्म । हाल कै अवस्था रहने हो भने नेपालमा पनि दुर्गा प्रसाईं अर्जेन्टिनाका मिलेई बन्न बेर लाग्दैन किनकि त्यस्तै खालको अराजकता प्रसाईंमा देखिन्छ ।

कसैले प्रसाईंलाई अराजक-पुँजीवादबारे थोरै मात्र बुझाउने वा उनले यसलाई बुझ्ने कोसिस गरे भने उनी अर्को चुनावसम्ममा नेपालका मिलेई बन्न बेर नलाग्न सक्छ ।

अहिले अभाव के मात्र हो भने मिलेई झैँ कुनै एक विचारद्वारा लैस व्यक्ति होइनन्, प्रसाईं । उनले आफूलाई अराजक-पुँजीवादी घोषणा गर्न सक्ने सम्भावना नै पनि न्यून छ किन कि शायदै उनले अहिलेसम्म यो पदावलीबारे सुनेका होलान् । तर, फेरि पनि यसको दर्शन कुनै जटिल छैन । बस् बजारलाई सबै छोडिदिऊँ भन्ने मात्र हो । यसले राज्यले आफूमा राखेका असीमित आर्थिक-सामाजिक अधिकार खोसेर ती अधिकार स्वयम् व्यक्तिमा दिनुपर्छ भन्छ ।

यसैकारण कसैले प्रसाईंलाई अराजक-पुँजीवादबारे थोरै मात्र बुझाउने वा उनले यसलाई बुझ्ने कोसिस गरे भने उनी अर्को चुनावसम्ममा नेपालका मिलेई बन्न बेर नलाग्न सक्छ । यसो किन पनि भनिएको हो भने उनै प्रसाईंको ‘धर्म निरपेक्षता’ संविधानबाट हटाइनुपर्ने मागमा छलफल गर्न सकिने कुरा सत्ताधारी प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरिसकेका छन् ।